Skip to content

नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू


२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ ।

प्रगतिवादी कवि एवम् निर्भीक पत्रकार कृष्णसेन ‘इच्छुक’लाई पुलिस प्रशासनले बर्बर यातनाकासाथ सहिद बनाएको हृदयविदारक शब्दचित्र यहाँ छ । तीनओटा दृश्यमा विभक्त यो ऐतिहासिक नाटक कलम र बन्दुकबीचको कारुणिक युद्ध हो र सेनहत्याकाण्डलाई पर्दाफास गर्ने जनयुद्धकालीन जीवन्त दस्तावेज पनि हो । सातौँ एकाङ्की ‘पीडा एक भाका अनेक’ मा गणतान्त्रिक आजको नेपालमा पनि जनअपेक्षामा तुसारापात भएको कुरा, आठौँ ‘एकता’ मा हिमाल, पहाड र तराईको एकता र समझदारीमा जोड, नवौँ ‘नम्र– विनम्र’ मा प्रेम र विवाहको समस्याको सन्तुलित समाधान, दशौँ नाटक ‘नाम तिम्रो काम हाम्रो’ मा बोर्डिङ स्कुलको भ्रष्टाचार र विकृति–विसङ्गति छ भने एघारौँ ‘परिवर्तन’ मा परिवर्तनको नाममा गाउँमा मानवीय संवेदना हराएको धरासायी सन्दर्भ छ । यसैगरी बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टी’ प्रतिगामी तत्वहरूको चलखेल देखाउने हास्यव्यङ्ग्यात्मक नाटक हो भने तेह्रौँ ‘दाइजो’ मा दाइजोपीडित अभिभावकको टीठलाग्दो (भयावह) मनोदशा छ । चौधौँ नाटक ‘देश हराएको सूचना’ मा सीमा मिचिएको, देश टुक्रिने सम्भावित खतरा र संविधान–सभाको चुनाव पटकपटक सरेको पीडा छ । पन्ध्रौँ र अन्तिम नाटक ‘परिचय’ का १७ जना पात्रहरूले सङ्घीयताको औचित्य पुष्टि गरेका छन् । हरेक नाटकका पात्रहरूले आफ्नो अस्तित्व खोजेका छन् ,परिचय खोजेका छन्, हक र अधिकार खोजेका छन् । नाटककारले समतामूलक र अग्रगामी समाज खोजेका छन् ।

पत्रपत्रिका र पुस्तकहरूबाट समसामयिक र जल्दाबल्दा कुराहरूको जानकारी लिएर नाटक/एकाङ्कीको निर्माण भएकाले नाटककार नन्दलाल आचार्यको अध्ययन, चिन्तन र मन्थनको क्षेत्र व्यापक र उज्यालो छ । उखान, तुक्का र गहकिला उक्ति र सूक्तिसहितको कवितात्मक भाषाले सम्वाद जीवन्त भएर नाटक गाढा र प्रभावकारी भएका छन् । अनुसन्धान र अनुभवको व्यापकताले नाटकहरू दार्शनिक, वौद्धिक र सार्थक भएका छन् । कुप्रथा, कुसंस्कार, विकृति, पीडा, विसङ्गति र असमानताका विरूद्धमा धावा बोल्ने यी नाट्यवाणीहरू विषयवस्तुको गहिराइमा पुग्दै र कुराको जरो (चुरो) पक्रेर अभिव्यक्ति दिन सफल छन् । नन्दलालका नाटकमा बालमनोविज्ञान, द्वन्द्व, अन्तरद्वन्द्व, आक्रोश, ग्रामीण परिवेश, घृणा, पारिवारिक वातावरण आदिको बाहुल्यता पाइन्छ । निम्नवर्गीय र सीमान्तकृत पात्रहरूको उन्मुक्तिको निचोड छ । परिवर्तनको पक्षमा वकालत गर्ने आचार्यको धारणा नकारात्मक र पाखण्ड होइन, सकारात्मक र विवेकसम्मत परिवर्तनको पक्षमा सन्देश दिनु रहेको छ । प्रत्येक नाटकको अन्त्य सहज, सुखद र रमाइलो भएकाले यिनी संयोगान्त नाटककारका रूपमा उभिएका छन् । नाटक पढिसकेपछि पाठकको मनमा सानान्दको फूल फुलाउन सक्नु यिनको नाट्यशिल्पको चातुर्य हो ।

रामविक्रम थापा
नयाँ कोशी,
पृष्ठ–४४, (वर्ष–४, अङ्क–३, पूर्णाङ्क–३७, मङ्सिर ०६८)

Leave a Reply

Your email address will not be published. Required fields are marked *