बाग थियो,
राग थियो,
बैराग पनि थियो
तैपनि खै किन
तिम्रो मनको बगानमा
संगीत फुरेन
त्यो गीत कहिल्यै बन्न सकेन ।
एउटा कलिलो जवानी
जानी नजानी फक्रँदै थियो
तिमी नै त भन्थ्यौ,
“कति निश्चल जवानी,
कति निर्मल र निर्भीक
चञ्चल र चिरबिर छ जवानी,”
हो त्यहाँ
मखमली थियो
माहुरी थिए
माहुरहरू थिए
परन्तु, तिम्रो मधु-घारमा
एकै चाका मह पनि थुप्रिन सकेन
हल्लै हल्लाको बिचमा पनि
तिम्रो स्वर गुञ्जन सकेन
तिम्रो गीत बन्नै पाएन ।
पहिलो अन्तरासम्म त लेखेकै हो
एउटा पाना पनि भरेकै हो
कनीकुन्थी कोर्दै मेट्तै
दुईचार शब्द त थोपरेकै हो;
शब्द मिठो लागेन कि
मिश्रण पो निको लागेन कि
अन्तरा-अन्तरा र स्थायी-स्थायीबिचमा
अर्थहीन थुप्रो पो देख्यौ कि त,
ध्रुवपंक्ति नै ध्रुवपंक्ति जन्माएर पनि
संगीत सोच्न खोज्दा खोज्दै
रेकर्ड खोज्न लाग्दा लाग्दै
त्यो गीत तुहियो गर्भमै
कठै, संसार देख्न पाएन
तिम्रो संगीत बन्नै सकेन ।
कुमार सिंखडा