Skip to content

पृथ्वीनारायण शाह र नेपाल एकीकरण

  • by


अभिलेखको आधारमा ठोकेरै भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो । लिच्छविकालका २०० वटाभन्दा बढी अभिलेख पाइन्छन् । ती अभिलेख चिनियाँ यात्रीहरूको वर्णन, भारतीय अभिलेख, संस्कृत वाङ्मय आदिको अनुशीलन गर्दा त्यसबेला नेपाल विशाल थियो भन्ने थाहा पाइन्छ । लिच्छविकालपछि नेपालको त्यो अवस्था रहेन र विक्रमको बाह्रांै शताब्दीमा यस भूभागमा ३ वटा राज्य खडा हुन गए । एउटा पश्चिम १ नं. नुवाकोटसम्म मात्र आˆनो राज्य कायम रहन सक्दा पनि नुवाकोटभुङतीप्रजत राजकृतम् भनी गर्व गर्ने काठमाडौँखाल्डोमा राजधानी भएको केन्द्रको राज्य, अर्को नेपालको दक्षिणपूर्वभेकमा नान्यदेवले स्थापना गरेको सिमरौनगढ राज्य र तेस्रो नेपालको पश्चिमउत्तरभेकमा नागराजले खडा गरेको सिंजाराज्य ।

यी राज्यमा पनि क्रमशः विखण्डन आउन थाल्यो र विक्रमको अठारौं शताब्दीमा पुग्दा यस भेकमा ५२ वटाभन्दा बढी राज्य खडा हुन गए । यस्तै अवस्थामा वि.सं. १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले खडा गरेको गोरखाराज्य नेपालमा खडा भएका राज्यमध्ये कान्छोकान्छो राज्य हो । द्रव्य शाह, पूर्ण शाह र राम शाहको परिश्रमले खडा भएको गोरखाराज्यलाई थाम्न त्यसपछिका राजा तथा दुनियाँले निकै परिश्रम गर्नुपर्‍यो ।

त्यही गोरखाराज्यमा राजा नरभूपाल शाहको छोराको रूपमा वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । वि.सं. १७९९ चैत २५ गते बाबु नरभूपाल शाहको मृत्यु भएपछि गोरखाको गद्दीमा पृथ्वीनारायण शाह बसे । गद्दीमा बसेको लगत्तै उनले नेपाल एकीकरणको अभियान सुरु गरे । उनको पहिलो सफल अभियानको रूपमा काठमाडौँराज्य अन्तर्गत रहेको नुवाकोटको वि.सं. १८०१ असोज १५ गते भएको विजयलाई लिनसकिन्छ र यसलाई नेपाल एकीकरणको श्रीगणेश मान्न सकिन्छ । वि.सं. १८०१ मा नुवाकोट विजय गर्न समर्थ भएका पृथ्वीनारायण शाहलाई नुवाकोटबाट साढे सात कोष फरकमा रहेको काठमाडौँ हस्तगत गर्न वि.सं. १८२५ असोज १३ गतेसम्म कुर्नुपर्‍यो । खाली आˆनो राज्य मात्र बढाऊँ भन्ने सामान्य भावना मात्र भएको शासकले २५ वर्षसम्म यसरी कुर्न सक्दैन । यो कुरा विशेष रूपले स्मरणीय छ । पृथ्वीनारायण शाहको जीवनका पछिल्ला घटनाक्रमले पनि यही कुरालाई इङ्गति गरिरहेको छ ।

ललितपुरका राजा योगनरेन्द्र मल्लको वि.सं. १७६२ मा मृत्यु भएपछि सुरु भएको अस्थिरतामा प्रधानहरूको बोलवाला बढ्दै गयो । यस प्रसङ्गमा कहिले छोरीका छोरा, कहिले भानिज, कहिले मठयाहा छोरा, कहिले भाञ्जीका छोरा इत्यादि ललितपुरको गद्दीमा राखिए । कहिले काठमाडौँका राजा, कहिले भक्तपुरका राजा पनि केही काल ललितपुरका राजा बनाइए । यसै क्रममा गोरखाका राजा पृथ्वीनारायण शाह पनि राजा हुन बोलाइए । पृथ्वीनारायण शाहले आफू ललितपुरको राजा हुन नआई आˆना भाइ दलमर्दन शाह, जो सानै उमेरमा वि.सं. १८०१ को नुवाकोटयुद्धमा जयप्रकाश मल्लका सेनापति शङ्खमणि रानालाई तरवारको प्रहारबाट समाप्त पार्न सकेकाले प्रसिद्ध भएका थिए, उनलाई पाटनको राजा हुन पठाए । पाटनका प्रधानहरूले केही काल पृथ्वीनारायण शाहको प्रतिनिधिको रूपमा केही काल स्वतन्त्र शासकको रूपमा पनि दलमर्दन शाहलाई राजा बनाए । तर अन्त्यमा दलमर्दन शाह पनि काठमाडौँका राजा जयप्रकाश मल्ल र भक्तपुरका राजा रणजित मल्ल जस्तै निष्कासनमा परे र ललितपुरका अन्तिम राजाको रूपमा तेजनरसिंह मल्ल राखिए । पृथ्वीनारायण शाहको विजय अभियानमा सुरुदेखि नै सक्रियतापूर्वक खटेका उनका भाइहरू पृथ्वीनारायण शाहको दृष्टिमा महत्त्वपूर्ण थिए भन्ने कुरा उनले आˆनो उपदेशमा भनेको हामी तीन षोपिका पाँच पाण्डुवाको अवतार भयाका थिञुँ भन्ने वाक्यबाट स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहले आˆनो अन्त्यकालमा दिएको उपदेशमा आफूलाई अत्यन्त महत्त्वपूर्ण लागेको कुराको चर्चा मात्र गरेका छन् । उनको उपदेशमा उनका बाबु, उनका रानी, उनका छोराहरूको चर्चा छैन, तर भाइहरूको चर्चा भने उपदेशको सुरुमै महत्त्व दिएर गरिएको छ । एकजना भाइ दलमर्दन शाहले राजा पदको स्वाद चाखिसकेका र राजकुमारहरू स्वभावतः शासक हुनखोज्ने हुनाले उनका अरू भाइहरूले पनि प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट भिन्नाभिन्नै राज्यको राजा हुन चाहे । नेपालको इतिहास मात्रै हेर्ने हो भने पनि पृथ्वीनारायण शाहभन्दा अघिका अरू शासकहरूले सम्पन्न गरेको विजययात्राको लगत्तै वा त्यसभन्दा पछिको कालमा राज्य विभाजन हुन गएका उदाहरण हामी पाउँछौँ । तर पृथ्वीनारायण शाह स्पष्ट धारणासाथ नेपालको एकीकरणका लागि अघि बढेकाले यस कुरालाई उनले अस्वीकार गरे र वि. सं. १८२५ मा भएको काठमाडौँ पाटनको विजयसम्म बिभिण्डिई नसकेका उनका भाइहरू वि. सं. १८२६ को भक्तपुरयुद्धमा विरोधी भइसकेका थिए र कान्छा भाइ शूरप्रताप शाहलाई छोडेर अरू भाइहरूले त्यस युद्धमा भाग लिएनन् । यस घटनालाई पृथ्वीनारायणका दरबारिया कवि ललितावल्लभले आˆनो भक्तविजयकाव्यमा राम्रो शब्दमा प्रकट गरेका छन् ।

पृथ्वीनारायण शाह एकीकरणको मूल तìवलाई समातेर अघि बढेका हुनाले कुनै पनि युद्धमा धनजनको क्षति सकेसम्म कम गर्न चाहन्थे । तर कान्छा भार शूरप्रताप शाहको अति उत्साहले गर्दा पृथ्वीनारायण शाहले सञ्चालन गरेका अरू युद्धभन्दा भक्तपुरको युद्धमा बढी धनजनको क्षति हुन पुग्यो । यसले गर्दा पृथ्वीनारायण शाहले भक्तपुर युद्धपछि सेनापतिलाई दिनुपर्ने सम्मान भाइ शूरप्रताप शाहलाई नदिई वि.सं. १८१४ को कीर्तिपुर युद्धमा ज्यान गुमाएका काजी कालु पाँडेका ज्येठा छोरा वंशराज पाँडेलाई दिए । यस घटनाबाट कान्छा भाइ शूरप्रताप शाह पनि विभिण्डिए र उनी गोरखाराज्य छोडी पश्चिमतिर लागे । त्यहीँ अरू राज्यको प्रयोगमा परी उनी मारिए र असमयमै उनको मृत्यु भयो । बाँचेका अरू भाइ पनि पृथ्वीनारायण शाहसँग अझ बढी असन्तुष्ट हुँदै गए र उनीहरूले तात्कालिक भारदार अभिमानसिंह बस्न्यातलाई दुःख दिन खोज्दा यस्तै काम गरे तेरो आँखा झक्िनुपर्ला भन्ने वाक्य लेख्नसम्म पनि पृथ्वीनारायण शाह पुगे । वि.सं. १८३१ माघ १ गते नुवाकोटमा पृथ्वीनारायण शाहको मृत्यु हुँदा उनका भाइ महोद्दाम कीर्ति शाह कास्कीका राजा सिद्धिनारायण शाहसँग मिली गोरखाराज्यको विरुद्धमा सन्धिपत्र गर्दै थिए । भाइहरूसँगको विरोध मुख्यतया राज्य विभाजन नगर्ने पृथ्वीनारायण शाहको अडान नै थियो । उनी अत्यन्त दुःखपूर्वक आफूले खडा गरेको राज्यलाई विखण्डनमा पुगेको देख्न चाहँदैनथे । उनको उपदेशको सुरुको वाक्यबाट पनि हामी यो कुरा बुझ्न सक्छौँ-

बुढा मरै भाषा सरै भनि भन्छन्, तिमिहरू सबैछेउ सुनाइगयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउने र यो राजे थामि षानन् ।।

पृथ्वीनारायण शाहको निरन्तरको परिश्रम, पारिवारिक मोहबाट टाढा बस्न सक्ने उनको व्यक्तित्व आदि कारणले नै कोपुण्डोलको मानिसले थापाथलीको ऐश्वर्य भोग्न नसक्ने, थापाथलीको मानिसले कोपुण्डोलको ऐश्वर्य भोग्न नसक्ने स्थितिमा करिब अढाई सय वर्षअघि रहेका हामी नेपालीले मेचीदेखि महाकालीसम्मको ऐश्वर्य निर्बाधरूपमा भोग्न पाएका हौँ । यसैले जबसम्म नेपालको अस्तित्व रहिरहन्छ, तबसम्म पृथ्वीनारायण शाह स्मरणीय रहिरहन्छन् । नेपालको अस्तित्व जोगाउन पृथ्वीनारायण शाहले सञ्चालन गरेको अभियानको प्रामाणिक ज्ञान साङ्गोपाङ्ग रूपमा हामीहरूका लागि आवश्यक छ भन्ने कुरा पनि यस प्रसङ्गमा स्मरणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *