Skip to content

भन्नेहरु भन्दै गर्छन¸ तिमी वर सरे हुन्छ¸
कति गर्छौ लेक बेसी¸ यतै डेरा सरे हुन्छ ।

संकीर्ण छ समाज हाम्रो हात समाइ नहिँडौला¸
लोभी आँखा पापी मन¸ छली बसाइ सरे हुन्छ ।

धुलो मैलो हिलैमा हो कमलको फूल फूल्ने¸
सभ्यताको विज छर्न¸ यतै बास सरे हुन्छ ।

पर्खाल यो कुरीतीको¸ मिलीजुली पार गर्न¸
अँझ आँट बढ्छ प्रिय¸ मनमै डेरा सरे हुन्छ ।

सुनाउलान् नी जनजनले¸बेफ्वाँकको नीति नियम¸
झुठको पर्दा धुजा पार्न¸ यतै डेरा सरे हुन्छ¸
भन्नेहरु भन्दै गर्छन्¸ तिमी वर सरे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *