नेपाली
नीलिमाहरूको
नीलो नदी र
त्यसको नियतिको
गीत लेख्दा मन दुख्छ ।
म र म जस्ताहरू
बैशको तरंगले नछोएका रारा र सर्वहाराहरू
फुल्दाफुल्दै ओइलाएका भुइँफूलहरू-
जसको सपनाको बेजो छैन र
बेघर छ तिनको धरोहर,
तिनैलाई सम्झेर
गीत लेख्दा मन दुख्छ ।
इतिहास जन्माउने
आमाहरूलाई
इतिहासले नै निलेको छ ।
तिनको भाग्यरेखा
घाममा पानीको रेखा झैं
बिलाइरहेछ ।
हो, तिनै आमाहरू सम्झेर
गीत लेख्दा मन दुख्छ ।
सयपत्री फुल्ने घरबारी
बमबारीमा
परिणत भएको छ
अनि
भर्खरै नानीहरूको मलामी गएर
फर्किरहेछ – कामीगाउँ ।
त्यो गाउँ सम्झेर
गीत लेख्दा मन दुख्छ ।
खाँडाचक्रको बधशालामा
मान्छेहरूको घाँटी छिनालिएको
उपलक्षमा
मान्छकै मुक्तिका वेशरम गीतहरू
बेसरी घन्किरहेछन् ।
त्यै गीतहरू सम्झेर
गीत लेख्दा मन दुख्छ ।
आज
आवर्तित यामको भित्तामा लेखिएको
अप्रिय युद्धघोष
म पढ्न सक्तीन
किनभने
त्यै युद्धको पीरले
बरर्र बर्सिरहेछ: मेरो देश
म्याङलुङका भिरहरूमा ।
तिनै भिरहरू सम्झेर
गीत लेख्दा मन दुख्छ ।
विशेष आभार
यही साउन ५ गते शनिवार पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा पोखरेली युवा साँस्कृतिक परिवारद्वारा प्रकाशित मेरो कविता सङ्ग्रह ‘असमय ‘को विमोचन सम्पन्न भएको छ /श्रद्धेय दाजु सरुभक्तद्वारा विमोचित ‘असमय’ भित्रका धेरै कविताहरु मझेरीमा संग्रहित छन् र यो पुरानो कविता ” मन दुख्छ ” पनि यो संग्रहमा रहेको छ /
म यो सङ्ग्रह प्रकाशनको अवसरमा मेरो कविता यात्राको कोसेढुंगा ‘मझेरी डट कम’ र यसका संचालक कुमार सिम्खडाज्यू प्रति विशेष आभार प्रकट गर्दछु /