“नेपाल ।”
नाम सुन्न बित्तिकै उनले भनिन । “ए नेपाल हिमालय, सगरमाथाको देश !”
मैले गर्वले छाती फुलाउदै “हो” भनेँ ।
उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पढ्न कोरिया आएकी ।
“तिमी पनि पढ्न आएका हौ ?” उनको प्रश्न तेर्सियो मतिर ।
“होइन, म त काम गर्न आएको,” मैले भने ।
“पढाइ कहाँ पुर्याएर छोड्यौ त ?”
“डिग्री पढ्दै थिएँ, बिचैमा छोडेर आएको ।”
“डिग्री पढेको मान्छे के काम गर्छौ त ?” उनले मतिर नजर फ्याक्दै सोधिन ।
मैले निधार खुम्चाउदै भनेँ, “के काम गर्नु ? फलाम ग्र्यान्डिङ गर्छु ।”
उनले नाक खुम्चाएर भनिन “के यस्तै काम गर्न तिमीले डिग्री पढेको ?”
झोलाको गोजीबाट पानीको बोतल निकालेर पिउदै भने, “के गर्नु त हाम्रो देशको शिक्षा व्यवहारिक नै छैन ।”
“अनि डिग्री पढेको मान्छे आफ्नै देशमा केही गर्न सकेनौ ?” नदी किनारमै साकुराको सियाल मुनिको फलामे बेन्चमा बस्दै सोधिन ।
“ह्या के गर्नु हो ? राजनितिक स्थिति डामाडोल छ । नेताहरूले देश खत्तम बनाए ।” मैले पनि बेन्चमा बस्दै भने ।
उनले खितित-खितित हाँस्दै सोधिन, “तिम्रो देशमा चुनाव हुदैन ?”
“हुन्छ । अब फेरि हुँदैछ रे,” मैले गम्भीर हुँदै भने ।
ब्यागबाट चिसोको क्यान निकालेर खोल्दै बोलिन ।”नेताले देश कसरी बिगारे त ?”
मैले पानीको बोतल खेलाउदै उत्तर फर्काएँ, “हाम्रा नेताहरू नै खराब छन् ।”
फेरि मुस्कुराउदै भनिन्, “चुनाव हुन्छ भन्छौ । नेता खराब छन् भन्छौ, त्यसो भए खराव नेतालाई किन भोट दिएर जिताउछौ त ?”
उनको सोधाईले मेरो बोली घाटीमै अडकियो । म घोप्टो परेर शिर झुकाएर निहुरेर बसे । केही छिनपछि सुईय सुस्केरा हाल्दै भनेँ, “हाम्रो देशका जनताको चेतना स्तर अँझै उठन सकेको छैन ।”
शिशिर लाग्दै छ । चिसो सिरेटो चल्न थालिसकेको छ । हामी बसेको बेन्चको छेउमै लाहुरे फुल मुस्कुराइरहेको छ । रङ्गी, बिरङ्गी पुतलीहरू उडिरहेको छन् । हामी पनि यसरी नै उडन पाए जिन्दगी कति रमाईलो हुँदो हो ?
एकछिनको मौनतापछि उनीले सोधिन्, “नेपाल फर्केपछि के गर्छौ त ?”
मैले अनकनाउदै उत्तर दिएँ, “सोचाइ त कृषिमा केही गर्ने हो हुन त टुरिजममा पनि लगाब छ ।”
“गूड- गूड राम्रो सोचाइ, “तिम्रो देशमा प्रकृतिले त्यति धेरै सम्पति दिएको छ ।अहिले टुरिजम ब्यापार विश्वभर फस्टाएको छ । यसबाट नै धेरै देशहरूको अर्थतन्त्रको प्रमुख आधार बनाएका छन् । तर तिम्रो देश किन गरिब ?”
“हाम्रो देशमा हिमाल होइन, सुनखानी भएको भए धनी हुन्थ्यौं होला ।”
उलले खित्का छोडिन्, “तिम्रो देशमा सुन खानी भएको भए झन् गरीब हुन्थ्यौ । सुन त झिक्दा झुक्दै सकिन्थ्यो, । हिमाल कहिल्यै नसकिने सम्पति हुन् । सदपयोग गर्नु पर्छ ।”
उनको कुराले मेरो मन् चसक्क भयो । सोचे हामीलाई प्रकृतिले लालीगुराँस फुल्ने पाखा, सुनगाभा झुल्ने पखेरी, नागबेली खोलानाला, झरना, दन्ते लहरमा मुस्कुराइरहेका हिम शिखर के दिएको छैन ?
मैले बेन्चबाट उठदै भनेँ, “छोड यी कुरा अब जानु पर्छ् ।”
बसन्ती हावाले उनको केश मेरो अनुहारभरि स्पर्श गराई दियो ।
उनले केश गुजिल्टो पार्दै भनिन । “होइन यो हान नदी कुन दिशातिर बगेको छ ?”
मैले पनि रेला गर्दै भनेँ, “गुगलमा सर्च गर न ।”
हामी छुट्टिनु थियो । ट्रेन स्टेसन आए पछि मैले सोधें, “अब कहिले भेटने ?”
“म फेसबुकमा म्यासेज गर्छु नि,” जवाफ आयो ।
हाम्रो जाने ठाउँ ठिक बिपरित रहेछ – उनी पश्चिम म पूर्व ।
उनी हात हल्लौउदै ट्रेन चढिन् । म पनि निमेषभरमै चढेँ ।
कोचाकोच ट्रेनमा उभिदै फेसबुकमा उनीलाई म्यासेज पठाएँ, “हान नदी जस्तै कुन दिशामा बगेको थाहा नहुने गरी बेपत्ता नहुनु है ।”
आधा मिनेटमै जवाफ आयो, “सिल्ली ब्वाय !”
निश्चल काउचा
चौराहा – १, बाग्लुङ