“मलाई मेरो शरीर प्यारो छ,”
बलिको पूर्वसन्ध्यामाबिरंगना बर्बराइरहेछ,
“मलाई मेरो हात प्यारो छ
शीर पाउ यो साथ-साथ प्यारो छ
यो धरती आकाश प्यारो छ ।”
“नकाट, ए कसाइहरू हो
ए बालक अबुझ असत्तीहरू हो
त्यसैलाई सुलीमा चढाउँछौ,
जसले तिमी
एक-एकलाई धाराका धारा दिइरह्यो
प्रत्येकलाई ध्वनि दिइरह्यो
एक-एकलाई सुनको फुल दिइरह्यो ।”
“मलाई टाउको
मलाई छाती
मलाई सपेटा,”
बलिको पूर्वसन्ध्यामा
बुख्याँचाहरू बहस गरिरहेछन्,
वाद-प्रतिवाद, दाबी-बिरोध, प्रस्ताव-समर्थन गरिरहेछन्
कालरात्रीमै बिरंगनालाई भाग लगाइरहेछन् ।
उ-गाउँ र उ-गाउँदेखि पर उ-गाउँसम्म
राँके भूतका लस्करहरू घर जलाउँदै
एम्बुसमा पर्दै, एम्बुस थाप्दै
लड्दै लडाउँदै
बिजयीभाव अट्टाहसमा उन्मत्त लस्करमा आउँदैछन्
भयावह कालरात्रीलाई अरू भयावह बनाउँदैछन् ।
बुख्याँचाहरूको अगाडि रक्सीहरू छन्
बुख्याँचाहरूको अगाडि बोक्सीहरू छन्
बुख्याँचाहरूको अगाडि आफू जस्तै मदहोसीहरू छन् ।
बुख्याँचाहरू आ-आफू लड्दै लडाउँदै
बन्दुक र बारूद पड्काउँदै
आ-आफ्नै रगतको होली खेल्दै छन्
रक्सीको दुर्गन्धित फोहोरी होली खेल्दैछन्।
बुख्याँचाहरू मत्ता हात्तीहरू बटुल्दै
सत्ता हत्याउन खोजिरहेछन् ।
काला नेताहरू कालाहरूको काँधबाट कुर्लिरहेछन्,
सुकिला डिठ्ठाहरू सुकिलाहरूबिचबाटै सुर्किरहेछन्
पुड्का बडाहाकिमहरू पुड्काहरूको लर्को अगाडि प्रतिवाद गर्दैछन् ।
बुख्याँचाहरू एउटा कुरामा भने एकमत देखिन्छन्
ती
बिरंगनालाई बलि दिने कुरामा सहमत देखिन्छन् ।
केका आधारमा भाग लगाउने
कुनले सपेटा लिने, कुनले लपेटा दिने
कुनलाई हड्डी, कुनलाई मासु, कुनलाई रगत
तिनीहरू जवाफ-सवाल गरिरहेछन्
हात हालाहाल गरिरहेछन् ।
रक्सीले टिल्ल बुँख्याचाहरू
नोट-नोट र बोत्तल-बोत्तलका भाउमा छन्
बिरंगनाको शरीरबाट सुनको फुल सबै निकाल्ने दाउमा छन् ।
“यी बुख्याँचाहरू कसरी सकिएलान्,”
बलिको पूर्वसन्ध्यामा
ब्वाँसाहरू बक्बकाइरहेछन्,
“त्यो आलो शरीर कसरी फुत्काउन सकिएला?”
ब्वाँसाहरू दाउ खोजिरहेछन् ।
ब्वाँसाहरू उसो त साथी-साथी पनि होइनन्
ती बिरंगनालाई भाग लगाउने बिचारमा पनि छैनन्
तिनीहरूलाई पहिले बुँख्याचाहरूलाई लडाउनु छ
भाइहरू फुटाएर ग्वाँर लुटाउनु छ ।
ब्वाँसाहरू बुख्याँचाहरूलाई चिया र सिया पिलाइरहेछन्
एउटासँग अर्को लडाइरहेछन्
छिर्के हान्न र मिर्के तान्न सिकाइरहेछन् ।
बुख्याँचाहरू आ-आफ्ना ब्वाँसाहरूलाई खुसी पार्न
एक अर्कालाई काटिरहेछन्
एक अर्कालाई जलाइरहेछन्
कालो र हिलो छेपिरहेछन् ।
बलिको पूर्वसन्ध्यामा
सुलीमा चढ्न पर्ने बिरंगना उकुसमुकस् गुम्सिरहेछ
धूरीमा चढ्न खोज्ने बुख्याँचाहरू दाउ खोजिरहेछन्
चूलीमा चढ्न सक्ने ब्वाँसाहरू बुख्याँचामाथि च्याँखे थापिरहेछन्
यो भयावह कालरात्री
आ-आफ्नै हाइ-हाइ र त्राही-त्राहीमा बिताइरहेछन्,
बलिको पूर्वसन्ध्यामा ।
इति सम्वत २०७० साल मंसीर ३ गते रोज २ शुभम् ।
http://www.ksimkhada.com/2013/11/18/balikopurbasandhyama/
बुख्याँचाहरू मत्ता हात्तीहरू
बुख्याँचाहरू मत्ता हात्तीहरू बटुल्दै
सत्ता हत्याउन खोजिरहेछन् ।
काला नेताहरू कालाहरूको काँधबाट कुर्लिरहेछन्,
सुकिला डिठ्ठाहरू सुकिलाहरूबिचबाटै सुर्किरहेछन्
पुड्का बडाहाकिमहरू पुड्काहरूको लर्को अगाडि प्रतिवाद गर्दैछन् ।
बुख्याँचाहरू एउटा कुरामा भने एकमत देखिन्छन्
ती
बिरंगनालाई बलि दिने कुरामा सहमत देखिन्छन् ।
लामो समय पश्च्यात कुमारजीको यथार्थ भावमा उनिएको अत्यन्तै मर्मस्पर्सी कविता मझेरिमा पढ्न पाउदा खुसी लाग्यो। धन्यवाद कुमारजी!लेख्दै गर्नुस् है यस्तै मीठा कविता अरु पनि ।