Skip to content

धान (लघुकथा)

  • by


“कृष्णका बा भकारीबाट धान निकाली दिनुस् है ! आज राम्रा घाम लागेका छन्,” भन्दै मिठुले आँगनमा सुकुल बिछयाउन थाल्छिन् ।

जयप्रसाद भकारीमा पुग्नासाथ चिच्याउँदै बोलाउँछन्, “ए कृष्णेकी आमा झट्टै यता आइज त !”

चर्को स्वरले आफूलाई बोलाएको सुनेपछि मिठु पनि अत्तालिंदै भकारी राखेको कोठामा पुग्छिन् । “हैन किन यसरी कराउनुभएको ? के भयो ?”

मिठुको कुरा नसकिंदै जयप्रसादले सोध्छन्, “तैंले कसैलाई धान पैंचो दिइस् ?”

मिठुले छक्क पर्दै जवाफ दिइन्, “छैन । किन र ?”

“किन भन्नु नि ! रातारात हाम्रो धान चोरी भएछ हेर् त ! आधा भकारी मात्र छ ।”

“लौन नि ! यो के भएको ?” भन्दै मिठु कराउँदै आँगनमा पुग्छिन् ।

जयप्रसाद पनि धानको बोरा सुकुलमा पछार्छन् ।

धानचोरलाई कसरी पत्ता लगाउने होला भन्दै दुई दम्पति बिस्कुन लगाउँदै थिए । त्यही बेला पल्लो घरकी पाणेनी आमै आइपुग्छिन् र सोध्छिन्, “होइन के कुरामा गल्फदी गर्दैछौ तिमीहरू जोई-पोई ?”

मिठुले भन्छिन्, “हेर्नुस्न आमै ! भकारीबाट हाम्रो धान चोरी भयो ।”

मिठुको कुरा सुनेपछि पाणेनी आमैले भनिन्, “लौ हुनुहार भएछ । एकचोटी पाइला पछ्याएर हेर त ! तै बरु पत्ता लाग्ला कि ।”

आमैको कुरा सुनेपछि जयप्रसाद भकारीको वरिपरि हेर्न थाल्छन् । नभन्दै भकारीको अलिक परबाट धानको धारो लागेको देख्छन् र उत्तिनै बेला मिठुलाई बोलाएर धारो पैल्याउँदै जाँदा पाणेनी आमैको घरमा पो पुग्छ । त्यो देखेर उनीहरू अलमल्ल पर्छन् र भित्र चिहाएर हेर्दा धानको रास लागेको देख्छन् ।

अचम्म मान्दै मिठुले सोध्छिन्,”आमै यो धान कहाँबाट आयो ? हिजो छाडी अस्ति मात्र हाम्रोदेखि दुई पाथी धान पैंचो ल्याउनु भएको होइन ?”

आमैले भनिन्, “हिजो मेरो भतिजोले ल्याइदिएको हो ।”

फेरि जयप्रसादले सोधे, “अनि यो धानको धारो चाहिं मेरो भकारी देखि तपाईंको घरसम्म कसरी ?”

“ए तिमीहरूले त मलाई पो शंका गरेछौ ? ल हेर । अघि तिम्रो धान पैंचो तिर्न जाँदा डालोमा प्वाल थियो होला ।”

आमैले यतिभन्दा उनको भतिजो पनि टुप्लुक्क आइपुग्छ र धानको थुप्रोतिर हेर्दै सोध्छ, “काकी तपाईंकोमा यति धेरै धान कसरी ?”

भतिजोको प्रश्नले आमै निगुर्मुन्टि “न ” भएर उभिइरहिन् । मिठुका जोई-पोइ भने मुखा मुख गरेर हेर्न थाले ।

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *