Skip to content

महाकाव्य क्रान्तिकारी विश्वेश्वरको सङ्क्षिप्त अध्ययन

  • by
20130518_SadaNandaAbhagi_Lekh_KrishnaDeviSharmaShrestha


नेपाली राजनीतिका युगपुरुष, प्रजातान्त्रिक समाजवादका अग्रणी एवम नेपाली साहित्यका मूर्धन्य व्यक्तिको बारेमा लेखिएको यो महाकाव्यले नेपाल तथा अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक समाजवाद दलगत तथा निर्दलीयता आदि विविधतालाई समेट्दै नवलपरासीको नारी हस्ताक्षरको प्रथम महाकाव्य र प्रथम महाकवयित्री, नेपाली साहित्यमा संलग्न महाकवयित्रीमध्येमा पञ्चम स्थान ओगट्न सफल हुनुहुन्छ कृष्णाजी ।

नवलपरासीको साहित्यमा रामनाथ शर्मा खनालका (१९६६-२०५३) ऐतिहासिक गीति महाकाव्य प्रजातन्त्रोदय (२०४८) र पौराणिक महाकाव्य पाण्डु (२०४९) सदानन्द अभागीका (सन् १९४७) तीनयुग एक कथा (२०६०) र अग्निज्वाला (२०६१) महाकाव्यहरूको साथै कृष्णाजीको क्रान्तिकारी विश्वेश्वर (२०६९) को प्रकाशनले गर्दा नवलपरासीले महाकाव्यको प्रकाशनमा निरन्तरता पाएको महसुस भएको छ । वास्तवमा यो क्रान्तिकारी विश्वेश्वर महाकाव्यले नेपाली साहित्याकाशमा एउटा उज्ज्वल ताराको स्थान ओगट्न सफल भएको छ । साथै महाकवयित्री कृष्णाको सबल र सफल साहित्यिक यात्राले नेपाली साहित्यजगतमा आधा आकाश ओगट्ने महिलाहरूको बीच एउटा साहसिक कार्य गरेर स्थापित वरिष्ठ महिला कवयित्री हुन सफल भएकोमा हामी सम्पूर्ण नवलपरासीबासीहरू गौरवान्वित हुनुपर्ने अवस्था छ । हामीले कृष्णादेवी शर्मालाई काव्यकार, कथाकार, गीतकार र गजलकारको रूपमा पाएका छौँ । उहाँको योगदान साहित्यिक क्षेत्रमा मात्र नभएर अरू सामाजिक क्षेत्रमा पनि त्यत्तिकै छ । एकदर्जनभन्दा बढी साहित्यिक सङ्घ-संस्थाहरूबाट सम्मानित भैसक्नु भएकी कृष्णादेवीको आवद्धता एकदर्जनभन्दा बढी साहित्यिक सङ्घ-संस्थाहरूमा रहेको छ । उहाँका सबै कृतिहरू मैले अध्ययन गरेको छु । हरेक विधामा उहाँको सरल अभिव्यक्ति पोखिएको पाइन्छ । धिरोदत्त गुण भएको नायकको चयन गरेर लेखिएको यो महाकाव्यमा पूर्वीय र पश्चिमेली महाकाव्यका गुणहरूलाई समेटिएको छ ।

महाकाव्यको संरचना
यो महाकाव्यमा १९ सर्ग र २६६० श्लोक रहेका छन् । अनुष्टुप्, इन्द्रवज्रा, वंशस्थ, वसन्ततिलका स्रग्विणी इन्दिरा, शालिनी, स्रग्धरा, उपजाति, रथोद्धता र मन्दाक्रान्ता गरी जम्मा १६ छन्दको प्रयोग भएता पनि अनुष्टुप् छन्दले काव्यमा अग्रस्थान ओगटेको छ । नारी साहित्य समाज नवलपरासी प्रकाशक रहेको यो कृति ४०७ पृष्ठको छ । पातलो गाताको मूल्य रु. ५५१/- छ भने बाक्लो गाताको मूल्य रु. १,००१/- रहेको छ । आवरणको अग्रभागमा विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकीका अवसरमा प्रकाशित लेखिएको लोगो राख्नुको साथै विश्वेश्वरप्रसाद कोइरालाको तस्विर सजाइएको छ । झट्ट हेर्दा निकै आकर्षक लाग्ने यो महाकाव्यको पछिल्लो पृष्ठमा कृतिकारको फोटोसहित जीवनी तथा व्यक्तित्वको साथै प्रकाशित कृतिहरू/पुरस्कार/सम्मान र आवद्धतालाई समेटिएको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अवलम्बन गर्दै निरन्तर राष्ट्रप्रति समर्पित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित यो कृतिमा सम्माननीय राष्ट्रपतिको शुभकामना सन्देश पनिरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइूला, सदस्य सचिव सनत रेग्मी, नेपाली काङ्ग्रेस पार्टी सभापति सुशील कोइरालाका शब्दसुमनले सजिएको यो महाकाव्यमा त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालज्यूले महाकाव्य परम्परामा क्रान्तिकारी विश्वेश्वरकी प्रसवित्री कृष्णाप्रति हार्दिक शुभकामना शीर्षकमा नवलपरासी जिल्लामा प्रकाशन भएका रामनाथ शर्मा खनालका दुई र सदानन्द अभागीका दुई महाकाव्य प्रकाशित भैसकेका र यतिखेर कृष्णादेवी शर्मा श्रेष्ठको यो महाकाव्य नेपालका कवयित्रीहरूले लेखेका महाकाव्यमध्येका पञ्चम नम्बरको महाकाव्यमा स्वीकार्दै उहाँको यो वृहत्तर लेखनकार्य अति नै महान् बन्न सकेकोमा शुभकामना प्रकट गर्नुभएको छ । वरिष्ठ कवि गजलकार गोविन्दराज विनोदीले क्रान्तिकारी विश्वेश्वर माथि एक दृष्टि शीर्षकमा भूमिका लेख्नुभएको छ भने नारी साहित्य समाज नवलपरासीका सल्लाहकार उद्योगबहादुर श्रेष्ठले प्रकाशकीय लेख्नुभएको छ । कवयित्री कृष्णादेवीले गुणग्राहिता शीर्षकमा शार्दूलबिक्रीडित छन्दको प्रयोग गर्दै ३१ श्लोकमा आफ्नी जन्म दिने माता तुलसा, धर्मकी आमा भागिरथी, दाजुहरू गङ्गाराम, खीलप्रसाद केदार (स्वर्गारोहण) र दिदीबहिनीहरूमा पार्वती (स्वर्गारोहण) गनसा र कृष्णा भएको जानकारी गराउनुको साथै यस महाकाव्य लेखन र प्रकाशन प्रकृयामा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउनुहुने महानुभावहरूमा लाखौंलाख सम्झना धन्यवाद पस्कूदै अन्त्यमा आमा भागिरथीलाई शब्दश्रद्धाञ्जलि अर्पण गरेकी छिन् । मङ्गलाचरणबाट महाकाव्यको लेखनक्रिया थालनी भएको छ । मङ्गलाचरणमा छन्दलाई सल्ल बगिदेऊ भन्ने अनुरोध गरिएको छ ।

कथावस्तु
विश्वेश्वरप्रसाद कोइरालाको पूख्र्यौली थलो लमजुङको कोइराला फाँट भएको कुराबाट उठान गरी यहाँबाट एक परिवार मकवानपुर हुँदै दुम्जासम्म पुगेको कुरामाथि प्रकाश पार्दै दुम्जाका दामोदर कोइराला काजी बन्न पुगेको कुरा उल्लेख भएको छ । नन्दिकेश्वर डिठ्ठा भएर काठमाडौ बस्न थाले भन्ने र यिनी कविसमेत भएको कुरा महाकाव्यमा पढ्न पाइन्छ । त्यसबेला राणाहरू (जङ्गबहादुर) शक्तिवान थिए र यिनको चाला मन नपराएर नन्दिकेश्वर दुम्जा आएर बस्न थालेको कुराले त्यसबेला राणाहरूले नेपाली जनतालाई कति दुःख दिएका थिए भन्ने कुरा प्रस्ट छ । यसरी कृष्णप्रसाद कोइराला नन्दिकेश्वर कोइरालाका चौथा पुत्र थिए भन्ने कुरा खुल्न आएको छ । फेरि कृष्णप्रसादले तीन विवाह गरेका र पहिली श्रीमतीको मृत्यु भई मातृका कोइरालाकी आमा मोहन कुमारीका साथ दोस्रो विवाह भएको कुरामाथि प्रस्ट पारिएको छ । विश्वेश्वरकी आमा दिव्या कोइराला कृष्णप्रसादकी कान्छी श्रीमती भएको कुरा बडो आकर्षक शैलीमा वर्णन गरिएको छ । कृष्णप्रसाद साह्रै मिलनसार स्वभावका थिए । त्यसैले एउटा डाक्टरलाई घनिष्ट साथी बनाउन यिनी सफल भएका मात्र थिएनन्, यिनी आफ्नो जीवन सफल छ भन्ने कुरामा पनि विश्वस्त थिए । अन्त्यमा कोइराला परिवारको बसोबास विराटनगरमा भएको थियो । समाजसेवा, शिक्षासेवा, व्यापार गर्दै कृष्णप्रसाद जीवनपथमा अगाडि बढेको पाइन्छ । वी.पी. १९७१ को भाद्र १० गते दिव्याको प्रथम पुत्ररत्नको रूपमा वनारसमा जन्मेको कुरा, चुँडामणि नामकरण गरेर पनि पछि कालिदासले विश्वेश्वर नाम राखेको कुरा उल्लेख गर्दै शल्यक्रियाद्वारा वी.पी.को जन्म भएको कुरासमेत उल्लेख छ । कृष्णप्रसादले समाजसेवामा आफूलाई समर्पण गर्नु, त्यो बेला पनि महिला सङ्घको गठनजस्ता कुराले कृष्णप्रसादमा भएको राष्ट्र र नेपाली जनताप्रतिको मोह प्रस्टिएको छ । चन्द्रगञ्जको बसाइमा त्यो बेलाका नेपालका प्रधानमन्त्री चन्द्रशमशेर र कृष्णप्रसादबीच मनमुटाव उत्पन्न हुनु, कृष्णप्रसादले ढाक्रेका टोपी, लङ्गौटी र भोटाहरू चन्द्रशमशेरलाई पार्सल पठाएर नेपाली जनताको अवस्था अवगत गराउनुजस्ता कुराको कारण चन्द्रशमशेरले कृष्णप्रसादको सर्वस्व हरण गरी भारत निर्वासित भएका घटनाले पाठकको मनलाई द्रविभूत बनाउन पुगेको पाइन्छ । कृष्णप्रसादको परिवारले भारतमा बस्दा ज्यादै दुःख पाउनु परेको अवस्था अध्ययन गर्दा कुनै पनि पाठकका आँखा रसाउन पुग्दछन् ।

आर्थिक अवस्था ज्यादै दयनीय भएका कृष्णप्रसादले कोशी किनारमा जग्गा किनेर परिवारको बसोबास व्यवस्था मिलाउछन् र शिक्षा, स्वास्थ्य, र सङ्गित कलामा समेत अभिरुचि राखी परिवारसँग रमाएर रहन्छन् । बढ्दै गएका वी.पी.मा फ्रायडवादको प्रभाव पर्नुजस्ता वास्तविक कुराहरूको वर्णनले महाकाव्यको गरिमालाई उचालेको छ ।

यसरी कृष्णप्रसादमा राजनैतिक चेतनाको बढी मात्रामा विकास हुन्छ । भारतमा स्वतन्त्रताको आन्दोलन सुरु हुन्छ । कृष्णप्रसादसँगै मातृका र विश्वेश्वरमा पनि राजनीति विचारधाराको जन्म हुन्छ । वी.पी. र कृष्णप्रसादको भारतीय राजनीतिमा संलग्नता रहँदै जान्छ । यो कुराले वी.पी.को राजनीति भारतबाट थालनी भएको कुरा प्रस्ट हुन्छ । वी.पी.मा हिन्दी साहित्यको प्रभाव पर्दछ । वी.पी.को लेखरचनाहरू हिन्दी पत्रिकामा प्रकाशित हुन थालेका कुरा, टेढीमा कोशी नदीको बाढीले घरजग्गा बगाएर कोइराला परिवारको बिचल्ली बनाएको घटनाको वर्णनले पाठकहरू आत्मविभोर हुन्छन् । वी.पी.लाई वनारस पढ्न जान मन लाग्दछ तापनि खर्चको अभावमा तड्पिँदा सानीआमाले कानका सुनका मुद्रा बाटाखर्चको रूपमा दिँदाको दृश्यले पाठकको ह्दयमा ठेस लाग्दछ । आफ्ना परिवारले पत्रिका बेचेर बिहान(बेलुका हातमुख जोड्ने समस्या समाधान गर्नुपर्दाको समय ज्यादै दुःखदायी देखिन्छ । वी.पी.लाई आध्यात्मवादको प्रभाव पर्नु साहित्यमा छायाँवादको ज्ञान आर्जन हुनु, १५ वर्षको उमेरमा जेलचलान हुनुजस्ता घटनाले वी.पी.को साहसी बाल्यकाललाई प्रदर्शित गर्दछन् । चन्द्रशम्शेरको निधनपछि भीमशम्शेर नेपालका प्रधानमन्त्री भएपश्चात् कृष्णप्रसाद नेपाल बोलाइनु, पुनः यिनको व्यवसाय सुरु हुनु, १९३७ सालमा वी.पी.को सुशीलासँग विवाह सम्पन्न हुनुजस्ता कुराहरूले यो महाकाव्य खचाखच भरिएको छ ।

नेपालको राजनीतिमा जागरण आउनु, मकैपर्व, हलोक्रान्ति, प्रज्ञापरिषद्को स्थापना हुनु नेपाल प्रजातन्त्र काङ्ग्रेसको जन्म हुनु, वी.पी. जेलमा अनसन बस्नु, सरकारी पक्ष्ँबाट माग पूरा हुने आश्वासन प्राप्त हुनु, २०१५ सालमा आमनिर्वाचन हुनु, नेपाली काङ्ग्रेसले चुनाव जित्नु र वी.पी. प्रधानमन्त्री भएपश्चात् मातृकालगायत राजाको कुदृष्टिका कारण १८ महिनामै वी.पी.को मन्त्रीमण्डल र संसद विघटन हुनु, पार्टीप्रति प्रतिबन्ध लागेर वी.पी. जेल पर्नुजस्ता घटनाचक्रको वर्णनले महाकाव्यलाई इतिहासमय बनाएको कुरा ध्रुवसत्य छ । जेलमा बन्दीहरूले पाउने सुविधाको लागि अनसन, साहित्यको अथाह सृजना, ८ वर्षमा जेलबाट रिहाइ, उपचारार्थ भारत प्रस्थान, राजा र वी.पी.बीच वार्ता तर वार्ता भङ्ग भएपछि सशस्त्र क्रान्तिको थालनी, फेरि क्रान्ति असफल हुनु र वी.पी. निर्वासित जीवन यापन गर्न बाध्य हुनुजस्ता सम्पूर्ण नेपाली राजनैतिक घटनाक्रमको अभिव्यक्तिले नेपाली राजनीतिको ताजा स्मरण भएर नेपाली युवा(युवतीमा जोश र जाँगर थप्ने खुराक हुने कुरामा निशङ्का देखिन्छ ।
वि.सं. २०३३ सालमा मेलमिलापको नीति लिएर वी.पी. पुनः नेपाल फर्कनु, वी.पी. जेल जानु, राजा महेन्द्रको देहावसान हुनु, वीरेन्द्र राजा बन्नु, वी.पी. फेरि उपचारार्थ अमेरिका जानु, फर्केपछि जनमत सङ्ग्रह हुनु, जनमतको परिणाम नेपाली जनताको अनुकूलतानुसार नहुनु, जनताको निर्णय वी.पी.ले स्वीकार्नु, वी.पी. आफ्नो राष्ट्रको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा समर्पित हुँदै नेपाली साहित्यको विकासमा थप आयाम थप्दै धेरैभन्दा धेरै कृतिहरूले नेपाली साहित्यको भण्डार भरेर २०३९ सालको श्रावण ६ गते वी.पी.को सपना पूरा हुन नपाउँदै दुःखद् निधनको चोट नेपाली जनतामा पर्दछ । सुशीलाले बिलौना गर्छिन् । त्यो बेला सारा राष्ट्र मात्र नभएर विश्व नै शोकाकुल बन्छ । अन्त्यमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको चिन्तनलाई जीवन्त राखे मात्र वी.पी.प्रति सही श्रद्धाञ्जलि हुने धारणा व्यक्त हुन्छ । यसरी नेपालका एक सच्चा राष्ट्रवादी नेताको दुःखद् अन्त्य भएको हुन्छ र महाकाव्यको समाप्ति पनि हुन्छ ।

यो महाकाव्यको गहन अध्ययन गर्दा हामीले धेरै विषयका विविधताले भरिएका घटना, शिक्षा, दृढता, सहनशीलता, क्रान्तिकारी कदम, आत्मासमालोचनाको शिक्षा राष्ट्र-राष्ट्रियता मानव जीवनभन्दा महान् हो भन्ने धारणा, एउटा साहित्यिक व्यक्तित्वले साहित्यविधालाई साहित्यिक अभिव्यक्तिमा राखेर राजनीति पक्षमा समाहित कसरी हुन सकिन्छ भन्ने मार्गदर्शन प्रस्तुत गरेको छ ।

नामकरण र महाकाव्य
यथा नाम तथा गुण भनेजस्तै यो महाकाव्यको नामकरण पनि महाकाव्य अनुकूल नै छ । वी.पी. र वी.पी.का बाबु कृष्णप्रसाद कोइरालाका जीवनमा आधारित घटनालाई र राष्ट्र, समाज अनि राष्ट्रियताप्रतिको अवधारणालाई केलाउँदा मलाई त यो महाकाव्यले क्रान्तिकारी विश्वेश्वर मात्र नभएर क्रान्तिकारी कृष्णप्रसाद कोइराला भनी दुई महाकाव्यको यथार्थतालाई एकै सूत्रमा आवद्ध गरी क्रान्तिकारी विश्वेश्वर गरिएको छ तापनि महाकाव्यमा क्रान्तिकारी कृष्णप्रसाद कोइरालाको अवधारणालाई पनि बोकेको हुनाले यो महाकाव्यमा टु इन वानु को विशेषता छ भन्न अतियुक्ति नहोलाजस्तो लाग्दछ ।

महाकाव्य र सामाजिक चिन्तन
यो महाकाव्य एउटा समाजवादी चिन्तनका अग्रणी नेताका भएकाले समाजवादको व्याख्या हुनु स्वाभाविक हो । वी.पी. मात्र नभई उनका पिता कृष्णप्रसाद कोइराला पनि एउटा समाजवादी चिन्तक भएको कुरा उल्लेख भएको छ । समाजसेवामा नै आफ्नो सारा जीवनको यश(आराम त्यागेर राष्ट्र र समाजसेवामा समर्पित ऐतिहासिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाको बारेमा महाकाव्यले उदाहरणसहित प्रस्तुत गरेको छ । बेलडाँगीमा विद्यालय र अस्पताल खोल्नु, काली मन्दिर निर्माण गर्नु, एनिविसेन्टको सेफिकल नामक संस्थाको स्थापना, चन्द्रगञ्जको नामकरण, रानीको अध्यक्षतामा पहिलो महिला सङ्घको स्थापना, ढाक्रेका फोहोर कपडा पोको पारेर चन्द्र शमशेरलाई पार्सल पठाउने साहसिक कार्य, टेढीमा छाप्रा निर्माण गरी लघुग्रामको निर्माण, हाजीबागमा विद्यालय र छात्राबास बनाउनु, चन्द्र शमशेरलाई दासमोचनका लागि पत्र लेख्नु र दासमोचनसमेत गरी छोड्नुजस्ता कार्य समाजवाद स्थापनाका ज्वलन्त उदाहरण मान्न सकिन्छ ।

मातृभाषाको सम्वर्धन र विकासको लागि चन्द्रशम्शेरलाई पत्र पठाउनु, राणाहरूको ए.वी.सी. कक्षामा वर्गीकरण गरिनु, नेकाको छैठौं महाधिवेशनमा समाजवादको अवलम्बन, २०२५ साल माग १ गते वी.पी.ले राष्ट्रियता, प्रजातन्त्र र समाजवादसम्मत अभिव्यक्ति दिनु २०३५ साल माघमा सिड्नीमा भएको समाजवादी सम्मेलनमा वी.पी.को सहभागिता हुनु, पाषण युगदेखि हालसम्मको सामाजिक यथार्थताको चित्रण, प्रजातान्त्रिक समाजवादको परिभाषा र उद्देश्य, विश्वसमाजवादी सम्मेलनमा वी.पी.को सहभागिता, सारगर्वित अभिव्यक्ति र समाजवादप्रतिको लगावलाई प्रस्तुत महाकाव्यले समेटेको छ । यो महाकाव्यलाई एउटा समाजवादी चिन्तनको दस्तावेजको रूपमा पनि लिन सकिन्छ ।

महाकाव्य र नेपालको शासन पद्धति
यो महाकाव्यले नेपालको करिब २३९ वर्षको शासन पद्धतिलाई समेट्ने प्रयास गरेको छ । कोइराला परिवारमा दामोदर (कवि) नन्दिकेश्वर (डिठ्ठा) कृष्णप्रसाददेखि वी.पी.सम्मको विवरण प्रस्तुत गरिएको छ भने जङ्गबहादुर राणादेखि लिएर मोहन शम्शेरसम्म भएका मुख्य(मुख्य घटनाक्रमलाई उजागर गर्ने कार्य कवयित्री कृष्णाबाट भएको छ । राणहरूको शासन, प्रजातन्त्रोदय, पञ्चायत र पुनः प्रजातन्त्र प्राप्तिको लागि चालिएका आन्दोलन प्रयासलाई प्रस्तुत गरिएकोले यो महाकाव्य नेपाली शासन पद्धतिको पनि ऐतिहासिक दस्तावेजको रूपमा मान्न सकिन्छ । राणाहरूमा जङ्गबहादुर आफू शक्तिशाली भएर राजालाई आफ्नो अधिनमा राखेर शासन चलाए, सत्ताको लागि राणाहरूमा हानथाप हुन थाल्यो, पद्म शम्शेरले गद्दी त्यागेर, मोहन शम्शेर प्रधानमन्त्री बने । राणाहरूमा वर्ग विभाजन भएर सीु वर्गले प्रधानमन्त्रीको रोल नपर्ने भएर जुद्ध शम्शेरका पालामा सुवर्ण शम्शेरलाई निकालियो । यसरी राणा शासन विरुद्धमा वी.पी. २००६ सालमा अनसन बसे । ने.का.ले आर्थिक र राजनीतिक स्वतन्त्रताको लागि सशस्त्र क्रान्ति गरी मुक्तिसेनाको त्याग र तपस्याले २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भयो । खुकुरीदल (गोरखादल) जन्मियो । प्रजातान्त्रिक सरकारमा मातृका प्रधानमन्त्री बने । वी.पी. र मातृकामा पनि मनमुटाव उत्पन्न भयो । यी आदि महत्त्वपूर्ण ऐतिहासिक घटनाक्रमका कुरालाई विविध छन्दमा माला उनेर लेखिएको यो महाकाव्य विषय विविधताका कारणले पनि पठनीय र मननीय छ भन्न सकिन्छ ।

राजा त्रिभुवनको मृत्युपश्चात् वि.सं. २०११ चैत्र १ गते महेन्द्रले श्रीपेच पहिरिएर भएको आम चुनावपछि २०१६ जेष्ठ १ गते वी.पी. नेपालका प्रधानमन्त्री बनेर विर्ताउन्मुलन, राजारजौटाका अदालत खारेज, उद्योगधन्दाहरू खोलिनु, राष्ट्रलाई विदेशी सहयोग प्राप्त हुनु, सिंचाइ कृषिमा विकास, बैङ्कहरू खोलिनु आदि विकासका कार्यहरूले वी.पी. प्रधानमन्त्री भएका समयलाई उज्यालो प्रदान गरेका छन् । २०१७ सालमा महेन्द्रले शक्ति हत्याएर शिशु प्रजातन्त्रको हत्या गरी पञ्चायती व्यवस्था लादिएको कुरा पढ्दा चेतनशील नेपालीको मन छुने हुन्छ । २०२८ सालमा महेन्द्रको निधन भएपश्चात् नेपालमा राष्ट्रिय शङ्कट पैदा भएको र २०३३ सालमा नेपाल राष्ट्र बचाउन मेलमिलापको नीति लिएर वी.पी. नेपाल फर्केका जस्ता घटनालाई उल्लेख गरिएकोले महाकाव्यको ओज अभै बढेको छ भन्न अत्युक्ति हुने छैन । २०३६ सालमा भएको जनमत सङ्ग्रहको परिणाम पञ्चायतको पक्षमा भएर पनि जनताको अभिमतलाई कदर गर्दै परिणाम स्वीकार्ने वी.पी. साँच्चै राष्ट्र र जनताको लागि मरिमेट्ने नेताको रूपमा प्रमाणित गरेको छ यो महाकाव्यले । यसरी नेपालको शासन पद्धतिलाई उदाहरणसहित प्रस्ट पार्ने प्रयास गरिएको छ प्रस्तुत महाकाव्यमा । नेपालको शासन पद्धतिमा घटेका (कोतपर्व भण्डारखाल पर्वजस्ता) घटनाहरूको पनि वर्णन गरिनुले महाकाव्यको गरिमालाई बढाएको छ ।

महाकाव्य र सङ्घसंस्थाहरू
यो महाकाव्यका नामक वी.पी. कोइराला नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ निरन्तर सङ्घर्षरत रहेको कुरा अखिल भारतीय नेपाली काङ्ग्रेस, वनारसमा नेपाली छात्रसङ्घको स्थापना, युगवाणी पत्रिकाको जन्म, ने.का.को. विभाजन, नेपाली प्रजापञ्चायत, नेपाली राष्ट्रिय काङ्ग्रेस, फेरि दुई काङ्ग्रेसको मम्मिलन हुनु, मातृका कोइरालाले अर्को पार्टी खोल्नु, पार्टी प्रतिबन्धित हुनु, फेरि पार्टीलाई खुला गरिदिनुजस्ता पार्टीका महाधिवेशन हुनु, २०३० सालको विमान अपहरण, नेपाली विद्यार्थी सङ्गठन र नेपाली काङ्ग्रेस पार्टीको (२०३५-२०३६) विशाल विद्यार्थी आन्दोलन आदिलाई समेट्दै संस्थागत अवधारणालाई समेट्ने प्रयास गरिएको छ यो महाकाव्यको संरचनामा ।

वी.पी.को साहित्यिक यात्रा
हरेक विषयमा गहन अध्ययन गर्ने वी.पी.को स्वभाव थियो । महाभारत, हिन्दीका कथाहरू र उपन्यासहरू पढ्ने बानीले यिनमा फ्रायडेली यौनवाद, आध्यात्मवाद र छायाँवादको प्रत्यक्ष प्रभाव पर्न गयो । कक्षा ९मा पढ्दा नै कविता लेख्ने गर्दथे । यिनका रचना, पत्रपत्रिकामा प्रकाशन हुँदै गए । शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, जयशङ्कर, सुमित्रानन्दन पन्तजस्ता भारतीय साहित्यकारहरूको सङ्गतले १६ वर्षको उमेरमै साहित्यिक स्रष्टा बन्न सफल रहेको कुरा महाकाव्यमा उल्लेख भएको छ । जेलजीवन साहित्यमय भएको कुरा पनि महाकाव्यमा दर्शाइएको छ । यिनका कथाहरू मनोविज्ञानवादमा आधारित रहेको कुरा यिनको चन्द्रवदनु नेपाली कथाले प्रस्ट्याएको छ । वी.पी.ले नेपाली कथालेखन परम्परालाई तोडेर मनोवैज्ञानिक लेखनका आधारलाई अवलम्बन गरेको कुरा महाकाव्यमा प्रस्ट उल्लेख भएको छ । श्वेतभैरवी र दोषी चश्माजस्ता कथासङ्ग्रहहरूको प्रकाशनले नेपाली साहित्यको कथालेखन शैलीलाई निकै उचाइमा पुर्याएको कुरा महाकाव्यमा वर्णन गरिएको छ । उपन्यासकारको रूपमा पनि नेपाली साहित्याकाशमा वी.पी.को स्थान अति चम्किलो ताराको रूपमा देखापरेको कुरा यो महाकाव्यले प्रमाणसहित वकालत गरेको छ । यिनका उपन्यासहरू तीन घुम्तीमा अस्तित्ववाद अवलम्बन छ भने नरेन्द्रदाइ दोस्रो उपन्यासमा नारीमूलक अस्तित्ववाद र नियतिवादको समेत विश्लेषण पाइन्छ । मनोविज्ञानको धार लिएको सुम्निमामा भौतिकवाद र आध्यात्मवाद दुवैको सम्मिश्रण पाइन्छ । यो उपन्यास आर्य र अनार्यको बीचको द्वन्द्वलाई समेत अवलम्बन गर्दछ । मोदी आइन (२०३७) वी.पी.को तेस्रो उपन्यास हो जसको अध्ययनबाट महाभारतको युद्धको स्मरण हुनुको साथै गीताको सारसङ्क्षेप देखिने मानवमूलक वी.पी.को विचारलाई प्रस्ट्याउने कार्य गर्दछ । हिटलर र यहुदी (२०४०)ले मनोविज्ञानको आधार लिएको छ । पूर्वीय र पाश्चात्य दुवै चिन्तन बोकेको छ यो उपन्यासले । बाबु(आमा र छोरा (२०४५) यो उपन्यासमा पाइने मनोविश्लेषणात्मक मानववादी सोच र शैलीबारे व्याख्या गर्दै वी.पी.ले लेखेका आफ्नो कथा जेलजर्नल र आत्मवृत्तान्तजस्ता कृतिबारेमा पनि चर्चा चलाइएको छ । यी माथिका सम्पूर्ण विषयवस्तुहरूमा यो महाकाव्यले विवरणात्मक र तुलनात्मक विश्लेषण गरेको छ ।

काव्यको भाषाशैली
भाषा सरल, सरस र वर्णनात्मक छ । शैली विन्यास, करुण, वीर, शृङ्गार आदि रसहरूको प्रयोग भएको छ । यो महाकाव्य छन्दोबद्ध रूपमा प्रस्तुत महाकाव्य हो तापनि सबैले बुझ्ने सरल शैलीको प्रयोगले यो काव्य पाठकहरूलाई रोचक खुराक बन्ने देखिन्छ । हरेक छन्दको नाम प्रस्तुत गरिएको यो काव्य छन्दको ज्ञान गर्न चाहने नेपाली साहित्यका लेखक र पाठकहरूलाई उपयोगी सिद्ध हुने कुरा स्वीकार्नै पर्छ । अन्त्यानुप्रासको राम्रो संयोजन हुनुको साथै रूपक, उपमा, दृष्टान्त, स्वभावोक्ति, उत्प्रेक्षा सन्देहजस्ता अलङ्कारहरूको प्रयोगले शृङ्गारिक बनेको छ यो महाकाव्य ।

महाकाव्यको परिवेश
लमजुङको कोइरालाफाँट, मकवानपुर, दुम्जा, काठमाडौ, जनकपुर, विराटनगर, टेढी, रङ्गेली, चन्द्रगञ्ज, वनारस, पटना, कलकत्ता, सुन्दरीजल, अमेरिका, युरोप र सिड्नीजस्ता प्राकृतिक सौन्दर्यले भरिएका स्थान र राष्ट्रहरूको सान्दर्भिक चर्चा यो महाकाव्यमा गरिएको छ ।

पात्रहरू
मुख्य पात्रहरूमा वी.पी. र कृष्णप्रसाद छन् भने अरू थुप्रै सहायक पात्रहरूको उपस्थिति यहाँ पाइन्छ । दिव्या, सुशीलाजस्ता नारी पात्रहरू पनि धेरै देखिन्छन् । कोइराला परिवारका अधिकांश पात्रहरू जो राष्ट्रप्रति समर्पित रहे ती प्रायः सबै भेटिन्छन् । नेपालको शासन प्रणालीमा आबद्ध जङ्गबहादुरदेखि मोहन शम्शेरसम्म र राजाहरूमा महेन्द्र र वीरेन्द्र आदिलाई भेटाइन्छ । यो समालोचकले महाकाव्यमा उल्लेख्य यथार्थतालाई मात्र प्रस्ट्याउने प्रयास गरेको छ ।

अन्त्यमा
सङ्क्षेपमा भन्नुपर्दा संरचनाको दृष्टिले यो महाकाव्य महाकाव्यीय कोटिमा पर्दछ । यसमा पोखिएका अभिव्यक्तिलाई तुलना गर्दा महाकवयित्रीले हिजोको आर्थिक, सामाजिक, प्रशासनिक, राजनैतिक र साहित्यिक गतिविधिलाई तुलनात्मक विवरणसहित समेट्ने प्रयास गर्नुभएको छ । यो काव्यमा राणाकालीन, प्रजातन्त्र र पञ्चायतमा भएका क्रियाकलापमा कोइराला परिवारको देनबारे चर्चा गर्नुको साथै यिनीहरूले खेप्नुपरेको पीडालाई समेत विश्लेषण गरिएको छ । नेपालको सम्बन्ध र विकासबारे कोइराला परिवारको के-कस्तो देन छ भन्नेबारे पनि प्रस्ट पारिएको छ । वास्तवमा वी.पी.को राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अनि जीवनीबारे प्रकाश पारिएको महाकाव्य लेख्ने कलामा पूर्ण सफल कवयित्रीलाई धन्यवाद दिन चाहन्छु ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *