Skip to content


जोतेर गोरु हलले सब खेत बारी
ल्याएर अन्न घरमा अरुकै थुपारी
खाँदै थिए कृषकको अरुले कमाई
काड्दैछ हेर पसिना धरती भिजाई । १

को गर्छ ? शुद्धमनले अरुको भलाई
खानै नपाइ यसरी किन यो कमाई ?
गर्छन् अझै गरिबले किन यो पुकार ?
यस्तै थिए गरिबका दुखका मुहार । २

खान्छन् तिनै कृषकका पसिना चुसेर
बन्छन् सबै धनकुबेर् तिनको लुटेर
दुख्खै भए सुख सबै अझ बिर्सिएर
जस्तै भए पनि अझै हिँड फर्किएर । ३

गम्दैगए फगत ती घरमै बसेर
भन्दैगए अरु सँगै रिसले भरेर
उम्ल्यो यसै सकलको खुन चल्मलायो
उठ्यो जुरुक्क मन यो, तन जुर्मुरायाे । ४

समन्तका अघिसरी गर शीर ठाडो !
भन्नै परो सबमिली अब आफ्नु पालो
डस्छौ अझै ? भन तिमी, अब हेपिदैनौ
सानै भए पनि कसै, अब चेपिदैनौ । ५

दुख्खै भए पनि सबै अब टार्नु पर्छ
माथी चडे अझ भने तल झार्नु पर्छ
आफन्त नै भइदिए पनि मास्नु पर्छ
सामन्तकै बुइचढी कन नाच्नु पर्छ । ६

छन्दः बसन्त तिलका
गणः त भ ज ज गु गु

5 thoughts on “किसान”

  1. टीका मिलन जी
    तवाइँ छन्दमा कविता लेख्न मन गर्नुहुन्छ । मलाइ यो जानेर धेरै खुसी लाग्छ । तर तपाइँको छन्द तपाइँले कब्जा गरेको देखिएन । भावमयता भन्दा पनि कविता वर्णन प्रधान लेख्नुहुँदो रहेछ । जे होस् छन्दमा लेख्ने तपाइँको आँट स्तुत्य भएर पनि छन्दमा परिरपक्व हुन भने निकै बाँकी रहेछ । मेहनत पो गर्नु पर्ने बुझे‌ हे मैले ता ।

  2. हो, हिजाज छन्दमा
    हो, हिजाज छन्दमा लेख्ने कवि निकै कम भएर होला, प्रत्येक छन्दकविता महत्वपूर्ण लाग्छन् । टिका मिलनजीले मझेरीमा थुप्रै छन्दकविता लेख्नुभा’छ । आशा छ अँझ यस बिधामा परिपक्क रचनाहरू आउने नै छन् ।

    1. प्रतिक्रिया
      सम्पादक ज्यू ,
      यो जमानामा छन्दमा लेखेका कविताहरू कुनै समारोहमा सुनाउनु नै हुदैन । त्यस्तो कविता न त कसैले बुझ्छ न त ध्यान दिएर नै सुन्छ । अहिलेको समय भनेको त गजलको मात्र रहेछ, चट्ट छोटा छरिता हुँदारहेछन् । म भने कति गर्दा पनि गजल लेख्न सकिन । गजल लेख्न थाल्यो कविता हुन्छ । हाम्रो साहित्यमा छन्दको प्रयोग हराउदै गएको छ । कतै छन्द लोप भएर पो जाने हो कि भन्ने चिन्ताले गर्दा मैले छन्दमै बल गरेको हुँ । सुझावको लागि पर्खिरहने छु ।

      धन्यवाद !!!!!!!!!

  3. खै ! के गर्नु र होम जी,
    खै ! के गर्नु र होम जी, भावनामा बग्न सारै गह्रो पर्दो रहेछ; यहाँ भन्दा माथि जाने त मेरो क्षमता नभएको हो या के हो म बस्तुपरक कविता मात्र रच्न सक्छु । तै पनि म प्रयास चैं अबस्य गर्ने नै छु । सुझावको लागि धन्यवाद !!!!!!

  4. टीका्जी धन्यवाद
    मेरो कुरालाइ रेस्पोन्स गर्नुभएकोमा हार्दिक धन्यवाद । कोही ता तँ सुझाव दिने को होस् भनेर फट्कार्दा रहेछन् । तपाइँ सौम्य देखिनुभो । खुसी छु । धन्यवाद । जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *