Skip to content

कविता -“ठूल्दिदी!”
( बुद्धि मोक्तान)

अली परको मानेडाँडामा
परदेशीको हुल
उकालो लाग्दा
भञ्ज्याङ पारीबाट
गाउँबेशीमा पाइला टेक्दा
भुँई बोकेर न्याम
खुवाउने ठुल्दिदी !
तिमीलाई संम्झिन्छु
बिर्सेकी त छैनौ होला नी
गाउँबेशीका लिङ्गेहरु!
मौलाहाका मालश्रीहरु!
टपरीका जमराहरु!
आँगनीका झम्के
अनी,
बरण्डाका गमलाहरु !

लरक्क आँगनीमा
संयौ थूँगा झम्के
भमरा र पुतलीलाई
चुम्न नदिई
करेसाको लालुपाते
रंग र रस,बिस्थापित हुन नदिई
ठूल्दिदी
तिम्रो लागि जोगाएको छु,
तिम्रो लागि हुर्काएको छु
टीका थाप्ने निम्तो
अस्ती,
सालको पात झर्ने बेला
अस्ती आरु फूल्ने बेला
उकालो लागेको एक झोक्का बतासलाई
पठाएको भुलेकी त छैनौ होला नि ?

बम्बैकी ठूल्दिदी घर फर्किनाले
बाबरी मुस्कुराउँदैछे
काबुल, थेगु, सेन्दाइ, लिबिया,
इलात र जेरुसुलमकी
ठूल्दिदी माइती आउनाले
सुनकेसरी मुस्कुराउँदैछे
चौरासी ब्यान्जनको मिस्ठान होईन
जुठ्ठे भाईको अघात माया र स्नेह ग्रहण गर्न
दशमी आगावै
चुहेको छाप्रामा तिम्रो आगमन हुँदा
बुढीआमाको आँसु झरे पनि
स्वीकार्य छ ठूल्दिदी!

सुवनका गल्ली जस्तै
ठमेलका गल्लीहरु
अनी हो यस्ता यस्तै
कोठी र बम्बैका गल्लीहरु
अब चटक्कै भुल
कुबेतका तेलखानी र
तिम्रा जेलखानीहरु छोड
सिरिया,लिबिया र कोरियाका
व्यस्त क्षणहरु छोड
रेगिस्थानका घरायसी काजहरु चटक्कै बिर्सी
कुम्लो बाँध, झोली कस
सबेरै गन्तव्यका गोरेटोमा बस
किन थाहा छ?
चिमल गुराँस फल्नु अगावै
म पनि घर फर्कि,स्वादेश फर्कि
मैले तिम्रो माइतीघर वरिपरि
तिमीले भन्दा धेरै मखमली रोपेको छु
झम्केलाई राप र तापबाट छोपेको छु
तिमी आउने बाटाहरुमा सजावटले
सिँढी सिँढी खोपेको छु ।

यो दशैँमा तिम्री बुहारीले
तिमीसँग चिन्जान गर्नेछिन्
जात र जातिको पर्दा च्यात्नेछिन
तिमीलाई संम्बोधन गरेर
धर्म होइन कर्म र मर्मको फरक
प्रस्टयाउनेछिन
रगत र जगत बुझेर
सदभावले पर्व मान्नु छ
स्नेह र प्रगाढ प्रेम छर्नु छ
अनुपम सदासयता र संम्मानले
बाँच्नु छ
ठुल्दिदी
बावरी फूलीसक्यो
मालसिधान झुलि सक्यो
डाडाँमा लिङ्गे हालीसके
तिमी आउँदैछौ हैन……..
……

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *