Skip to content


सदाझँै आज पनि सासूमण्डलीको बैठक आरम्भ भयो । सबै सदस्य आइसकेका थिएनन् । तैपनि उपस्थितहरूले नै कुरा अगाडि चलाई हाले । सधै बुहारीकै कुरा काट्नेहरूले सदस्यहरू अनुपस्थित भएकै मौका छोपेर उपस्थित सदस्यहरूले उनीहरूका बारेमा भन्ने मौका पनि पाए । जोजो सदस्यहरू ढिलो पुगे उनका बारेमा त धित मरुन्जेल नै कुरा काट्न पाए तर अलि छिटोछिटो आउनेहरूका कुरा भने बीचैमा रोक्नु पर्यो, उनीहरूका बारेमा आज भन्न नपाए पनि के भो र ? अरू दिन कुरा काटिएकै हुन् । यो त यो सासूमन्डलीको विशेषता नै हो ।

सबै सदस्य आइपुगे । तर सभापति, औपचारिक रूपमा त्यो मण्डलीले उनलाई सभापति चयन नगरेको भएपनि त्यो मण्डलीमा उनको रवाफ कुनै सभापतिभन्दा कम्ति छैन, भट्टेनीको भने आज पनि ढिलो नै भयो । उसो त यो उनको बानी नै हो । कामकाजमै ढिलो हुने हो कि जानीजानी ढिलो गर्ने हुन् आफ्नो रवाफ देखाउँन त्यो त कसैलाई थाहै छैन र जान्न चाहने पनि छैनन् । चाहेर पनि के गर्नु उनलाई सोध्न सक्ने कोही हैन । तर कहिलेकाही कसैले बिर्सेरै सोधिहाले पनि उनको जवाफ त्यही हुन्छ – बुहारीलाई तह लाउने भे पो थाहा हुन्थ्यो कस्तो हुन्छ ? किन हुन, त्यो अलच्छिनी, त्यो कामचोरलाई तहलाउन कति गाह्रो छ …..”

कुनै अरूले कुरा नकाटुञ्जेलसम्म उनी त्यसरी नै बुहारीका कुरा गरिरहनेछिन् । उनले अगाडि कुरा बढाइन् “त्यो डङ्किनी, सोच्दी हो मलाई कल्ले के गर्छ त्यसका बाउले विर्ता दिएको हो ?, त्यल्लाई त तह नलाई म काँ छोड्छु । अचेल तँ मुखपनि चलाउन थाली, कुन दिन त्यसको थुतुनोसुतुनो च्यादिदीन्छु अनि थाहा पाउली ….” कुरा बदल्न चाहिन ।

सभासदस्यलाई हात देखाउँदै भन्न थालिन् “त्यो डङ्कीनीलाई तह लाऊँ भनेर के गएथें आफैलाई लाग्यो” हातमा अलि चोट थियो सबैलाई देखाउन थालिन् ।

सभापति भट्टेनीका कुरा काट्दै कोरेनी बोल्छिन् “तपाईकी तँ मुख मात्र चलाउछे, मेरी, मेरी त अब हात पनि चलाउन थाली । कुन दिन अब बेस्सरी गोद्नु पर्ने हो अनि थाहा पाउछे । कामकाज केही छैन । चाल ढाल भन्ने कुरा केई आउदै आउदैन । मान्छेका बुहारी कति फुर्तिला कति गुणी हुन्छन्, त्यो, त्यसको त मुखै हेर्नु नपरोस् भन्छु तर के गर्नु छोराको माया लागिहाल्छ । …..”

उनका कुरा पनि बीचैमा काटिए ।

उनका कुरा काट्दै मुख्खेनी बोलिहालिन्” त्यो बेला भनेकै त हो ई ठूलाबडा घरकी छोरी न ल्याउनु त्यो, बेला मानिनौ अब जान्यौ, के भो ? “

पुनः कोरेनीले आफ्ना दुई शव्द भनिन् “भन्न त ढिकै भन्नु भा हो दिदीले मैले नै मानिन ।”

केही पश्चाताप व्यक्त गरिन् ।

सबैका कुरा सुनेपछि सभाको बीचबाट सभापति भट्टेनीले आफ्ना कुरा राखिन् “जाबो बुहारीलाई तह लाउन न सक्नेले पनि के बुहारी खोज्नु, यो त सासूमण्डलीको बद्नाम हो । मेरो जरी मुठ्ठीमा राख्नु पर्छ । उठ्भन्दा उठ्ने, बस्भन्दा बस्ने, खाभन्दा खाने, जाभन्दा जाने ….. । अनि पो सासूजस्तो भइन्छ, खाइन्छ । नत्र यसरी खान दिन्थे ? ……”

सासूमण्डली यो सभाको कुनै औपचारिकता छैन । बैठक कति समयसम्म चल्ने, कहाँ बस्ने, अर्काे बैठक कहिले बस्ने, आदि इत्यादिबारे सभाले कुनै नियम बनाएका थिएनन् । त्यसैले बैठक कुनै पनि समयमा कुनै पनि स्थानमा कुनै पनि समयसम्म चल्न सक्थो, चल्छ तर बैठकको विषय भने सधैँ एउटै हुन्थ्यो–बुहारीलाई कसरी तह लाउने ?

आजको सभा पनि समाप्त हुने बेला भयो । हुन त समय त्यति धेरै बितेको थिएन त्यस्तै एक दुई घण्टा बितेको होला तैपनि सदस्यहरू एकएक गर्दे घ्टदै जाँदा सभासदस्यहरू गइसके ।

त्यसपछिका दिनमा पनि बैठक चलिनै रह्यो ।

बुहारी भित्र्याई सासूमण्डलीमा प्रवेश गरेको चार वर्ष बित्न नपाउदै सभामा सभापति भट्टेनीको रवाफ अँझ बढ्न् थाल्यो । नबढोस् पनि किन पहिला एउटी बुहारी हुदा तँ त्यत्रै सभामा छुट्टै स्थान हुन्थ्यो । अब त झन् दुईदुई वटी बुहारी भित्र्याइसकेकी थिइन् । त्यसैले उनको रवाफ बढ्ने नै थियो ।

नौली भित्र्याएको दुईचार महिना त बुहारीको खुब सेवा गरिन् । नौलीले पनि जे हुन् उनै हुन् भनेर खूब मन लगाइन् । दुईचार महिना दुवै सासू–बुहारीका दिन खुसी साथ बिते । यो समयमा पुरानी बसन्तीले भने कहिले नपाएको दुख पाइन् । सासूका चोट त सासू भनेर सहन गर्थिन् तर देउरानीका कुरा पनि सुन्नु पर्यो ।

जस्तोजस्तो नौली पुरानदिै जान थालिन् उनले पनि सासूमण्डलीको सिकार हुनुपर्यो । बिस्तारबिस्तारै सासूमण्डलीको हुकुमी शासनमा जोधिनु पर्यो । तर उनी त्यसरी जोधिने खालकी थिइनन् । सासूमण्डलीको जोधाइमा जोधिनु अगावै उनले चाल पाइन् र पन्छिन खोजिन् ।

एक दिन पन्छिन पनि ।

त्यो दिन दुवैबीच घमासान नै चल्यो । सानो आवाजबाट सुरु भएको त्यो कहलले ठूलै विनाश निम्त्याउँथ्यो तर लोग्ने छिट्टै आएकाले संकट टर्यो । स्वास्नी लिएर गयो ।

त्यो संकट त टर्यो तर त्यसले अर्काे संकट निम्त्यो । बुहारीले हानेको हसिया लागेर सासूको खुट्टामा चोट लागेको रहेछ, त्यो बेला त रिसमा केही थाहा भएन तर पछिपछि त्यो दुख्न थाल्यो ।

भट्टेनीलाई ठूलो दशा लागेको रहेछ, महिना दिन अगाडि लागेको चोट औषधीउपचार गर्दा गर्दै पनि निको नहुने भयो । निको होला भन्ने आशा थियो तर निको नहुने भयो । झन्–झन् चर्किन थाल्यो । भट्टेनीको यो दशा देखेर सासूमण्डलीका अरूरु सदस्यहरूलाई पनि अलि सचेत गराएको थियो ।

पहिलेपहिले सभारम्भ हुन नपाउँदै बुहारीका भएभरका कुरा काट्नेहरू अब भट्टेनीका कुराबाट सभारम्भ गर्न थाले । कोही बिचरीलाई निकै दशा लागेछ सान्त्वना दिन्थे भने कोही–कोही बुहारीलाई देख्नै सक्दिनथिन्, त्यसैको पाप लोगेको पनि भन्थे ।

२)

सासूमण्डलीमा के कस्ता कुरा भए भनेर बसन्तीले थाहा नपाउने होइन तर तिनका कुरा सुन्नलाई उनीसँग फुर्सदै हुँदैनथ्यो । दिन सासूकै स्याहारसुसारमा बित्थ्यो त रात लोग्नेकै सेवामा । यस्तैमा उनको दिनरात बित्थ्यो । उनलाई अरू कुराप्रति त्यति चासो पनि थिएन, चासो थियो त केवल बुहार्तनमा ।

भट्टेनीको घाउ पनि निकै नहुने भयो । दिनप्रतिदिन चर्कंदै जान थाल्यो । उनी थलानै परिन् । खुट्टाले काम गर्न छोडिसक्यो । यो बेला बसन्तीको सेवा नपाएकी भए भट्टेनी ओछ्यानमै कुहिएर मर्ने थिइन् तर बसन्तीले उनको खुवै सेवा गरिन् । कामले थाकेको बेला कहिलेकाहीँ अतीतका दिनहरू सम्झिन्थिन् तर बितेका कुरा सम्झेर के गर्नु ? सपना सम्झी ती सबै कुरा बिर्सिदिन्थिन् र आफ्नो काम धन्दामा लाग्थिन् ।

अब भट्टेनीका दिनहरू ढल्दै गए । डाक्टरहरूले सल्लाह दिन्थे “अब उपचार गराउनुको कुनै अर्थ छैन । उनलाई क्यान्सर भइसक्यो ।” । डाक्टरहरूले घर पठाइ दिए । हुन त यो कुरा भट्टेनीलाई बताएका थिएन्न तर पनि उनलाई थाहा भइसकेको थियो ‘अब म धेरै बाच्दिन’ र उनी पश्चातापको आगोमा जल्न थालिन् । उनलाई लाग्न थाल्यो, यो सब मेरो पापको फल हो । अरू कुराको त उनलाई केही पीर थिएन तर बुहारीको सेवा देखेर आज आफैँलाई हिजो उसप्रति गरेका व्यवहारले सताउन थाल्यो । भित्रभित्रै उनी जल्न थालिन् तर बसन्तीले भने त्यो अतीतलाई बिर्सिसकेकी थिइन् । हिजो कुनै दिन सासूप्रति रिस उठेपनि आज माया छ, केवल माया । उनलाई थाहा छ अब उनका दिन धेरै छैनन् तर ती थेरै दिनमा पनि ऊ सासूलाई अथाह खुसी दिन चाहिन्छन् । त्यसैले त सासूको सेवामा उनले केही कसर छोडेकी छैनन् ।

पतिसेवालाई नै बिर्सेर आज उनी दिनरात सासूसेवामा लागेकी छिन् ।

३)

शुक्रवारको विहानै बसन्ती पूजाको तयारी गरिरहेकी थिइन्, भित्रबाट ‘बुहारी ! बुहारी ! भनेको शव्द दुईतीन पटक सुनियो । पहिले त उनले ध्यान दिइनन् । आजसम्म कसैले त्यो घरमा त्यसरी ‘बुहारी’ भनेर पुकारेको थिएन, आज अचानक त्यो शव्द शुन्दा उनी छक्क परिन् र भित्रतिर लागिन् ।

बसन्ती ढोकामा गुग्दा पुनः त्यही शव्द सुनिन् । आज कसैले आफूलाई बुहारी भनेर बोलाउदा उनको खुसीको सीमा नै रहेन र हत्तपत्त उनी भित्रै गइन् । बसन्तीलाई छेउमै देख्दा भट्टेनीको आवाज एकाएक रोकियो र एकटकले हेरिरहिन् । उनका आँखा रसाउँदै आउन थाले । रोदनलाई च्याप्दै उनले भनिन् “मैले खुव अन्याय गरेँ बा ! आज त्यसैको सजाय भोगिरहेकी छु । मैले तिमीमाथि ठुलो अन्याय गरेँ ।”

उनले यति मात्र के भनेकी थिइन् बसन्तीका आँखा रसाएर आए र उनको सिरानमा गई उनको शिर सुम्सुम्याउँदै आफ्नो रोदन च्याप्न थालिन् ।

भट्टेनी, हिजो आफूले गरेका सारा गल्तीको माफी माग्न थालिन् “नानी, मैले ठूलो पाप गरेकी छु, त्यसको सजाय त म भोगिरहेकी छु तर एउटा गुन लगाइदेऊ है बा ! मेरो आत्माले शान्ति पाउने छ । तिमीहरूले जति आस गरेनि, मलाई थाहा छ अब म धेरै दिन बाच्ने हैन, नानी मैले मर्नुअगावै एकपल्ट भनिदेऊ, मैले तिमीलाई माफ गरिदिए । तिमीले माफी दिना साथ मर्न सक्थेँ, नानी यो गुन लगाइदेऊ ।

सासूका यस्ता शव्द सुनेर बसन्तीलाई रुन आयो । केही बेर त्यही बसेर रुन थालिन् तर सासूले “यो जुनीमा तिमी बुहारी भई यो घरमा आयौ तर अर्काे जुनीमा बुहारी भई म तिम्रो घरमा जान पाऊँ !”

सासूका यति शव्द सुनेपछि बसन्ती त्यहाँ बस्न सकिनन् र आँसु पुछ्दै कोठाबाहिर आइन् । भट्टेनीलाई अलि भएपनि बोझ घटेझैँ लाग्न थाल्यो ।

४)

आइतबारको दिन विहानै बसन्ती माइततिर गएकी थिइन्, साँझ फर्केर आउँदा घरको माहोल अर्काे थियो । छरछिमेकीहरू आगनमा थिए । आउनेजानेको क्रम चलिरहेको थियो । के भो भनेर बसन्तीलाई पीर पर्न थाल्थ्यो । छेउमै पुग्दा देखिन् – सासूको मृतदेह बाहिर ल्याइदै थियो । बिस्तारै आँखा रसाउँदै आए, त्यो रोदनमय वातावरणमा उनी पनि बिलाइन् ।

५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *