Skip to content

एसएमएस मोह

एसएमएसमोह

—होम सुवेदी
केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिििभजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरु र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् ।
तर यिनै छोटा सन्देशकै कारणबाट उनी पछिल्ला केही दिनदेखि निकै नै व्याकुल छन् । उनी अर्थात् समाजका एक सामान्य प्रतिष्ठित व्यक्ति रुपकमान । उनलाई लब्धप्रतिष्ठितै चाहिं ता नभने पनि हुन्छ । सामाजिक सेवा गर्छन्, साहित्य, कला र राजनीतिमा पनि अलिकति चासो राख्छन् । यसै कारण उनले निकै व्यस्त हुनु परेको छ । यस व्यस्तताको कारणले नै उनलाई मोबायल चाहियो । पहिले ता उनलाई मोबायलको आवश्यकता नै नपर्ने अठोट थियो तर केही पछि भने उनलाई यो नभई नहुने अवस्था आइपुग्यो । अनि उनले पनि जोडे एउटा मोबायल परिवारका अरु सदस्यहरुका साथ । मोबायल के जोडे तनाब पनि जोडिएको अनुभूति भएको छ केही दिनदेखि उनलाई ।
मोबायल मात्र होइन उनले अहिले आफ्नै बुद्धिको कारणले मनभरिको पीडा पनि जोडेका छन्, छटपटी र तनाव पनि आपूmभित्र हुलेका छन्, दोधारको भुँवरी पनि जोडेका छन्, एउटा तुफान पनि पालेका छन् ।
कहिलेकाहीं उनको मोबालयमा पनि अरुकै जस्तो गरी कुनै अज्ञात नम्बरबाट फोन आउँछ । उनी उठाउँछन् । उताबाट कसैकसैको आवाज पनि आउँछ, उनका साथ केही नबुझेझैं गरी सोध्छ पनि, उनी केही उत्तर पनि दिन्छन् । अपरिचित हुन्छन् केही कलहरु झुक्किए होला भन्ने लाग्छ उनलाई । उनी पनि ता झुक्किन्छन् । धेरैजसो आफन्तहरुबाट नै फोन आउँछ र सामाजिक कार्यकर्ताहरुको फोन आउँछ । यसबाट ता फाइदै छ उनलाई ।
यसै क्रममा उनको मोबायलमा एक दिन एउटा अज्ञात नम्बरबाट फोन आयो । आवाज महिलाको थियो । अलिक छिचरो थियो । उनले विनयपूर्वक ‘तपाईंले गल्ती नम्बरमा फोन गर्नुभो, सही नम्बरमा फोन गर्नुहोस् न है’ भनेर फोन काटिदिए । फेरि एकै छिनमा त्यही नम्बरबाट अर्काेपटक फोन आयो । त्यसपटक पनि उनले अघिकै कुरामा थपेर भने– ‘तपाईंले अघि पनि यसै नम्बरमा फोन गर्नुभो, गल्ती नम्बरमा फोन गर्नुभो क्यारे, सही नम्बरमा फोन गर्नुहोस् न है बैनी’ ।
‘मैले खोजेको सही नम्बर नै यही हो । मैले खोजेको मान्छे नै तपाईं हो ।’ उताबाट महिलाको आवाज आयो । रुपकमानलाई यस भनाइले अलिकति झट्का लाग्यो, अलिकति धक्का पनि लाग्यो । उनले तैपनि संयमित हुँदै भने— ‘‘के तपार्इं मलाई जिस्क्याउन खोज्दै हुनुहुन्छ ?’
‘आमा हो, कति मिठो बोली, गाली पनि यस्ता मिठा शब्द र बोलीबाट हुने भए ता जीवन सफल हुने थियो । आफ्नो ता कर्मै खोटो !” उताबाट महिलाको आवाज अझै अघि पुगेर कुरा गर्न हतारिएको बुझिन्थ्यो । अनि रुपकमानले यो फोनलाई धन्यवाद भन्दै काटे । यो फोन आउने घटना यति नै भएको थियो त्यति बेला । तत्कालका लागि यस भन्दा बढी कुनै घटना भएको थिएन । यसबाट उनलाई ठुलो तनाव केही पनि भएन । आ आइरहन्छन् नि नकच्चरीहरुका फोनहरु । उनले सोचेका थिए । तर भोलिपल्ट यसै नम्बरबाट निकै पटक मिसड कल आयो । उनले वास्तै गरेनन् । फोनलाई साइलेन्ट मोडमा राखे । साँझ पख नेपालीमै लेखिएको सन्देश उही नम्बरबाट उनको मोबायलमा आयो— ‘मेरो प्रिय साथी, मिठो पप्पी । यो मेरो पहिलो पप्पी हो मेरो प्रियका लागि । दिउसो किन फोन नउठाएको ? आफूलाई भने कति माया लाग्छ उसलाई भने कुनै वास्तै छैन । कस्तो निष्ठुरी !’
रुपकमानले हतार हतार मोबायलको सन्देश पढे अनि कसैले देख्यो कि भन्दै यताउता हेर्दै उक्त सन्देश मेटिदिए । उनको मनमा त्रास र अज्ञात भयको बादल एकाएक उठ्यो । कतै उनका छोराले थाहा पाएन ? कतै उनकी पत्नीले ता थाहा पाइनन् ? कतै उनकी छोरीले ता थाहा पाइन ? उनको मनमा बडो गहिरो सन्देह भयो । छोराछोरी र पत्नीले उनका मोबायलमा आएको यो एसएमएस पढे भने के भन्लान् आफ्नो प्रौढ बाबुको चरित्रलाई लिएर छोराछोरीले के सोच्लान् ? हे भगवान ! पत्नीको प्रतिक्रिया के होला ? उनको निश्चल मनमा कडो तरङ्ग पैदा भयो ।
राति कुन बेला हो फेरि एउटा सन्देश आएको थाहा भयो उनलाई । एउटा बहाना पारी उनले सन्देश पढे ‘गुडनाइट राजा !’ लेखिएको रहेछ । यसपछि ता उनलाई अलिक छटपटी पनि भयो । तिर्खा सिर्खा नलागे पनि अलिकति पानी खाए, थाहा नपाउने गरी सन्देश मेटाए अनि मोबायलको स्वीच अफ पनि गरेर सुत्ने उपक्रममा लागे । निद्रा आएन निकै बेर । मनभरि सोचाइका लहर चलिरहे । कतिबेला हो निधाएछन् ।
निकै दिनदेखि यसरी आउने गरेका सन्देश र मिसड कलहरुबाट उनी अलिकति आतङ्कित र बढी मात्रामा आकर्षित भएका छन् । यस्ता सन्देशहरुसँग आउने मायाका लवजहरुबाट उनी पनि निकै आकर्षित भइसकेका रहेछन् । अझ भन्नुपर्छ उनी यस्ता कलहरु र सन्देशहरुबाट मोहित नै भएका छन् । अनि सोच्छन् यस्तो फाइदा रैछ यसमा अनि केटाकेटीहरु के छोडून् त मोबायल ? एक दिन उनैले पनि सधैं सन्देश पठाउने महिलालाई लेखे ।
‘तिमी मलाई बढी दुःख नदेऊ न ।” उनले पठाएको सन्देश यही थियो जो अनुरोधात्मक र अनुनयात्मक थियो । त्यसपछि उनी पनि लुकीछिपी सन्देश पठाउन र मिसड कल गर्नेको यात्रामा प्रवेश गरेका छन् । त्यसबाट निस्कने इच्छा भएर पनि उनले सकेका छैनन् । उनी आफू गलत काम गरिरहेको कुराको बोध गर्दागर्दै पनि यस बाटाबाट सफा बाटामा आउने बाटो पाइरहेका छैनन् । उनी सोच्छन् यसबाट पार पाउने उपायबारे । कसैलाई भनुँ त आफ्नै इज्जत जाने डर । झन् उनी पनि कल गर्न थालिसके । नभनुन् त मनमा त्यस्तो पिर कति बोक्ने तिनले ! उनी आफैं सोच्छन्—मैले आफैं पनि अलिकति बाटो बिराएकै हुँ । यो कुरा सार्वजनिक भयो भने मैले नै बाटो बिराएर यस्तो भएको कुरा बुझ्छ समाजले पनि । कसैलाई नभनुँ त मनभरि पीडाको भुँवरी चलेको छ । के गर्छस् त ए रुपकमान ?
हुँदाहुँदा उनी पनि मिसड कल र सन्देश नआउँदा खल्लो खल्लो अनुभव गर्न थालेका रहेछन् । अलिकति व्यग्र पनि हुन थालेका छन् । अलिकति प्रतीक्षा गर्न पनि थालेका छन् । हो न हो मोबायलमा केही आयो कि भनेर समयसमयमा हेरिरहन्छन् ।
एक दिन बिहानदेखि बेलुकैसम्म सन्देश आएन । मिसडकल पनि आएन । सधैं आउने गथ्र्याे मिसड कल, सधैं आउँथ्यो सन्देश, सधैं आउँथे मिठामिठा कुराहरु, मायाका मिठा मिठा कथनहरु, अनि साना साना मुक्तक जस्ता मिठा मिठा कविता वा गजलका टुक्राहरु । के भयो हँ आज ? बिरामी पो परी कि ? वा कुनै घटना दुर्घटनामा पो परी कि ? के भयो हँ त्यसलाई ? उनको मनमा बडो गहिरो शङ्का प¥यो । कति बेला आउने हो कल, कति बेला आउने हो सन्देश ? उनी अधिर भएर पर्खन थाले । प्रतीक्षाको घडीलाई थाम्न नसकेर उल्टै उनैले कल गरे । उताको फोन स्वीच अफ थियो । एक मन ता बल्ल बल्ल त्यसबाट मुक्त हुन लागिएछ भनेर खुसी पनि भए तर उनको अर्को मनले के मानोस् ! उनको अर्काे मन अझ अधीर भयो । उनलाई भित्र भित्र चौ चौ भइरहेको थियो । किन होला आज एक पटक पनि सन्देश प्रवाहित भएन, के परेछ कुन्नि ? किन फोन पनि अफ गरेको होला ? उनको मन यही सोचेर उनैलाई समेत चञ्चल पारिरहेको थियो । उनका मनभरि यो बाहेकका अरु कुराहरु पनि खेलिरहेका थिए । मन तरङ्गित थियो । छाती केही भारी पनि भएको थियो । केही एेंठन भएको जस्तो भान उनलाई भइरहेको थियो ।
केही पछि उनले तर्कसहित निर्णय गरे— फोनै बन्द गरेपछिलाई अब के कुरा रह्यो र ? के परेर फोन बन्द भएको होला ? बरु सोध्न पाए पनि हुन्थ्यो । केही कुरा गर्नै पाए पनि हुन्थ्यो । आखिरी कुरै ता हुन्, के लछार्पाटो लाग्ला केही कुराहरु गर्दैमा । बिहे गरेका मान्छेले चैं कसैसँग कुरै गर्न नहुने भन्ने के छ हँ ? उनको मन अलिकति कडो भएभैंm भएर फोनै गर्न तम्सियो । तर कडो भएको त्यो मनको कठिनता पानीको फोको झैं तत्काल फुटेर बिलायो उनको व्यावहारिक स्थितिबोधका अघि । त्यो तरलित भयो । फोन नआए पनि हुने, सन्देशहरु नआए पनि हुने भन्ने भाव मनमा कताकता लुकेर हराएको बेला र अधैर्यताका साथ प्रतीक्षा पनि गरिरहेको बेला जे त पर्ला भन्ने कडो निर्णय गरेर एक पटक फोन गरे । फेरि पनि फोन बन्द छ ।
यसरी नै उनले निकै पटक फोन गरे । तर पनि उनले चाहे जसरी फोन गएन । अनि सोचे बढार्नै परेन, हावाले आफैं उडाएर लगेछ । एक किसिम राम्रै पो भयो । कता कता सन्तोकको सास फेरे र आफ्नो काममा लागे ।
राति फोन बन्द गरेर सुत्ने बानी भएकाले उनले फोन बन्द गरे । अनि आरामका साथ सुत्ने चेष्टा गरे । तर कता कता आशाको त्यान्द्रो चुँडिएको थिएन । एक प्रकार प्रतीक्षारत पनि थिए । त्यसरी प्रतीक्षा गरिरहेकै बेला बल्ल एउटा म्यासेज र एउटा मिसड कल आयो उनका मोबायलमा । बल्ल बल्ल उनको प्रतीक्षाको महाभारत सकियो । अनि उनले कुनै बहाना पारेर सन्देश पढे । सन्देशले दिउसो भरि नेटवर्क नभएर एक कल गर्न पनि नसकेकोमा क्षमा मागिएको रहेछ । उनलाई अहिले बल्ल ढुक्क भएको छ ।
बल्ल उनलाई निद्रा लागेको छ । अनि उनका मनमा के गरौं र कसो गरांंैको दोधारको जो ओइरो लागेको थियो त्यो क्रमशः हराएर गएको छ । मनभरि द्वन्द्वको चक्रवात नै आएको थियो त्यो पनि हटेर गएको छ । हेरौं रुपकमानका मोबायलको मिसड कल र सन्देश यात्राको लाइभ टेलिकास्टको अन्त कसरी हुने हो । उनीहरुको यो क्रम चालु भएकोले अन्त कसरी हुने हो हामीले पनि उनैले जस्तो गरी प्रतीक्षा गर्नै पर्छ ।

मोबायलसँग सम्बन्धित धाराबाहिक कथाको पहिलो कडी यो हो ।
दोस्रो कडी
अपहत्ते शीर्षकमा यस अघि नै मझेरीमा आइसकेको छ ।
प्रतीक्षा गर्नुहोला तेस्रो कडीका लागि ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *