Skip to content
Pathryodash


इतिहास,आँसु

दरिद्रता कटकटिएको
दुब्लो मैलो
पुरानो कुष्ठरोगीझैँ
शहरभन्दा टाढा
छाउपडित भट्टीमा
क्षयरोगी टिनको खोपाबाट
माटोको घैलामा
फर्मेंन्टेड अल्कोहल खन्याएर
कवि पोखिन्छ प्यालाभरि
र पोत्छ आफ्नै जिन्दगीको पोर्टेड
पीडाले सिरोसिस कलेजो
बेदनाले पत्थर परेको मृगौला
संवेगको इथानोल बगेका नसाहरू
निराशाको धुँवाले जाली बनेको फोक्सो
सान्तवनाको आयोडेक्सले मृत पयर

येनेस्थेटेड रहरहरूको
सुमेरु पर्बत ।

अँह ऊ बिर्सिन्न बनाउन
आँसुले रंग उडेको आँचलको फेरो
प्रियसीको लत्पतिएको गाजल
तापले पग्लेको नौनी अनुहार
उष्ण कुवा परेका खडेरी नयन
भारले बाँगिएका खुट्टाहरू
रहरले जन्माएको सन्तान
र काँडा बिझेका
उसका मैन पैतालाहरू
कुइरो लागेका स्फटिक नानीहरू
आशाहरू बिछ्याईएका
सपनाका हिउँ तन्नाहरू

अन्त्यमा मिसाउछ अलिकति
आफ्नो बैंसको अत्तरी प्रेम
जुनेली रात भुलेको न्यानो आलिंगन
हिनहिनाउदै मेटेको प्यास ।

अब
गोधुलि छिप्पिएर रात बनेपछि
परिवर्तनको तुइन चढेर
हिलो माटो फूल बनेझै
प्रोटेट बद्लिन्छ
बयस्क कवितामा
र रेखी बस्छन विचारहरूका
अनि कवि निस्कन्छ भट्टीबाट
चिर्दै कालरात्रि
बिरोधको चिराक बोकेर
मानौ, क्रान्तिको कोपिला
भर्खर फक्रेको छ ।

3 thoughts on “कवि भट्टी र फूल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *