Skip to content

अब यस्तो राजनिती गरिनु हुन्न


हुरी-बतास पानी-झरीबीच
सिकुवाको कुनामा बसी
मेरा पप्पा
हँ हँ को रोगी जिउ र
ख्वाँक-ख्वाँक को सुख्खा खोकीसँगै ..
मलाई तीन पुस्ते कथा सुनाउनुहुन्छ ।
नाति .! राजनीति कहिल्यै नगर्नू …!
भर्लाको पातमा
लाम्पातेको ढुटा खौरिदै
सुर्ती बेरिदिएर
मेरो पप्पा(बाजे)सँग
म ईतिहासको जोहो गर्दैछु ।
……..
मेरो पप्पाको
आना माना घिउको कथा
तिब्बततिर नून बोक्नु हिंडेको कथा
राणाहरूले कैदी बोकाएको कथा
नब्बे सालको भुइँचालोको कथा
दोस्रो विश्व युद्दको कथा
पल्टन देखी फर्कदाको कथा
साइँली माइँलीहरूसँग
चोम्त्यहाङ र फिर्के बजार भरेको कथा
बालुवानी र गोठे बजारमा
झगडा गर्दाको कथाभन्दा
मेरो पप्पाको उचालिएको आँखी भौ भित्र
साँच्ची म ईतिहास खोज्दैछु ।
………………
खाउँ-खाँउ र लाउँ-लाउँको बैशमा
अङ्रेजी दलालको पञ्जामा परेर
सुख खोज्न
१२ रुपैयाँको भर्ती भएका
मेरो पप्पालाई कथाको लार्भा कोट्याउन लगाउछु
अनि —
अनि नि त पप्पा .. अरु अरु …?
अनि के हुनु नि नाति …..
टुप्पी हल्लाउदै
कहिले बर्मा कहिले मलाया
कहिले कहाँ कहिले कहाँ
न खानाको टुङगो न बासको टुङ्गो
भोटो र पटुकीको फेरोले भोक मार्दै
कति लडियो कति…
जात गयो उतै ठोक्किने युद्दहरूमा
कति परियो कति….
मेरो पप्पा
दु:ख पोखाउनुहुन्छ
नाति! यो युद्द पनि
राजनितिले त भको थियो होला नि …
……………
हो हो पप्पा त्यसै हो
मेरो समर्थनमा
फ्वाक्क सुर्ती तानेर धुम्के सास तान्दै
नाति ! दोस्रो युद्दको समाप्तीसँगै,
झिगा मार्ने र खेतीबारीमा कीरा मार्ने
पम्प र ५/१० वटा मेटासिटको डब्बासँगै
बक्सिसमा खेदाइको म ….
लगत्तै मेरो मुक्ति सेनामा भर्ती भए ।
मलाई मान्छे मार्ने रहरभन्दा
राज्य संरचना परिवर्तन गर्ने धोको थियो ।
मेरो मन मेरो शरीर सोच्थ्यो
”देशले रगत मागे मलाई बली चढाउ,,
तर
हाम्रो परिवर्तनलाई प्रजातन्त्रलाई
१७ सालले गोली हान्दियो ।
नाति !जनताका सपनाहरू यही नै सकिए ।
यो राजनैतिक स्वार्थकै युद्द थियो नि हैन ?
………..
४६ सालमा
प्रजातन्त्रको तृप्तिको खातीर
बी. पी. को सपनाको तुम हराएका
नेताहरूलाई जनताले जिताए
भुक्के चप्पल लाउने नेताहरू
चिल्ला कारमा कुद्ने भए ।
काठमडौमा आफ्नो घर बनाए …
त्यहाँ पनि त राजनीति नै त थियो नि हैन ?
………..
नाति !
अस्ति
मेरो घरभित्र पस्न नपाको झोकमा
पल्लो गाउँको च्यान्टे
बन्दुक बोकेर हिंडेको कहिल्यै फर्केन ।
२ मुरी धानको पच्चिसा तिर्न नसकेर हिंडेको हर्के
१३ बर्ष पछाडि अयोग्य भएर फर्क्यो।
सुन्छु अब संबिधान नै नबनाउने रे
चुनाव नै नगर्ने रे …
त्यहाँ पनि त राजनीति नै त छ होला नि हैन ?
पल्टनबाट फर्कदा ल्याएको १७५४३६ नं को
मिस्टीनमा भुटेको सातु राख्दै म भन्छु
हो पप्पा हो,
अब यस्तो राजनीति गरिनु हुन्न ।

साजन राई ”उपेक्षित,

Leave a Reply

Your email address will not be published. Required fields are marked *