Skip to content

सरुभक्त सरोकार केन्द्रको दशौँ स्थापना दिवसको कार्यक्रम सम्पन्न

sarokar


नेपालीहरुको साँस्कृतिक पर्व तीज अर्थात भाद्र कृष्ण प्रतिपदा नेपाली साहित्याकाशका उज्वल नक्षत्र सरुभक्तको जन्मदिन हो | आज २०७० भदौ २३ गते ५९ औं जन्मदिनको पावन अवसरमा सरुभक्त सरोकार केन्द्र नेपालले वहाँप्रति जन्मदिनको शुभकामना अर्पण गर्दै आफ्नो १० औं वार्षिकोत्सवको कार्यक्रम सम्पन्न गरेको छ |

बिगत तीन दशकदेखि नेपाली सहित्यका आख्यान तथा कविता, गीत , मुक्तक, गजल आदि सबै विधामा निरन्तर क्रियाशील साहित्यकार सरुभक्तको सुस्वास्थ्य, दीर्घजीवन र समृद्धिको कामनाका साथ आज सम्पन्न भएको उक्त कार्यक्रमका विच वितरित विज्ञप्तिमा सरोकार केन्द्रका संयोजक महेन्द्र श्रेष्ठले सरुभक्तको विराट सिर्जना यात्रालाइ अघि बढाउन केन्द्रका कार्यक्रमहरुमा सहयोग पुर्याईदिनुहुन सबैमा हार्दिक अपील गर्नु भएको छ |

सरोकार केन्द्रले स्थापनाको दश वर्षे यात्रामा सरुभक्तक़ा केही पुस्तकहरुको प्रकाशन र बजार व्यवस्थापन लगायत एकल कविता वाचनक़ा कार्यक्रमहरु सम्पन्न गर्नुका साथै वहाँको सृजनशीलता र क्रियाशीलतामा सहयोगी भूमिका खेल्दै आएको छ र आज यस अवसरमा फाइन प्रिन्ट प्रा.लि.द्वारा प्रकाशित पुस्तक ‘सरुभक्तका विज्ञान कथा’ को लोकार्पण एवं सरोकार केन्द्रको वेब साइट sarubhakta.org को औपचारिक शुभारम्भ समेत गरिएको छ |

सरोकार केन्द्रका संयोजक महेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा फाइन प्रिन्ट प्रकाशन प्रा. लि. का प्रकाशक अजित बराल तथा सरुभक्तको कृतित्वमाथि शोध गर्नु भएका उप प्राध्यापक ड़ा. लक्ष्मी शरण अधिकारीलाई प्रमुख अतिथि दुर्गा बराल ‘वात्सायन’ले सम्मान गर्नु भयो | प्रमुख अतिथिज्यू , कवि विजय वजिमय, सरुभक्त, ड़ा. लक्ष्मी शरण अधिकारी अनि अजित बरालक़ा संक्षिप्त र सारगर्भित मन्तव्यहरुले आलोकित कार्यक्रममा कविगुरु तेजनाथ घिमिरे लगायत पोखराका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरु, कवि, लेखक र समालोचक एवं प्राध्यापकहरु तथा पत्रकारहरुको गुणात्मक उपस्थिति रहेको थियो |

कलाकार दुर्गा बराल ‘वात्सायन’ले सरुभक्त जीवनप्रतिको मौलिक धारणा र शून्यवादी जीवन दर्शनको कारणले व्यक्तित्व र व्यवहारमा पनि सानै देखि पृथक रहनु भएको प्रसंग उल्लेख गर्दै सकारात्मक अहंकार जीवनको अत्यन्त सुन्दर पक्ष भएको बताउनु भयो | कवि विजय वजिमयले सरुभक्तको साहित्यिक जीवन माथि प्रकाश पार्नु भयो र अजित बरालले विज्ञान कथा फाँटका एक्ला नक्षत्र सरुभक्त प्राविधिक तथ्य ज्ञान, उच्च श्वैरकल्पना र गहन अन्तरदृष्टिले समृद्ध कथा लेख्नु हुन्छ भन्नु भयो अनि ड़ा. लक्ष्मी शरण अधिकारीले सरुभक्तको कृतित्वलाई अस्तित्ववादी दृष्टिकोणबाट विनिर्माण गर्दै शून्यवादी जीवन दर्शनको रुपमा विश्लेषण गरेको तथा ‘पागलवस्ती’ नै त्यो दर्शनको विमर्श रहेको र त्यही पुस्तकबाट नै आफूले भिन्न शैलीको काम गर्ने प्रेरणा पाएको बताउनु भयो |

बिज्ञान कथा भाग १ तथा सार्वजनिक हुने क्रममा रहेको पुस्तक बिज्ञान कथा भाग २ ले पनि विज्ञान साहित्यलाई लोकप्रिय बनाउन प्रेरणा दिने छ भन्ने विश्वास व्यक्त गर्दै सरुभक्तले सरोकार केन्द्र र उपस्थित सबैप्रति आभार प्रकट गर्नु भयो |

कवि सरस्वती प्रतीक्षाका उज्याला शब्दहरुद्वारा सिंचित र संचालित उक्त कार्यक्रमको प्रारम्भमा सरुभक्त सरोकार केन्द्रका सदस्य सुरेश रानाभाटले आफ्नो स्वागत मन्तव्य राख्दै सरुभक्तको सुस्वास्थ्य र दीर्घजीवन तथा समृद्धिको कामना गर्नुभयो र कार्यक्रम विसर्जनको क्रममा सभापतिज्यूले केन्द्रका गतिबिधिहरुमाथि प्रकाश पार्दै सरुभक्तक़ा २६ वटा अप्रकाशित कृतिहरुलाई सामुहिक प्रकाशनको अवधारणा अनुरुप प्रकाशन गर्दै जाने उद्देश्य रहेको र केन्द्रको वेब साइटलाई विभिन्न सामाजिक साहित्यिक संजालहरुसित जोड्ने नीति अनुरुप नेपाली साहित्यको लोकप्रिय वेब भण्डार मझेरी (majheri.com ) सित जोडिएको पनि अवगत गराउनु भयो |

मैले सरुभक्तको अनुहारमा बगिरहने द्रुत गतिको कविता पढेको छु | आज यो कार्यक्रममा पनि ५९ औं जन्मदिनको शुभकामना अर्पण गर्दै उपन्यासका हरफमा झैं मैले दाइको अनुहारमा यही पढें – दर्शन भनेको जीवनमा अन्त्यहीन मृत्युहरूको प्रतिलिपि हो | इतिहासको मोड ऋतुहरुको मोड होइन | मोडहरुमा त मोडहरु नै मोडिन्छन् | सर्वनामहरु जीवनखण्डमा बाँच्छन् , त्यसैले सबैको जीन एक भएर पनि एक छैन | यहाँ देश, धर्म, समाज र जातिहरु समीचिनताको दिग्भ्रम बाँचिरहेछन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *