Skip to content

भानु यो देशका गौरव

  • by


भानू-भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,
यी साहित्य-सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।
घाँसीका सुनिवात नाम् भुवनमा, राख्नै त इच्छा गरी
लेखे धेरथरी ति छन्द कविता, बाँचे ल पृथ्वी भरी ।।१।।

मान्छे पण्डितकै सुनेर ति कथा, भज्थे यहाँ रामको
नेपाली रचना, नपाइ पढनै, गर्थे कुरा – धामको ।
त्यो रामायण जो थियो उ रचना, हो वाल्मिकीको पुरा
उल्था त्यै गरि ग्रन्थको सरल पो, भाषा बनायौ छुरा ।।२।।

जम्मै काव्य त लेखियो नि रसिलो, जो छन्दमा देखियो,
उल्था काव्य कथा नलेखि अरुको, आफ्नो पनि लेखियो ।
शिक्षा त्यो वधुको थियो, अनि थियो, त्यो भक्तमाला भनि,
मुद्दा जेल सबै सहेर तनमा, कान्ती–पुरीको पनि ।।३।।

ऊँचो मानव भानुकै सरि यहाँ, देखिन्न कोही कवि,
साहित्यै नभमा उदाए जसरी, देखिन्छ उज्वल रवि ।
जन्मे ती कवि भानुभक्त उनको, गाऊँ त रम्घा छ नि,
आचार्यै थरका कुलीन घरका, मान्छे रहे तापनि ।।४।।

सेवामा जनका विताइ उनले, वाँडेर नौला कला
घोकिने घरमै मिलेर तिनको, श्लोकै निखारी गला ।
लेख्थे छन्द कविता छ मूख्यपनि, जो शार्दूलविक्रीडितै
त्यो रामायणको पढिन्छ कविता, मीठो छ यो छन्दमै ।।५।।

मोतीराम र लक्ष्मि-आदिकवि नै, ठूला भनी ठान्दथे,
धर्मैराज्, सम, लेखनाथ, धरणी, शम्भूहरु मान्दथे ।
नेपालीहरुका – विभूति भनिजो, त्यो राष्ट्रकै सौरभ
नेपाली मनमै रमाइ बस लौ, यो देशका गौरव ।

शार्दूलविक्रीडीत छन्द (म स ज स त त गु – १९ अक्षर)

चूडा निर्भीक
आँपपिपल ७ गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *