Skip to content

सारङ्गी (कथा)
भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

परिवार सानो थियो, तर सुन्दर थियो , सपनाहरु सीमित थिए होलान , त्यसैले होला उनीहरु रमाइरहेका थिए । नत्र त्यो अभावग्रस्त घरमा बाँच्न कठिन नै हुन्थ्यो । पैतृक सम्पत्तीको नाममा एक विघा जमिन थियो तर जीविकोपार्जन गर्न अन्य विकल्प नहुँदा बर्षेनी बेचिदै आएको जमिनको एक दुई कट्टा बाँकी थियो, एउटा सानो झोपडी थियो, तर त्यो पनि साहुले बन्धक राखेको थियो । उसको आफ्नो स्वामित्वमा रहेको सम्पत्ती भनेको त्यही सारङ्गी थियो । अरुका लागि त्यो एउटा सारङ्गी मात्र थियो तर उसका लागि भने स्वास्नी उजेली, छोरा राजु र छोरी राधालाई पाल्ने साधन नै थियो । त्यही सारङ्गी रेटेर नै उसले साँझ विहानको दुई छाक चलेको थियो । साइलाको सारङ्गी रेटाइमा उजेलीको स्वरले चार जीवन काँचेका थिए ।
जिन्दगीको लामो यात्रा संगै हिडौला
सुख दुख जे जे होला सबै बाडैला
साइला संगै हिडौला

ओकालीपछि ओराली आउछ
घाम पछि छाया छाउछ
भन्छन् रात ढले दिन आउछ
दुख काँटे सुख कसो नआउला
साइली दुःख काटै सुख आउला
………
एक
झण्डै एक साता भयो साइला र उजेलीको स्वर गाउँघरमा नगुञ्जिएको । सबैको मनमा लागेकै हुन्थ्यो ‘अचेल कहाँ गएछन् ? किन साइलो आउँदैन ?…’ तर साइलाको व्यथा कसैलाई थाह थिएन । उसले पनि सारङ्गी रेटन् नचाहेको होइन तर परिस्थितिमा बाधियो । एक साता भयो उसकी स्वास्नी उजेली बिराम भएको । स्वरो आउनु उजेलीको लागि सामान्य नै थियो । महिनाको एक दुई पटक ज्वरो आएकै हुन्थ्यो र एक दुई दिनमा आफै ठिक हुन्थ्यो पनि । यस पटकपनि साइलालाई त्यस्तै लागेको थियो, ‘सामान्य हो एक दुई दिनमा ठिक भइहाल्छ’ तर रोगले झन झन च्याप्न थाले पछि जब उजेली थला नै परिन तब साइलाको चिन्ता बढ्दै गयो ।
उपचार गराउन नचाहेको होइन तर पैसाको जोहो गर्न नसकेर उसले उजेलीलाई अस्पताल लैजान सकेको थिएन । साँझ बिहानको दुई छाक टार्न धौं धौं हुने साइलालाई दुईचार हजार रुपयाको जोहो गर्नु निकै गाह्रो थियो । तर पनि उसले आशा चाहि मारेको थिएन, ‘केहीन केही गरेर भोलि अस्पताल लैजान्छु’ साइलो आँटिलो थियो ।
साइलो रातभर निदाउन सकेन । ‘भोलि कोसंग पैसा माग्ने ?’ उसको चिन्ताको विषय थियो । त्यसैले ऊ बेचैन थियो । सके यता पोल्टा फेथ्र्योे, सके उता । यस्तै छटपटाहट सूर्यका नवकिरणको प्रतिक्षामा थियो । उजेलीले पनि उसको छटपटाहन थाह नपाएकि होइन, तर नजानेझै गर्नुमै बेस थियो र पोल्टा फेरेर निद्रामा लिप्त हुन खोज्थी ।
विस्तारै सूर्यका नवकिरणहरुले बिहानीको आभास दियो । साइलाको प्रतिक्षापनि समाप्त भइसकेको थियो, ‘चिन्ता नलिनु, म पैसाको जोहो गरेर आउँछु,’ स्वास्नी उजेलीलाई दिलासा दिदै साइला जीवनदाताको खोजीमा लागें । ओछ्योनबाट उठ्ने साहस नगरेको होइन उजेलीले तर केही सीम नलागेपछि छोराछोरी ब्यूझाएर ओछ्यानमै समय गन्न थालिन ।
साइलाको मनमा विकल्पहरु सीमित थिए । र सीमित व्यक्तिमा नै उसले आशा राखेको थियो । तिनीहरुकै बाटो लाग्यो । तर उसले पाँच रुपया पाउन सकेन ।
पहिलो नम्बरमा ऊ पण्डित दया कृष्णकहाँ पुग्यो । उसमा सबैभन्दा ठुलो आशा थियो । प्रायः साइलाले उसको सहयोग पाएको हुन्थ्यो । तर यो पटक उनीपनि असमर्थ थिए , ‘आज कतैबात व्यवस्था गर आर्काे मैना गरौला’ पण्डितज्यूको आश्वासन नै ठूलो मानेर साइला अर्काे विकल्प मास्टर तर्के कहाँ पुग्यो । ‘के छ साइल ा? आज धेरै दिनपछि आयौ?’ उनको सोधाइमा साइलो खुसी भयो । आशा पलायो, ‘मास्टर साबले मेरो दुख हरण गर्नुहुन्छ।’ त्यही आशा साथ भन्यो, ‘मास्टरसाब बुढी आज छ कि भोलि, एक चोटि अस्पताल देखाउने धोको थियो ..’ स्वरयन्त्र भरिएर आयो र आवाज रोकियो ।
‘त्यसो भए मैले के गर्नु प¥यो त ? साइला !’
‘एक दुई हजार रिन पाइन्थ्यो कि !’
मास्टरपनि अलमलमा परे, ‘अहिले त छैन हो साइला, अहिले कतैबाट काम चलाउ, दुईचार दिनमा तलब आउछ, त्यो बेला हेरौला, कसो ?’
भित्री व्यथा जे जस्तो भए पनि मास्टरको आश्वासनमा उसले मुस्कान छरी दियो र विदा माग्यो अर्काे विकल्पको लागि ।
अब साइलाको मनमा विकल्पहरु एक दुईवटा मात्र थिए । तर तिनीहरुमा उसले आशा भसौरा राखेको थिएन । मन बुझाउन मात्रै तिनी कहाँ पुग्ने सोच थियो उसको । त्यसमा पनि मनमा दुविधा थियो, ‘जाउँ कि नजाउँ ? के थाह आज केही सहयोग पाइन्छ कि ’ भन्दै ऊ पुग्यो ठेकेदार तपेन्द्र कहाँ ।
साना देखि ठुलाठुला ठेक्का पट्टाका काम गर्ने भएका ले ऊ ठेकेदारकै नामले चिरपरिचित थियो । सम्पत्तीकै आँडमा गाउँ घरमा उसको रवाफ ठूलै थियो । उसको काम ठेकेदारीमा मात्र सीमित थिएन । घर जग्गा बन्धकमा राखी ऋणका व्यवस्था गरेरै पनि उसको निकै कमाइ हुन्थ्यो । साइलाको घर खेत पनि उसै कहाँ बन्धक थियो । उसको व्यवहार देखेर उसलाई त्यहाँ जाने भित्री चाहना थिएन तर मन बुझाउनलाई मात्र ऊ त्यहाँ पुग्यो ।
ठेकेदार तपेन्द्र आँगनमै बसेको थियो, ‘कहाँबाट आइस साइला ?’
‘हजूर स्वास्नी थला परिन..’ रोकिन्छ ।
‘थला परे मैले के गर्ने ? वैद्य कहाँ लग, डक्टर कहाँ देखाऊ’ रवाफयुक्त उसको बोलीबाटै साइलाले अनुमान गरिसक्यो, ‘यसबाट आशा राख्नुपनि मुर्खता हो ।’
‘मालिक दुई चार हजार ऋण पाइन्थ्यो कि…’
‘तिम्रो घर जग्गाको मूल्य भन्दा बढी नै तलाई दिएको छु, अब एक रती थप्न सक्दिन । अरु केही छ भने भन बन्धक राख्नुपर्ने’
‘मालिक म कंगाल कहाँ के छु र ? शेष म नै छु, म नै बन्धक बनुला ।’
‘तलाई बन्धक राखेर के काम ? बरु तेरी छोरी ठूली भैसकी उसलाई बन्धक राख, एक दुई हैन आठ दश हजारै गरौला, कि कसो केटा हो ?’ ठेकेदारको ठूलो हासोमा आसपासका नौकर चाकर र साथीहरु पनि हासे ।
ठेकेदारको कुरा भन्दा पनि उनीहरुको हाँसो उसको लागि ठूलो पीडा भयो । हिनताबोधका साथ ऊ त्यहाँबाट आयो र बाटो भरि उसैको बारेमा सोच्न थाल्यो । बारम्बार उसको मनमा त्यही हाँसो गुञ्जिन थाल्यो…
सारङ्गीको धुनमा उसले त्यो व्यथा बिर्सन खोज्यो ।
हप्ता दिनपछि साइलाको सारङ्गी रेटियो र बेस्सरी रेटियो, रेटिदै गयो ………………
मनको भारि बिसाउने छैन कतै चौतारी
गुञ्जिरह्यो मनको पीडा मनैभरि
म दुखीलाई छैन ठाउँ कहाँ जाने
भाग्य हो कि यस्तो कर्म के के हुने
दुई
साइलो शुन्यतामा हराइसकेको थियो । ऊ भावहिन भयो । न उसमा हर्ष थियो, न उसमा खेद थियो । के हुदै छ, र के हुँदै छैन, उसलाई आभाष थिएन । किनकी अभाव र अपहेलनाले उसको चेतना मरिसकेको थियो ।
सरासर ऊ सडक छेउको एउटा पसलभित्र पस्यो । खल्ती छाम्यो, शेष केही पैसा थियो साउजीलाई दियो, ‘सेलपास छ साउजी ।’ साउजीले समाना दियो, साइलाले पैसा ति¥यो र घर तिर लाग्यो ।
साइलो घर पुग्दा अध्यारो परिसकेको थियो ।
‘बाबा आए’ राजु बाहिर आयो ।
राजुलाई देख्दा केही खुसी महसुस ग¥यो र मुस्कुरायो । भित्र पस्दा स्वास्नीलाई ओछ्यानमै देख्दा उसको मुस्कान पुनः रोदनमा रुपान्तरित भयो ।
‘पाउनु भयो ? ’ उजेलीलको आशा मरेको थिएन ।
‘पाएँ’ गम्भीरता साथ साइलाले भन्यो । ‘राधा राधा, ए राधा, पानी ल्याउ छोरी’……
‘तिमीलाई कस्तो छ ?’ उजेलीको व्यथा बुझ्न खोज्यो ।
‘कस्तो हुनु घाटी नै बन्द होला जस्तो छ…’ आँखाहरु भरिएर आए ।
साइलाले आँशु पुछ्ने कोसिस ग¥यो ।
‘नरोऊ तिम्रा लागि औषधी ल्याएको छु, तिम्रा लागि अमृत हुनेछ । यो व्यथाबाट मुक्ति दिलाउनेछु’
आफुले ल्याएको सेलपासको एक गोली उजेलीलाई दियो । ‘यो खाऊ’ उजेलीले खाई ।
तिम्लाई पनि भोक लागेको होला, यो भोक नलाग्ने औषधी हो । ल एक एक खाऊ’ राधा र राजुले पनि खाए ।
साइलाको बचेको चेतना पनि मरिसकेको थियो । त्यो अन्धकारमा ऊ के गर्दैछ ? उसले सोच्न सकेन जब उसको चेतना व्यूझ्यो तब उसलाई आभाष भयो – उसले के ग¥यो ? घरि स्वास्नीलाई हेर्छ ? घरि छोरा छोरीलाई ।
‘यो के गर्नुभो.’ जीवन र मरणको दोसाधमा छटपटाइरहेकी उजेलीको प्रश्नको जवाफ उसंग थिएन ।
‘अभावग्रस्त यो जीवनको मुक्तिको बाटो मैले देखिन्, जीवनको लामा यात्रा संगै हिड्ने वाचा थियो, हिड्न सकिएन, तर संगै जीउने मर्ने वाचा पुरा गर्छु’ आफुपनि एक गोली खान्छ । ‘नाईं’ उजेलीको चित्कार गाउँभरि गुञ्जियो होला । मृत्युको पर्खाइमा रहेकी उजेलीलाई अंगालोमा बाँधेर तारनै टुट्ने गरी बेस्सरी साइलो सारङ्गी रेटन थाल्यो । उसको रेटाइमा न स्वर थियो र रस थियो । बेस्वादियो धुन गुञ्जिन थाल्यो । सारङ्गी रेटिदै गयो, रेटिदै गयो । कहिले नब्युझ्ने गरी त्यो परिवार चीरनिन्द्रामा लिप्त भयो । कति बेलासम्म त मनै खाने गरि सारङ्गीको धुन गाउलेहरुले सुनेका थिए तर कतिखेर त्यो सारङ्गीको धुन रोकियो कसैलाई पत्तो भएन, निष्पट्ट अध्यारोसंगै सारङ्गी को धुन बिलाउदै गयो …………………..
तीन
रचनाकालः २०७० श्रावण २५ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *