Skip to content


उसले भयानक सपना देखेछ ।

र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर । हेर्दा सामान्य लाग्थ्यो । आधा तोला सुन बराबर रकम एक रातमा खर्च किन गरोस् । कसरी गरोस् । यस्तै सामान्य लाग्थ्यो ।

खाटमा बसिरहेकी मलाई यसरी उठायो । जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस् ।

‘तिमी को हौ? के गर्छ्यौ?’

उसको अनौठो व्यवहार देखेर सोध्छु । ऊ केही नबोली मलाई बोकिरहन्छ । मानौं, मलाई बोकेर थाक्दैन ।

ऊ किन यस्तो नाटक गरिरहेछ? म सशंकित हुन्छु । कमजोर आत्मविश्वास भएकाहरू नै अनावश्यक शंका गर्छन् । मेरो सशंकित अनुहार उसले सजिलै पढ्छ । भन्छ, अज्ञानी ।

पुरुषहरू स्त्रीलाई साँचो माया गरेको नाममा पनि झुटो बोल्छन्, गोरीलाई पनि काली भनेर । अथवा, अबुझ अर्थ लाग्ने नाम दिन्छन्– लाटी, बेहोसी यस्तै ।

तर, ऊ भन्छ– अज्ञानी ।

‘म कसरी अज्ञानी भएँ?’

‘तिमी यो ठानिरहेकी छौ– म कुनै त्यस्तो धनाढ्य व्यापारी होइन, जसले आफ्नै जीवन खरिद–बिक्रीको वस्तु सम्झेको होस् । म त्यो चारघन्टे ड्युटीमा बसेको पुलिस होइन, जसले माथिको आदेश वा सनकको भरमा तिमीहरू जस्तालाई दुई मिनेट दख्खल पुर्‍याओस् । म त्यस्तो डन होइन, जसले कर्मचारी थर्काएर टेन्डर पारोस् । म त्यस्तो अधिकृत होइन, जो इतिहासका मिति घोकेर वा भनसुनका भरमा सरकारी जागिर खाएको होस् । तलबबाहेक कमिसनजस्तै स्वास्नी खोज्दै यहाँआएको होस् । र, तिमीलाई शंका छ– म केही हुँ ।

आकाश खस्छ कि भनेर चिन्ता गर्नु अज्ञान हो ।

आफै खस्छु कि भनेर चिन्तन गर्नु ज्ञान हो ।

हुँदै नभएको आकाश खस्दैन सानु, शंका नगर ।’

‘भो, ठूला कुरा नगर ।’

मलाई उसको कुराले रिस उठ्छ । लाछी । आफूले केही गर्न सक्ने होइन, अरूको रिस गर्छ । उसले आफूलाई जे होइन भनेको छ, मलाई ऊ त्यही हुनुपरेको छ । जसले मलाई पैसामाथि सुताउन सकोस् ।

मेरो आवेशलाई उसले केटाकेटीको रिस जस्तै लिन्छ ।

‘जाऊ, नुहाएर आऊ,’ अभिभावकले झैं आदेश दिन्छ ।

‘कुनै पनि शृङ्गार नगर्नू । गरिबकी छोरी गाजल धेरै लाउँछे,’ म बाथरुम छिर्दै गर्दा उसले भन्यो ।

पानीले नै नुहाइरहेकी थिएँ । तर, ममाथि यिनै शब्द बर्सिरहेझैं लागिरहेथ्यो– गरिबकी छोरी गाजल धेरै लाउँछे ।

म गरिबकी छोरी– नान्दी नेपाली । स्कुलमा हुने गायन, नृत्य, कविता प्रतियोगितामा प्रायः प्रथम हुन्थें । गाउँमा धेरैले मेरो प्रतिभा र रूपको प्रशंसा गर्थे । भन्थे, नान्दी नामुद कलाकार बन्छे । धेरैले सहानुभूति राख्थे, सायद टुहुरी भनेर । सातौं सन्तान जन्माउन नसकेर आमा बितिन् । मैले पढेको सौतेनी आमा रिस गर्थिन् । अनेक दुःखसँगै एसएलसी कटाएँ । गायिका, नायिका, लेखिका बन्ने सपना बोकेर शहर आएँ । गाउँकै एउटी दिदीसँग बस्थें । उनी फुटपाथमा मकै पोलेर बेच्थिन् । बल्लतल्ल रेस्टुरेन्टमा गीत गाउने काम पाएँ । जस्तो सोच/लक्ष्य उस्तै काम । पहिले त के के न पाएजस्तो लागेको थियो ।

रेस्टुरेन्ट मालिक तलब दिने बेला सधैं लामो हात गर्थ्यो । मेरो अस्मिता मुठीमा लिन खोज्थ्यो । कोही नभएकी, गरिबकी छोरी भनेपछि सबैले स्वास्नीकै रूपमै हेर्ने । अति भएपछि गाउन छाडें ।

सँगै बस्ने दिदी पनि गाउँफर्किइन् । महँगीले बस्न नसकेर । एक्लै भएँ । आफैंले नकमाए भोकै पर्थें ।

रेस्टुरेन्टमै चिनेको एउटा दाइ थियो– काजी । निकै चिप्लो पारेर बोल्थ्यो । मेरो अफिस आऊ, काम दिन्छु, यति राम्री तिमी सस्तो रेस्टुरेन्टमा देखिनु हुँदैन भन्थ्यो । कागजी बिहे गरी तीन जनालाई नक्कली बहिनी बनाएर उसले अफिस चलाएको रहेछ । ट्राभल एजेन्सी वा यस्तै अर्को अफिस छ भन्थ्यो । म काम खोज्दै उसकोमा पुगें । उसको अफिसमा काम पाउन अनिवार्य योग्यता– रूप र जवानी । म गएकै दिन तीन जनालाई त अयोग्य भनी पठायो । मैले काम पाएँ– एक रात बिताएको दस हजार ।

मेरो पहिलो ग्राहक नै बुझिनसक्नु छ । मैले नुहाएर आउँदा उसले पूजाका सामग्री तयार पारेको थियो ।

‘के गर्न लागेको?’

‘पूजा । तिमीलाई थाहा छैन? हाम्रो समाजमा कुनै पनि शुभकार्य थाल्नुअघि पूजा गरिन्छ ।’

पहिले त ऊ पागलजस्तो लागेको थियो । तर, कुनै प्रसिद्ध देवीलाई जस्तै निकै श्रद्धापूर्वक, संयमित र स्वाभाविक भएर उसले मेरो पूजा गर्छ । म हेरेको हेर्‍यै हुन्छु । तीनपटक त मेरो खुट्टामा ढोग्यो । अनि, उसको मप्रतिको श्रद्धा र सम्मानदेखि भने स्वयं पागल हुन पुगें । स्त्रीहरू कति छिट्टै पग्लन्छन् ।

त्यो रात उसले यति रोचक र रोमाञ्चित बनाइदियो । जस्तो, वर्षौंदेखि प्रतीक्षा गरेको सपनाको राजकुमारसँग सुहागरात मनाउँदैछु । स्त्रीसँग कसरी बोल्ने, चल्ने, जिस्कने ऊ माहिर लाग्थ्यो । हामीबीच धेरै कुरा भए ।

मेरो धेरै अनुरोधपछि मात्र ऊ रहस्य खोल्छ–

मैले सपना देखें, राजा भएको । घोडा चढी आफ्नै राज्यमा घुम्दाघुम्दै एउटा गरिब बस्तीमा पुग्छु । त्यहाँका भोका–नांगाले मेरो श्रीपेचमा आगो लगाइदिन्छन् । हँसिया–हथौडा लिएर मलाई लखेट्छन् । मेरो घोडा बेस्सरी कुदेर सम्भ्रान्तहरूको बस्तीमा पुग्छ । त्यहाँका सुकिला–मुकिलाले मलाई बचाउन खोज्छन् । दुवै पक्षबीच घमासान युद्ध हुन्छ । के गरूँ, के नगरूँ, म असमञ्जसमा हुन्छु । अकस्मात मेरो चेत खुल्छ, यो सब सपना हो ।

गरिबको छोरो गरिबकै पक्षमा लड्नुपर्छ । सपनामै होस्, न्याय गर्नैपर्छ । म गरिबको पक्षमा उभिन्छु । तर, कुनै षड्यन्त्र सम्झेर मलाई गरिबहरूले स्विकारेनन् । पछि, सम्भ्रान्तहरूले स्विकार्ने कुरै भएन । दुवै पक्ष मिलेर मलाई लखेट्न थाल्छन् । मेरो घोडा वेगले कुदिरहेको हुन्छ । एउटा नदी तरेर बगरमा पुगेपछि घोडा बस्छ । म ब्यूँझन्छु ।

यो भयानक सपनाले मलाई धेरै दिन बिथोलिरह्यो । तर, कसैलाई भनिनँ । केही दिनपछि फेरि सपना देखें । कुनै मन्दिर परिसरमा एउटी बूढीआमाले भनिन्, ‘छोरा, तैंले देखेको सपनाको अर्थ गहिरो छ । अरूले अर्थ लगाएर हुँदैन । आफैंले बु‰न सक्नुपर्छ । यसको फल अशुभ छ । तँलाई ठूलो अनिष्ट पर्न सक्छ । तर, तँभाग्यमानी छस् । अनिष्ट हुनुपूर्व नै लक्षण पाएको छस् । यस्तो सपना जो–कोहीले देख्दैन । संकटमोचनको विधि छ तर सहज छैन । जुन म बताउँछु । दियो बालेर सेता फूल, अक्षता र जलले आफ्नै आमाको योनीमा पूजा गर्नू, कुनै मन्त्रोच्चारण गर्नु पर्दैन । मन स्थिर भई सम्पूर्ण रूपमा श्रद्धाभाव नआउँदासम्म पूजा गरिरहनू । अवश्य तेरो संकटमोचन हुनेछ ।’

सदियौंदेखि शिवलिंगको पूजा गरिँदै आएको यो समाज, जहाँबूढीआमाले बताएको संकटमोचन विधि सम्भवै छैन । अन्ततः चोरबाटो खोज्दै तिमीसँग आइपुगें ।

‘तिम्रो श्रीमती?’

मेरो बिहे भएको छैन । सानैदेखि मैले समानतालाई मन पराउँथें । एकोहोरो प्रेम गरें, दस वर्षभन्दा बढी । २०६४, २८ चैतको दिन हातमा लालीगुराँस लिएर म उनको सामु उभिएँ । एउटा घुँडाले टेकेर । मलाई सहजै स्विकारिन् । छिट्टै बिहे गर्नेमा हामी वचनबद्ध थियौं । तर, जात, गोत्र, दाइजोमा कुरा नमिलेर बिहे भाँडियो ।

‘तिमी सपनामाथि पनि विश्वास गर्छौ?’

तिमीले पनि सपना पालेकी थियौ । गायिका, नायिका, लेखिका बन्ने । तर, तिमीले आफ्नै सपनामा विश्वास गर्दिनौ । आफ्नै सपनामाथि विश्वास नगर्नेहरू नै अरूको सपनाका लागि बिक्न पुग्छन् ।

०००

किन किन ऊसँग बिताएको रात मेरो जीवनको घोर घुम्ती बन्यो ।

निर्णय गरें, अब मेहनत गरेर पढ्छु । लेखिका बनेरै छाड्छु । सडकमा मकै पोलेर बेच्छु । तर, आफ्ना सपना बेच्दिनँ ।

केही दिनपछि काजी दाइले फोन गर्‍यो, ‘भरे आऊ । गाँठवाला इन्डियन छ । तिमीलाई टिप पनि दिन्छ ।’

मैले नआउने बताएँ । ‘फोटो र भीडियो हेरेर उसले तिमीलाई नै रोजेको छ । तिमी आउनैपर्छ । आइनौ भने,’ उसले धम्की दियो ।

भरे म गइनँ । राति १० बजेतिर मेरो डेरामा पुलिस आयो । देखें, इन्स्पेक्टर थापा । जसले रेस्टुरेन्टमा गाउँदा धेरैपटक मलाई जबर्जस्त गर्न खोजेको थियो । रेस्टुरेन्ट मालिकले पनि इन्स्पेक्टर सरको मन राखिदेऊ भन्थ्यो । सात जना पुलिसले मेरो कोठा छापा हान्छन् । इन्स्पेक्टर थापा रवाफिलो शैलीमा प्रस्तुत हुन्छ, ‘विशेष सुराकीका आधारमा हामी आएका हौं । तैंले वेश्यावृत्ति र गाँजा–चरेसको धन्दा गर्छेस्!’

केहीबेर कोठाका सामान यताउता छरेपछि उनीहरू गए । यता, घरबेटीको चेतावनी, ‘भोलि बिहान ६ बजे कोठामा साँचो लगाउँछु । त्यसअघि नै कोठा खाली गर्नू ।’

भोलिपल्ट–

पहिलोपटक शहर आउँदा लगाएर आएको कुर्ता–सुरुवाल लगाएँ । आँखामा धेरै गाजल दलें । गाउँबाटै ल्याएको झोला भिरें, चप्पल लगाएँ । र, झिसमिसेमै कोठाबाट निस्कें ।

रत्नपार्कतिर फुटपाथमा एउटी दिदीले पकाएको चिया पिउँदै थिएँ । उनी सोध्दै थिइन्, ‘भर्खरै गाउँबाट आएको हो बहिनी? कोही बिरामीलाई भेट्न आएको हौ कि?’

‘हो, दिदी । दाइलाई भेट्न आएको । इन्स्पेक्टर हुनुहुन्छ । आज उहाँको टाउकाको अप्रेसन छ ।’

त्यहीबेला रेस्टुरेन्ट मालिकको फोन आयो । ‘कहाँछौ? सञ्चै छौ? चटक्कै माया मार्‍यौ त! ठूलै प्रगति गर्‍यौ कि? अचेल यता पनि आउँदिनौं । भरे आऊ न रेस्टुरेन्टतिर । भेटघाट गरौं,’ उसले यस्तै भाषा बोल्यो ।

‘दाइ पनि । बैनीले माया मारेकी छैन । भरे होइन, अहिले नै आउँछे । बरु इन्स्पेक्टर सरको मन राख्न सकिनँ । उहाँरिसाउनु भएजस्तो छ । उहाँलाई पनि खबर गर्नू, म छिटै आउँछु,’ म उस्तै बनिदिएँ । जस्तो, उसको उद्देश्य थियो ।

भर्खरै दसैं–तिहार सकिएको । काठमाडौं खाल्टोलाई बिस्तारै चिसोले छोप्न खोज्दै थियो । बिहानीपख । धमाधम सडक बढारिँदै थियो । कलेज–ट्युसन जाने, मर्निङ–वाक गर्ने फटाफट हिँड्दै थिए । चिया पिएपछि सुस्त–सुस्त सडकमा मैले उही अनौठो सपना देख्नेलाई फोन गरें । ऊ गाउँगएको रहेछ ।

भन्दै थियो,

मैले फेरि सपनामा उनै बूढीआमा देखें । भनिन्, ‘मैले तँलाई आफ्नै आमाको योनीमा पूजा गर्नू भनेकी थिएँ । तैंले चलाखी गरिस् । चलाखीले ज्ञान र शान्ति प्राप्त हुँदैन । तेरो बुद्धिले भ्याएसम्म जे गरिस्, ठीकै गरिस् । मैले सम्पूर्ण श्रद्धाभावमा पूजा गर्नू भनेकी थिएँ । तर, पूजा गर्दागर्दै तँएकपटक उत्तेजित भएको थिइस् । उत्तेजित अवस्थामा श्रद्धाभाव आउँदैन । पूजाको विधि पुगेन छोरा । केही छैन, म अर्को सजिलो विधि बताउँछु । अबदेखि स्वतःस्फूर्त कुनै वृद्धाआमाको सेवा गरी बस्नू । सेवालाई कुनै बन्धन र सजायको रूपमा नलिनू । पुण्य सम्झेर सेवा गरिरहनू । अथाह सुख, शान्ति र समृद्धि अवश्य प्राप्त गर्नेछस् ।’

यता, घरबाट आमाले पनि बारम्बार फोन गर्नुभयो । हरेक दिन सपनामा तँलाई नै देख्छु भनेर बोलाउनुभयो । त्यसैले म गाउँआएँ । अब केही गर्ने सोच्दैछु ।

०००

ऊसँग फोनमा धेरै कुरा हुन सकेन । नेटवर्कले धोका दियो । मध्याह्नतिर म रेस्टुरेन्ट पुगें । इन्स्पेक्टर थापा विशेष कक्षमा बसेको रहेछ । उस्तै निर्दोष मुस्कान दिएँ । जस्तो, शहर आएको सुरु–सुरुमा मुस्काउँथें । ऊ मलाई लट्ठ परेर हेर्न थाल्छ ।

शिरमा लगाउन वा देउरालीलाई चढाउन होस्, एउटा फूल चुडाउँदा दिल दुख्थ्यो । एउटा अन्डा फुटाउँदा हात काम्थ्यो, जिउँदो चल्ला छ कि भनेर । हो, साह्रै क्रूर बनेर मैले इन्स्पेक्टर थापाको हत्या गरें । मैले झोलामा खुकुरी लिएर गएकी थिएँ । उसको सामुन्ने उभिएर शिरमा प्रहार गरें ।

त्यो रात कुमारित्व तोडिएपछि निकै रोएकी थिएँ । ऊ भन्दै थियो– ‘यो आँसु । शिरमा ताज पहिरिँदै गरेकी सुन्दरीको आँसु । अनि, भीरमा घाँस काट्दै गरेकी, स्कुल–कलेजको मुखै नदेखेकी, हृदयभरि माया सँगालेर कुनै परदेशीको प्रतीक्षामा बसेकी दिलमायाको आँसु । सबैका आँसु नै हुन् । तर, यिनीहरूले एक–अर्काको आँसुलाई जान्दैनन् ।’

यो कठघरामा उभिएर म कुनै पश्चाताप र क्षमा–याचना गर्दिनँ । मलाई यो अदालतको जस्तोसुकै फैसला मञ्जुर छ । सजाय भोग्नुअघि एकपटक उनै आमालाई भेट्न चाहन्छु । जुन आमाको सन्तानको सपनाले मेरा सपनाको हत्या हुनबाट जोगाएको छ । एकपटक म उनै आमाको स्पर्श चाहन्छु ।

ध्रुवसत्य परियार
नागरिक दैनिक
12 May 2013 आइतबार २९ बैशाख, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *