Skip to content


पुस्तक: ‘भावनाका भेलहरू’ (गजल संग्रह)
गजलकार: कल्पना पौडेल ‘जिज्ञासु’

हिजो जस्तो लाग्छ संयूक्त अरब इमिरेट्स प्रवेश गरेको तर करिब १४ बर्ष बितिसकेछ । अँझै कति परसम्म पुग्छ यहाँको बसाई थाहा छैन । सन १९९८मा दुबई आएको थिएँ । सुरुका २-३ बर्ष युएईमा रहेका नेपाली समुदायमा परिचित हुनै समय लाग्यो । त्यति बेला युएईमा केवल ८-१० हजार मात्र नेपाली थियौं । सन २००१मा यूएईबाट प्रकाशित पहिलो नेपाली साहित्यिक कृति ‘अधुरो सपना’बाट सुरु भएको मेरो साहित्य यात्रा नेपाली साहित्य परिषद् यूएई को संस्थापक अध्यक्ष, हाम्रो प्रतिध्वानी द्वैमासिक (नेसाप यूएईको मुखपत्र)मा सल्लाहकार, ‘सहयात्रा’ द्वैमासिक प्रकाशक/सम्पादक साथै नेपाल पत्रकार महासंघ यूएई शाखाको संस्थापक सदस्य समेत भएर सन २००७सम्म यूएईमा सक्रिय रहें । सो अवधिमा यूएईमा रहनु भएका समाजसेवी, बुद्घिजीवी, साहित्यकार, पत्रकार, कलाकार, राजनितिक नेता/कार्यकर्ता तथा आम नेपाली समुदायहरूसँग परिचित,उठबस र सहकार्य गर्ने अवसर मिल्यो । जुन मेरो जीवनको एक अविष्मरणीय क्षेणको रुपमा रहिरहने छ ।

सन २००७ देखि २००९सम्म स्वदेशमा रहें । त्यस अवधिमा यूएईका पुराना आत्मीय मित्रहरूसँगको सम्बन्ध स्वभाविक रुपले टाढा भयो । पुनः सन २००९ को अन्त्यमा यूएई प्रवेश गरें र पुराना मित्रहरूसँगको समिप्यतालाई निरन्तरता दिने कोशिष थालें । तर यस पटकको मेरो कार्यथलो दुबईभन्दा करिब सात आठ सय किमी टाढा भएकोले त्यति सहज थिएन । आक्कल झुक्कल जानै पर्ने समारोहहरूमा उपस्थित हुन्थें र पुराना मित्रहरूसँग छोटा मिठा कुराकानी गर्ने अवसर मिल्थ्यो ।

त्यस्तै एक अवसर मिल्यो, समाजसेवी दिलशोभा श्रेष्ठको ‘आमाघर’ को सहयोगार्थ आयोजित कार्यक्रममा । त्यही कार्यक्रममा पुराना मित्रहरूसँग भेट भयो । लामो समयपछिको भेटमा साहित्य तथा अन्य विविध बिषयमा छलफल भयो । त्यसै कुराकानीको क्रममा मेरो अति हितैषी पुराना मित्र मान बहादुर थापा ज्यूले एउटा गजल संग्रह हेरिदिने आग्रह गर्नु भयो । मलाई थाहा थियो उहाँ गजलभन्दा पत्रकारिता र राजनीतिमा बढी रुची भएको मान्छे आफ्नो त पक्कै होइन । आफ्नो पुरानो मित्रले गर्नु भएको अनुरोधलाई नाई भनी हाल्न सक्ने स्थितिमा पनि थिइन । यसभन्दा अगाडि कहिल्यै नाम नसुनेको र मेरो फेसबुकमा साथीको लिष्टमा पनि नभएको मान्छेको गजल, सम्पादन तथा भूमिका लेख्न जस्तो कठिन कार्य अब कसरी गर्ने होला भन्ने दोधारमा परें । मान ब. ज्यूले मोटामोटी गजलकारको बारेमा जानकारी दिनु भयो । अनि त्यसै दिन रुवैस फर्किएँ ।

मान ब.ज्यू दुबईमा भेटेको ३-४ दिनपछि नै दुबई छोडेर सधैँको लागि नेपाल फर्किनु भयो । केही दिनपछि उहाँले मलाई गजल संग्रहको पाण्डुलिपी ईमेल मार्फत पठाई दिनु भयो । त्यति बेलासम्म गजल संग्रह कि सर्जक कल्पना पौडेल ‘जिज्ञासु’सँग फेसबुक मार्फत साथी बनिसकेको थिएँ । गैंडाकोट–४, नवलपरासी स्थायी घर भएकी उहाँ चार बर्षदेखि इजरायलमा रोजगारीको सिलसिलामा हुनु हुँदो रहेछ । सानैदेखि साहित्यिक पुस्तकहरू पढ्न रुची भएकी र कविता, गीत, मुक्तक आदिमा कलम पनि चलाउँदै आउँनु भएको थियो रे । गजलमा कलम चलाउँन थालेको प्रवास यात्रा पछि मात्रै भएपनि करिब २००भन्दा बढी गजलहरू सिर्जना गरी सक्नु भएको बताउँनु भयो । आफ्नो घरभन्दा टाढा पराई भूमिमा बस्दा मनभित्र उर्लिएका भावनाका ज्वारभाटाहरूलाई गजल रुप दिनु भएको रहेछ ।

एक त प्रवासको व्यस्त जिन्दगी, त्यही माथि दशैंको रमझमले गर्दा जति चाँडो कार्य सुरु गर्नु पर्ने थियो त्यो भएको थिएन । बल्ल दशैं सकियो र पाण्डुलिपी पल्टाएँ । गजल संग्रह ‘भावनाका भेलहरू’मा एक सय चार थान गजलहरू थिए । यी सबै गजलहरू सम्पादन गरी भूमिका समेत लेख्ने चुनौती मेरो सामु थियो । अब यो चुनौतीलाई मैले अग्नि परिक्षाको रुपमा लिएँ अनि गजलका एकएक शब्द केलाउँन थालें । तर गजल शास्त्रीय र प्राविधिक बिद्या भएकोले यसका अलग बिधिबिधान हुन्छन् । प्राबिधिक संरचना, लयबद्घ हुनु, कोमल, हार्दिक, हृदयसंबेद्य हुनु तथा काफिया र रदिफको कलात्मक प्रयोग द्घारा सुललित र भावपुर्ण हुनु नै गजलका विषेशता हुन् । गजलमा काफिया, रदिफ, मतला, सेर, मिसरा, मक्ता, तखल्लुस मात्र भएर उत्कृष्ट गजल बन्दैन । यी केवल गजलका बाहिरी रुप मात्र हुन् । गजलमा प्रयोग भएका शैली, प्रतिक, भाव, लय, उक्ति वैचित्रय र भाषाको मोहकताका भित्री रुपले नै गजलको स्तरीयतालाई निर्धारण गर्दछन् । मैले पनि गजलका यही मर्मलाई ध्यानमा राख्दै सम्पादन थालें ।

यो गजल संग्रहको नाम ‘भावनाका भेलहरू’ भने झैं नै केवल छताछुल्ल छरिएका भावना मात्र थिए प्रायः सबै गजलहरू । कति शब्दहरू काटें, कतै थपें, कतै काफिया नै थिएनन्, कतै रदिफको चयन ठिक थिएनन् । सबैभन्दा ठूलो समस्या लयमा थियो ती सबैलाई मिलाउँने कोशिष गरेको छु । अँझैँ पनि धेरै परिमार्जनको जरुरी छ तर सबै मिलाउँदा गजलको भाव नै परिवर्तन हुन सक्ने डरले भित्रभित्रै सताइरहेको थियो । त्यसैले पनि धेरै नमिलेकोलाई मात्र सम्पादन गरेर मिलाएपछिको गजल संग्रह ‘भावनाका भेलहरू’ यहाँहरूको हातमा छ र अब यही संग्रहभित्र समेटिएका गजलहरूको बारेमा थोरै चर्चा गरौं ।

