वर्षभरिको चाड दशैँ
आउन त फेरि आयो
अकारण मारिएका आफन्तको
सम्झना बोकी आयो
आशीर्वाद दिने बुढा बा-आमा
टुँडीखेल मंचमा लडी खोक्दैछन्
आशीर्वाद बोक्ने प्यारा भाइबैनी
काश्मीरमा घोडाको लिदी सोर्दैछन्
चचहै पीङ खेल्ने साथीहरू
कोही मरेछन् कोही युद्धमा गएछन्
कोही आँशु पुछ्दै मुग्लान पसेछन्
कोही परिवार पाल्न ड्युटीमा खटेछन्
छैन चहल पहल फुर्तीफार्ती कतै
चिउरा फल्ने खेत ऐलानी भएछन्
नाच्दै मादल घन्किने गाउँवेशीमा
कठै लाशहरूले न्याउली रोएछन्
त्यै पनि हिँडे टीका थाप्न
गाउँ गाउँ गिद्ध उडाई
आयो दशैँ ढोल नबजाई
गयो दशैँ सम्झना बोकाई ।।
-इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
(२००५ सेप्टेम्बर, जनयुद्धको समयमा लेखेको कविता)