Skip to content

साहित्य सर्जक–माला (एक जमर्कौ) नियालदा


परिचय

वीरबहादुर चन्द ‘विश्राम’जीको जन्म रोडीदेवल–६, तितावै(हिउन्या) बैतडीमा भएको र हाल उहाँ स्वर्ण(भीम टोल) भी.न.पा. ऐंठपुर, कञ्चनपुरमा स्थायीरूपमा बसोवास गर्नुहुन्छ । उहाँका माताको नाम स्व् डुनी(दुर्गा चन्द) र पिताको नाम स्व. लच्छु चन्द हो । शिक्षण सेवामा उहाँको लामो अनुभव(४४बर्ष ६महिना ४ दिन) छ र उहाँ महाकाली साहित्य सङ्गम केन्द्रीय समितिका अध्यक्ष, डोटेली भाषा, साहित्यका सर्जक एबं गुगुल्डी साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ । वीरवहादुरजीले नेपाली साहित्यलाई मात्र नभएर आफ्नो मातृभाषा (डोटेली भाषा), साहित्यमा समेत उहाँले ठूलो योगदान पुर्याउँदै आउनु भएको छ ।

वीरबहादुर चन्दका कृतिहरू :-

डोटयाल्लि शब्द भण्डार, (मिति नखुलेको) न्वा. कि(२०५२), बडुवारे माखो (२०५७), खिचडी (२०६०), निर्दयी कौवा र सोझो परेवा (२०६१), चौपातो रे मान्स (डोटयाल्लि मात्रि,२०६२), नौलो नेपाल मान्स (ना.नि.बातै थोपडो, २०६३), भुटयाट (मुक्तक थोपडो,२०६४), नौलो जुग (गजल थोपडो, २०६५), घाम दिदी (गेद्या कविता थोपडा, २०६६), साकाहारी नै किन सर्बोत्तम आहारा, २०६७), एकौ ज्वारौ हाम्म (गेद्या खेल/नाटकसङ्ग्रह, २०६८), बिजय रे पुस्यापन्नर (ना.नि.बानैको लुतो, २०६८) र साहित्य सर्जक–माला (एक जमर्कौ, २०७०), वीरबहादुरजीका बजारमा आइसकेका कृतिहरू हुन् ।

साहित्यिकसर्जक–मालाको संरचना:-

यो सर्जक–माला (२६२ +१२)=२७२ पृष्ठमा सिङ्गारिएको छ । यसको प्रकाशन महाकाली साहित्य सङ्गमले गरेको छ । यसमा नेपाल, भारत, अमेरीका, मस्को, वेलायत, पर्सिया लगायत विविध देशका १४७९ सर्जकहरूको नामा, जन्ममिति, ठेगाना र कृतिलाई समावेस गर्ने प्रयास गरिएको छ । यस गहन कामको लागि वीरबहादुरजी धन्यवादको पात्र हुनुहुन्छ । उहाँले यस सङ्कलनको अलवा हार्दिक अनुरोध शीर्षकमा साहित्य प्रतिका धारणा राख्नु भएको छ । एउटा गजल र मुक्तक पनि समावेस गर्नु भएको छ । यो कृति ‘जगत–हितमा तिखो कलम सञ्चालक स्रक्ष्टाहरू’मा समर्पण गरिएको छ ।

‘हार्दिक अनुरोध’ शीर्षकमा कृतिकारले आफ्नो धारणालाई यसरी पस्कनु भएको छः –‘जुनसुकै युगमा पनि विश्वको जुनसुकै समाजमा साहित्यको गहिरो, स्थायी, अपेक्षा गरेअनुसार परिवर्तनकारी प्रभाव पारेको कुरा विश्व साहित्यिक इतिहासले प्रष्ट पारेको छ, सबै महानुभावहरूलाई भनिरहनु नपर्ला । यसकारण साहित्य समाजको सर्बौत्तम औषधी भन्नमा अतिशयोक्ती नहोला ।’

चन्दजीको कथन मनन् योग्य छ । साहित्यले समाजमा सुपरिवर्तन ल्याउनमा आत्मसात गरेन भने त्यसलाई साहित्य हो भन्न सकिदैन । साहित्य लेखन सिर्जनशील समाजको सिर्जना गर्नका लागि नै लेखिने हो । जुन देशको साहित्यले समाजमा राम्रो प्रभाव पारेको हुन्छ, त्यसदेशको विकास तीब्र गतिमा अगाडि बढेको हुन्छ ।

यस कृतिमा चन्दजीले यहाँ आठओटा शेरले निर्मित एउटा गजल पनि पस्कनु भएको छ । यो गजलमा विश्रामजीले आजको विश्वको गतिविधिमा प्रकाश पार्नुभएको छ । पृथ्वीनै साहित्यको साझा घर हो, यसमा रमाउने मानवजीवनको मोल पनि अनमोल हो । मानव जीवनको मूल्य कसैले तोकेर तोकिदैन । संसारमा देखिएको प्रदुषण स्वार्थ, छलकपट, द्वन्द्व, मैखाउँ मैलाउँ भावनालाई त्याग्न सके र अनुशासन, नैतिकता र बसुधैव कुटुम्बक म बोललाई अङ्गाल्न सके निश्चय पनि विश्व सुन्दर र शान्त बन्न सक्ने धारणा राख्नुहुन्छ वीरबहादुरजीले । आज यो संसारमा, मानवले मानवता, नैकिता, अनुशासन, बन्धुत्वलाई त्यागेको छ । संसार भरी लोभले गर्दा अशान्ति मच्चिएको छ । तलको गजलको शेरले जगतका सबै मानव भाइबन्धु हुन् सबैलाई राम्रो व्यवहार गर्नुपर्दछ भन्ने धारणा बोकेको छ –

विश्वका सबै मानव भाइबन्धु हुन्
बसुधैव कुटुम्बक म अमृत बोल छ

चन्दजीको मुक्तकबाट हामी सबैलाई अग्रगामी भएर अगाडिबढ्न आव्हान गर्नु भएको छ । मुक्तक उहाँको जस्ताको त्यस्तै यहाँ राखेको छु –

जगत् भरका साहित्यकार जागौं, जागौ, जागौं, अब
प्राणीमात्रको हितै–हितमा लागौं, लागौं, लागौं, अब
साहित्यले मात्र संसार सुन्दर–शान्त हुन्छ
मानवताका बाधक भागौं, भागौं, भागौं

यी माथिका शेरले संसारभरका साहित्यकार आज जाग्न परेको छ । मानव हितमा लाग्नु परेको छ । साहित्य सिर्जनाबाट मात्रै संसारलाई सुन्दर बनाउन सकिन्छ भन्ने धारणा छ चन्दजीको ।

साहित्य सर्जक–माला (एक जमर्कौ)मा सङ्क्षेपमा विवेचना

नेपाल, भारत, अमेरीका, मस्को, वेलायत, पर्सिया लगायत विविध देशका १४७९ सर्जकहरूको नामा, जन्ममिति, ठेगाना र कृतिलाई समावेस गर्ने प्रयास गरिएको यो महत्त्वपूर्ण गहन साहित्य सर्जक–माला (एक जमर्कौ) संकलन गरी प्रकाशनमा ल्याउनुहुने तथा कृतिकार प्रसंशाका पात्र हुनुहुन्छ । उहाँलाई धेरै धेरै धन्यवाद छ । यति ठूलो काम गर्नु भएका सर्जकले मसँग भन्नुभएको थियो –‘अपजस पाउने काम गरेको छु’ । त्यतिबेला मैले भनेको थिएँ –‘जे गर्नुभयो असल काम गर्नुभयो, जति प्रशंसा पाउनु हुनेछ त्योभन्दा अपजसको मात्रा अवश्य कम पाउनुहुने छ । कृति अतिउत्तम हुँदाहुँदै पनि नाम जन्म मिति, जन्म स्थान जिल्ला सहित, कृति संख्या, टेलीफोन या मोवाइल नम्बर आदि विवरणमा एकरूपता ल्याउन सकेको भए तथा खुलाउन सकेको भए सुनमा सुगन्ध थपिन्थ्यो । जे होस् जे जति छ त्यो पनि अति महत्त्वपूर्ण काम भएको छ यसको लागि धन्यवाद छ कृतिकारलाई ।

धन्यवाद

सदानन्द अभागी
२०७० साल ६महिना १९ गते
शान्तिचोक कावासोती–१, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *