पहाड स्वाभिमान हो
जुन तन्किन सक्दैन
तर ठिङ्ग भएर
शानले ठडिन्छ
विना कसैको आड लिएर ।
प्रत्येक पहाड स्वतन्त्र र स्वाधीन छ ।
अग्लो छ जस्तो कि सगरमाथा
होचो जस्तो कि स्वम्भूको डाँडो ।
यिनीहरू एक्लाएक्लै भएर पनि
उँचो शिर सगरसम्मै स्पर्श गरिरहेछन् ।
पहाडबाट शिक्षा सिक
आत्माभिमानको किनकि
ऊ कहिल्यै नुहिँदैन
रवर जस्तो लचक भएर ।
मुसाहरूले पीडा दिन सक्छन्
वाढी पहिरोले खोतल्न सक्छन्
डोजरहरूले कोतर्न सक्छन्
उसका मर्ममर्ममा प्रहार गर्न सक्छन् ।
तर अविचलित पहाडहरू हार मान्दैनन्
न विन्तीभाऊ नै दर्साउँछन् ।
यी त वलिदानी दिन सक्छन्
ढलिदिन सक्छन् कालान्तरमा
किन्तु दव्दैनन् दुश्मनहरूसँग ।
बाघले सिकार नपाउँदा घाँस खाने
धृष्टता गर्दैन जसरी ।
पहाड गुरु हो आत्मसम्मानको
पहाड शुरु हो जीवन अविचलनको
पहाड माता हो भाव सृष्टिको
पहाड पिता हो अन्तर दृष्टिको
पहाड जीवन हो अन्न र पानी दिने
पहाड सबै हो व्रह्माण्डको नियम धानी दिने ।
चूडा निर्भिक