Skip to content


आरोहै अवरोहमा अटल भै शिक्षा दिएका गुरु
खम्बा देश विदेशका अधिक नै निर्माणका हे गुरु
वृत्ती साथ निवृत्त भै पथ नयाँ खोजी रहेका गुरु
तिम्रो देन अजम्बरी अजरता फैलीरहोस् हे गुरु

चौतारी वरवोट झैं पिपलको खाँचो समीको हुने
गर्मीमा अति शीतलै पथिकले विश्राम त्यस्मै लिने
त्यागी हे नव जोशका प्रखरता अन्धोपना हर्दिने
हैरानी नभनी सधैं समयमा शिक्षा दियो बाल्दिने

सच्चा सेवक देशका तम पुरै फेदै उखेल्ने तिमी
घैला अमृतका सरी, जहरता फ्याक्ने कडी हौ तिमी
ज्योतीका वल पुन्ज हौ तमअरी निवृत्त शिक्षक् तिमी
विज्ञन्का कण हौ प्रभात दिनका मीठो सुधा हौ तिमी

वत्ती वर्तनले प्रकाश भरिलो उस्तैछ तिम्रो वल
तिम्रो इज्जत हो विशाल धन त्यो चम्किरहोस् उज्वल
भोकामा जसरी हुने वल वढी अन्नादिले तागत
रोगीका बल औषधै थप भए मुखादिमा शिक्षित

हामी एक हुँदा वलैवल जुटी लोक्तन्त्रको स्थापना
त्यस्तै बृद्ध समाज शिष्ट जतिको यौटै रहोस् योजना
छाता संगठनै बनोस् मनमिली एकै रहोस् देश यो
टुक्राले बल टुक्रने घर फुटी नासै उपर् नास यो

पाकाको अझ क्यै लगाव खडकी खोजी गरोस् राज्यले
पाको काम तमाम देश भरमा पक्का हुने सोचले
राम्रा संपद यी न नाश बनियुन् थोत्रा नसंझी दिउन्
उज्यालो पथका विशिष्ट गहना खोजी सबैले गरुन्

शार्दुलबिक्रिदित छन्द

पद्म पौडेल
इनरुवा – ९ बलाहा, सुनसरी
मो ९८४२३९४५७३
२०७९।११। १३

Leave a Reply

Your email address will not be published. Required fields are marked *