Skip to content


विलियम हार्भले सन् १६१६तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९००मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C, रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए । सन् १९३० को भौतिक शास्त्रको नोबेल पुरस्कार समेत प्राप्त गर्नु भएका कार्ल लेन्डस्टेनर (जन्म १४ जून १८६८ मृत्यु २६ जून १९४३) विख्यात अष्ट्रेलियाली जीव विज्ञान र भौतिकविद्को स्मरणमा उनको जन्मदिनको अवसरलाई रक्तदान दिवस- जून १४ घोषणा गरिएको हो । भने पहिलो रक्त संचार केन्द्र सन् १९१३मा स्पेनको वार्सिलोनामा स्थापना भएको थियो । यस्तै नेपालमा वि.सं. २०२३मा वीर अस्पतालको हातमा लक्ष्मी ब्लड बैंकको नामबाट नेपाल रेडक्रस सोसाइटीले रक्त संचार सेवा सञ्चालन गरेको थियो ।

हरेक व्यक्तिले थाहा पाउनु पर्छ कि मानिसको शरीरमा रगत बन्ने प्रकृया सधैं निरन्तर चलिरहन्छ र रक्तदान गर्दा पनि कुनै नोक्सान हानि हुँदैन । तर यो ठूलो कल्याणकारी कार्य जस्लाई जहिले पनि अवसर पाउना साथ दिन सकिन्छ । रक्तदानको बारेमा चिकित्सा विज्ञान भन्छ- कुनैपनि स्वास्थ्य व्यक्ति जसका उमेर १६ देखि ६० वर्षबीचको छ र ४५ किलोग्रामभन्दा बढी तौल छ, जसलाई एच.आई.भी., हेपाटाइटिस ‘बी’ या ‘सी’ जस्ता बिमारी नभएका व्यक्तिले रक्तदान निर्धक्क साथ गर्न सकिन्छ । एक पल्टमा १ प्रिन्ट अर्थात ३ सय ५० एम.एल. रगत दिने गरिन्छ । सोको पूर्ति शरीरमा चौबिस घण्टाभित्र हुने गर्दछ । प्रत्येक स्वस्थ व्यक्तिले ३ महिनामा एक पल्ट रक्तदान गर्न सकिन्छ । नेपालमा पहिलो रक्तदान गर्ने व्यक्ति स्व. दयावीर सिंह कंसाकार हुन् भने हालसम्म सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति प्रेमसागर कर्माचार्य हुन् । उनले ४९ वर्षो उमेर सम्ममा (२०७० जेठ) १३४ पल्ट रक्तदान गरिसकेका छन् । प्रत्येक एक प्रिन्टको ३ सय ५० एम.एल. को हिसाबले पनि उनले दान गरेको मात्रा जोड्ने हो भने ४७ लिटर पुगिसक्यो । रक्तदान बारे उहाँ भन्छन्- ‘म पानीमात्र खाएर पनि रक्तदान गर्छु’ अगाडि भन्छन्- ‘त्यसका लागि अघि वा पछि विशेष तयारी गर्नुपर्दैन ।’ रक्तदान गर्दा कमजोर होइन्छ भन्ने भ्रम निवारण गर्दै उनी भन्छन्- ‘बरु दिएपछि नयाँ रगत बन्छ र व्यक्ति स्वस्थ हुन्छ । १६ वर्ष हुँदा सुरु गरेका उनले त्यसयता नियमितजसो रक्तदान गर्दै आएका छन् । ‘तीन-तीन महिनामा रक्तदान गर्नु नियमित कार्य हो । यसलाई सबैले पालना गर्ने हो भने रगत नपाएर कोही मर्दैन, उनी भन्छन् ।

रगतको रङ रातो हुन्छ । यो सबैले थाहा पाएको कुरा हो । तर यो किन रातो हुन्छ वा रातो रङको सट्टा हरियो, नीलो वा अन्य कुनै रङको किन नभएको होला भन्ने बारे सबैलाई जानकारी नहोला ।

उमेर पुगेको सामान्य मानिसको शरीरमा साधारणतया तीनदेखि चार किलो ग्राम बराबरको रगत उसको शरीरभरि संचालित भइरहन्छ । मानिसलाई बाहिर कुनै अवरोध नपुर्‍याइकन चौबीसै घण्टा नसा, धमनी, शिरा तथा कोशिका आदिद्वारा निरन्तर संचालित भइरहनुलाई प्राकृतिक संरचना भनिन्छ ।
जीवनदायी रगतद्वारा नै मानव शरीरको सम्पू्र्ण कार्यहरूको सन्चालन हुन्छ । यसैले रगतलाई ‘रिभर अफ लाईफ’ (जीवनको नदी) पनि भनिन्छ ।

रगत किन रातो देखिन्छ – रगतमा भएका राता रक्तकोषहरूले गर्दा ! हाम्रो रगतमा सबैभन्दा धेरै पाइने तत्व रातो रक्तकोष नै हो । रगतमा नब्बे प्रतिशतभन्दा बढी राता रक्तकोषहरू हुन्छ । एक थोपा रगतमा मात्रै करोडौ राता रक्तकोषहरू हुन्छन् । सूक्ष्मदर्शक यन्त्रले हेर्दा रातो रक्तकोष हामीले चियासँग खाने गरेको डुनोटजस्तै देखिन्छ । फरक यत्ति, डुनोटको बीचमा प्वाल हुन्छ तर रातो रक्तकोष बीचमा प्वालको सट्टा खोपिल्टो हुन्छ । उक्त रक्तकोष अर्थात् रक्त कणिकाहरूलाई ‘हेमोग्लोबिन’ भनिन्छ । होमोग्लोबिनभित्र हाइड्रोजन, कार्बन, नाइट्रोजन, अक्सिजन र सल्फरका दस हजार परमाणुहरूका साथै आइरन र सल्फरका परमाणुहरू हुन्छन् । हाम्रो रातो रक्तकोषले यी नै हेमोग्लोबिनको मद्दत लिँदै कार्बन डाइअक्साइडलाई फोक्सोसम्म पुर्‍याउने र तपाईँले सास फेरेर लिएको ताजा अक्सिजनलाई चाहिँ शरीरको कुनाकाप्चासम्म लैजाने गर्छ । श्वास प्रश्वास क्रियाको क्रममा फोक्सोमा पस्ने वायुको साथ अक्सिजनसँग मिलेर ‘अक्सिहेमोग्लोबिन’ भन्दछ । यसैको माध्यमले सम्पुर्ण शरीरमा अक्सिजनको आपूर्ति हुन्छ ।

रगतमा विशेषगरी प्रोटिन र फलाम मिलेर बनेका हुन्छन् । एक सामान्य पुरुषको शरीरमा प्रति घन मिलिलिटरमा लगभग ५५ लाखको संख्यामा राता रक्तकण हुन्छन् । यिनै रक्तकणहरूको संख्यामा कमी भयो भने मानिसलाई रगतको कमी ‘रक्तअल्पता’ नामक रोग लाग्ने गर्दछ, जसले हाम्रो ज्यान नै जान सक्छ । रातो रक्तकोषको अर्को महत्वपुर्ण भाग भनेको यसको झिल्ली हो । यो असाध्यै लचिलो भएकोले रातो रक्तकोष आरामसित तन्किन अनि खुम्चिन सक्छ र तपाईंको शरीरको अत्यन्तै मसिना रक्तनलीहरूमा समेत सजिलै छिर्न सक्छ ।

हाम्रो हड्डीको मासी, रातो रक्तकोष बन्ने कारखाना हो । कारखानाबाट रक्तनलीमा पसेपछि रातो रक्तकोषले हाम्रो शरीरको मुटु अनि अन्य भागहरूमा एक लाखभन्दा धेरै पटक घुमफिर गर्छ । तर अरु कोषजस्तो रातो रक्तकोषको न्युक्लियस हुँदैन । न्युक्लियस नभएपछि हलुको हुने भएकोले हाम्रो मुटुले खरबौँ राता रक्तकोषहरूलाई शीरदेखि पैतालासम्मै सजिलै पठाउन सक्छ । तर न्युक्लियस नभएकोले, रातो रक्तकोषभित्र पुरानो भएर बिग्रेको तत्वहरू मर्मत हुन सक्दैन । लभगभ १२० दिनपछि, तपाईंको रातो रक्तकोष बूढो हुँदै जान्छ र पहिलेजस्तो लचिलो हुन छोड्छ । त्यसपछि, ठूलो सेतो रक्तकोष, फागोसाइटले यी थोत्रा राता रक्तकोषहरूलाई क्वाप्प निल्छ तर आइरनका चारवटा परमाणुलाई चाहिँ बाहिर ओकल्छ । त्यसपछि, यी आइरनका परमाणुहरू प्लाज्मा प्रोटिन चढेर रातो रक्तकोषको कारखाना, हड्डीको मासीसम्म यात्रा गर्छन् र त्यहाँ नयाँ राता रक्तकोषहरू निर्माण हुँदा, ती आइरनका परमाणुहरू फेरि प्रयोग हुन्छन् । हड्डीको मासीले एक सेकेण्डमा २० देखि ३० लाखसम्म राता रक्तकोषहरू उत्पादन गरेर रक्तनलीमा पठाउँछ ।

हाम्रो रगत द्रव तथा ठोस दुई भागबाट बनेको हुन्छ । द्रव भागलाई ‘प्लाज्मा’ भनिन्छ भने ठोस भागमा रातो रक्तकोषहरू र श्वेत रक्तकोषहरू तथा प्लेटलेटहरू हुन्छन् । प्लेटलेट्सको आकारमा लगभग ०.००२ मिलिमीटर हुन्छ । यति साना आकारमा डेढलाखदेखि चारलाखसम्मको संख्या हुन्छ । प्लेटलेट एक ठोस कण हो, यसको मुख्य काम शरीरको कुनै अंग काटिएर रगत बग्न जाँदा त्यसलाई रोक्न प्रत्यक्ष योगदान यही प्लेटलेटले पुर्‍याउँछ ।

यदि हाम्रो शरीरको खरबौं राता रक्तकोषहरूले एकछिन मात्र हड्ताल गर्ने हो भने उत्तिखेरै, हाम्रो शरीरको सबै काम ठप्प हुन्छ र हामी मछौँ ।

२०७० जेठ ३१ गते गोरखापत्र दैनिकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *