१) जे देखियो
गाडी पार्किङ देखियो महलमा, प्राडो पजेरो कतै,
मान्छे फेरि देखिए सडकमा, नाङ्गै सुतेका कतै ।
हीरा औ सुनका हजार गहना, राखिन्छ टन्नै कतै,
खानाको अभावमा लसुनको, खोजी हुने भो कतै ।।१।।
यौटा सुत्छ चौधतले निजी भवनमा, एसी लगाई पुरा,
अर्को सुत्छ मुनी कठै सडकमा, साथ्मा मगन्ते भुरा ।
यौटा वर्ग असाध्य सम्पति लिई, सम्पन्नता भोग्दछ,
दोस्रो वर्ग पिडीत भै कठिनले, बाँच्ने कला खोज्दछ ।।२।।
२) धनी गरीव भेद
ढोकाझ्याल तथा निदाल धनिका, मोतीसरी टल्किने,
चाँदीका करुवा गिलास चमचा, भाँडा सबै चम्किने ।
वास्ना चामलको गयो भवनको, नाघेर पर्खाल त्यै,
माछामासु भतेर भोज सरिका, हुन्छन् सँधै ठालुकै ।।
माटो छेन गरीवको कहिँकतै, आफ्ना कुनै नाउँमा,
बस्ने वास नभै उता शहरमा, वस्ती तथा गाउँमा ।
खोलाछेउ किनारका वगरमा, बस्छन् ति झाडी वन,
खाई हण्डर लाख लाख, तिनले आँखा रसाई कन ।।
थाप्छन् खेलमहाँ करोड रुपियाँ, कोही जुवा तासमा,
वेलायत् र अमेरिका सयरमा, जाने निजी वासमा ।
यात्रा नै धनिका सवार महंगा, त्यै कारमा हुन्छ है,
पौडी खेल्न छ पोखरी भवनका, ती चोकका माझमै ।।
वोराले झुपडी बुनेर जसले, बस्यो सधैं फस्दछ,
काकाकूल सरी बनेर जलको, मैलो भई बस्दछ ।
मान्छेका नियती अभाव हुनुमा, दोषी कसोरी भयो ?
मीठो खानु रमाइलो गरिवको, टाढा बनि गैगयो ।।
वेथाको उपचार हुन्छ धनिका, नेपाल वा विश्वमा,
विध्याको सजिलै संयोग जुटने, राम्रा र ठूलामहाँ ।
केही साधनको कमि नहुनु हो, सम्पन्नका साथमा,
वेलामा जति चाहिने नगदनै, हुन्छन् अरे हातमा ।।
कङ्गाल बस्छ कुटी कुरेर अथवा, नाली र पेटीमहाँ,
ओच्छ्याई धरती सुतेर नभको, ओढेर खास्टो जहाँ ।
आधापेट भरिन्छ आज उसको, नांगो छ सर्वाङ्गमा,
कोही छैन यहाँ उदार दिलको, मान्छे गयो स्वार्थमा ।।
३) सुझाव
यस्तै हालतमा समाज कसरी, सप्रन्छ सोच्ने गरौं
फालौं स्वार्थ र देशको विषमता, बन्नेछ बुट्टा भरौं ।
मान्छेको गरिवी घटाउन भनी ल्याऊँ कुनै योजना
सोचौं देश विकासको त कसरी हुन्छन् लगानी घना ।
नेपाली गर है विकास नभए हामी पछाडी गयौं
हाम्रोदेश हराभरा छ वनले सम्पन्न जलमा भयौं ।
प्राकृतिक् चिजले र साधनले टन्नै छ देशै जहाँ
खानीको गर खोज पर्यटकको भीडै छ नेपालमा ।
हाम्रा साधनले दिनेछ समता बाँडी गरिव् वर्गमा
राम्रो देश यही सरी त तुलना हूँदैन भू स्वर्गमा ।
यस्तोदेश खरानी भई भुतलमा लाग्दैछ र तल्तिर
हार्नु हुन्न सपार देश अवता लाग्नु छ रे पल्तिर ।
हामी मानिसको दुरी अब यहाँ, पर्ने छ रे खुम्चन,
यस्कैलागि समाजको हितगरौं, मान्छे सरी भैकन ।
थालौं देश धनी बनाउन सबै, नेपालका मानिस
स्वर्गै बन्छ मिलेर देश जगमा, मिल्ला यसैले यश ।
चूडा निर्भीक