Skip to content

प्रस्थान कक्षबाट


के सोच्छन् होला ?
आमाको फेर समातेर
प्रस्थान कक्षको छेउ उभिएका
अवोध बालकहरू,
रसिला आँखाहरू हेर्दै गरेका
आमाहरू,
बिहेको हप्तैदिन नवित्दै
रातै साडीमा
बिदाइको लाइन उभिएका
नवदुलहीहरू ।

एकलर्को मालामा
सम्झना उनेर
श्रमवजार डुव्न हिडेकाहरूलाई
ओइलाएर सुन्दरता त्याग्नै आँटेको फूलजस्तै
लहरै आँधी खेपेका अनुहारहरू
के सोच्छन होला ?
मनभित्र करौंती चलाएर
बिदाइका हात हल्लाउनेहरू
सपना वोकेर उड्छन कि ?
सपना त्यागेर उड्छन कि ?
सपनाहरू त्यहीं छोडेर उड्छन कि ?
श्रपित देशको
फोस्रो स्वाभिमानी राष्ट्रिय गीत गाउदै
के सोच्छन होला ?
प्रस्थान कक्षको छेउ उभिनेहरू ।

फेरि आउलान कि ती ?
सिद्रा झैं सुकेर
जीवन हारेका माछाहरू झैं
हरियाली वेचिसकेका
गुन्द्रुक झैं
टुक्रा टुक्रा भएर सीसाझैं
रेमिटयान्सको धारमा रेटिदै ।

साँच्चि !
के सोच्छन होला ?
आकाशको सानो झयालबाट
हावामा देश नियाल्नेहरू

सपनाहरू हावामा उडाएर फर्कनेहरू ।

दीपेन्द्र के.सी.
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *