Skip to content


पृथ्वीनारायण शाहले गोर्षालाई ‘यो राजै दुई ढुंगाको तरुल जस्तो रहेछ’ भनेका थिए। उनको विचारमा दक्षिणको कम्पनी र उत्तरको वादशाही चीन ढुंगा थिएभने काँचो मुलुक गोर्षा– तरुल। तर, उनका उत्तराधिकारीहरूले ढुंगो झै साह्रो बनाउन चाहे, गोर्षालाई। पनाति गीर्वाणयुद्धविक्रमले ‘आटन्या कुरा आँटी ढुंगा थामन्या बढन्या सप्रन्या काम’ गर्न भीमसेन थापालाई मुख्तियारी दिए। नेपालस्थित अंग्रेज दूतको ‘पग ञहाँबाट उठाया मात्र ढुंगाको श्रेय छ’ भन्ने खासखुस दरबारमा चल्यो। ‘ढुंगा सम्बन्धी काम पर्‍यामा मात्र’ राज्यको ढुकुटी चलाउनू भन्ने आदेश भयो। ‘चिनियाँको लस्कर कटाई ढुंगो थाम्याको विस्तार’ भनेर लडाईंको वर्णन गरियो। वि.सं. १८२५मा नेपाल खाल्डो जितेपछि जग बसेको गोर्षाको ढुंगो अर्को ५० वर्ष सप्रेर पूर्व टिष्टा र पश्चिममा सतलज पुग्यो।

केहीअघि कलकत्ता र सुरत बन्दरगाह हुँदै पसेको ‘इष्ट इन्डिया कम्पनी’ भन्ने एउटा कन्सुलीले भारत चपाउन थालेको थियो। कम्पनीको देवानी ढुंगोले बङ्गाल, बिहार र उडिसा च्याप्यो। मैसूर र मराठा दल्यो। अवध र राजस्थानलाई तर्सायोअनि शिखहरूलाई हान्यो। एउटै समयमा सप्रिएका यी दुई ढुंगा १८२४ को हिउँदमा पहिलो पटक एकअर्कोसँग ठोक्कियो। हतियारबन्द कुइरे, देशी सेनामेना, निहत्था महिला र चाकरसमेत जम्मा २४०० मानिस लिएर कप्तान किन्लक सिन्धुली आइपुगे। किन्लकको फौज पहिले कमला नदीमा डुबे, औल लाग्ने जङ्गलमा थाके। पहाडको बाटोमा तोप चढेन। येनकेन महाभारत के चढ्न थालेका थिए, गोर्षालीले छेकिहाले। भोको पेट र हतियारहीन दिग्भ्रमित फौज तितरवितर भएपछि कम्पनीको लागि गोर्षालीसँगको पहिलो जम्काभेट महाभूल सावित भयो। यसरी गोर्षाले आफ्नो ढुंगो साबुत राख्यो।

वि.सं. १८७१–१८७२ को दोस्रो ठोक्काइबाट भने चुरेको दक्षिण पाखोमा कोलाहल मच्चियो। लडाईं जम्नै नपाई वीर गोर्षा हार्न थाल्यो। पुग नपुग दुई वर्षमा सुगौली सन्धि भयो। हरूवा गोर्षाको ढुंगो चोइटियो। महाकालीपारिको भूभाग टुक्रियो, तीन चौथाइ तराई खुस्क्यो। पूर्वमा मेचीपार विदेश भयो। असली हिन्दुस्तान बनाउन हौसेका गोर्षालीहरूको नूर गिर्‍यो। राजस्व हाकीम रहेको जितुवा कम्पनी अब शासक बन्ने सुरमा पुग्यो। त्यसपछिको ४० वर्षमा सिंगो उपमहाद्वीप फत्ते गरेको कम्पनी १९०४ को सिपाही विद्रोहपछि आफैं सड्न थाल्यो। त्यसको जमीनदारी बेलायती महारानीको पाउमा चढ्यो। भारतीय उपमहाद्वीप बेलायती साम्राज्यको उपनिवेश बन्यो।

यो घटनासारमा देशलाई ढुंगा मात्र ठान्नेहरूको देखा छ। तर, देश भनेको खोला–बालुवा, जङ्गल–मैदान र माटो–खेत पनि हो। इतिहास पनि ढुंगा सपार्ने, थाम्ने र ठडाउनेहरूको गुनगान मात्र होइन, पानी पटाउने, बालुवा बिसाउने, जङ्गल सपार्ने, मैदान सम्याउने, खेत खन्ने र माटो मलिलो राख्नेहरूको वर्णन पनि हो। माथिको इतिहासमा भने ढुंगाको दुन्दुभि मात्र सुनिन्छ, माटोको मन कसरी काम्यो, लेखा छैन।

खोटपूर्ण युद्ध इतिहास

दृष्टिकोण अनुसार युद्धका बेहोरा फरक हुन्छन्। गोर्षा–कम्पनी युद्धबारे लेख्ता पनि धेरै इतिहासकार कारण पहिल्याउनतिरै लागे। तिनको मुख्य चासो युद्ध किन भयो र गोर्षाली किन हारे भन्ने रह्यो। तिनले युद्धका धेरै सम्भाव्य कारणहरू भेटे। पहिलो कारण– गोर्षा दरबार काँगडा दक्खल गर्न चाहँदैनथ्यो, तर बडाकाजी अमरसिंह थापाले त्यो किल्ला सर गरे, जुन सतलजपूर्व आँखा गाडेका शिखहरूलाई सह्य भएन। १८६६मा कम्पनीसित अमृतसर सन्धि गरेलगत्तै शिखहरूले गोर्षालीलाई सतलज कटाए। अमरसिंहले मिलेर पञ्जाब जितौं र भाग लगाऔं भनी कम्पनीलाई लोभ्याए। उनको यो आकांक्षाले गोर्षा–कम्पनी युद्ध नजिकियो भन्नेहरू नभएका हैनन्।

दोस्रो कारण– कम्पनी संरक्षित जमिन्दारहरूको १८६२ देखि नै गोर्षासँग सन्धिसर्पन किचलो थियो। कहिले भीमनगर, कहिले काशीपुर त कहिले रुद्रपुर मौजामा विवाद बल्झिन्थ्यो। गोरखपुरतिरको स्युराज र बुटौलको तानातानलाई स्थानीयस्तरमा सुल्झाउन चौधरी, महतो र जानकारहरू राखिन्थे। विवादित मौजाको पोता रसीद भीडाइन्थ्यो। गोर्षालीहरू ‘थोरा बातमा तक्रार बढाउनु ठिक छैन… सहिलहि मिल्या नमिल्याको हेरि सिवानाको रफा गनर्््या’ भन्ने नीति लिन्थे। कम्पनीतर्फका अमिन, मुन्सी पनि ‘बढीयै आदमि’ हुन्थे, कुरा मिल्थ्यो। तर, १८७०मा नेपोलियनसँगको युद्धबाट फुर्सद पाएपछि कम्पनीले बढी नै निहुँ खोजेर युद्धको घोषणा गर्‍यो भन्नेहरू पनि छन्।

कम्पनीले १८५५ देखि नै देशी राजा–रजौटा मास्ने नीति लिएको थियो। गभर्नर जनरल वेलेज्ली संरक्षण दिने बहानामा सन्धि गरेर देशी राज्यमा आवासीय प्रतिनीधि र सैनिक टुकुडी राख्थे। अनि राजालाई अरूबाट एक्ल्याएर व्यापार र राजस्वमा एकाधिकार जमाउँथे, मौका पाएपछि सत्ताविलय गर्थे। १८५८मा त्यस्तै सन्धि भयो, गोर्षा–कम्पनीबीच। व्यापारिक भनिए पनि त्यो कूटनैतिक समझ्दारी थियो। सन्धिको नवौं बुँदा अनुसार कम्पनीले रणबहादुर शाहलाई बनारसमा कैद गर्‍यो। राजराजेश्वरी र दामोदर पाँडेले चाहे जस्तो भयो, तर बदलामा कम्पनीका कप्तान नक्स काठमाडौं बस्न आए। बुझाइ विपरीत, काठमाडौंमा चिनियाँ उपस्थिति नदेखेका नक्स गोर्षा दरबारभित्र खेल्न थाले। सावधान भएको दरबारले उनलाई हैजा फैलियो भन्दै १८६०मा मकवानपुर पठायो। गभर्नर वेलेज्लीले उत्तिखेरै सन्धि भङ्ग गरे, तर बेइज्जती बिर्सेनन्। १८७०मा युद्धप्रेमी मार्क्वेस् अफ् हेस्टिङ्स गभर्नर जनरल बनेर कलकत्ता आउनुलाई गोर्षा–कम्पनी युद्धको तेस्रो कारण मान्नेहरू छन्।

चल्तीको इतिहासमा गोर्षा हार्नुका विविध कारण देखाइएका छन्। त्यो वेला गोर्षामा राजनीतिक अस्थिरता र भारदार काटिने क्रम चलिरहेकै थियो। कसैको गलामा गाडाको पांग्रो कसिन्थ्यो, कसैको छाला काढी नून–चुक लगाइन्थ्यो त कसैको आँखामा सिउँडीको चोप हालिन्थ्यो। सहयोगी र शत्रुको पहिचान दिनदिनै बदलिन्थ्यो, कसको कहिले पालो आउने हो थाहा हुँदैनथ्यो। राज्यकोषमा बेपत्ता हिनामिना थियो, देवस्व पनि छाडिंदैनथ्यो। कुशविर्ता हरेर आसेपासेलाई जागीर खान्गी दिनु सामान्य थियो। भीमसेन थापाले आफैंले २८०० रोपनी जग्गाको कुतबाली र वार्षिक रु.३५०० आफ्नो आम्दानी तोकेका थिए। रुपैयाँमा ३ पाथी मसिनो चामल आउने त्यो वेला काजी त्रिभुवन प्रधानमाथि ढुकुटीबाट १८ हजार मासेको आरोप थियो। यसरी आन्तरिक रूपले कमजोर गोर्षा बाह्य युद्ध जित्ने अवस्थामा नरहेको एकातिर लेखिएको छ।

बनारस छँदा कम्पनीका प्रतिनीधिहरूलाई ‘ढुंगाको बिगार नगर्र्ने’ वाचा ख्वाएका भीमसेनले काठमाडौं फिरेर मुख्तियारी सम्हालेपछि सैन्य संगठनमा उति ध्यान दिएनन्। गोर्षालीहरू १८६६मा सतलजबाट धपिनुपरेपछि मात्र होश खुलेर उनले तोप ढाल्ने कारखाना खोले। तर १८७१सम्म न पर्याप्त तोप बने न त मोर्चामा लगिए। रसदपानीको अभावमा ‘बेगार’ र ‘झारा’बाट युद्धश्रम परिचालित थियो। भोट–चीन र शिखहरूबाट सहायता आउने आशा तुहिसकेको थियो। १८७७मा हिन्दुत्व रक्षाको लागि गोरा (गोरण्डो) नामक रछाने भूत (मलिम्लुच)लाई हटाउन आर्यावर्त एक हुन गोर्षाका संस्कृत कवि वाणीनिधिले बोले, तर कसैले सघाएन। कम्पनीले चीन पनि खाला भन्ने गोर्षाली आशङ्कालाई चीनले पत्याएन। भोटले गोर्षाको हरिविजोग नहोस् भनेर प्रार्थना त गर्‍यो, तर पैसा पठाएन।

युद्ध हुन र गोर्षा हार्नाका कारण खोज्ने इतिहास अतीतबाट पाठ सिक्न चाहनेहरूले लेखेका हुन्। नेपाली राजनीतिमा भारतको नाङ्गो प्रभाव देख्नेहरूले गोर्षा–कम्पनी युद्धका कारणभन्दा परिणाममाथि ध्यान दिए। उनीहरू आधुनिक नेपालको भौगोलिक साँध सुगौली सन्धिपछि निर्णित भयो भन्छन्। तिनले सुगौली सन्धिलाई नेपालको जन्मलग्नमा परेको राहु ठाने, तर ठ्याक्कै त्यस्तो होइन। सन्धिपछि कम्पनीले सुदूरपश्चिमको तराई खायो, मेचीपारिको पहाड निल्यो। बुटवल र गण्डकीपूर्वका बारा, पर्सा, रौतहट, सर्लाही समेतको तराई दुई लाख रुपैयाँ वर्षेनि बुझ्ाउने गरी लियो– गोर्षालाई मेची–महाकालीबीचको पहाड र भित्री मधेशमा सीमित पार्दै। सुगौली सन्धिपछि मराठासित भीड्न कम्पनीले मध्य र पूर्वी तराई गोर्षालाई दियो। अहिलेको नेपालको आकार त १९०४ पछि बन्यो। जङ्गबहादुरले सिपाहीविद्रोह दबाउन सघाएर पश्चिमको ‘नयाँ मुलुक’ बक्सिस् पाए।

गोर्षा–कम्पनी युद्धलाई आधुनिक नेपालको जन्माख्यान भन्नेहरूको समस्या गहिरो छ। वर्तमानको उत्पत्तिकथा बुन्नेहरूले भूगोलभित्र देश अटाएका छन्। उनीहरू वेला वेला ‘बोर्डर’ मिच्यो भन्दै कोकोहोलो गर्छन्। तर, अखण्ड भूगोलमा देश खोज्नेहरूले साझा सांस्कृतिक कल्पनाको सीमा कसरी तोक्ने, सोच्नुपर्छ। पूँजी, श्रम र अधिकारको विश्वव्यापी पलायनलाई भूगोलले कसरी छेक्ने, विचार्नुपर्छ।

उत्पत्तिकथा लेख्नेहरूले भीमसेन थापा जस्ता ‘विभूति’ को अवसानलाई नेपाली स्वाभिमानको पतन सम्झ्े। पृथ्वीनारायणले ‘चीन वादशाहसित ठूलो घा राषनु, दषिनको समुद्रका वादशाहसित घाहा त राषनु तर त्यो महाचतुर छ’ भनेका थिए। तर, भीमसेनले चीनसित मेल राखे पनि कम्पनीसँगको युद्धलाई अवश्यंभावी बनाए। जङ्गबहादुरकै पालादेखि भारतभक्त हनुमान भएर निस्किएका राणाहरूले भोटलाई दबाउने र चीनलाई उपेक्षा गर्ने नीति लिए। यसकारण, गोर्षा–कम्पनी युद्धमा पराजीत नेपालमा भारतको एकछत्र चलखेल हुन थाल्यो भनेर पनि पढाइएको छ। तर, वर्तमानको स्रोत अतीतमा हुँदैन, मानिसले वर्तमानमाथि अतीतको छाया चढाउने हो।

हिजो र आजबीच मानिसको सम्झ्नाको जैविक भेद हुँदैन, शिक्षा–संस्कारबाट त्यस्तो भेद निस्कन्छ। हिजोको बीउ नै आज फल लागेको भन्ने अनुमान मात्रै हो– यथार्थ यही हो भन्न गाह्रो छ। त्यसैले, गोर्षा–कम्पनी युद्धको परिणाम र आजको नेपालबीच २०० वर्षको अन्तराल छ भन्ने बिर्सनुहुँदैन। सुगौली सन्धिले नेपाललाई निरीह बनायो भन्नेहरूले २०० वर्षअघिको मनसुनले आज बाढी आउन सक्छ भन्न त सक्तैनन् नि!
माटो मनको ढुकढुकी

गोर्षा–कम्पनी युद्ध सम्बन्धी स्रोत–सामग्रीहरू राम्ररी केलाउने हो भने ढुंगा केन्द्रित वर्णनभन्दा फरक तस्वीर कोर्न सकिन्छ। त्यसका लागि त्यो दुई देशबीचको युद्ध थियो भन्ने भ्रम र हिजोआज झैं त्यसमा राष्ट्रिय सेना लडेका थिए भन्ने मताग्रह छोड्नुपर्ने हुन्छ। यो मताग्रह त्यतिवेला गोर्षा र कम्पनी दुवै आधुनिक राज्य थिए भन्ने भ्रमको उपज मात्र हो।

कम्पनीको निर्देशक–बोर्ड मत्त साँढे झैं मनपरीमा उत्रन थालेपछि १८६०मा बेलायतले त्यसउपर निगरानीको निर्णय गर्‍यो। त्यसवेला कम्पनीको भारतीय संरचनामा गञ्जागोल थियो। त्यहाँ मालपोत लुटेरा, तस्कर व्यापारी, बाइबल घोक्ने–घोकाउने र सनातनीलाई घिनाउनेहरू बाक्लै घुसेका थिए। कम्पनीका स्वाङे चिकित्सक, नौसिखिया कानूनबाज र मौकापरस्त लडाकाहरू ‘इन्डियन’हरूलाई सभ्य बनाउने होडमा हुन्थे। यता गोर्षा सरकारमा पनि नातागोताको जञ्जाल थियो। बलेको ताप्ने भाइभारदार, रजाइँकज्याइँलाई पौरख ठान्ने सरदार र एकलौटी थाप्ने धनीमानीको कुनै कमी थिएन। शासन संरचना कहीं थिएन।

प्रायः नेपाली इतिहासकारहरूले कम्पनीको सेनालाई गोर्षालीकोभन्दा संगठित मानेका छन्। तर, १८७१ वैशाखमा पटना बटालियनमा युद्धमा जाने सेनाको रूजु गर्दा एक हजारमध्ये २० जना मात्र ठाउँमा भेटिएको बताउने ऐतिहासिक सामग्रीलेत्यस्तो बोल्दैन। कम्पनीको किंग्स आर्मीमा ३१ जना प्राविधिक कप्तान थिए, तर बूढा–बेसुध जर्नेलहरू तिनको कुरा सुन्दैनथे। कम्पनीसँग सैनिकभन्दा ६ गुना बढी गाउँघरबाट बटुलिएका रिक्रुट थिए। खानपिन, घोडा–हात्ती र गाडाको इन्तजाम यूरोपियनलाई मात्र हुन्थ्यो। अरूले आफ्नो बन्दोबस्त आफैं गर्नुपर्थ्यो। त्यसैले, लडाकाहरूलाई कतै कूच गर्न महीनौं लाग्थ्यो।

रसदपानी, गोलीगठ्ठा र लवाईखवाईमा खूब भ्रष्टाचार हुन्थ्यो। रिक्रुटहरूको लुगा यति कसिएको हुन्थ्यो कि कतै टाँक नखोली न बस्न मिल्थ्यो, न त झुकेर केही उठाउन सकिन्थ्यो। ठेकेदारले पठाएका बन्दूकको स्प्रिङ बेठाउँमा हुन्थ्यो। टि्रगर साह्रो र सङ्गीन बाक्लो हुन्थ्यो। तरबारहरू परीक्षण गर्दै भाँचिन्थे। तोप ढुवानी गर्ने हात्ती बारूद पड्किंदा तर्सिन्थे। ६ पाउण्ड गोला दाग्ने तोपको पार्टपुर्जा एकअर्कासँग मिल्दैनथ्यो। क्याम्पमा भाषा उग्र र प्रवृत्ति आत्मघाती थियो। युद्धमोर्चाको परिचालन कल्पनामा आधारित हुन्थ्यो।

गोर्षालीतर्फ त्यस्तै बेहाल थियो। काँगडामा हारेपछि १८६६तिर यूरोपियन शैलीको कम्पु पल्टन खडा गरियो। दुई तीन जना भगौडा फ्रान्सेलीलाई भारतबाट झिकाएरसिपाहीहरूलाई नियमित अभ्यास र कवायद गराउनका साथै आधुनिक तोप ढाल्न थालियो। तर १८७१सम्म आइपुग्दा कम्पु पल्टनको शान युद्धकौशलमा कम, झाँकी प्रदर्शनमा ज्यादा थियो। पं यदुनाथ पोखरेलको कम्पुको स्तुति यस्तो छ–

कम्पूका नकसा अनेक् तरहकी बात्साही बाजा जहाँ
तेस्मा बेस कलाटकी अति अलाप् राग्की त नक्सा तहाँ।
टि्रङ्गुल कि रचना बिकुल् कि घना ताम्रुरङ शबद् दूरकी
सायिन र्‍याल कि नांप् तँवाक बिजुली सुन्दा चमक् सूरकी।

अधिकांश गोर्षाली लडाका धनुषवाण, खुँडाखुकुरी चलाउँथे। गोर्षातर्फ दुई गुना बढी गैर–लडाकाहरू थिए, जो करकापबाट मोर्चामा सामेल हुन्थे। भर्खर बनेको तोपको पार्टपुर्जा तिनैले डोकोमा हालेर लग्थे। जहाँ मोर्चा, त्यही तोपको नटबोल्ट कसिन्थ्यो। कम्पनीको सामरिक नीति कागतमा बन्थ्योभने गोर्षाको मौखिक युद्ध योजना करीब ८०० माइल लामो मोर्चा क्षेत्रमा निष्प्रभावी बन्यो। मोर्चा–केन्द्र समन्वय थिएन, मोर्चा–मोर्चा तालमेल चार महिना पुरानो सूचनामा आधारित हुन्थ्यो। दरबारमा कार्यनीति बनाउनेहरूलार्ई युद्धमैदानको गोलमाल थाहा हुँदैनथ्यो। भइसकेका जीतलाई आफ्नो सत्प्रयासको परिणाम ठान्थे। यसलाई हिजोआजको परिभाषाले युद्ध भन्दैन र गोर्षा–कम्पनी युद्धको प्रचलित ढुंगा केन्द्रित दुन्दुभि वर्णन उपयुक्त पनि छैन। दुवैतर्फका शासकले आफ्नो सत्तालाई वैध बनाउन आ–आफ्नो इतिहास रच्नु थियो, रचे। अहिले त इतिहासलाई राम्ररी धोइपखाली गर्नै पर्छ।

गोर्षा–कम्पनी युद्धको मूल तत्व राज्यरूपी ढुंगो थिएन न थियो सैन्य दुन्दुभि। त्यसमा जातजातिका श्रमिक, किसान र महिला–केटाकेटी परेका गैर–राजकीय र गैर–सैनिक संघर्ष थियो। त्यसमा सबै जनजाति र आदिवासीका बिर्तावाल, गुठियार र किपटवालाहरू परे। हात्ती, घोडा, भेडा, बोका, कुखुरा, राँगो पर्‍यो। समग्रमा त्यो कालखण्डको मुख्य स्वर माटो मनको ढुकढुकी थियो।

नयाँ युद्ध इतिहासको आग्रह

आधुनिक गोर्षा राज्यको निर्माण वि.सं. १८०० देखि थालिएको हो। सार्वभौमिकता र अखण्डता स्थापित नगरी राज्य बन्दैनथ्यो। तर, सिद्धान्तमा सार्वभौम भनिए पनि व्यवहारमा राजा भूमिको मालिक बने। राज्यले भूमिमाथि एकल स्वामित्व कायम गर्‍यो, राजा एकलौटी भूस्वामी भए। पछि उनले नदीनाला, जङ्गल, खानी र श्रममाथि पनि स्वामित्व जनाए। भूस्वामित्व त आयो, तर राज्यले सालना उत्पादन संग्रह गर्न सक्दैनथ्यो। बाटोघाटो विकट थियो, राज्यले कर्मचारी पाल्न सक्दैनथ्यो। न केन्द्रमा बसेर राज्य भोग गर्न सजिलो थियो न त सरहदभित्रका सबै समुदायमाथि शासन गर्न।

फलस्वरूप, दरबारले प्रशासन र सेनामा सगासम्बन्धीलाई भर्ना गर्‍यो, आफूप्रति वफादार राख्न तिनलाई जागीर दियो। निश्चित जग्गाको आयस्ता तिनको षान्गी भयो। यसरी दूरदराजका भूभागमा रजाइँ गर्ने जागीरदारहरूले कम्पनीसँगको युद्धताका गोर्षा प्रशासन र सुरक्षा संयन्त्रको टहलचाकरी गरे। १८७१ असार र कात्तिकमा बारा, पर्सा र रौतहटका जागीरदारहरूलाई ‘हतियार–लडाका नपुर्‍याए बिर्ता–जागीर जफत होला’ भनियो। तिनले युद्ध अभियन्ताहरूको रसदपानी, गोलीगट्ठा ढुवानी गर्ने जिम्मा लिनुपर्‍यो। राज्यले तोकेको मूल्यमा हात्ती र धान दिनुपर्‍यो।

गोर्षा सैन्य अभियान फैलिंदै गएपछि बिर्ता र जागीर दिन उब्जाऊ जग्गाले नपुगेर पर्ती जग्गामा खेती गराइयो। वनजङ्गल मासियो। खेताला–व्यापारी ल्याउन बस्ती–बजार बसाइयो। १८६० पुग्दानपुग्दै बिर्तालाई रैकरमा परिणत गरियो। पछि रैकर, गुठी र किपटलाई जागीरमा परिणत गरियो। गोर्षाले जितेको प्रदेशमा राज्यको भलो गर्नेको मात्र बिर्ता थामिन्थ्यो। नयाँ प्रदेश गाभिएपछि बिर्ता खोस्ने र बकस दिने काम खूब हुन्थ्यो। १८६२ को जग्गा सर्भे सवालले काठमाडौंमा गोर्षाको अधीनता मान्दै १०० रुपैयाँमा ५० मुरीको खेत भोगबन्धकी लिएकाहरूको खेतको मूल्य प्रति मुरी ६ रुपैयाँ तोक्यो। यो दरले बिर्तावालको १०० रुपैयाँको १६ मुरी खेत थामेर बाँकीलाई सरकारी बनायो। यो प्रकरण बासट्ठीहरणको नामले कुख्यात भयो।

थामिएका बिर्तामध्ये केहीबाट पोता समेत उठाइयो। काठमाडौंमा बिर्ताको पोता रैकरकोभन्दा कम थियो, तर मध्यपश्चिम पहाडमा बाहुन र सन्न्यासीहरूसँग कुसहीबिसही भनेर दुई वर्षको पोता एकै खेप मागियो। तिनले सुनचाँदी, भाँडाकुँडा दिए पनि वा किस्ताबन्दीमा तिरे पनि हुन्थ्यो, तर यो पनि बिर्ता छिन्ने चाल नै थियो। बिर्ताबाटै फाजिल जग्गा निकाल्न बिर्ताको हदबन्दी पनि तोकियो। काठमाडौंमा १८५३ मै ‘छाप’ भनिने बिर्तामा हदबन्दी लाग्योभने डोटीमा १८७३मा बिर्ता हदबन्दी कायम भयो। पूर्वी तराईका गुठी जग्गा र किरातप्रदेशका किपटलाई सरकारीकरण गर्न पनि थरीथरीका नीति लागू गरिए।

पृथ्वीनारायणको पालामा आफैं जोत्ने र खेतछेवै बस्ने किसानलाई मोहीयानी हक थियो। अब आफैं खेत नखन्ने बाहुन, लौहकार, चर्मकार, कुम्हाले आदिमा यो अधिकार रहेन। बिर्ताहरणपछि सुनाबिर्ता कमाउनेहरूको स्वामित्व त गयो–गयो, जागीरदारलाई आधा उब्जनी पनिदिनुपर्ने भयो। बिर्ता कमाउनेहरू अधिया गर्ने खेताला भए। यस विरुद्ध विद्रोह गर्ने लमजुङ, स्याङ्जा र तनहुँका बाहुनहरूलाई जेलनेल गरियो। काठमाडौंमा भूस्वामित्व भएका किसान घटे। मोही हुनपुगेका तीमध्ये धेरैले गाउँठाउँ छोडे। १८६२ मै जागीरदारको कुरो नमान्ने, खेत बाँझो राख्ने, पर्ती जग्गा नखन्ने र खेतमा पराल नछोड्नेहरूलाई सजाय दिने उद्घोष भयो।

त्यही सालबाट रैकर खेत किन–बेच गर्न नपाउने भयो। रैकर कमाउनेले चर्को मालपोत तिर्नुपर्थो। १८६६मा महोत्तरीमा बिघाको चार रुपैयाँ मालपोत कर थियो। त्यतिखेर एक रुपैयाँमा सवा दुई मन धान पाइन्थ्यो। यसरी बिघाको नौ मन धान पोत तिर्नुपर्ने भयो। १३१ वर्षपछि महोत्तरीमै बिघाको १० रुपैयाँ मालपोत चल्यो। बजारमा प्रति मन २।१२ रुपैयाँ धानको भाउ थियो। यो हिसाबले बिघाको साढे तीन मन धान पोत तिरे पुग्ने भयो। किसानले १८६६मा १९९७भन्दा ४०० प्रतिशत बढी मालपोत तिरे।

पूर्वी तराईमा बाली अनुसार र जग्गाको आकार हेरी मालपोत तोकिन्थ्यो। पश्चिम तराई र भित्री मधेशमा हलो संख्यालाई आधार मानिन्थ्यो। काठमाडौंमा पाखोबारीको फलाम, तामा र कपडा पनि पोत लिइन्थ्यो। सम्पूर्ण पहाडका पानी पट्ने खेतबाट अधिया उठाइन्थ्यो। बाली आधा उठाउँदा ‘घिउ खाने’ र ‘चार दाम थेकि’ पनि लिइन्थ्यो। अधिया व्यवस्था भने किसानको लागि सुरक्षित थियो। किनभने, कम उब्जनी हुँदा कमै तिर्नुपर्थ्याे। मालपोतलाई उब्जनीसित जोड्दा किसानलाई बजारभाउले गाह्रो पार्दैनथ्यो, तर कतै तैनाथ जागीरदार जग्गाधनीलाई भने अप्ठ्यारो थियो। अन्नबाली बुझेर लिंदा ढुवानी गर्न, थन्काउन र बिक्री गर्न समस्या थियो। यिनै जागीरदारका दबाबले १८६१तिर जागीर र रैकर जग्गामा कूत ठेकियो। यो व्यवस्थामा उब्जनी सप्रे, बिग्रे जे भए पनि किसानले जग्गावाललाई निश्चित अन्न अथवा पैसा तिर्नुपर्थ्यो। १८६९तिर उपत्यका र पहाडी भेगको मुख्य तिरो नै कूत थियो।

कूत व्यवस्थाले किसानलाई गरीब बनायो। यसमा मोहियानी हक पनि सुरक्षित थिएन। बढी कूत कबोल गर्नेले जग्गा जोत्न पाउँथ्यो। जागीरदारहरूले धमाधम मोही निकाल्न थाले। मोहियानी कायम राख्न किसानले राज्यलाई थप स्रोत उपलब्ध गराइरहनुपर्ने भयो। खोकनाका किसान बारूदषानामा घाँस पुर्‍याउञ्जेल १८५६सम्म सुरक्षित रहे। १८६१मा त कूत नतिरेपछि अथवा खेत बिगारेपछि निकाल्न पाउने बिधान नै बन्यो। यो व्यवस्थामा किसानले नै बालीलाई नगदमा बदल्नु पर्‍यो। कतै कतै बाली पेश्की दिने चलन आयो। व्यापारीहरू अन्न बाली उब्जिन अघि नै खेत पुग्न थाले। किसानको अवस्था खस्कियो। जागीरदारहरू पनि रकम प्राप्त गर्न उब्जनीअघि नै खेत पुग्थे। तिनीहरू किसानलाई पाँच प्रतिशत व्याजमा ऋण दिन्थे।

कूत व्यवस्थाले मध्यमवर्ग जन्मायो, जो जागीरदारलाई कूत तिर्थे तर खेत खन्दैनथे। नियुक्तिपछि यिनले किसानसित ठेकिएकोभन्दा बढी कूत लिन थाले। पूर्वी तराईको मोकररी अधिकार यस्तै मध्यमवर्गीय अधिकार थियो। धेरै कूत ठेकिएको ठाउँमा यस्तो मध्यमवर्ग बन्यो। गोर्षा–कम्पनी युद्धसम्ममा सबैतिरका किसान यसरी खेतबाट बेदखल हुने र ऋणमा डुब्ने क्रम चलिरह्यो। माटोसँग खेल्ने किसान गोर्षा राज्यको झारा बेगारको शिकार भए। गोर्षाको बढ्दो भूभागमा फैलिएको राज्य प्रशासन र सुरक्षामा खेतसित जोडिएको श्रम करबलले उठाइयो। किसान बाहेक उच्चपदस्थ कर्मचारी, दरबार/सरकारलाई सर–सामान आपूर्ति गर्ने, सरकारी म्यागेजिनलाई गोल–कोइला दिने (१८६१), सैनिक परिवार, तलेजुलगायत धार्मिक केन्द्रमा काम गर्ने (१८५४) सबैलाई थियो। १८७०मा वागमतीपूर्वका बाहुनहरूको पनि झारा माफ भयो।

१८५४मा सिन्धुलीबाट बारूद बोक्नेहरूले आफ्नो गाउँको सीमानासम्म भारी पुर्‍याउनुपर्थ्यो। रुकुमबाट हतियार, धातु, करतिरो र दरबारिया पाहुनाको बोझ् उठाउनुपर्थ्याे। १८५३मा सोलुखुम्बुलाई दरबारको ओखतिमूलो र जनावरलाई ख्वाउने बीउको झारा बोकाइयो। झारा तिर्न आएका सेनाका म्यादी रिक्रुटेहरूलाई विजित प्रदेशमा लुट्ने अधिकार थियो। १८५३मा गोर्षाले जुम्ला र डोटीमा झारा लगाएर गढी/किल्ला बनायो। मकवानपुर गढी बनाउन धादिङसम्मका मानिसलाई काठ, ढुंगा र अरू सामान ओसार्न लगाइयो। १८६२मा पाटनको बारुदषानामा काम गर्न गोर्षा हार्मका लौहकारलाई झारा तिराइयो। १८५३मा तनहुँ र भिरकोटका मानिसलाई ५–६ महिनाको खाना आफैं बेहोरेर हेटौंडाको काठ काठमाडौं पुर्‍याउन भनियो। बारुदषानामा चाहिने गन्धक र दाउराका लागि लौहकार र अरूहरूलाई पनि झारा तिराइयो।

गोर्षा–कम्पनी युद्धताकाका झाराका केही चाखलाग्दा उर्दी छन्। १८७२ कात्तिकमा तिप्लिङका बासिन्दालाई ‘झारा माफिक अह्राएको पह्राएको काम गर्न मकवानपुरका भारदारसित जानू। बोक्न सक्नेहरूले भाला, बर्छी, खुँडा, धनुषबाण र तोप लिई जानू। नसक्नेले बञ्चरो र सावेल–षन्ति लिनू, हाम्रो भलो चिताउनेलाई बक्सिस्, पुरस्कार दिइने छ। झारा नतिर्नेलाई सजाय कष्ट हुनेछ’ भनियो। डोटीका बासिन्दाले कति झारा तिरिसकेका थिए भने १८७३ पुसमा तिनलाई भनियो– ‘तिमीहरूले गोलीगट्ठा, बारुद, हातहतियार र बेरामी बाहेक अरू कामका लागि झारा उठाए भने दण्ड दिइनेछ।’ केटाकेटी समेतलाई युद्धका सरसामान बोकाउन १८६५मा भनियो– ‘हुलाक थरघर थोरै भएका र हुँदै नभएका ठाउँ छ भन्यौ। जाहेर भयो। रैतीका छोराछोरी समाउनू। कुट्नू। रैतीले दोहोरो गर्छौं भने पनि बालबच्चालाई काममा लगाउनू। सरकारी बाहेक आफ्नो भारी बोकाउन स्त्री, छोराछोरी कुट्ने मानिसलाई दण्डसजाय हुनेछ।’

झाराबाट त्राहिमा म जनसामान्य गोर्षा–कम्पनी युद्धको आसपासमा बढी नै परिचालित भए। युद्धको दुन्दुभिले यिनको मन कामिरहेको थियो। गोर्षाले युद्धको तयारी गरेका वेला भेरी पश्चिमको भेग सुनसान थियो। दोलखाको तीनपाटन गाउँ पनि सुनसान भेटियो। झ्ारा नलिनू भन्ने सरकारी उर्दी भए पनि चित्लाङमा मानिस छँदै थिएनन्। गोर्षा–कम्पनी युद्धको कथामा यसरी माटोको मन स्पष्ट सुन्न हामीसँग पर्याप्त सामग्री छैन। तर जति छन्, त्यतिकै भरमा नयाँ नेपाली युद्ध इतिहास लेखिन पर्‍यो भन्ने आग्रह भने गर्न सकिन्छ।

हिमाल खबरपत्रिका
७ पुस २०७०
22 December 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *