Skip to content


आज राति सपनीमा एक्लै गाउँमा घुम्दै छु
सम्झी सम्झी लेखन थालेँ, खुबै दुखी छु
जे- जे देखेँ सपनीमा, त्यही त्यही लेख्दै छु
जन्म भूमि घान्द्रुक गाउँ, यहीँ देख्दै छु

जेठ -असार सबै व्यस्त, घर खाली खाली
रोपाईं गर्न मेला पसे, स्याखु टाली टाली
गाउँन थाले असारे गीत, भाका हाली हाली
म पनि त हिंडदै रैछु, खेत आली आली

बस्दै थिएँ देउरालीमा, साथी कुरेर
कोम्रोंग डाँडा पुगेछु, आफै उडेर
उडदै थिएँ माथि माथि, गाउँ तल तल
हरियाली ढक्क मक्क, गाउँ झल मल

कता जान हिंडे कुन्नि ? भैंसी खर्क पुगेँ
धेरै साथी भेट्टिए छन्, टाढा पानी कुदें
छत्लि खोला पुगिएछ, मालुंगेका घारी घारी
टुसा च्याउ टिप्दा टिप्दा, पुगी गयो भारी

कता पसे साथीहरू, म त एक्लै भएछु
घान्द्रुक लागें भनेको त, छोम्रोङ्ग गएछु
भाङ्ग्रैभरि च्याउ र टुसा, अतालिंदै थिएँ
भेडी गोठे साइँला दाइले, घरमै बास दिए

हिमान गाउँले
बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *