Skip to content

लेख्ने कुरा कति छन्


कति कति लेख्ने कुरा कति छन्
नभबिच ताराहरू जति छन् ।
छताछुल्ल बेथितिहरू कति छन्
यो धर्तीमा प्राणीहरू जति छन् ।

जतासुकै बेथितिको छ खेती
हत्या भयो थितिको घाँटी रेटी ।
बढ्दो असन्तोष छ गाउँ घर्मा
खस्किरहेछ किन आज धर्म ।

ठूलो र सानोको लडाई जारी
बांझियो त्यो उर्बर खेत बारी ।
अकालमा काल पल्किरहे छ
विनाशको स्याल सल्किरहे छ ।

शक्ति र सामर्थ्यको होडबाजी
ठान्छन् अरुलाई निरीह पाजी ।
यौटा उचालेर अर्को पछार्ने
जानी-बुझी दृष्टि अन्तै बटार्ने ।

कस्तो हुने हो अब आउँदा दिन्
वृद्धि हुने छाँट छ मृत्यु छिन् छिन् ।
गोला र बारुद धुँवा कति कति।
न सुध्रने भो यिनका कुनै मति

उठौंसबै शक्तिविहीन उठौँ
यी शक्तिका स्वार्थ बिरुद्ध जुटौँ ।
जिते सबै थोक सामुन्नेमा छ
हार्दा पनि के छ र हाम्रो जान्छ।

आऊ सबै शक्ति बिहीन आऊ
आवाज एकठा गरेर आऊ ।
यी धुर्त ब्वाँसाहरू खेद्नु पर्छ
बेथितिलाई अब रेट्नु पर्छ ।

देविचरण भण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *