Skip to content

फाल्टो समयको असल उपयोग (‘निर्वस्त्र नगरीमा’ को विमोचन)

  • by


निजी गाडीहरूले टुरिजम बोर्डको आँगन छपक्क ढाकेको तडकभडक देख्दा नै मलाई उल्टी आउनु खोज्यो ।

म हतारिँदै सभाहल भित्रिएँ । कुर्सी निम्ठो भएर दर्शक सिँढीमा पोखिएको ।

विष्णुविभु घिमिरेले भट्ट्याए, “यसपीले आफ्नो कविता वाचन गर्दा मो निदाइर’को थेँ । कविता कविता नै रै’छ । कविताभन्दा भिन्न केही रै’नछ । विषय वस्तुलै कसरी पेस्ने तेसैमा कविता भर पर्ने । घण्टाघरलै कैयौँले देखे । तो बाटो भएर हिँड्दा । अरुले नसोच्या, नदेख्या कुराहरू लेखे कविता मजाले भूपिले । मातेको मान्छे गतिलो मान्छे नभए पनि तेसैको बारे अमर कविता लेख्नु भो वैरागी दाइले । एसपीको कविताहरूमा सुन्दर भाषा, नौलो विम्व, चलन चल्तीको शब्दहरू पाएँ ।”

कसैले केही वाचन गरिरहँदा निदाउनु भनेको त्यस कुराले उसको ध्यान खिच्न नसकेको पुष्टि हुन्छ । जे भए पनि उनले सत्यता छादे । त्यो छाद यसपीलाई कस्तो लाग्यो ?

गोविन्दराज भट्टराईले लिखित समीक्षा वाचन गरे, ‘याद राखेस् काइँला’ र ‘माइली तता’ अत्यन्तै शक्तिशाली अमर सिर्जना । ‘जसमीन क्रिस्टी’ एउटा मास्टर पिस । केही कविता अलि कम बलिया । एक दुइटा त त्यसमा नपरे पनि हुन्थ्यो जस्तो पनि लाग्छ । यी कविता निर्माणको एक अत्यन्तै शक्तिशाली शैली छ व्यङ्ग्यको प्रयोग । सबै कविता सिङ्गै कविता भई व्यङ्ग्य उभिन्छ तर परोक्ष, नदेखिने गरी । त्यसलाई हामी सटाइरिक भन्छौँ सूक्ष्मता वा निपुणता । यो सुन्दर सिर्जनाबाट निसृत हुने उज्यालोले सारालाई छुनेछ । यो कलात्मकता, कथ्य, समयको बाणी, उत्कृष्ट र टड्कारो स्वर आफै नसुनी कहाँ हाम्रो मन मान्छ र ? पाठकसमक्ष यो अतिव सुन्दर सिर्जनाभित्र आफै प्रवेश गर्न अनुरोध गदर्छु ।”

स्रष्टाको कमजोरी खुट्ट्याउन नरुचाउने नीति भएको उनीजस्तो समीक्षकले ‘गोधूलि’ को त्रुटि देखाउनु र केही कविता कम बलिया छन् भन्न सक्नु भनेको उनले आफ्नो नीतिमा परिवर्तन गरेको रुपमा मैले पाएँ । यो यो कविताचाहिँ कम बलिया छन् भनी उनले खुट्टयाई दिने झन्झट र आँट गरेको भए अँझ राम्रो हुन्थ्यो ।

मन्तव्यमा कृष्णचन्द्रसिंह प्रधान बगे, “मैले यसपीलै पैले नपढेको । सरसर्ती हेर्दा उनको कवितामा पृथक शैली, मौलिकपन पाएँ । साहित्यलेखनमा हुने ठूलो उपलब्धि नै त्यही हो । साहित्यको सीमा नहुने । जाँ बसिन्छ तेहीको समाजको मान्छेको पीडा भोगैबारे लेखिन्छ । तेसको माध्यम नै कविता हो ।” यो भनाइमा कसैले पड्काएको तालीमा अरु केही ताली थपिए ।

वैरागी काइँलाको भनाइ, “विमोचन गर्ने निहुँमा मैले वाँको कविताहरू पढ्ने मौका पाएँ । जो बेलाको बोलीलै शब्दमा समेटिएको समयको एउटा दस्तावेजभन्दा फरक नपर्ला । कृतिको नामले आफैमा एउटा कटु यर्थाथता बताउँछ । अलि उग्रतामाभन्दा नग्न यर्थाथता भनौँ । तेस्तो निर्वस्त्र समाजमा एउटा कवि आउँदा अप्रासङ्गिक हुन जान्छ । ‘लङ्गडोको देशमा जाँदा खोच्याउनु र अन्धोको देशमा जाँदा अन्धो हुन’ भने जस्तो एउटा कवि अन्धो हुनु चाहेन (यसो भनिरहँदा समर्थनमा एक जनाको ताली पड्क्यो, सके त्यो ताली मञ्जुलको हुन सक्थ्यो) । वाँको यो कविता पढ्दा आनन्द मात्र लागेन मलै । मो इमोसनमा आएँ । बाफ रे त्यो कविताको हरफहर पोढ्नु मन पो लाग्यो मलै— माउ गौँथलीहरू … …. …. … (उनले उक्त कविताको केही हरफहरू पढेर स्वाद लिए) । हामीले पटक पटक आन्दोलन गरी जित हासिल गर्यौँ । तर तेसलै समाल्नु असफल भै आफूले आफैलै नङ्गयाउँदै ल्यायौँ । यतिसम्म कि हरेक आन्दोलनमा करौनै पर्ने । तै पनि माइली तताले लोकतन्त्र आएको महसुस गर्न नसकेकी । युद्धबट कसैले जितेन । बरु सबैले हारे । सबैले जित्ने युद्ध लड्न चाहन्छ कवि । अन्य कविताहर पनि धेरै राम्रा छन् । आजको दुनियाँमा विधा मिसमास वा अन्तर विधात्मक लेखन हुन थाल्यो कि क्या हो ? पाठकहरले रुचाएर पढ्ने कविताको सङ्ग्रह धेरै दिनपछि निकालेकोमा मो कवि यसपी कोइराला ज्यूलै बधाई दिनु चाहन्छु ।” कृतिको हाई हाई मात्र सुन्दा मलाई स्वाद लाग्दैन । कमजोरी पनि औँल्याइए मासु चपाइरहँदा खुर्सानी टोकी स्वाद बद्लिए जस्तो मलाई आनन्द लाग्छ ।

२०६५ चैत १, मे २००८

Leave a Reply

Your email address will not be published. Required fields are marked *