Skip to content
MeeraManThapa


एकहुल आशातित मानव झुण्डहरू
सुनसान रातमा सुन्दर सपना खोज्न निस्केकाछन्,
रात आफैं अँध्यारो बाँचेको छ
खै के बाटो देखाउला
उज्यालो दिन आफैंमा सुन्दर सपना हो,
तर लम्पट सुतेर भर्याङमुनि
मुहारमा घामको आभा छेक्छ मान्छे,
अनि जूनकिरीको सहारामा
अन्धकारमा घाम खोज्छ,
यी दुर्घटनाहरू दोहोरिउँन्जेल
सपनाहरू मरिरहन्छन्,

कसरी भेटिन्छ सुन्दर सपना ?
आँखा चिम्लेर या आँखा खोलेर ?
हात बाँधेर या मुट्ठी कसेर ?
आँखा चिम्लेर अनुभूतिमा
जूनतारा अँगाल्नु जित्नु होइन,
बरू पहरा फोरेर बर्कतले
जूनतारा फुलाउँनु जित्नु हो,
केही भोगाईबाट सिकेर
अनि केही स्वबिबेकले
लक्षित सपनाको पहिचान गर्न सके
सपनाहरूले ऐठन बाँच्नु पर्दैन,

इच्छा र आकांक्षाहरू
जेलिएर बस्छन् शरीरभरि,
समय जेलिएर बस्दैन,
यसको रफ्तारले
त्रासदी जन्मिदिन्छ चेतनामा कि
अहो! कति सपनाहरू छोडिएछन्
जो अब चाहेर पनि भेट्न सकिन्न,
छोडिएका वा बेवास्था गरिएका
सपनाका लस्करहरू
कहिले निको नहुने घाउ बनेर
दुखिरहन्छन् जीवनको अन्त्यसम्म,

ओ ! सपना खोज्न निस्केका पथिकहरू,
याद राख्नु
तिमीले नापेका हरेक पाईलामा
एउटा सम्भावनाको गहिरो पदछाप छोड्नु,
ताकि तिमी पछि आउँने बटुवाले
त्यही पदछाप छामेर उर्जा पाओस्,
तिम्रा सपनाहरू
एकपछि अर्कोमा हस्तान्तरण गर्दै जानु,
अनि त सुन्दर सपनाहरू
तिम्रै वरिपरि खात लागेर बस्नेछन् !

मीरा मन थापा
माईधार झापा
हाल इजरायल

1 thought on “सपनाहरू”

  1. सपना आँखाले देखिदैन
    पुरा नभएका ईच्‍छाहरू र मानिसका सपनाहरूबीच गहिरो सम्‍बन्‍ध छ। सपना देख्‍न नसक्‍ने मान्‍छे र देखेको पाउन नसक्‍ने मन खूब रमाउँछन्‌ होला यस कवितामा ।

    अरू धेरै लेखे कालीदासको औंला होला कि भन्‍ने सरम लाग्‍छ ।

    थापाजी लाइ धेरै धन्यवाद र मझेरीलाइ पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *