Skip to content

दश मुक्तकहरु ….!

१,
सपनामा हिमाल चढेको हुन्छु
बिपनामा हिलोमा लडेको हुन्छु
खै के गर्नु नशा हो के हुन्छ हुन्छ
बेहोसी मै बेद पो पढेको हुन्छु !

२,
उही हावा उही हुरी चलेकै छ अझै पनि
तिम्रो यादमा मेरो मुटु जलेकै छ अझै पनि
टाढा गयौ स्वार्थी भयौ के भनौ र मैले अरु
हाँस्न नसके नि दिन ढलेकै छ अझै पनि

३,
प्रदेशमा छु मेरो घर खाली-खाली छ
संधै एक्लै जिएँ रहर खाली-खाली छ
सुख कहाँ देख्नु यो जिन्दगीमा अब
जहाँ हेरौं मेरो नजर खाली-खाली छ !

४,
म छैन यो सहरमा हराएको सूचना हो
एक्लै एक्लै सपनीमा कराएको सूचना हो
नखोज्नु है साथीहरु भूमिगत भएको छु
आफैदेखि आफै धेरै डराएको सूचना हो !

५,
भन्छौ आफै संधै छलफलमा छौं हामी
भन्दैनौ त लोभको दलदलमा छौं हामी
सपनाको लड्डुमा बिष हाली भन्छौ रे
खै कहाँ देख्यौ र अलमलमा छौं हामी

६,
म एक बिरुवा रोप्दैछु अचेल
माटोले जरा छोप्दैछु अचेल
तिमी खै काँडा चाहन्छौ कि फूल ?
मनमा यहि सोच्दैछु अचेल !

७,
भेटाउने आशामा म घामको पछि दौडिएँ
कमाउने लोभमा म कामको पछि दौडिएँ
जिन्दगीको याद नै गरिनछु साथी हो मैले
सम्सानमा जाने त्यो लामको पछि दौडिएँ

८,
कतिचोटी तिमी हाँस्यौ मैले रुनु पर्थ्यो
यो आँशुको भेल हेर्न तिमी हुनु पर्थ्यो
रुनलाई पत्थर जस्तो भएर काँ हुन्छ
नभए नि यो पीडाले मन छुनु पर्थ्यो

९,
आज भूगोलको अर्को कुनामा पुगेको छु
था’छ बाध्यताको दह्रो थुनामा पुगेको छु
आफ्नै चाहना त केही पनि छैनन् अचेल
आफै बिर्सिएर कलिला मुनामा पुगेको छु

१०,
जाली फटाहा नेताहरुको राज भएको छ
हामीलाई पो हेर्न पनि लाज भएको छ
लुटे ढाँटे जे गरे नि देश कहाँ बोल्थ्यो र ?
हामी चुप छौं,उनकै शिरमा ताज भएको छ !

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *