Skip to content

भूतप्रेतसँगका जम्काभेटहरू


मैले कलिलै उमेरमा गाउँ घरमा गरिने व्यवहारिक कामहरू खेतीपाती, वस्तुभाउ र घरभित्र गर्नु पर्ने कामहरू सिकें । घरमा बिहान बेलुका गाईवस्तुको गोबर भकारा गर्नुपर्थ्यो । त्यसपछि घाँसका भारी बिसाएर मात्र स्कूल जान पाइन्थ्यो । खेतीपातीका बेला स्कूल बिदा बसेर काम गर्नुथियो । नियमित स्कूल जान नपाएपछि पढाइ राम्रो हुने त कुरै भएन । स्कूलको पढाइलाई छाँयामा पारेर केही राजनीतिक गर्ने व्यक्तिहरूको संगतमा परें । उनीहरू कमुनिस्ट भन्थे । राति राति हाम्रो घरमा आउँथे । मलाई तिनीहरूले चम्किलो रातो तारा भन्ने किताब दिए । नोरोदोम सिंहानुकको बारेमा पनि ताता-तुतु गरें । ती पढेपछि मेरो कलिलो मस्तिकमा कम्युनिस्ट शिक्षाले अर्कै प्रभाव पार्यो । कम्युनिस्टहरू धर्ममा विश्वास गर्दैनन्, उनीहरूको शब्दकोषमा भूतप्रेत भन्ने हुदैन भन्थे । मैले पनि तिनै कुरा सिकें । समाजमा हुने अन्याय र अत्याचार बिरुद्ध बिद्रोह गर्नु, नास्तिक हुनु, आफ्नै स्वाभिमानमा स्वभलम्भी हुनु, बुर्जुवा शिक्षा बहिस्कार गर्नु आदि आदि कुरा मभित्र पनि छिपिदै गए । मेरो स्वभाव र चरित्रमा धेरै फरक आइसकेको थियो । जस्तो सुकै अन्धकार रातमा पनि हिड्न डर नलाग्ने, भगवानप्रति विश्वासै नहुने । म राति मेरो घर ईलामबाट हिंडेर पार्टीको काम भन्दै पाँचथर पनि पुग्थ्यें । बाटोमा केहीको डर लाग्दैनथ्यो ।

हुन त बल्यकालमा पिताजी र दाइहरूसँग हाम्रो बेसीको खेतमा वस्दा पारीपट्टीका खेत, खोला किनारमा पचास-साठीवटा जति राँकेभूतहरू राँको र पुल्ठो बालेर सँगसँगै हिडेका देखें । तिनीहरूको सामान्य जीउ देखिए जस्तो लागे पनि टाउको देखिदैनथ्यो । शुरुमा एउटा, अनि दुईटा, पाँचवटा, बीसवटा हुँदै पचास साठी जति पुगेपछि फेरि एकै ठाउँमा मिसिने गर्थे । नेवार दाइहरू कराउँदै भन्थे, “तिमीहरूको गोठ छेउमा राँके भूतहरू घुमिरहेका छन्, देख्दैनौ कि कसो ?” म अलिक झस्किन खोज्थे । पिताजी भन्नुहुन्थ्यो जिस्काउनु हुन्न केही बिगार गर्दैनन् । तिनीहरू राति त्यस्तै दश बजे देखि देखिन थाल्थे र एक बजेतिर हराउदै जान्थे । मैले धेरै हिउँदका चिसा र अँध्यारा रातहरूमा तिनीहरूलाई देखें । देखें पनि के भनौ ! नजिकबाट देख्या होइन । न त तिनीहरू हिंडेको डोब नै देखें, न तिनीहरूले ठोसेका राँको र पुल्ठोहरूका अवशेष देखें । देखें भने तिनै किम्बदन्तीका काल्पनिक पात्रहरू जस्ता देखें । तिनीहरू कस्ता हुन्छन् भनेर परिभाषा गर्न सक्दिन । तर मेरो मष्तिस्कमा राँकेभूतहरू हुने रहेछन् भन्ने लाग्छ ।

पत्यार लाग्न पनि गार्हो हुन्छ । मैले तीन पटक भूत देखेको अनुभव गरेको छु । अलग अलग समय र अलग अलग ठाउँमा । म नौ कक्षातिर पढ्दै थिएँ । हिउँदले दिन खादै जान थालेपछि हाम्रो स्कूलमा हिउँदे बिदा भयो । म हाम्रा आफन्तहरू भेट्न मधेसतिर जाने भएँ । बिहानको राति बहिनीले पकाएको अलिकति जाउलो टिपेर हिड्न लागें । गाउँका केटाहरू लाहुर जाने बहनामा बर्षौ हराए जस्तै म पनि हराउँछु कि भन्ने लागेर होला आमाले नरमाइलो मान्दै भन्नुभयो, “यताउता भेटघाट गरेपछि चाडै घर आउनु …. फेरि पढाइ बिग्रिन्छ ।”

भाले नबास्दै म घरबाट निस्किएँ । हाम्रो घरबाट झापाको बिर्तामोड पुग्नलाई पैदल जाँदा पन्ध्र घण्टा जति लाग्थ्यो । म बेलुकाको घाम बसेपछि बिर्तामोड पुगे । एक जना आफन्तकामा बास बसें ।

झापाको धुलाबारी, बिर्तामोड, अनारमुनी, सुरुंगा घुमेर फेरि ईलाम घरतिर फर्किन लागें । बिर्तामोडबाट हिड्दा बिहानको दश बजिसकेको थियो । यता सोक्तिम चिया कमानको बाटो हुँदै ईलामको मंगलबारे जानु थियो । बिर्तामोडबाट शनिश्चरे, खुदुनाबारी, सुखानी, गरुवा, लोदिया, सोक्तिम हुदै आउँदा चिसापानी पुगेपछि अँध्यारो मतिर आउन लाग्यो । मसँग एउटा टर्च लाईट थियो । अलिक अफ्ट्यारो बाटोमा बाल्ने गर्थें । औंसीको रात जस्तै जताततै निष्पट अँध्यारो थियो । मैले राँगापानी हुँदै माईखोला पार गरी ईलामभन्दा निकै तल पर्ने घेवाडाँडाबाट पुवाखोलाको किनारै किनार सांग्रुम्बा भन्ने ठाउँको बाटो तताउनु थियो । रात निकै छिप्पिन लागेको थियो । खोलाको बगरै बगर हिंडेपछिसम्म टारी खेतमा पुंगे (जसलाई मसार खेत भन्छन्)। त्यो खेत काटेपछि नाक ठोक्किने उकालो आउँछ । म बिस्तारै त्यही उकालोतिर लघारिन थालें । धेरै बेर उकालो हिंडेपछि एउटा एक्ले पीपल भन्ने ठूलो पिपलको रुख छ । त्यसको फेदमा यसो बस्न मिल्ने चौतारो जस्तो पनि थियो । त्यहाँ बसेर तलतिर हेर्दा बडो आनन्द लाग्ने बसेको खेत र पुवा खोलाको दृश्य देखिन्छ ।

अलिक माथितिर फाट्ट-फुट्ट घरहरू शुरु हुन्छन् । म जसै त्यो चौतारोमा बसे । तलतिर मसिनो खैलाबैला मच्चिएको आवाज आयो । खोला किनारको खेतमा पाँच सातवटा पेट्रोल म्याक्स बलेको उज्ज्यालो देखियो । एउटा बिहेको जन्ती ईलाम बजारतिरको बाटो लागे जस्तो छ । ब्याण्ड बाजा बजाउने अगाडि अगाडि छन्, दुई तीन जना नाचे जस्तो देखिन्छ । बेहुला बेहुली घोडामा चढेका छन् । प्रस्ट शरीर देखिदैन । पछाडि निकै लामो मान्छेहरूको लर्को छ । रात कति नै गएको होला र ? त्यही बाह्र बजेको होला । कसरी यति राति जन्ती हिंडे होला भन्ने मलाई अचम्म लाग्यो । निकै बेर हेरेपछि म फेरि उकालो लागे । एकछिन हिंडेपछि झ्याम्म परेका बाँस नै बाँस भएको बाटो आउँछ । बाँसघारीको बाटो सकिने बितिक्कै सानो समतल परेको ठाउँ थियो । त्यहाँ दुईतिर जाने बाटा छुट्टिएका थिए । म हिंडेकोभन्दा अलिक परको बाटोमा बीस-तीस जना मान्छेहरू लास लिएर ओरालो लागेको देखियो । कुहिरा भित्र हराउँदै चिहाउदै गरेको जुनको उज्यालो जस्तो लाग्छ । अगाडि धान र पैसा छर्दै हिडेको सेतो कपडा लगाएको मान्छेले मतिर हेरेर जोडसँग केही फ्याँके जस्तो गर्यो । मेरो छेउमा मसिना दानाहरू सुकेका पातमा खसेर आवाज आयो । मेरो आंग जिंग्रिंग भएर फुल्यो । पछाडिका पन्ध्र जना जतिले बाँसका घना र काठका दाउरा बोके जस्तो देखिन्थ्यो । तिनीहरू मध्ये दुई तीन जनाले मलाई आफूतिर आउने इसारा गरे जस्तो लाग्यो । मेरा हातखुट्टा गलेर पानी पानी भैसकेका थिए । तिनीहरू ओरालो लागे, म मास्तिर शिवाकोटीको घरमा बास माग्न पसें ।

निकै बेर बोलाए पछि बूढी आमैले ढोका खोल्दै भनिन्, “बाबु यो मध्य रातमा कहाँबाट एक्लै आयौ ? यो बाटोमा कहिलेकाहीं नराम्रोसँग तर्साउने गर्छ ।”

मैले आफूले देखेका कुराहरू बूढी आमैलाई सुनाए पछि आमैले भनिन, “फेरि यो गाउँमा के अनिस्ट हुने हो ?”

बिहान नहुदै भालेको डाकमा आमैसँग बिदा मागेर म आफ्नो घरतिर हिडें । त्यसको दुई दिन पछि सुनियो । त्यही गाउँमा एउटी अधबैंसे महिलाले झुन्डिएर आत्महत्या गरिछन् । म त्यसपछि निकै लामो बिरामी परें । झारफुक गर्ने धामी झाँक्रीका अनुसार त्यस मान्छे जस्तोले फ्याँकेको धान मेरो शरीरमा परेको भए म बाँच्ने थिइन रे ।

अर्को घटना, तिहार सकिएको थियो । हाम्रो खेतमा धान काट्ने बेला भयो । आकाश बिग्रिएर पानी पर्ने तरखरमा थियो । काटेर सुकाएको धानको बिटा चाँडै उठाउनु पर्ने थियो । दिनमा काम गर्ने खेताला खोजेका थिए । म सखारै खेतमा गएर बिटा बाँध्नु पर्यो भन्ने सुरले बेसीतिर झरें । हाम्रो मूल घरबाट बेसींको घरमा जान झण्डै एक घण्टा बढी लाग्छ । तल ओरालो झर्नुपर्छ । बाटामा चिहानघारी पनि छ, अरु मान्छेहरू मर्दा खोलामा दाह संस्कार गर्न लाने बाटो पनि त्यही हो । हाम्रो बेसीको घरभन्दा अलिक तल देउमाई नाम गरेको ठूलो खोला बग्छ । मृत मानिसलाई त्यही खोलाको किनारमा सेलाउने गर्छन् । भौगोलिक आकार हेर्दा पनि निकै डर लाग्ने ठाउँ हो त्यो ।

म उठेर बाहिर निस्किएर हेरें । झिसमिसे उज्यालो हुन लागे जस्तो देखियो । तिहारपछि लगत्तैको दिन ! आकाश धुम्मिएर लेघ्रै लेघ्रा परेको छ । जमिनमा बिहानी पखको संकेत जस्तै लाग्छ । म हातमुख पनि नधोई बेसीतिर लागें । करिब आधा घण्टा हिंडेपछि मेरो अगाडि एउटा बढेमानको साँढे गोरू देखा पर्यो । खैरोखैरो रंगको देखिने त्यो गोरु ठूलो जुरो भएको एकदम बलियो देखिन्छ । भित्तामा सिंगौरी हानेर अगाडिका खुट्टाले भूईं खोस्रदै मतिर हेरेर दुई तीन पटक डुक्रियो । म अचम्ममा परें, हाम्रो गाउँमा कसैका घरमा पनि यत्रो गोरु छैन ! कहाँबाट आयो होला भनेर । कसैको गाईले गोरु मागेर अर्को गाउँबाट पो आयो कि भनेर अगाडि बढें । म जुन गतिमा अगाडि बढ्छु, त्यो साँढे त्यति नै गतिमा हिड्छ र फेरि मतिर हेरेर डुक्रिन्छ र बाटा लाग्छ । मेरो मनमा अलिक चिसो पस्यो र सानो ढुङ्गो टिपेर हान्न खोज्छु । गोरु अलिक छिटो गतिमा कुद्छ । एउटासम्म परेको खेत आईपुग्यो । त्यहाँबाट दुईटा बाटा छुटिन्छन्, गोरु एक छिन उभियो र दायाँ तर्फको सानो बाटोतिर लाग्यो । अलिक पर्तिर पुगेर भुई खोस्रेर मतिर हेर्दै डुक्रियो, मैले ढुंगाले हान्न नपाउँदै अगाडि कुदेर गयो र पर एक जना लिम्बुको घरको कटेरामा छेलियो । म बेसीको घरमा पुगें । रात अँझै उस्तै छ । पिताजीले ढोका खोल्दै भन्नुभयो किन राति नै आइस् ? मैले भने उज्यालो हुन लाग्यो । पिताजीले भन्नु भयो के को उज्यालो हुनु ! भर्खर मध्य रात हुदैछ । मैले पिताजीलाई त्यो गोरुको बारेमा सुनाएँ ।

पिताजीले भन्नुभयो, “त्यो घरकी बूढी बज्यै पल्लो छेउ पुगेकी छिन्, अब काम लाग्दिनन् होला ।”

नभन्दै भोलि पल्ट बिहानै बज्यैले सिल्टिमुर खाएको समाचार आयो । पिताजी मलामीको लागि उता जानुभयो, हामीले दिनभरि बिटा लगायौं ।

अर्को पनि रोच नै घटना छ । म किर्तीपुरमा बस्थें । मेरा दाइ-भाउजू काठमाडौँको महाबौद्ध बस्नु हुन्थ्यो । दिउसो कामबाट फर्किएर कहिलेकाहीं दाइको कोठातिर जान्थें । बेलुका अक्सर बस्नलाई म मेरै कोठामा जाने गर्थें । एक दिन मेरी भतिजीको जन्मदिन थियो । जन्मदिन मनाइयो । त्यसपछि म किर्तीपुर हिडें । महाबौद्धबाट हिड्दा झण्डै एघार बजिसकेको थियो । गाडी पाउने कुरै थिएन । म न्यूरोड निस्किएँ, त्यहाबाट परोपकार स्कूल, कालिमाटी, बल्खु, टि यु गेट हुँदै भिसीको कार्यालय पुगें । बाटो सुनसान चकमन्न छ । बाटाका किनारमा बिजुलीको पोलमा झुन्डिएका पहेंला बत्ती बलेका छन् । दाँयाबाँया मसिना रुखहरू छन् । मैले मेरो अगाडि त्यस्तै सय मीटर जति पर एकजना चौबीस पच्चीसकी देखिने महिला थाई कट कपाल काटेकी, जिन्सको पेन्ट र हरियो रंगको टिसर्ट लगाएर बाँया कुममा ब्याग भिरेकी गोरो अनुहार देखिने मुसुमुसु हाँस्दै मतिर हेर्दै जाँदैछिन् ।

म केही कुरा गर्नु पर्यो भनेर अलिक छिटो हिड्ने कोशिस गर्छु । तर मेरो गतिमा नै उनी पनि गती बढाउँन लाग्छिन् । माथि निकैबेर त्यसरी हिंडेपछि ती कान्ति छात्रबासतिर लागिन् । छात्राबासको गेटभित्र पसेर उभिएर फेरि हेर्दै मुस्काएको देखियो । म नयाँ बजारतिर जाँदैछु । यसो फेरि फर्किएर हेर्दा गेट बाहिर आएर हेर्दै रहिछन् ।

म कोठामा गएर सुतें । भोलिपल्ट एकजना अर्घाखाँची निवासी त्रिभुवन विश्वविधालय किर्तीपुरमा गणितमा स्नाकोत्तर गर्दै गरेका बिधार्थीले कलंकी छेवैको लामपाटी मन्दिर नजिकैको डेरा बसेको घरमा आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेछन् । उनी पाटनमा वि एस सी गर्दा एकजना सहपाठी केटी साथीको मायाजालमा फसेंका रहेछन् । पछि केटीले अर्कै साथी फेरेपछि उनको आत्माले म्याउँ गर्न नसकेर त्यस्तो बाटो रोजेका रे भनेर उनका सहकर्मी साथीहरू सुनाउँथे । यी सबै मैले अनुभव गरेका कुराहरू हुन् । झट्ट सुन्दा अपत्यारिलो लागे पनि मेरो मस्तिष्कमा बेला बेला अँझै ती कुरा सम्झिदा टाउको फुलेर आउँछ ।

एल एन सुवेदी “हस्ती”
मंगलबारे ५ ईलाम
हाल यू ए ई

1 thought on “भूतप्रेतसँगका जम्काभेटहरू”

  1. Yo sasmaran pheri padnai paryo
    …kunai kura yasta hun6an…
    Bujhai bahiraka..
    Pheri padher..
    Lekhne jangar chalaunu parla…
    Dhanyabad !

Leave a Reply

Your email address will not be published. Required fields are marked *