Skip to content

कालिजको शिकार

  • by


फाल्गुनको महिना, कृष्ण पक्षको निष्पट्ट अँध्यारो रातको ३ बजे, दिउसो भए तल हेर्दा रिगंटा लाग्ने भिर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँऊ बस्तीबाट दुई घण्टाको दुरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको साहयताको भरले अत्यन्तसानो मान्छे हिडेको गोहो पहिल्याउदै म वासस्थान फर्कने शुरमा छु । हात खुट्टा लगलग कामिरहेको छ । सानो पोथ्रो गुराँसको फेदमा छु ।

तीन महिनादेखिको भगीरथ प्रयत्न पश्चात आज मेरो कालिजको शिकार गर्ने लक्ष्य पुरा भएको छ । तर मेरो जोश जाँगर भने यौन समागमको कार्य पश्चात विर्य स्खलन भएको पुरुष यौनाङ्ग बरावर मानसिक तथा शारिरिक रुपले दूर्वल भएको छ । मेरै अगाडि गुराँसको फेदमा मैले हानेको भरुवाको ६ वटै छर्राहरू छातीभरि लागेर मूर्छित कालिज मुखबाट रगत छाद्दै प्याक प्याक मुख बाइरहेछ ।

मलाई दशैमा खसी च्याट्ट छिनेर टाउकोले आँ मुख बाउदा पानी हालिदिएको सम्झना आउछ, नजिकै कतै पानी छैन मेरो हात पनि कति ज्याद्रो रहेछ, निकै वेर भयो कालिजको प्राण पखेरु उड्न सकेन ।

टिपेर मुन्टो बटारी दिए छिटो मर्ने थियो भन्ने सोचे फेरि त्यसो गर्न हात कामेर सकिन । मलाई भूत प्रेतको पटक्कै डर लाग्दैन शिकार खेल्न प्रतिवन्धित चरा कालीज पनि हो तथापि अहिले पूलिस यहाँ आइपुग्दैन । म भरुवा लुकाईवरी सुरक्षितस्थानमा पुग्न सक्छु,कहाली लाग्दो भीर पनि अहिले आई पुगेको छैन, सुरक्षित ठाउँमा उभिएको छु । हिंस्रक जन्तु यो भीरमा सजिलै मध्यरातमा किन पो आउथे ? तर पनि म किन थरथरी कामेको हुँ छक्क परिरहेको छु ।

सोच्छु यस्तो भयानक नृशंश अपराध यो जीवनको उत्तरार्धमा आएर किन गरे ? हरे शिव ! यसले मेरो के विराएको थियो र मध्यरातमा निदाएको मौका छोपी यस्तो अपट्टे भीरमा ज्यानको बाजी राखी यो शिकार गरे । आखिर म जुनीभरीको शिकारी पनि हैन, भएन ओशो तथा महात्मगान्धीको आत्मावृत्तान्त पढेपछि आजसम्म खाई ल्याएको खसीको मासु समेत यसै पालिको दशैदेखि वहिष्कार गरी शाकाहारी बनेको छु । मासु खानको लोभले मैले यो निरीह चरालाई हत्या गरेको होइन ।

यसो सोच्छु, निशाना परीक्षण त भयो उडाई दिउ भने यो बाँच्ने वाला छैन, राम्ररी शास जान दिएर टिपेर लगी छिमेकीलाई खानदिने र जीवन भर पुन यस्तो अपराध नदोहोर्याउने प्रतिवद्धता त मनमनै त्यति बेला नै गरे तर के यो दृश्य चित्रगुप्तले देखिराखेका छैनन् ? पापको अभिलेख दर्ता भैसकेन होला र ? अवश्य भयो यदि पूर्नजन्मको अस्तित्व यथार्थ हो भने मैले त्यस पापको सजाय भोग्नु नै पर्नेछ । बरु मलाई यहाँ सम्मको क्रुर नियति बनाउन कस्को हाँत छ ? त्यसैलाई पहिचान गरी कालिजको सट्टा त्यही मानवको छातीमा विद्यमान कानून छली गोली बर्साएको भए मलाई यति धेरै डरलाग्ने थिएन । चित्रगुप्तले पनि विवेक पुर्याएर त्यसको अभिलेख राख्ने थिए होलान, त्यस कालिजको कहिकतै नालिश उजुर गर्ने हैषियत थिएन, उसले बदला लिने डर पनि मलाई नभए र नै मैले त्यो निरिह पंक्षिको नृशंश हत्या गरे ।

मैले यो सोचिसक्दा कालीजको प्राण पखेरु उड्यो । लल्याक लुलुक भएको कालीज टिपेर झोलामा हाले । पिठयूमा बन्दुक भिरेर हातमा टर्च बोकी घर फर्कदै छु, भीरमा २–४ दिन अघि आगो लागेको हुनाले समाउन कुनै झार बुटोको नामनिशाना नै छैन । सबै छुराले कपाल खौरेको टाउको जस्तो छ । अत्यन्त सानो मानिस हिडेको ठाउँठाउँमा निसाना भेटिन्छ । कथं कदाचित खसियो भने ठूलै प्रयत्न प्रश्चात मात्रै चिनो चपेटा भेटिन सक्ला, नत्र यहीबाट झरेको भनी ठाउ पहिल्याएर काज क्रिया गरे हुन्थ्यो दिउँसो भए रातमा त्यो पनि असंभव ।

पाठकवृन्द ! तपाईलाई पनि लागिरहेको होला, यति ठूलो खतरा मोलेर शिकार गर्नूको औचित्य चाहिं के ? म कुरा खोल्दै छु ।

कुरा ३ महिना अघिको हो मेरै घर अघाडी ल्याएर आँगनमा चराले कुन्नि कताबाट हो पाकेको रुद्राक्ष आधा बोक्रा खाएको आधा वाकिरहेको खसालेको रहेछ । छोराले भेटेछ, मलाई देखायो राम्ररी बोक्रा तासेर हेरे । १८ मुखे रहेछ हतार हतार वजार लगी असी हजारमा बिक्री गरे । लोभको कारणले गान्धी झैँ इमान्दरी हुन सकिन । यसमा लज्जित छु । यो कस्को हो भनेर दानाका रुख हुनेहरूलाई सोध्न म गइन फटाफट १० वर्ष अघिदेखि स्थगित रहेको । मेरो वरण्डा बनाई घर सिगार्ने काम दशै न तिहार पुरा गरे । मेरा छिमेकीहरू मुखीया वा अन्य १–२ जना ज्यादै निम्न कोटीको इर्ष्या गर्ने गर्थे उनीहरू मैले कहाँबाट पैसा ल्याएर आज १० वर्षदेखि सिगाँर्न नसकेको घर सिगारी बसाईवाला भएर पनि उनीहरूकोभन्दा राम्रो बनाएँ पत्ता लगाउन अनेक उपाय गर्दै थिएँ ।

मैले दाना भेटेको कुरा हल्ला गरिन । किनभने मेरो दानाको रुख थिएन । कसैले मेरो भनी दावी गर्न आउने संभावना थियो नजिकै छिमेकीको दानाका रुखहरू थिए । फेरि म त्यस ठाँऊमा बत्ती, पानी, शिक्षा, स्वास्थ्य सदरमुकाम नजिक भएको कारण अन्य स्थानबाट वसाई आएको निम्सरो प्रवृत्तिको बसाँइवाला थिएँ । तथापि त्यहाँका पूराना मूखिया बाहरूका अरुटै भरौटे कसैकोलाई स्वस्ती गर्ने प्रवृत्ति ममा थिएन । मर्दापर्दामा भने म उनीहरूका सरिक हुन्थे नै तैपनि छिमेकीहरू मसँग सकेसम्म रुष्ट भएका थिए ।

यस्तैमा संयोगवश मुखिया बाले सार्वजनिक धारामा नुहाउँदा सावुन पानीले चिप्लिएर आधा तोलाको औठी हराएछन् । उनी घर फर्कने वित्तिकै म धारामा पुगेको थिए । तर मैले औठी भेटाएको थिइन । उनले औठी खोजे सोधपुछ गरे तर पाएनन् । मुखियाले शंका मलाई गरेका रहेछन् । लगतै पछि मैले दाना भेटी बिक्री गरी घर सिगारेपछि भने छिमेकी तथा मुखीयालाई मैले नै औठी भेटाएको कुरो पक्का भयो । त्यही मुखियाकै घरमा बसोबास गर्ने विद्धान भनेर गनिने क्याम्पस प्रमुख कलेजका उनका साथी प्रोफेसरहरू लगायत छिमेकी पञ्च भलाद्मीहरूको सभामा मलाई अकस्मात बोलाइयो । एक जनालाई किर्ते साक्षी बकाई मैले नै औठी भेटेको भन्न समेत लगाईयो ।

मैले अत्यन्त्त अनूनय विनय गरेर आफूले औठी नभेटेको कुरा प्रष्टंयाए तर मेरो पुकारा कसैले सुनेन । उल्टो मलाई समाजको सामू साह्रै निम्नकोटीको आमा चकारी गाली मुखिया-बाबाट एकोहोरो रुपमा भै नै रहयो । कसैले किन त्यस्तो बोलेको भनी समाजमा उनीसँग प्रतिवाद गरेन । म पनि नभएको फत्यूर सहनुँ ? त्यसमा पनि आमा चकारी गाली एकोहोरो सुनिरहदा आवेशमा आई मुखिया बालाई उनकै जस्तो निम्न कोटीको गाली गर्न पुगेको मात्र थिए यत्रो समाजको सामुन्नेमा के बोलेको भनेर च्याप्प समाते क्याम्पस प्रमुखले ।

यही मौकामा मुखियाले मेरो नाकमा भए भरको वलगरी मुड्की बजारे म रगतपच्छे भएँ । दुखाइले शरिर तातेको बेला मैले मुखियालाई कुट्न खोजे । तर मलाई विद्धान र बलिया क्याम्पस प्रमुखले चटपटाउन नै दिएनन् । समाजले केही सहानुभुति राख्छ कि भनी आशा गरे । कोही चुँसम्म गरेन । जि.प्रा.का.को एक जना पूलिस अफिसर विनावर्दीमा त्यही उभिएका थिए । उनले मुखियाको छिमेकी भएको नाताले चुँसम्म गरेनन् ।

त्यतिकैमा मलाई मेरी श्रीमतीले तानेर घरतर्फ लगी सुरक्षादिइन् । मैले रगत धोए, ऐना हेरें । अनुहारमा देखाई नसक्नु निलो दाग लागेको रहेछ ।

शारीरिक पीडा त मलाई जतिको थियो नै, त्यसमा पनि समाजले मुकदर्शक बनी रमिता हेरी केही नबोलेकामा मानसिक रुपले समेत म घायल भएँ । सोचे अडामा उजुरी दिउ, फेरि मेरो पक्षमा गएर कसले साँची बकिदिने । पार्टीको आश्रय पनि कुन पाटीको मागुँ ? मैले कुनै एउटा पार्टीको झण्डाबोकेर आन्दोलेनमा गएको थिइन, उल्टो पार्टीहरूलाई देशको अस्तित्व आपसमा झगडा गरेर नै नडुवाओ अथवा भौगोलिक शुन्दरतामा विश्व चर्चित मेरी धर्तीमातालाई दोस्रो अफ्गानिस्तानमा परिणत नगरिदेओ भनेर पत्र पत्रिकामा बारम्वार लेख रचना पठाउने हुँदा जिल्लास्तरका चिनिएका पार्टी कार्यकर्ताले देखे सुने भने खुच्चिङ भन्ने कुरो निर्विवाद थियो । अतः मैले उजुर गरिन ।

बजारमा निस्कदा लाज हुने हुदाँ गाउको पुरानो घरमा गएर घरेलु औषधी गरी निको भए तापनि नाकमा चोरीको अभियोगमा कुटिएको दाग भने गएन । मलाई हात हाल्ने वद्ध मुखिया सँगभन्दा पनि मलाई समाउने क्याम्पस चिफ र मुकदर्शक बनि रमित हेरी केही नबोली मौनसहमति जनाउने समाजसँग दुख्नसम्म चित्त दुख्यो । मैले क्रमशः प्रतिशोधको उपाय सोच्न पुगे ।

यस्तैमा एक जना माओवादी शिवीरबाट घर फर्की घरजम गरी बसेका माओवादी सेनासँग सम्पर्कमा पुगेँ । उनको सहयोगले सोडा गन्धक तथा भक्यौला वा अररीको कोइला पिनेर बारुद बनाउन वन्दुक भर्न निशाना ताक्न सिकेँ । निर्जीव निशाना ताक्न सिपालु भइसक्दा पनि पूर्ण सन्तुष्टि नमिलेको कारण एकै पटकको लागि त्यो निरिह कालीजको निर्मम हत्या गरेँ ।

पाठकवृन्द, म तपाईहरूलाई नै प्रश्न सोध्न चाहन्छु । वर्तमान कानूनको आँखा छली मैले यदि मलाई समाउने क्याम्पस प्रमुखको छातीमा नै गोली वर्षाएको भए त्यो कालिज हत्याकोभन्दा हलुका सजायमा मलाई दर्ता गर्ने थिए कि चित्रगुप्तले ? तपाईंलाई कस्तो लाग्छ ?

देउराली माइलो माल्टा
(जयबहादुर घिमिरे)
खा.न.पा.–७, संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *