Skip to content

शैक्षिक भ्रमण एक संक्षिप्त विवेचना


नेपाली बृहत शब्दकोषले शिक्षालाई यसरी परिभाषित गरेको पाइन्छ – पहिलो परिभाषामा‘ विद्यालय, महाविद्यालय आदिमा र घरैैमा पनि नियमित रूपले अध्ययनगर्नेगराउने वा पढाइको चाँजोपाँजो मिलाउने काम ज्ञान दिने वा लिने काम, विद्या’ । दोस्रो परिभाषामा -‘ शिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध । तेस्रो परिभाषा-‘ कुनै कुराको उचित तालिम तथा अर्तिउपदेश । माथिका परिभाषाले शिक्षाका औपचारिक तथा अनौपचारिक दुवै पक्षलाई समेटेको देखिन्छ । औपचारिक शिक्षामा शिक्षण संस्थामा गएर अध्ययन गरेर प्राप्त हुने ज्ञान हो । यस प्रकारको ज्ञान पाठशालामा दिइन्छ/हुन्छ । अनौपचरिक शिक्षामा कस्तो प्रकारको ज्ञान दिने हो त्यही उदेश्य अनुरूप सञ्चालन गरिन्छ र यसको लागि पाठशाला भवन चाँहिदैन ज्ञान प्रदान गरिने स्थल नै पाठशालाको रूपमा लिइन्छ । औपचारिक शिक्षामा हामीले निर्धारित समयमा दर्जा सहितको ज्ञान हासिल गरिन्छ भने अनौपचारिक शिक्षामा व्वहारकमुखी शीप सिकिन्छ । आज संसारमा शिक्षा तथा सिक्ने र सिकाउने प्रविधिमा पनि विकास भएको छ । तर हामी भने अँझै खरी पाटीको जमानाबाट धेरै माथि उठ्न भने सकेका छैनौं । आज औपचारिक शिक्षा खासरूपमा भन्ने हो भने दुई बर्गमा छुट्र्टिको छ । हुने्खानेका छोराछोरी विदेशमा पठाइन्छ र विदेशका महगा पाठशालामा पढाइन्छ । विदेशमा मौका पाउन नसक्नेले एन केन शुक्ल तिर्न सक्नेहरूका छोरा छोरी पनि निजी विद्यालय (बोर्डिङ् स्कुल)मा तथा सरकारी क्याम्पसमा पढाइन्छ । सरकारी पाठशालाहरू आज विद्यार्थी विहिन भएर बन्द हुने अवस्थामा छन् । यो पनि देशको विकासको रूपमा ल्याइएको शिक्षामा देखाइएको विकृतिको एउटा नमुना/उदाहरण हो । हिजो शिक्षामा सुधार हुनुपर्छ भन्नेहरूका छोराछोरी पनि आज त्यही धनी र गरिबको बर्गिकरणमा समावेश हुन पुगेका छन् ।

अब अनौपचारिक शिक्षामातिर लागौं । यस शिक्षामा डिग्री हाँसिलभन्दा दक्षता हाँसिलतिर लागिन्छ । सीप सिकिन्छ । यसमा कृषक पाठशाला, तालिम, शैक्षिक भ्रमण, आदि पर्दछन् ।

शैक्षिक भ्रमण

सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिककिन्छ भन्ने धारणा अनुकुल गरिने शैक्षिक भ्रमण पनि एउटा सिक्ने प्रकृया हो । जानेर हामीले कुनै कुरा सुन्दछौं भने त्यस विषयमा जानकारी पाउँछौ । यदि त्यही बस्तुलाई आँखाले देख्छौ भने विश्वास गर्द छौ । यदि यी सुनेका र देखेका कुरालाई आफ्नै हातले गर्यौं भनेमात्र सीप सिकिन्छ । जान्नको लागि जबसम्म सुनेका र देखेका कुरालाई आफ्नै हातले गरिदैन तवसम्म व्यवहारमा उतार्नु सकिदैन । त्यसो हुँदा शैक्षिक भ्रमणमा भए गरेका कामहरूलाई निश्चित उद्देश्य हाँसिल गर्नको लागि सम्बन्धित निकाय/कामगर्ने सहभागीहरूलाई देखेको कुरालई आफ्नो क्षेत्रमा व्यवहारमा उतार्न सकुन् भन्ने उदेश्य अनुरूप गरिने/गराइने भ्रमण हो । यो एउटा खास विषयमा भ्मण गराइन्छ भन्ने छैन । यी भ्रमण आथिर्क, सामाजिक, धार्मिक, पर्यावरणीय, कृषि, शिक्षा, स्वास्थ, वन, महिला विकास, घरेलुउद्योग, आदि क्षेत्रमा विश्वास दिलाउन तत्सम्बन्धित सहभागीहरूलाई भ्रमण गराइन्छ । यसै शैक्षिक भ्रमणको सिलसिलामा २०७० साल आीश्वन २१ गते नमुना मध्यवर्ती सामुदायिक वन समिति, जटायु रेष्टुरेन्ट समिति, पिठौली पर्यटन विकास समिति, टोल सुधार समिति, होम स्टे र पंक्षीक्लब समितिको संयुक्त आयोजनामा चितौनको बाघमारा सामुदायिक वन, हात्ती प्रजनन केन्द, बर्ड यजुकेशन सोसाइटी, जैविक विजविधता केन्द्र, थारुसंग्राह लय र बजार क्षेत्रको अध्ययन अवलोकन गराउनको लागि करिब ९० जनाको स।मूह त्यतातिर पिठौली र कावासोती गा.वि.सीमान जटायु रेष्टुरेन्टबाट प्रस्थान गर्यो । प्रस्थान गर्नु अधि आयोजक समितिले भ्रमणको उद्देश्यबारे जानकारी गराएका थिए । जैविक विविधताको संरक्षण, सामुदायिक वनको संरक्षण र सम्बद्र्धन, चराहरूको संरक्षण कसरी गरेका रहेछन् जानकारी लिने र यी सबैको संरक्षणले पर्यटन विकासमा कस्तो प्रभाव पार्दछ र यी सबै कसरी पर्यटन प्रंवर्धनको सहयोगी बन्छन् भन्ने जानकारी लिने र यो जानकारीलाई हाम्रो ठाउँमा (पिठौली र कावासोतीमा) व्यवहारमा उतारी गाउँले जनताको जीवनस्तर उठाउने बारेमा प्रष्ट पारिएको थियो । शैक्षिक भ्रमणमा अपनाउनुपर्ने केही नियम तथा अनुशासनका कुराहरू पनि (जो भ्रमणलाई सफल पार्न र प्रभाकारी सिकाइको लागि आवश्यक पर्दछन्) आयोजकहरूबाट राखिएको पनि थियो ।

बाघमारा बफरजोन सामुदायिक वनको अवलोकन

कच्छ्यौली गा वि.सका स्थानीय बासीहरूको सकृयतामा बाघमारा बफरजोन सामुदायिक वन, (जो २१५ हेक्टर जमिन मध्ये १६३ हेक्टर जमिनमा बृक्षारोपण गरिएको छ)लाई राम्रोसँग व्यवस्थित गरेको देखियो । नेपाल सरकारले स्थानीय उपभोक्ताहरूलाई १९९५मा व्यवस्थापन गरी उपयोग र उपभोग गर्नको लागि क्षतिग्रस्त अवस्थामा रहेको वन हस्ताननरण गरिएको थियो । उपभोक्ताले यसलाई बृक्षारोपणको साथै अनुकरणीयरूपमा राम्रो व्यवस्थापन गर्दै आएका छन् । विकास गरेर आयआर्जन बढाईएको छ । आज स्थानीय ९५०घरधुरीका करिव ६००० उपभोक्ताहरूले यस बनको संरक्षण र उपभोग गर्दै आएका छन् । यी उपभोक्ताहरू ५८% थारु, बाहुन र क्षेत्री १९%,मङ्गोलियन (तामाङ, मगर,गुरुङ, आदि) १८%, र अन्य जातिहरू (विश्वकर्मा, परियार आदि) ५% छन् । यिनीहरूको एकीकृत प्रयासको उपलब्धी हो यो बाघमारा सामुदायिक वनको विकास र सौराह क्षेत्रको सुन्दरताको आकर्षणको केन्द्रविन्दु, जसको कारणबाट बढ्दो पर्यटकको आगमनले यसको विकासमा थप योगदान पुर्याएको छ । त्यहाँका आधिकारिक व्यक्तिहरू मनोज चौधरी र वि.सि. चोधरी भन्नुहुन्छ -दुई करोड पचीस लाख पर्यटकबाट आम्दानी हुन्छ । यो सबै रकमहरू मध्येबाट संरक्षण, जङ्गलको व्यवस्थापन, स्थानीय विकास, वन्यजन्तुबाट प्रभवित व्यक्तिहरूलाई क्षतिपूर्ति, सीमान्कृत घरघुरीहरू (Marginalized households) को उत्थान, वैकल्पिक उजाको बृद्र्धि, उपभोक्ताहरूको क्षमतामा बृद्धि, स्थानीय पाठशालाको भवन आदिको साथ साथै, पर्यटनको विकासको लागि सहुलियतहरू आदिमा खर्च गरिने गरिएको छ र २५ जना युवाहरूलाई रोजगार दिनसमेत यो सामुदायिक वन सक्षम रहेको छ ।

यो शैक्षिक भ्रमणमा जानकारीमा आएका तथा छलफल गरिएका महत्वपूर्ण पक्षहरूमा एउटा महत्वपूर्ण पक्ष भनेको गोवरगैसका,े निमार्ण, प्रवर्धन र सम्बर्धनको कुरा पनि थियो । ४०२ घरधुरीले वायोग्यासको स्थापना गरेर त्यसबाट इन्धन (ग्यास) प्राप्तगरी प्रयोगमा ल्याउन थालिएको जानकारीमा आयो । गोबरग्यास सञ्चालन गर्दा सर्ब प्रथम ग्यास उपलब्ध हुन्छ र दाउरा काटिरहनु पर्दैन । वन जोगिन्छ । दोस्रो कुरा महिलाहरूलाई आगो बाल्न र भाँडा माझ्न सजिलो हुन्छ । स्वास फेर्न समस्या भएका महिलाको लागि त ग्यास बाल्नु धेरै राम्रो हुन्छ । यसबाट निस्केको लेदोलाई सोझै खेतबारीमा प्रयोग गर्न सकिन्छ । लेदोबाट झारपातहरू प्रयोगगरी १भाग सलरी (झोल)बाट चार भाग कम्पोष्ट बनाउन सकिन्छ । प्रसङ्ग अलिकति बाहिर जाँदैछ त्यसको लागि क्षमा चाहान्छु । नेपालको माटोको उर्बराशक्ति दिन प्रतिदिन घट्दो क्रममा छ । यो समस्या पहाडमाभन्दा तराईको समथल फाँटमा बढी छ । तराईमा खास गरेर गोबरमललाई गुइँठा बनाएर जलाउने (इन्धनमा) प्रयोग गर्ने् चलन छ । मल खेतबारीमा पर्न सक्दैन, फलस्वरूप माटोको उर्बराशक्ति क्षीण भएर जान्छ र उत्पादन घटेर जान्छ । गोबरग्यासको लेदो सोझै खेतबारीमा प्रयोग गर्न सकिन्छ । कम्पोष्ट बनाउन चाहेमा १भाग लेदोमललाई जोरनको रूपमा प्रयोग गरी चार गुणा बढी कम्पोष्टमल बनाउन सकिन्छ । आज गोबर बचाउँ र उत्पादन बढाउँ भन्ने (Save the dung and increase the production) नाराका साथमा देशव्यापीरूपमा अभियान सञ्चालन गर्न आवश्यक छ ।

पुन अब शैक्षिक भ्रमणतिरै लागौं । बाघमारा नामाकरणका बारेमा जानकारी खोज्दा (फोल्डरको अध्ययन गर्दा) के पत्ता लाग्यो भने राना शासनकालमा राणाशासकहरू र तिनका निम्तारुहरू शिकार खेल्न आउने केही दिन बसेर बाघमार्ने र बाघको छाला सुकाउने गरिन्थ्यो । बाघ मार्ने गरिएकोले पनि यसलाई बाघमारा भनिएको हुन सक्ने र अर्को दुईवटा बाघ आपसमा लडेर मरेकोले यसको नाम बाघ मारा रहेको भन्ने किंबदन्ती पनि पढ्न पाइयो ।

बाघमारा सामुदायिक वन सानो छ तर जैविक विविधताको दृष्टिमा भने धनी छ । यहाँ २१ प्रकारका जङ्गली जानवरहरू पाइन्छन् । गैंडा छदेखि ९वटासम्म यहाँ भेटिन्छन् । ३ वटा गैंडाले बच्चासमेत यही वनमा जन्म दिए, बाघ घुमन्ते (Visitor) को रूपमा आउने गर्छ । यस वनमा भालू घडीयाल, गोही, अजिङ्गर आदि पाइन्छन् । अजिङ्गर रातभरिमा २ किलो मीटरसम्म हिडेको कुरा पनि छलफलको क्रममा जानकारीमा आयो ।

वासु वडारी Bird associations अध्यक्ष भन्नुहुन्छ – ‘पर्यटकहरू नेपालमा चरा हेर्न पनि आउँछन् । संसार भरिमा पाइने ८७१ प्रजातिका चराहरूमा नेपालमा मात्र ६०० प्रजातिका चराहरू पाइन्छन् । यी मध्ये बाघमारामा १६२ जातिका चराहरू पाइन्छन् । २७ जातिका पुतलीहरू, २७ जातिका माछा, १० जातिका Reptilesहरू (जसमा घडियाल, मार्स मग्गर, गोहीहरू पनि) पाइन्छन् । ८१ जातिका बृक्षहरू, ११५ जातिका औषधीमा प्रयोग हुने बिरुवाहरू पनि यहाँ पाइने कुराहरू छलफलमा आएका थिए । आजकल ३२ प्रजातिका चराहरू लोपहुन लागेका छन् । यिनमा जटायुहरू पनि लोपहुन लागेका छन् । जटायुहरूको संरक्षणको लागि शैक्षिक भ्रमणका सहभागीहरूलाई औंल्याउँदै -‘तपाईंको पिठौलीमा पनि जटायु रेष्टुरेन्ट खोली संरक्षणमा जुटिएको छ । पिठौली र कावासोतीको जङ्गलमा सुन गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, डंगर गिद्ध र मिश्र गिद्धहरू पाइन्छन् र तिनलाई संक्षणको लागि प्रयास गरिएको छ ।’ जटायुमात्र हैन विभिन्न जातका चराको संख्या बढाउन र बाहिरबाट आउने चराहरूलाई आकर्षण गर्नको लागि चराहरूले मनपराउने बासस्थान (रुखहरू), तिनलाई चाहिने खाना र वातावरणको व्यवस्था मिलाउन पर्ने हुन्छ । पिठौली र कावासोतीको प्राप्त प्राकृतिक स्रोत तथा त्यहाँ भएको स्थानलाई संरक्षण र सम्बर्धन गर्ने हो भने सौरहाकोभन्दा पनि आकर्षकयुक्त पर्यटकीय स्थलको स्थापना हुन सक्छ र पर्यटकहरूलाई भित्र्याउन सकिन्छ, आयआर्जन बढाउन सकिन्छ भन्ने सुझाव पनि प्राप्त भयो ।

जैविक विविधता संरक्षण केन्द्र (Biodiversity Conservation Centre) को अवलोकन

यहाँ हामीले चितवन राष्ट्रिय निकुन्ज क्षेत्र र यसको कार्य क्षेत्रको बारेमा जानकारी पाइयो । यहाँबाट गैंडाको स्थानान्तरण (बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षण) गरिएको) बारे, हात्ती, गैंडाहरूलाई स्वास्थोपचार (औषधीउपचार गरिने बारे, नरभच्छी बाघहरूलाई नियन्त्रणमा राख्ने तथा बन्यजन्तुको अनुसन्धान तथा अनुगमन, राष्ट्रिय स्रोतहरूको संरक्षण (National Resources Conservation), दिगो जीविकोपार्जन कार्यक्रम (Sustainable livelihood program), संरक्षण शिक्षा (Conservation education), जातिहरूको बृद्धिको लागि प्रजनन् कार्य (Species conservation and breeding support), जङ्गली जानवर र मानव बीचको द्वन्द्व व्यवस्थापनको साथै राष्ट्रिय क्षमताको बृद्धि गर्नेजस्ता कार्यक्रमको बारेमा संङ्क्षिप्त जानकारी पाइयो । यहाँ एउटा राम्रो वन्यजन्तुको अवशेष तथा विविध वन्यजन्तुका अङ्गहरू सङ्ग्रहित गरिएको सङ्ग्राहलयको अवलोकन गरियो । यो अति सुन्दर छ र सबैले हेर्नलायक छ । यहाँ राखिएका विभिन्न सर्पहरूको पहिचान गर्दा, विषालु सर्प सजिलेरी पहिचान गर्न सकिने र उपचारमा सजिलो हुने जानकारी पनि भयो ।

थारु सङ्ग्राहलयको अवलोकन

आदिबासी थारुजातिको परम्परा र आजको मेशीनरी समयको विकासभन्दा पहिला गरिदै आएका कृषि कर्मको पहिचान, सामाजिक क्रियाकलापको (जन्मसंस्कार, मृत्युसंस्कार,वैवाहिक विधि, आदि) पहिचानको लागि, यो सङ्ग्रहालयले संग्रहित गरेका सामाग्रीहरू र त्यबारे लेखिएका सन्देशहरू राम्रोसँग सजाएर राखिएको पाइयो । यसको अवलोकनले थारुजातिको विशेषताको पहिचान र इतिहासको जानकारी दिन्छ र यस्ता जातीय पहिचानहरू सबै जातजातिले संरक्षण गर्नु पर्दो रहेछ भन्ने ज्ञान भयो । समयको अभावले गर्दा त्यहाँ भएका सबै बस्तु तथा लेखिएका विवरणलाई उतार गर्न सकिएन र यहाँ विस्तृतरूपमा लेख्न सकिएन त्यसको लागि क्षमा चाहान्छु ।

शैक्षिक भ्रमणमा हािमले हात्ती प्रजनन् क्षेत्रको पनि अवलोकन गरेका थियौं । यहाँ एउटा हात्तीले दुईवटा बच्चा जन्माएको पाइयो । यस पछि सौराह पब क्षेत्र र ठमेल क्षेत्रमा रहेका बजारको अवलोकन पनि गरियो । पर्यटकले मनपराउने सामग्रीहरूको सजावट, बजारको सरसफाई राम्रैो पाइयो । सहभागीलाई बजारमा किनमेल गर्नको लागि छोटो समय पनि दिइएको थियो । शैक्षिक भ्रमण सकेपछि रमाइलो वातावरणमा घर फर्कियो ।

भ्रमणबाट प्राप्त ज्ञान

सौराह पर्यटीय क्षेत्रको अवलोकनले नवलपरासीको पिठौली र कावासोती क्षेत्रमा पनि यी कार्यक्रमहरू फिलतापूर्वक सञ्चालन गरेर, सामुदायिक वनको विकास गर्न सकिने, यहाँ भएका वन्यजन्तुको संरक्षण र सम्बर्धन गर्न सकिने जानकारी पनि पाइयो र यी सबै चिजलाई व्यवहारमा उतार्न यहाँको वातावरणले साथ दिएको देखियो । हामीले यस क्षेत्रमा राम्रो आकर्षणयुक्त पर्यटीय क्षेत्रको विकास गर्न सकिने कुरामा साथै यसबाट स्थानीय बासी र राष्ट्र दुवै नै लाभान्वित हुने कुरामा दुईमत छैन । सर्बप्रथम त सरकारको ध्यान यस्ता सम्भाव्य र स्थानीय जनताको आयक्षमताले नभ्याउने भएकोले स्थानीय सहभागितामा सरकारबाट कामको थालनी हुनुपर्दछ या गै्रहसरकानरी क्षेत्रबाट सहयोग लिएर कामको थालनी गराउनु पर्दछ । यहाँको अध्ययनमा बाघमारा सामुदायिक वनका पदाधिकारीको सुझाव र त्यहाँका उपभोक्ताले गरेको श्रमको लगानी तथा प्रयासले के बुझाउँछ भने आफ्नो ठाउँको विकास आँफैले गर्नुपर्छ । त्यसो हुँदा, जे सुनियो जे सिकियो भ्रमणका सहभागीहरूले तत् सम्बन्धमा पहल कदमी थाल्नु पर्दछ । यस पंक्तिकारले यस क्षेत्रमा सञ्चालित जटायु रेष्टुरेन्टलाई व्यापकतामा लानु पर्ने महसुस गरेको छ । सौरहाका सम्बन्धित निकायसँग सहयोग र सुझाव लिएर माथिका समितिहरूले यहाँ पनि सबै प्रकारका सम्भाव्य कामको थालनी गर्नुपछ । कामको थालनीमा निश्चय पनि समस्याहरू देखिन थाल्छन् तर समस्याको समाधान सबै पक्षबाट पहल र सहयोग गर्दै अघिबढ्दै जानुपर्दछ । भ्रमणमा सहभागीको संख्या २५देखि ३० जना हुनुपर्नेमा करिव ९० जनाको सहभागिता थियो तर यति ठूलो मास निकै अनुशासनमा भएको कारणले भ्रमणका सहभागीलाई धन्यवाद दिनु पर्दछ । महिला सहभागिता पनि राम्रै थियौ । मदिरापान र होहल्लाले स्थान लिन पाएन । यो पनि भ्रमणको सफलताको केन्द्रविन्दु बन्न गयो । अवलोकन स्थलमा प्रशिक्षकको रूपमा प्रस्तुत व्यक्तित्वको प्रस्तुति निकै प्रभावकारी सरल र सौहार्दपूर्ण थियो । सम्बन्धित सबैलाई धन्यवाद दिनै पर्छ । व्यवस्थापन पनि निकै प्रयासरत रहेको पाइयो ।

भ्रमणमा सुधार गर्नका लागि सुझावहरू

कमी कमजोरी त कहाँ हुँदैन र कमीकमजोरीलाई न्यूनपार्ने प्रयास हुनुपर्दछ । शैक्षिक भ्रमणको समूह ठूलो थियो । अनौपचारिक कार्यक्रममा गरिने जुनसुकै कार्यक्रममा विविधताले भरिएको समूह हुन्छ । जसलाई नियन्त्रणमा राख्न र सिक्न र सिकाउन त्यति सजिलो हुँदैन, खानपीन र अन्य व्यवस्थापन पक्षमा पनि कठिनाई हुन्छ जो यहाँ पनि देखिएको थियो । समूह ठूलो, सिक्ने र सिकाउने विषय धेरै भएकाले यस्तो शैक्षिक भ्रमणलाई कम्तिमा दुईदेखि तीन दिनको समय हुनु पर्ने, सोही बमोजिमको बजेटको व्यवस्थापन हुनुपर्ने मैले महसूस गरेको छु र अब सञ्चालन गरिने कार्यक्रममा दिनको संख्या बढाउनको लागि हार्दिक अनुरोध पनि गर्दछु । अन्त्यमा यो शैक्षिक भ्रमणलाई फलदायीरूपमा लिनु पर्दछ । अवलोकन गरेर विश्वास पनि गरियो । अबको पालो भनेको व्यवहारमा उतार्नु हो । यसको लागि धेरै चिजको खाँचो हुन्छ, त्यसको लागि सर्बपक्षीय सहयोगको अपेक्षा राख्दै, आयोजक बर्गले यति सुन्दर कार्यक्रमलाई सञ्चालन गरी, जनचेतनाको अविवृद्धि गराएकोमा धन्यवाद दिन चाहान्छु ।

धन्यवाद

सदानन्द अभागी
शान्तिचोक, कावासोती-१, नवलपरासी
मिति २०७० साल असोज महिना विजया दशमी, २८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *