Skip to content

कालीनागको डसाई


बगेकी थ्यौ काली, सलल तल दौडी नजिकमा
डुबायौ है ऐले, शहर यसरी एकछिनमा
कहाँ लान्छ्यौ यत्रा ?, मनुजजनका बास यसरी ?
भवन् पक्की त्यत्रा, सलल सब पारी भकभकी ।। १

खलंगाको बस्ती, शहर अब झार्यौ बगरमा
बगायौ ती सारा,जमिन किन ? पार्यौ अभरमा
कसैका नै छैनन्, घर अब सबै बास उडिगो
कसैको हेर्दैमा, छिनभर उसै लास डुबिगो ।। २

डसो काली नाग्ले सकल अब निल्यो शहर नै
फणाँ ठाडो स्वाँहाँ……छिनभर नबित्दै घर सबै
बजार त्यत्रो खायो अजिगर हुदै निल्न कसियो
नभन्दै पो निल्यो, सबजन रुवायो यति छिटो ।। ३

लगी हाम्रा बस्ती, बगर सब पर्यौ रिसगरी
बगायौ है जम्मै, सलल किन यस्तो बिपत दी ?
अहो ! रुन्छन् मान्छे, किन र कसरी यो हुन गयो ?
भयो सारै हाः हाः कहर कसरी काल खनियो ? ४

झरी झर्झर् वर्षा अबिरल झरेको कति अझै ?
खलंगाको बाटो, भवन सब तान्यौ शहर नै
गरेकी के काली ! किन र कसरी यो दिन यसै
बगायौ ती सारा, शहर अब पार्यौ नहर झैं ।। ५

कुदी डुङ्डुङ् बाढी, सब भल पसेको शहरमा
कटान् गर्दै तान्यौ, तल तल खसाल्यौ बगरमा
धुलो उड्दै डुब्दै, अझ घर कटेरै कति गए
अहो ! कस्तो पापी, नियम ? भन, मान्छे कति मरे ? ६

महाँकाली भन्थ्यौँ, तर उपरकाली हुन गयौ
भयौ एस्तो क्रोधी, भनन किन दोषी हुन गयौ ?
रुदाछन् ती सारा, सहन नसकी चोट ननिको
सबै हेर्दा हेर्दै, भक भक लडायौ घर अहो ! ७

धुवाँ झैं बुङ्बुङ्ती, छलछल त्यसै छल्किन गयौ
सबै नै ती हाम्रा, घर भवन तान्दै लगिदियौ
कयौं मान्छे छैनन्, भवन पनि छैनन् शहरका
बगाएको कस्तो ? निरिह मनुवाको शव उता || ८

कतै भोका शोकाकुल जन यहाँ छन् बिपतमा
कसैका खै त्याहाँ, शिर अलिकती लुक्छ नि कहाँ ?
छँदै छैनन् केही, अबत तरिका छैन जिउने
न छन् भर्ने दाता, उदर तिर केहि अब भने ।। ९

रुदाछन् है कोही, जल सलल गर्दै बगिदिदा
नजानेको यस्तो, प्रलय यसको खै अघि सदा
बगाई ती धारा, नयनरस चुहाईकन यता
छुटाएको हिक्का, धुरुधुरु रुएका कति उता ।। १०

दियौ यत्रो ठूलो, प्रलय किन मान्छे छ निमुखा
न सक्थ्यो गर्नै के ? नत अरु यहाँ बढ्दछ बुता
गरेको थ्यो कैले, खलल सब वातावरणमा
कि त्यो त्यस्को साटो, अभरअब पार्यौ कित यहाँ ?

२०७० । ०३ ।०७
इटहरी – ५ सुनसरी

छन्द :- शिखरिणी
गण :- य म न स भ ल गु

याे कबिता २०७० असार २ गते दारचुला जिल्ला सदरमुकाम महाकाली नदीले बगाएका बेला लेखेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *