Skip to content

शैपालको आँगन र एक्लो मन


बडीमालिकाको मन्दिरछेउको झाडीजस्तै
सुस्ताइरहेछ फेदीमा एउटा घर
निकै भइसक्यो नदेखिएका
आँगनमा उग्राइरहेका अनुहारहरू
हल्लिँदैनन् चमरजस्ता पुच्छरहरू
टाउको हल्लाउँदा गुञ्जिँदैन
परसम्म पुग्ने गरी धमारीको लय
कतै टाढा बर्छैनको कुनातिर बसाइँ सारिसके क्यार
साँझबिहान बग्ने दूधका मुहानले पनि
कीलामा जरा बेरेर दिनभरि सुतिरहने
त्यो ओदालको दाम्लोको अवशेषसम्म देखिन्छ गोठमा
आँगनमा पाइला टेक्न नपाउँदै
दैलोको आग्लो खोल्न नपाउँदै
ओछ्यानमा जीउ तन्काएको चाल पाएर
आईं गर्दै अभिवादन गर्ने बिहान पनि त छैन अब ।

छोएर बिस्तारै मुटुको पाटो
झारेर जिन्दगीका परागहरू
बरालिँदै कुन दिशा पुगे घारका मौरीहरू
झरिरह्यो मझेरीमा नियतिको बलेसी
जिन्दगीका कैयौँ वसन्त कटाएर सेताम्मे बनेको ऊ
जग्गाधनीको अपुतालीपछि
जायजेथा पाएको मोहीजस्तो देखिन्छ
तथापि खोजिरहन्छ आफैँभित्र आफूलाई
आँगनमा लालगेडी खोजेझैँ
अनि फालिरहन्छ परसम्म दृष्टि

वैशाख-जेठमा बीउ जोगाउन
खेतको ब्याडदेखि कुलोको बाँधसम्म हिँडिरहने किसानझैँ
बेचैनको सास फेरेर
घुमिरहेछ आँगनमा फनफनी
समुद्रमाथि पखेटा फिँजाउने लालचमा हो या
बदलिँदो समयसँगै अरूकै लहलहैमा लागेर हो
हिँडिसके घरका सबै पाइलाहरू ।

हिउँको ताज पहिरेको शैपालझैँ
कमेरोको लेप लगाएका भित्ताहरू
लम्पसार बन्छन् नजरको मझेरीमा
धेरै दिनपछि फेरि आज
छापामार शैलीमा खोतल्छ प्रत्येक कोठामा
र भेट्टाउँछ भकारीपछाडि लुकेको कम्पनीमाला
अनि डुब्छ वर्षौंअघि मास छर्न हिँडेकी पि्रयाको यादमा
पुनः हेर्छ कुनातिर
जहाँ अडेस लगाइरहेको छ मक्किएको ताम्रपत्रले
हतारिँदै समात्छ र चारैतिर हेरेर छातीमा टाँस्छ ताम्रपत्रलाई
कमिज र हातमा धूलैधूलो छ
मध्यरातमा आँसुले नै पखालिन्छन् ताम्रपत्रका अक्षरहरू
जुन उसले धेरैअघि कसैले पत्तै नपाउने गरी
ल्याएको थियो भँडारीको घरबाट
किनभने त्यहाँ एउटा कुनामा
लेखिएको थियो उसका बुबाको नाम ।

अंक: ५६१
२०७० भाद्र १६
Sep 1, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *