मित्रलाई मनैदेखि स्वागत छ आऊ
दुई छाक खुवाउने तागत छ आऊ
प्रफुल्लित भई निश्चिन्त बनेर आऊ
जे बन्छ त्यही खाँउला भनेर आऊ ।
गाउँमा चल्दैन मोटर जानेर आऊ
हिँड्नैपर्छ मैंले भन्ने ठानेर आऊ
सहज छैन हिँड्न मनन गरेर आऊ
खोलामा काठे पुल छ, तरेर आऊ ।
खिचातानी, तनाव भुल्नलाई आऊ
शान्तिसँग गाउँतिर डुल्नलाई आऊ
गाउँको आँटो, ढिँडो खाउला आऊ
गुन्द्रीमा सुत्ने तृष्णा मेटाउला आऊ ।
दुध दुहेको,गोबर फालेको हेर्न आऊ
गाई,भैँसी,बाख्रा पालेको हेर्न आऊ
गोरुले पाखोबारी जोतेको हेर्न आऊ
माटे घर कमेरोले पोतेको हेर्न आऊ ।
खोलीमा माछा पौडेको हेर्न आऊ
जंगलमा हऋण दौडेको हेर्न आऊ
उत्तरमा हिमाल टल्केको हेर्न आऊ
पाखैभरी बाली हल्केको हेर्न आऊ ।
रङ्गीचङ्गी फुल फुलेको हेर्न आऊ
भँवराहरू त्यहीँ डुलेको हेर्न आऊ
प्रकृतिसँग रम्न मित लाउन आऊ
कोइलीसँग झुम्न गीत गाउन आऊ ।
झरना झरझर झरेको हेर्न आऊ
चखेवाले माँया गरेको हेर्न आऊ
डाँफे मुनालहरू डुलेको हेर्न आऊ
पहरामा गुराँस फुलेको हेर्न आऊ ।
गाउँले जीवनको बोध गरौला आऊ
गाउँ कस्तो हुन्छ शोध गरौला आऊ
गाउँको झ्याउरे गीत गाउला आऊ
रोधीघरमा नाँचेर रमाउला आऊ ।
ऐंसेलु र काफल टिपेर खान आऊ
खाने मात्र होइन घर लैजान आऊ
दुध,घ्यू,ताजा सब्जी खाउला आऊ
उपहार त्यही लिएर जाउला आऊ ।
गणेश घिमिरे म्याग्दे ३ बेल्टार,तनहुँ