यो संग्रहभित्र १०४ वटा गजलहरू समावेश गरिएका छन् । परापुर्वकालदेखि चल्दै आएको चलन अनुसार गजल आफैमा प्रेम प्रधान वा प्रेमी प्रेमिका बिच हुने सम्वाद मानिन्छ । तर आजभोलि समय अनुसार गजल बिद्या पनि परिष्कृत र विविधिकरण भएको छ । आजभोलिका गजलहरूमा प्रेम मात्र नभएर सामाजिक, राजनीतिक विकृति, दार्शनिक भाव, आशा, निराशा, पीडा, ब्यथा, आर्थिक, कला संस्कृति, परम्परा, सचेतना, जातिय/बर्गीय विभेद आदिलाई समेटिन थालिएको छ । यो गजल संग्रह ‘भावनाका भेलहरू’ भित्र माथि उल्लेखित सबै भावहरूलाई नसमेटिएका त होइनन् तर गजलमा बाहुल्यता भने प्रवासी पीडा नै छन् । जसमा आफ्नो प्यारो जन्मभूमि, घरपरिवार, आफन्त, बालबच्चा, चाडपर्व छोडी प्रवासमा बस्नु पर्दाको पीडा भावलाई निक्कै मार्मिक ढंङ्गले गजलमा जताततै पोखिएका छन् ।

देशमा बढेको बेरोजगारी, अशान्ति र अस्थिरताको कारण परिवार, आफन्त अनि छोराछोरीको सुन्दर भविष्य र दुई छाक टार्न प्रवासिनुको पीडा यी सेरहरू मार्फत पोख्नु भएको छ ।

अनायसै बग्दा रै’छन् ‘भावनाका भेलहरू’
खेल्दैछु म हारी हारी जिन्दगीका खेलहरू

भौतिरिंदै नोकरीको धेरै आशा गर्दा गर्दै
प्रवासको बाध्यतामा धेरै फेरें नेलहरू

एउटी आमाको लागि सन्तानभन्दा प्यारो अरु केही हुन सक्दैन । तर बाध्यताबस कलिला मुना जस्ता लालाबालालाई एक्लै छोडी प्रवासिन पर्दा कुन आमाको मन नरोला ? हो, कल्पना पौडेल ‘जिज्ञासु’ पनि रुनु भएको छ हरपल, हरक्षेण, छट्पटिंनु भएको छ । अनि त्यो पीडाहरूलाई शब्द–शब्दमा उन्नु भएको छ, कहिले आमाको सम्झनामा त कहिले आमा भएरः

केही तिम्रा, केही मेरा, मिठा–मिठा कुरा गर्दै
ममताको तिम्रो न्यानो छहारीमा रमाउँछु

सानासाना नानीबाबु छोडेकी छु एक्लै
आफैबाट मातृत्वको हरणमा छु यहाँ

धेरै वर्ष भएछ जन्मभूमि नटेकेको मैले
आफ्नै सन्तानको अनुहार नदेखेको मैले

तिम्रो न्यानो काखमा निदाएथेँ आमा
हातले तिम्रो बुबु छाम्दै रमाएथेँ आमा

डोकोमाथि तिम्लाई राखी पधेरीमा झर्थेँ
ममता दिँदै काखमा च्यापी मेलापात गर्थेँ

आफ्नो जीवनसाथीसँग लामो समय टाढा बस्दा पक्कै पनि मन हतास हुन्छ सबैको । त्यस्तो बेलामा कहिले हतास नहुन जीवन साथीलाई सम्झाउँछिन, त कहिले आफू माथि शंका नगर्नु भन्दै विश्वास दिलाउँन खोज्दैछिन् अनि कहिले अतितका मिठा–मिठा पलहरू सम्झेर रोमाञ्चित हुन्छिन् सेरहरू मार्फतः

बाटो अन्तै मोड्यौ भने मर्छु होला म त
एक्लो पारी छोड्यौ भने मर्छु होला म त

तिमी टाढा भए नजिक तानौं लाग्छ अचेल
युगौं युग अंगालोमा बानौं लाग्छ अचेल

भित्ताभरि टाँसेकी छु तिम्रै फोटाहरू
तिमी बिना सुनसान छन् सबै कोठाहरू

ईच्छाहरू एकाएक भाँची रा’छु तिमी बिना ?
वेदनाको पोको लुकाई हाँसी रा’छु तिमी बिना

तिम्रो हातको सिरानीमा निदाउन पाए हुन्थ्यो
यौवनको सारा प्यास मेटाउन पाए हुन्थ्यो

हाम्रो नेपाली पुरुष प्रधान समाजमा महिलालाई चुलो चौका मै सीमित राख्नु पर्छ भन्ने मान्यतालाई चुनौती दिनु भएको र नारी पुरुष समान हुनु पर्छ भनेर बिद्रोह गर्नु भएको छ यी सेरहरू मार्फतः

बग्दै जान्छु नदी झैँ लोटामा सीमित हुन्न
चुलोचौका घरको चोटामा सीमित हुन्न

नारी–पुरुषमा भेदभाव गर्ने यो समाजमा
पिजडाको सुगा झैँ कोठामा सीमित हुन्न

भगवानले त केवल यो संसारको सृष्टि गर्नु भयो । त्यसमध्य मान्छेलाई सबैभन्दा चेतनशिल प्राणी बनाई दिएतापनि त्यही मान्छेले आफूलाई श्रेष्ठ साबित गर्न र निर्दाेषलाई आफ्नो नियन्त्रणमा राख्न मान्छे बिचमा ठूलो सानो जात सृजना ग¥यो । यस्तै सामाजिक असमानता र भेदभाव प्रति पनि बिरोध गर्नु भएको छः

धन्य ईश्वर रचिदियौ दिन, अनि रात यहाँ
मनुष्यले आफै राखे ठूलो/सानो जात यहाँ

आफू देशभित्र रहँदाभन्दा प्रवासमा रहँदा देशको माया बढी हुन्छ अनि आफ्नो राष्ट्र र राष्ट्रियता प्रति गौरब हुन्छ । चाहे हामी जति सुकै सुविधा सम्पन्न देशमा सुखले बसेता पनि आफ्नो देश भनेपछि गर्वले छात्ति भुक्क फुल्छः

सूर्य र चन्द्र अङ्कित झण्डा झुक्दैन कहिल्यै
जलको धनी नेपाल हाम्रो सुक्दैन कहिल्यै

देशको लागि यसरी गौरब गर्दा–गर्दै पनि देशमा बढेको हत्या, हिंसा, राजनीतिक बिकृति, भ्रष्टचार, दण्डहिनता आदिले सधैँ दुखिद छिन उनी र त्यो हालबाट माथि उठ्ने कामना गर्छिन सेरहरू मार्फत यसरीः

जुलुश जम्मा पार्दै भाषण छाट्छन् नेताहरू
चिप्ला कुरा गर्दै दिमाग चाट्छन् नेताहरू

एक दिन त हाम्रो देशमा शान्ति छाउनै पर्छ
अन्याय र अत्याचारले निकास पाउनै पर्छ

देशप्रतिको आगाध माया हुदयभरि संगाल्दै सामाजिक भेदभावप्रति औंला उठाउँनु भएको छ कतै भने, कतै नारीको हक अधिकारको लागि आवाज बुलन्द पार्नु भएको छ । त्यतिले मात्र उहाँ चुप बस्नु भएको छैन । देशमा परिवर्तनको लागि आम जनतालाई क्रान्तिमा होमिन प्रेरित गर्दै हुनुहुन्छ यसरीः

उठौं अब जनता सबै रातो झण्डा बोक्दै
अमर ती शहिदलाई लाल सलाम ठोक्दै

हामीले गजल वाचन गर्दा वा संगीतमा सुन्दा जति मिठासपुर्ण र मनभित्र हलचल पैदा गर्दछ त्यति नै गजल सिर्जन गर्न सजिलो काम होइन । संरचना, भाव, लय आदिसँग तालमेल मिलाउँदै सबैको मनछुने गजल बनाउँनु निकै चुनौतीपुर्ण हुन्छ । तर कल्पना पौडेल ‘जिज्ञासु’ले यो चुनौतीलाई सिवकार गरेर अगाडि बढ्न पाईला चाल्नु भएको छ यो नै ठूलो कुरा हो । बाटो जति कठिन भएपनि त्यो बाटोमा हिंड्ने हिम्मत लिनु पर्दछ । लक्ष्यमा ढिलो चाँडो पुगिन्छ नै । यो उहाँको पहिलो पाइृला हो ‘भावनाका भेलहरू’ गजल संग्रह । यसभित्र धेरै भावनाहरू केवल भेलको रुपमा मात्र आएका छन् । धेरै चोटी भावहरू दोहोरिएका छन् । काफियालाई दोष मुक्त पार्नु र रदीफको कलात्मक प्रयोग गर्नु पनि अबको दिनमा चुनौती थपिएको छ । गजल बिशुद्घ गायन बिद्या भएकोले यति, गतिमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । गजलमा प्रयोग हुने शब्दहरू सरल, कोमल, मनछुने हुनु पर्दछ र क्लिष्ट शब्दहरूलाई गजलमा पुर्ण निषेध मानिन्छ । गजल मुसलसल होस् या गैह्र मुसलसल, हरेक सेर आफैमा पुर्ण हुनु पर्दछ । तब मात्र गजल, गजल बन्छ, नत्र शब्दहरूको थुप्रोभन्दा अरु केही हुदैन । मतला देखि गजल वाचन सुरु गरेर मक्तामा पुग्दा यस्तो महसुस नहोस कि कुनै कथा पढ्दै छु । यस तर्फ पनि चनाखो हुनु पर्दछ । मक्तामा प्रयोग हुने ‘तखल्लुस’ले गजलको उचाईलाई बढाउँने काम गर्दछ । तखल्लुस राख्नै पर्छ भन्ने अनिवार्य नभएपनि राख्दा राम्रो हुन्छ । कल्पना जीको गजलमा ‘तखल्लुस’ छैन भन्दापनि हुन्छ ।

समग्रमा भन्नु पर्दा यो गजल संग्रह ‘भावनाका भेलहरू’ सामान्य छ । तर उहाँभित्र एउटा आशा लाग्दो प्रतिभा लुकेको छ । जसलाई अगाडि बढाउँन निरन्तरता, साधना, लगाव, अध्यायन अनि हिम्मतले मलजल गर्नु जरुरी छ ।

साहित्यमा मेरो सानो योगदान भए हुन्थ्यो
आफ्नो पनि समाजमा पहिचान भए हुन्थ्यो

‘भावनाका भेलहरू’ मार्फत नेपाली गजलको दुनियाँमा प्रवेश गर्नु भएकी कल्पना पौडेल ‘जिज्ञासु’जीलाई हार्दिक स्वागत छ ! र उहाँले चाहे झैँ नेपाली साहित्यमा ठूलो योगदान पुग्ने आशा राख्दै भविष्यमा सफल गजलकारको चिनारी होस् भन्ने कामना गर्दछु ।

दलवीर सिंह बराइली ‘घायल’
संरक्षकः अनेसास यूएई च्याप्टर
ग्ुप्तेश्वर–३, रामेछाप
हालः रुवैस, अबुधाबी,यूएई
सुक्रबार ०२ नोभेम्बर २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *