Skip to content

३१औं ANA सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब

  • by
20130715_GovindaSinghRawat_News


९ जुलाई, २०१३

३१औं ANA सम्मेलनको दास्रो दिन सधाझै साहित्यमय रह्यो । अमेरिकाका लागि नेपाली राजदूतावासका प्रथक सचिव तथा नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा नेपालबाट आउनु भएका प्रसिद्ध कवि तथा संस्कृतविद् तुलसी दिवसको विशिष्ट आतिथ्य र नेपालबाट आउनु भएकी कवियत्री उषा शेरचनको उपस्थितिमा ANA नेपाली साहित्य प्रतिष्ठानले अन्तरराष्ट्रिय कविता महोत्सब २०१३ को आयोजना र प्रतियोगितामा पुरस्कृत कविहरूका कविता वाचनसँगै पुस्तक विमोचनको कार्यक्रम सम्पन्न गर्यो ।

संयोगवस् यस महोत्सवमा यसपटकको निर्णायक मण्डलीका कवि तुलसी दिवस र उषा शेरचनको पनि उपस्थिति रहेको थियो ।

ANA नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३मा प्राप्त कविताहरू मध्येबाट प्राप्त नम्बरको आधारमा मोरंगका पदम गौतमको “सपना पछ्याउदै” शीर्षकको कविता प्रथम भएको छ । यसै गरी काठमान्डौकी हरिमाया भेटवालको “आमा र घाम” कविता दोश्रो भएको छ भने पोखराका ईश्वरमणि अधिकारीको “घर” कविता तृतीय भएको छ ।

महोत्सवमा प्रथम हुने कविले ‘एन एम शुभद्रा भानुभक्त काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद १००० डलर, दोश्रो हुनेले ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद ३०० डलर र तेश्रो हुनेले ‘वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ र प्रमाणपत्र सहित नगद २०० डलर प्राप्त गर्नेछन् ।

यस प्रतियोगितामा प्रतियोगितामा नेपाल, जापान, भारत, कोरिया, कतार, नर्वे, भुटान, इजरायल, सिङ्गापुर, बेलायत, थाईल्याण्डलगायत देशहरूबाट २२७ कविताहरू प्राप्त भएको बारे कविता महोत्सवका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष विनोद रोकाले जानकारी गराउनु भएको थियो ।

सहसंयोजक तथा प्रतिष्ठानका सदस्य गोबद्र्धन पूजाको स्वागत मनतव्यबाट शूरु भएको अन्तराष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कपवताहरूका कविता वाचन संगसँगै उपस्थित २६ जना कविहरूले कविता वाचान गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा कवियत्री दीपा राईको “स्पन्दनका रागहरू” कविता संग्रहको विमोचनको प्रसिद्ध कवि तथा संस्कृतविद् तुलसी दिवसबाट भएको थियो भने डा. गोबिन्दसिंह रावतको नाटक संग्रह “नेता” को विमोचन नेपाली नियोगका प्रमुख श्री अर्जुनकान्त मैनालीबाट भएको थियो ।

ANA साहित्य प्रतिष्ठानका अध्यक्ष कवि वसन्त श्रेष्ठको सभापतित्वमा आयोजित अन्तराष्ट्रिय कविता महोत्सवमा विशिष्ठ अतिथि तुलसी दिवसले कविताको प्रभावका बारेमा आफ्ना विचार राख्दै कवितालाई मञ्चनीय कलाका रुपमा हेरिनु पर्ने भन्दै आजको कविताप्रति आफ्नो धारण राख्नु भएको थियो ।

प्रसिद्ध कवि दिवसले कविता लेखनलाई हेलचेक्राईका रुपमा हेर्न नहुने भन्दै एउटा कविता जन्मन महिनौ पनि लाग्न सक्ने र वर्ष दिन पनि लाग्न सक्ने भएकोले एउटै कविताले कविलाई प्रसिद्धी दिलाउन सक्ने बताउनु भयो । त्यसैले कविहरूलाई कविता लेखनमा ईमान्दारिता देखाउन समेत अनुरोध गर्नु भएको थियो । कविता आफैमा एउटा अनुष्ठान भएकोले कविता लेख्दा कविमा देवता चढ्न सक्छ त्यसैले कवितासँग हाँसखेल गर्न नहुने बरु नसके कवितानै नलेख्न आग्रह गर्नु भएको थियो । यसको मूल्याङ्कन गर्ने अधिकार केवल पाठकलाई भएकोले कविताको मूल्याङ्कन कविको विचारसँग सहमत नहुनेले नगर्दा राम्रो भन्दै आजको समालोचकहरू स्रष्टाको विचारमा सिद्धान्त थोपरेर समालोचना गर्ने गरकोमा आफू प्रारम्भदेखि नै त्यसको विरोध गर्दै आएको बताउनु भयो ।

आफ्नो लेखन यात्राको संस्मरण गर्दै कवि दिवसले कवितामा निरन्तर परिवर्तन आइरहने भएकोले हिजोका कविहरूभन्दा आजका कविहरू सशक्त हुनु पर्ने र त्यसका लागि कविहरूमा लगनशीलता र ईमान्दारिता चाहिने भन्नु भएको थियो । कार्यक्रममा दिवसबाट वाचित कविताले उपस्थित दर्शकलाई मोहित बनाइदिएको थियो ।

नेपालबाट आउनु भएकी वरिष्ट कवियत्री उषा शेरचनले ANA को सम्मेलनमा कवितात्मक माहौल बनेकोमा हर्ष प्रकट गर्दै आफ्ना छोटा छोटा मुक्तकहरू सुनाउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले विगत १९९६ देखि ANA सम्मलनमा कविता महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै ३०० डलरदेखि पुरस्कारको थालनी गरेर आज एक हजारसम्म पुर्याउनमा सहयोग गर्ने पुरस्कारदाताहरूलाई धन्यवाद दिनु भएको थियो । वहाँले यसपटक १६ देशबाट २२७ वटा कविता प्राप्त भएको जानकारी गराउँदै अन्तराष्ट्रिय कविता महोत्सवका प्रमुख अतिथि अर्जुनकान्त मैनालीले साहित्यले समाजलाई प्रभाव पार्ने भएकोले समाजरुपी साहित्य आजको आवश्यकता रहेको भन्नु भयो ।

प्रतिष्ठानका महासचिव कवि हेमन्त श्रेष्ठबाट संचालित कार्यक्रममा प्रतिष्ठानका सदस्य डा. गोबिन्दसिंह रावतले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कविता महोत्सवमा चौथो र पाँचौं स्थानमा रहेका कविता पनि पाठ गरिएको थियो भने उपस्थित कविहरू विष्णु गुरुङ्ग एकता, हरी काफ्ले, कल्पना सत्याल, पूनम काफ्ले, डा. प्रदिप भट्टराई, दीपा राई, सहदेव पौडेल, गीता पन्थी, लाल गोपाल सुवेदी, अनुषा शाह, प्रेम संग्रौला, मीना शाक्य, पर्ल रेग्मी, ममता गौतम, हेमन्त श्रेष्ठ, मनु लोहारन, पुरुपोत्तम ढकाल, गोबिन्द गिरी प्रेरणा, प्रकाश नेपाल, सीता पाण्डे, डा. गोबिन्दसिंह रावत आदिले कविता वाचन गर्नु भएका थिए ।

प्रतिष्ठानले चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब आयोजनाको निमित्त प्रतिष्ठानका उपाध्यक्ष एबं साहित्यकार विनोद रोका प्रमुख संयोजक र सदस्य एबं कवि गोवर्धन पूजा उपसंयोजक रहनु भएको एक समिति गठन गर्यो । कविता मूल्याकंनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमा प्रशिद्ध कवि, कवयित्री एवं साहित्यकारहरू तुलसी दिवस, उषा शेरचन, डा. हरिहरप्रसाद भट्टराई, विप्लब प्रतिक, गोवर्धन पूजा र नीलम कार्की निहारिका रहनु भएको एक निर्णायक समिति गठन गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *