अभावमा जिन्दगी बिताएको धेरै भो
सम्झौतामा गुजारा चलाएको धेरै भो
झस्किएर उठ्छु म लालाबाला सम्झेर
निदाउन सक्दिन झकाएको धेरै भो
मेरै बाटो हेरेर रुदै भन्छिन पियारी
दोबाटोमा यी नजर बिछ्याएको धेरै भो
घर फिर्ने आशामा बर्षौदेखि परदेशी
आँशु बोकी आँखामा रमाएको धेरै भो
उज्यालोमा गाउँले हाँसे जस्तो गरेर
अँध्यारोमा परेली भिजाएको धेरै भो
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी