Skip to content

थरिथरिका सुब्रतोहरू


कान्तिपुरको एक अङ्कमा एउटा समाचार टिप्पणी छापियो । भारतकै महङ्गो बिहेमा डुब्यो लखनाउ शिर्षकमा छापिएको त्यस समाचारका केही अंश यसता थिय– एक समय मुगल राजधानी लखनाउ सहर एउटा पारिवारिक विवाह उतसवमा डुबेको छ अहिले । प्रख्यात भारतीय व्यापारिक संस्था सहाराका प्रमुख सुब्रतो रोयले महाराजहरूको सेखी झारेका छन् । उनको जेठा छोरा सुसान्तोको मंगलबार सम्पन्न वैवाहिक रमझम लखनाउले पहिले सायदै देखेको थियो । सुसान्तो सेनाका पूर्ब क्याप्टेन उमेश आहुनाकी छोरी रिचासँग बंगाली परम्पराअनुसार प्रणयसूत्रमा बाँधिएका छन् । शनिवार हुने कान्छो सीमान्तोको विवाह योभन्दा भव्यरुपले हुने अनुमान छ ।

… विवाहमा झण्डै पूरै वलिउड उल्टियो । बच्चन परिवार, करिना कपुर, उर्मिला मातोडकर, मनिषा कोइराला, ऐश्वर्या राय, श्याम बेनेगल, यस चोपडा… । अरु कसको नाम लिनुहुन्छ । मुम्वईबाट प्राप्त एक रिपोर्टअनुसार पुरै बलिउडले बुधबारदेखि शनिबारको सुटिङ स्थगित गरेको छ । क्यामेरा र भीडियो क्यामरालाई प्रतिबन्ध लगाएर समारोहलाई प्रख्यात भारतीय निर्देशक राजकुमार सन्ताषीले ठूलो पर्दामा उतार्नेछन् । व्यापारिक जगत्का हस्तीहरू पनि अपूर्व संख्यामा लखनउस्थित सुब्रतो निवास (जसलाई सहारा सहर नाम दिइएको छ)मा भेला भए । प्रधानमन्त्री अटल बिहारी बाजपेयीले समारोहमा नब्बे मिनेट बिताए । निकै होसियारीका साथ छानिएका १० हजार पाहुनामध्य धेरै जसो शनिवारको विवाहमा दोहोरिनेछन् । शनिवार अमेरिकी पूर्ब राष्ट्रपति विल क्लिन्टन आउने अपुष्ट समाचार छ ।

ठुलो हरियाली क्षेत्रमा फैलिएको सहारा सहरले राजकीय सभ्यताको झल्को दिन्छ । यहाँ आलिसान बगैंचाहरूमाझ एउटा हेलिप्याड पनि छ । अहिले हेलिप्याड कम व्यस्त छैन । लखनउ विमानस्थलमा ओर्लिने पाहुनालाई सहाराका हेलिकेप्टरले ओसारेका ओसारै छन् । लखनउ शहरमा एकपटक यतिधेरै मर्सिडिज गाडीहरू पहिले गुडेका थिएनन् । वैवाहिक समारोहका लागि सहाराले सयवटा लिमोनिज प्रयोगमा ल्याएको छ । समारोहलाई सहाराका चारहजार कर्मचारीसहित सात हजारले व्यवस्थापन गरेका छन् । लखनाउका दुईवटा तारे होटलका सबै कोठा र सुइट बुक गरिएका छन् । होटल चाइनिज, इटालियन, मंगोलियन खानादेखि संसारभरिका छानेर ल्याएका पेय पदार्थ छन् ।

विवाहकै अवसरमा भारतभरिका १ लाख ४० हजार मानिसहरूलाई खाना खुवाउने घोषण गरेका छन् सुब्रतोले । यही अवधिमा गरिवहरूको निमित्त १०१ वटा अन्य वैवाहिक समरोह आयोजना गरिंदैछ । यी प्रत्यक विवाहका लागि १ लाख १ रुपैयाँ बजेट छुट्याईएकोछ । सुसान्तो र सुमान्तोको विवाहको निम्ति सहाराले कति खर्च गर्यो कसैले अनुमान लाउन सकेको छैन । विवाहमा प्रयोग गरिने मैनबत्तीको बिलमात्रै दुईलाख पचासहजार डलर छ । तर यसले मै हुँ भन्ने महाराजाको पनि शेखी झारेको अनुभव सबैले गरेका छन् ।

कला र शैली स्तम्भमा छापिएको यो समाचार मेरो निम्ति हृदयमा सौन्दर्य सिर्जना गर्ने कलात्मक घटनाको रुपमा दर्ता हुन सकेन । यसलाई धनाढ्य पूँजीपतिहरूको विलास पदर्शनको एउटा शैलीको रुपमा भने धेरैले वोध गरे । भनिन्छ, लाखौंको संख्यामा भिखमंगाहरू भारतभरि छरिएका छन् अरे । म भारतका भूभागहरूमा डुल्न पाएको छुइनँ तरपनि मेरो परिवेशमा उताबाट आउने जोगी बाबाजी र मगन्तेहरूलाई हेर्दा ती भारतमा नअँटेर अथवा भारतमा उपाय नलागेर नेपाल भित्रिएको लख काट्छु । एउटा समाजशास्त्रीले कतै लेखेको कुरा पढेको थिएँ; नेपालमा भए जति जनसंख्या त भारतमा भिखमंगाहरूको छ, त्यसमा पनि लाखौंको संख्यामा उनीहरू आबासबिहीन छन् । टाउको ओताउने छानो छैन । जसले गर्दा उनीहरू रुखको फेदमा जीवन बिताउछन् । टाउको लुकाउने स्थायी आबास या छानो नभएपछि रुखको शरण लिनु त स्वभाविककै हो तर कतिपय भोकाहरू खानाको अभावमा मान्छेको छाद पनि खान्छन् भन्ने सुन्दा शिर शरमले झुक्ने गर्छ ।

कतिपय बुजु्रकहरूले आफ्नो देशको गरिबीलाई गौरबको कुरा ठानेर लेख लेखेको पनि पढेको छु । सन्त, फकिर, स्वामीहरूको देश भारत त्यसमा पनि प्राचीनकालदेखि ऋषिमुनिहरूको पबित्र तपोभूमिमा जोगी, बाबजी र महात्माहरूको बाहुल्यता हुनु स्वभाविक छ अरे । उहिलेका ऋषिमुनि आश्रम, कुटी, तपोवन, बृक्षको फेदमा साधना गर्थे, तप गर्थे । उनीहरूको बिँडो र विरासत थाम्ने उनीहरूका सन्तानहरूले अँझ पनि रुखमुनि रात काटेर पूर्वजको सत थामिराखेका हुन् अरे । कति राम्रो ब्याख्या बुज्रुकहरूको, विवशताबस मान्छेको छाद खानुपनि पूर्खाकै सत थामेका हुन त रु
त्यही देश हो जहाँ सुब्रतो र सुसान्तोको बिहेमा अर्बौं रुपैयाँको धनराशीको खोलो बग्छ । अनि अर्कोतिर हजारौं जना रुखको फेदमा रात काट्छन र मान्छेले वाकेको छाद खान्छन् । त्यहाँ एकैचोटि दुई खालका दृश्य गोचर हुन्छन् आँखाँमा । एकातिर आङ्गका सबै कपडा खोलेर नांगा भएका नायिकाहरूका दृश्यहरू छन् भने अर्कोतिर लोग्नेको चितामा जिउँदै डढाउन लागिएका थुप्रै थुपै सतिहरूलाई पनि देख्न सकिन्छ । एकातिर भारत अग्नि पृथ्बी लगायतका थुप्रै क्षेप्याश्त्रहरू; जुन रिमोटको भरमा हजारौं कि.मी. टाढा मार हान्न सकिन्छ त्यसलाई परीक्षण गरिरहेको छ अर्कोतिर खान नपाएर लाखांै मरिरहेका छन् । दूध र सिटामोलको चक्की खान नपाएर मरिरहेका छन् । शरिरलाई सुन्दर बनाउन गाईको दुधले नुहाउने आधुनिक ल्कियोपेट्राहरू छन् एकातिर । अर्कोतिर दूध खानु त के छुनु हुँदैन दूध छुँदा पाप लाग्छ भनेर दूधबाट बंन्चित गराइनेहरू पनि थुप्रै छन् । भारत र नेपालका दुई खाले बिसंगत दृश्य हेर्दा यी देशको एकातिरको डब्बा सुपरसोनिक इन्जिनले तानिरहेको छ, अर्कोतिरको डब्बा गोरुगाडाले तानिरहेको छ । पच्चीसौ शताब्दीमा आउने परिवर्तन र सुबिधाहरू एक थरिले भोग्न थालेको साक्षात् दृश्य एकातिर घटित छ भने अर्कोतिर दसौं बाह्रौं शताब्दीका नारकीय दर्दहरू अँझै घटित भै रहेका छन् । भारतमात्र होइन संसारको सर्बाधिक समृद्ध र शक्तिशाली मानिएको देश अमेरिकामा पनि घरबारबिहीन, रोजगारबिहीन भोका र नांगा भुतुंगाहरू लाखौंको संख्यामा सडकमा रहेकाछन् अरे । विश्वभरिनै आफ्नो प्रभुत्व जमाउन डण्डा लिएर बस्ने, युद्ध हातहतियार र संसारभरि उसका बिरोधीहरूलाई तह लगाउन छुट्याउने बजेट देशका, नांगा भुतुंगा र गरिबको निम्ति खर्च गरे कति जाती हुने थियो । अमेरिकाले आणबिक हतियारमा खर्च गर्न छुट्याएको बजेटले संसारभरिका बच्चालाई सधैको निम्ति दूध र औंषधि खान पुग्थ्यो भनेर अर्थशास्त्रीहरू बिश्लेषण गर्दछन् । तर ऊ भने युद्धपोत र खतर्नाक हतियार बनाउन आफ्नो बजेट खर्च गरिरहेको छ ।

भारत अमेरिकामात्र किन हाम्रै देशमा पनि एकदुई साल अगाडि एक साम्यवादी दलका नेताहरूले महेन्द्रपुलिस क्लबबाट आफ्नी छोरीको निकै मँहगो बिहे गरे । झापा आन्दोलनका शिखरपुरुष उनी चौध पन्ध्रबर्ष त पंचायती जेलमा रहेर देश र जनताको समुनन्ति, समृद्धि र मुक्तीको खातिर ब्रत बसेका थिए । आन्दोलन भयो, जेलबाट निस्के, चुनाव जिते र दुई तीनचोटि मन्त्री पड्काए अनि उनको हैसियत रातारात बृद्धि भयो र भयंकर तामझामका साथ छोरी बिहे गर्न महेन्द्रपुलिस क्लब पुर्याए । दु:खको बेला उनलाई साथ दिने पुराना एक साथीले त तोकिएको सुटबुट नलगाएको कारणले त्यो बिहेमा प्रबेशै पाएनन् । यो कुरा निकै सनसनीपूर्ण ढंगले चारचौरास फैलियो ।

उहिले देबकोटाहरू मन्त्री हुन्थे, मन्त्रीबाट बर्खास्त भएको भोलिपल्ट जहानबच्चा पाल्न धौ धौ पर्थ्यो । चामल तरकारी किन्ने पैसा हुदैनथ्यो । अनि हाम्रा महाकवि देवकोटा ट्यूसन पढाउन थाल्नु हुन्थ्यो रोजी रोटी जुटाउनको लागि । अहिले दुई दिन मन्त्रीको कुर्सी पाएपछि उसले सातपुस्ता खाने कमाउँछ । आफ्नो सातपुस्ता, भाइभतिजाको निम्ति सातपुस्ता सालाजेठान ससुरालीको निम्ति सातपुस्ता, साली साडुभाइको निम्ति सातपुस्ता । आफ्ना नातागोता आसपासे सबैलाई कमाउने ठाउँमा उसले पुर्याएरै छाड्छ । संसारभरि कतै नभएको अचम्मको रित र चलनबाट गुज्रेको छ मेरो देश ।
अर्का त्यही पार्टीका एक तराईबासी साम्यवादी युवा नेताले आफ्नो विहामा हेलिकप्टर चार्टड गरेर जन्ती उडाए भन्दापनि आश्चर्य लाग्यो । पछि तिनै नेताले बच्चाको पास्नीमा उही महेन्द्रपुलिस क्लबमा निकै महंगो भोज दिए । त्यो भोजमा सरकारका मन्त्रीहरू र राष्ट्रिय राजनीतिका उच्चतहका सबै नेता समाबिष्ट थिए । संसारको गरिब देशका, गरिब पार्टीका, गरिबलाई मुक्ति दिने नेतागणका यस्ता महंगा बिहे, पास्नी र भोजभतेर देशले व्यहोरिरहेको छ ।

ब्यक्तिगत तबरबाट त समय, श्रम र सम्पत्ति यस प्रकारले अनाबस्यक र अनुचित बाटोमा खर्च गरियो गरियो; राज्यले पनि देशको सम्पत्ति प्रत्येक पल र प्रत्यक क्षण् बर्वादीको दिसातर्फ धकेलिरहेको छ । बिगत दुईबर्षमा चार पाँच चोटि बिभिन्न मन्त्रालयका मन्त्रीहरू उदयपुर आए । पहिलो मन्त्रिपरिषदका गोपाल दहित दुई इन्चको रिबनमा कैंचिमार्न हेलिकप्टरबाट उडेर आए । एउटा जातीय संगठनको सम्मेलन उदघाटन गर्न आएका उनले, रिबन काटे, दुई मिनेट भाषण गरेर फिर्ता भए । नाथे त्यति रिबन काट्न राष्ट्रको सम्पति कति खर्च भएछ त रु हिसाब गर्दा हेलिकप्टर काठमाण्डौंबाट उदयपुर उतार्न लागेको दुई तर्फी इन्धन, उनको खाजापानी, भत्ता, उनका आसपासे, सुरक्षागार्ड र पि.ए. को उडान खर्च सबै सबै कुरा मिलाउँदा लाखका अगाडि कति अंक बस्यो होला रु सम्बन्धित खर्च बिभागका लेखापाललाई सोध्नु उचित होला । यही दर र रफ्तारमा प्रत्येक जिल्लामा प्रत्येक मन्त्रालयका मन्त्री, प्रधानमन्त्री प्रत्येक दिन जसो काहीँ न काहीँ उडिरहेकाछन् । दिनमा दुई चार ठाउँ दुई इन्चको रिबन गिँडिरहेकाछन् । यो रिबन गिँडाइमा मात्र राष्ट्रको राजस्व बेकारको नर्ककुण्डमा कति स्वाहा हुँदो हो, मेरो आङ्ग त्रासले सर्बाङ्ग फुल्ने गर्छ ।
अरब जनसंख्या नाघिसकेको भारतमा करोडको संख्यामा भिकमंगा होलान् तर त्यहाँ औसतमा नेपाली रु. २ करोडको त एउटा ब्यापारी परिवारले बिहेमा ममबत्ती जलाउँछ भने अरु चिजको खर्च कति हुँदो हो ? सुब्रतो परिवार जस्ता खर्चालु परिवार भारतमा कति होलान्, तिनले गर्ने यस खालको फजुल खर्चलाई राम्रो काममा खर्च गर्ने हो भने पनि गरिबी न्यूनिकरण गर्नमा ठूलो सहयोग मिल्दो हो । विश्वव्यापी पुँजीवाद र उपभोक्ताबादको जहरले नेपाल जस्ता कंगाल मुलुकलाई पनि डसिरहेको छ । भारतका सुब्रतो रोयको कुरा किन रु हामै्र देशका राजा जसलाई संसारका सबैभन्दा गरिब देशका धनीराजा मानिन्छ । उनको निम्ति भर्खरै चौध करोडको मूल्यको रोल्स रोयस् कार किनियो । नवयुवा मासिकमा सुरेश ढकालले आँटका साथ केही तथ्यहरू उदघाटन गरे कि नेपाल जस्तो गरिब र अल्पविकासबाट पीडित देशमा त्यो चौध करोडले देशको आधाभन्दा बढी गा.बि.स. ( २०४७ गा.बि.स. )मा बस्ने रोगी जनताहरूलाई एक बर्षको निम्ति औषधी खर्च पुग्ने थियो । अथवा त्यो रकम खोप सुबिधाबाट बञ्चित लाखौं बालबालिकाको निम्ति खर्च गर्ने हो भने अठारलाख छैसट्ठी हजार छ सय सतसट्ठी (१८,६६,६६७) वालवालिकालाई खोप लगाउन सकिन्थ्यो नेपाल त्यस्तो मुलुक हो जहाँ हजारौं बच्चाहरू बर्षेनी खोपबाट बञ्चित भएर मर्ने गर्छन् ।

एकजना राजा सबार हुने रोल्सरोयस् कारको रकमले देशका कुल प्राथमिक बिद्यार्थीमध्ये आधालाई एकबर्षसम्म नि:शुल्क शिक्षा दिन सकिन्थ्यो । अँझै पनि देशभरिका तीस प्रतिशत बालबच्चा कपिकलम किन्न नसकेर प्राथमिक शिक्षा लिनबाट बञ्चित भैरहेका छन् । यदि त्यो रकम मट्टीतेल र टुकीसम्म बाल्न नपाएका हजारौं गाउँमा स–साना जलबिद्युतिकरणका योजनाहरूमा खर्च गर्ने हो भने झण्डै बीस गाउँका बीस हजार मानिसलाई बिजुलीको उज्यालो दिन सकिन्थ्यो ।

त्यस्तै गरी यदि त्यो रकमलाई पहाडी जिल्लाको सडक निर्माण कार्यमा लगानी गरिएको भए झण्डै पचास कि.मी. कृषिसडक निर्माण गर्न सकिन्थ्यो । चुहुने छाना र खुला आकाशमुनि पढ्न बिवस हजारौं केटाकेटीहरूको निम्ति बिद्यालय बनाउने काममा मात्र त्यो रकम खर्च गर्ने हो भने दुर्गम गाउँहरूमा नौसयभन्दा बढी स्कुलहरूमा निर्माण गर्न सकिन्थ्यो ।

यसरी गरिब नेपालीहरूको गाँस काटेर जम्मा गरेको राष्ट्रको राजस्वबाट एउटा ब्यक्तिको बिलासको निम्ति यति धेरै धनराशि खर्चिनु अशोभनीय कार्य ठहर्छ । गरिब कंगाल नेपालीहरूका बीच सम्राटको यो चर्तिकला गौरिप्रसादको हुक्काको नली नसुहाएको जस्तो बोध हुन्छ । फेरि नारायणहिटी भित्र कारहरूको बगुन्द्र भेल थुप्रिएको छ । आबश्यकता र अभावले कार किनिएको पनि होइन होला ।

रोल्स रोयस कारमा मात्र होइन, राजाले आफ्नी छोरीको बिहेमा दश करोड, छोरीकै उपचारका नौं करोड, युबराजको भारतभ्रमणमा ९६ लाख लगायतका खर्चहरू जोड्दा राजाले तीन बर्ष बिचमा १ अरब ५१ करोड ४१ लाख ७५ हजार रुपैया चिरिप पारेछन् । घरी छोरीको विवाह, घरी नवजात शिशुको न्वारान, पास्नी, अभिनन्दन आदि आदि कुराले नेपाली जनता बिदेशी ऋण र गरिबीको दुश्चक्रबाट झन् महागरिब र संकटको दलदलमा भासिएको कुरा कसले बुझ्ने रु तथ्यहरूले भन्छन् हाम्रा राजा स्वयं ठुलो ब्यापारिक पृष्ठभूमि भएका राजा हुन । उनले काकाहरू बसुन्धरा, हिमालय र प्रिंशेप शाहहरूको अपुताली मात्र भेटेनन् कि राजा बिरेन्द्र र धिरेन्द्रको बंशबिनाशपछि उनीहरूको बैयक्तिक सम्पतिको हकदार पनि स्वयं उनी भए । सबै श्रीसम्पति लेखा जोखा गर्दा राजाको सम्पति खरबको हाराहारीमा पुग्ने रहेछ । यसरी खरबपति राजाले कार किन्न, छोरी अन्माउन र पास्नी गर्न आफ्नै सम्पतिबाट खर्च गरेर राज्यको ढिकुटी नरित्याइदिएका भए अरु केही लाख नेपालीले सिटामोल खान पाउँथे होला । अरु केही लाख बच्चाहरूले क, खका पुस्तक पढ्न पाँउथे होला । अरु केही लाख काकाकुलघाँटी सुकाएका नेपालीले पानी पिउन पाउँथे होलान् ।
नबयुवा पाईपाई हिसाब केलाएर तथ्य प्रमाण सहित विश्वकै गरिब देशका खरबपति राजा ज्ञानेन्द्रको सम्पत्ति र सुबिधाको फेहरिस्त यसरी प्रस्तुत गर्छ :–

जनवादी गणतन्त्र चिनका राष्ट्रपतिकोभन्दा नेपालका राजाको राज्यकोषबाट लिने सुबिधा २,२४६ गुणा बढी ।
गणतन्त्र भारतको राष्ट्रपतिकोभन्दा ४१८ गुणा बढी ।
गणतन्त्र पाकिस्तानको राष्ट्रपतिकोभन्दा ३०१ गुणा बढी ।
गणतन्त्र रुसका राष्ट्रपतिकोभन्दा १७३ गुणा बढी ।
बेलायतका प्रधानमन्त्री टोनीब्लेयरकोभन्दा १५ गुणा बढी ।
अमेरीकाका राष्ट्रपतिकोभन्दा १० गुणा बढी ।
नेदरल्याण्डकी महारानी र जापानका राजाकोभन्दा डेढ गुणा बढी ।

यो तथ्य हेर्दा बुशदेखि ब्लेयर र मनमोहन सिंहदेखि मुर्सरफ महोदयलाई अशोभनीय ढंगले राष्ट्रको पैसा खान धुकचुक भएको बेला हाम्रा राजाको खर्चशैली भोक, रोग र गरिबीले कुकुरमराई मरिरहेका नेपालीहरूको बीचमा कति शोभनीय भयो होला ? राजनले बिचार गरिबक्स्या छ । शिरमा नौलाखको स्वर्ण टोपी लर्काएर राजनले शासन गरिरहेको बखत, प्रजाहरू मुखमा मकैको गेडो हाल्न नपाएर मरिरहेका छन् । मुखले सिस्नो टिप्न नपाएर सास उम्किरहेको छ । राजन चौध करोडको रोल्स रोयसमा सवारी भएको बखत भोकले राजनको राजमा नानीहरू कुकुरका छाउरा काटेर भोक मेटिरहेका छन् । यो कुनै आख्यानकारको झुटो कल्पना होइन । यथार्थको सजीव प्रतिविम्ब हो ।

इतिहासमा फ्रान्सेली राजाहरू लुई चौधौं र लुई सोह्रौंका बिलासका कथाहरू पढिएको हो । लुईदेशको बिलासका बिरासत त मेरै माटोमा अँझै जिउँदै र सारसुवाँउदै खडा रहेकाछन् । त्यस तथ्यको सुक्ष्मबोध गरिरहेछु । आफ्नोभन्दा कम खान्की खाने राष्ट्रपति र राजाहरूले विकासमा, समृद्धिमा, परिवर्तनमा देशलाई कहाँदेखि कहाँ पुर्याए रु त्यो सोचिबक्सेदेखि कुरीकुरीको सुरुवात हुन्थ्यो कि रु भत्ता डम्फ्याउन र राष्ट्रको राजस्व कुम्ल्याउन चैं चीन, जापान, भारत, फ्रान्स, रुस, पाकिस्तान, बेलायत, अमेरीका र नेदरल्याण्डलई जित्ने राष्ट्रिय आय र उत्पादन चाहिँ संसारको तन्नम गरिब बनाउने नीति कति खतर्नाक र बिरोधाभाषपूर्ण छ रु राजाले ठण्डा दिमाखले सोचिदिए हुन्थ्यो । मलाई डर केमा लागिरहको छ भने देशको आर्थिक कोष त राजनहरूले सके सके; कतै देशको अण्डकोष चपाइदिए भने मेरो देश नपुंशक हुने, उर्बर र उत्पादनबिहीन हुने संकेत पलाइरहेको छ । मेरा हरेक सपनामा देशले त्यसबाट मुक्ति पाउन त्यस्ता शासकबाट त्राण पाउन मलाई बोलाइरहेछ ।

मेरो नजरमा सुब्रतो त नैतिकवान मानिस हुन् कम्तिमा; आफ्नै निजी सम्पत्तिलाई त छोराहरूका बिहेमा खर्च गरे तर राजनहरू त आफ्नो निजी ढुकुटीलाई छुँदै नछोई राष्ट्र निचोर्दैछन् तर गरिबीको भीषण भुङग्रोमा गुर्बाले छाक टारिरहेका आम नेपालीहरूबीच राजनको राजसी ज्युनार कति सुहायो होला रु म कवि लोकनाथको कविता गुनगुनाइरहेको छु । सुब्रतो रोय त मेरो नजरमा सारै विवेकी, असल, उदार, र मानवीय स्वभावका ब्यक्ति ठहरिएको छन् किनभने उनले त भारतभरिका डेढलाख सर्वसाधारणलाई समेत भोजनको प्रबन्ध गरेकाछन् । बिहे गर्न नसक्ने अवस्थाका गरिबहरूलाई समेत बिहे खर्चको ब्यवस्था गरिदिएकाछन् । त्यसै अबधिको लगनमा एकसय एक अरु बिहे सम्पन्न गराउने घोषणा गरेका छन् । ती विवाहको निम्तिमात्र प्रति विवाह एकलाख एक रुपैयाको दरले बजेटको बिनियोजन गरिएको छ । सुब्रतो रोय जतिको मात्र उदार दिल र मानवीय चेत हाम्रा राजनहरूको मनमा पलाँउदो हो त राजनकी छोरीसँगै केही थान नेपाली चेलीहरूको पनि बिहे हुँदो हो । दरवारमा भारदारहरूले राजसी भुजा ज्युनार गरेको बखत केही थान नेपालीहरूले पनि मेवा मिष्ठान खान भेट्दा हुन् । तर राजन यतिखेर कंगाल अदनाहरूका बस्ती टेकिरहेकाछन् । बडो सौम्य मुद्रामा हातमा हात समातेर दु:ख दर्द सुनिरहेका छन् । कंगाल गरिबहरू भनिरहेका छन् – महाराज ! हामी भोक, रोग र शोकको मलामी भएका छौं । भोकले हाम्रो पेट गाइनेको सारंगी भएकोछ महाराज !! भनेर चिच्याँउदा राजन टाउको हल्लाएर भलादमी बोलीमा भनिरहेकाछन् – ठिक छ ! ठिक ! मैले कुरा बुझेँ खाना खानु पर्छ अघाउँनलाई । रोगीहरूको अर्को झुण्ड राजनलाई घेरेर हामी औषधी खान नपाएर मरिरहेका छौं उद्धार होस् । राजन मुसुक्क हाँसेर बोलिरहेका छन् – ठिक छ ठिक मैले कुरो बुझे ! औषधी खानुपर्छ । राजनको यो नौटंकी एक्काइसौं शताब्दीको एउटा उत्कृष्ट प्रहसन बनेको छ मेरो लागि । इतिहासमा यस्ता कलात्मक ठट्टाहरू दोहोरिंदै आएका छन् । सुन्दरताको लेपन घसेर इतिहासका यी कुरुप दृश्य शृंखलाहरू टुलुटुलु हेर्न विवश म हतभागी अरु नजाने कति युगसम्म लाचार दर्शक बनिरहनुपर्छ, मलाई नै थाहा छैन । मलाई त राजनका सु:ख शयल र तामझामका फुर्तिफार्ति सबै गौरिप्रसादको हुक्काको नली जस्तो लागिरहेका छन् । करोड नंगाभुतुंगा भोकाएका नेपालीहरूको बीच एउटा खरबपति राजा तासको बाउन्न पत्ती बीचको जुँगे जोकर जस्तो लागिरहेको छ । मेरो मनमा नजाँनिदो एउटा याचना हुर्किरहेछ । राजनको शिरको स्वर्णटोपी कुच्याएर गरिबले गहतको झोल पिउने दिन कहिले आउलान् । लाखौं नाँगाहरू बीच स्वर्णटोपी लर्किएको देख्ता कुरी कुरी लागिरहेछ । अनि म लोकनाथकै कविताले प्यास मारिरहेछु ।

माध्यामिककालीन उदयपुरे प्रतिभाशाली कवि लोकनाथ पोख्रेलले लेखानी गाउँका एक ठालुलाई झाँको झारेर कविता लेख्नु भएको थियो । आजभन्दा झण्डै सय बर्ष अगाडि लेखिएको त्यस कवितामा ठालु गौरिप्रसादको घरायसी चालचलनलाई कविताको कथ्यबस्तु बनाउनु भएको थियो । ठालु गौरीप्रसाद सिरमा पस्मिना फेटा, खुट्टामा देशी जुत्ता लाउँछन अनि लोकलाई देखाउन सात हात लामो हुक्काको नलीमा तमाखु गुड्गुडाउँछन् तर घरको हबिगत भने सारै नाजुक छ । घरको छानो भोर्लाको पातले छाइएको छ, दलानको बीचमा ढिकी हालिएको छ, आर्थिक दुराबस्थाले त्यसरी नै घेरेको छ । यो बिरोधभाषलाई उनको कवि हृदयले सहन गर्न सक्त्तैन । त्यसकारण सातहात लामो नली त्यो रुग्ण दीनताले गाँजेको घरमा सुहाएन भनेर त्यो नली सुहाउन यस्तो घर हुनुपर्छ भनेर कविता लेख्नु भयो ।

लैना भैंसी हउन् दूधालु दुईटी गुजराँती क्वै लाहुरी ।
बाँकटका खसी हुन ठुला जखमले काटे नघट्ने मुरी ।।
लैना गाई हउन् दुधालु दुईटी गोरी र फेर गाजली ।
यतिसम्म नभई स्वाँउछ कहाँ, त्यो सारैलामो नली ।।

घरको बारदली हओस् गजपको नाँचुन परेवा घुरुन् ।
खाने चिज पदार्थहरू रसिला कोसेलीबाट जुरुन् ।।
अचारका पनि हाँडी हुन् वरिपरिरहिरहेका गली ।
छानामा भँगेरा हउन् भुरुरु ऽऽऽ सुहाउँथ्यो त्यो नलि ।।

यसरी सात हात लामो हुक्का नली अनुसारको घरायसी बन्दोबस्त मिल्नु पर्ने, गौरीप्रसादको कमजोर आर्थिक परिबेशमा सात हाते नली सुहाएन भनेर तिब्र ब्यंग्य पनि गरिएको छ । सुब्रतो परिवारको बैबाहिक तामझाम र मेरो राजनका बिलास व्यंजनहरू लाखौं भिखमंगाहरूको वीचमा गौरीप्रसादको हुक्काको नलि जस्तो भए को हो कि रु मेरो मनमा संशयको बादल मडारिइरहेको छ त्यसैगरी तारे होटलमा र क्लबमा लाखौं रुपैयाँ ध्वस्त गरेर छोराछोरीको बिहे पास्नी सम्मन्न गर्ने साम्यवादी नेपाली नेताहरूका तामझाम, रौ रबाफ र नक्कल झक्कलहरू सत्तरी प्रतिशत निरिपेक्ष गरिबीको रेखामुनि बाँचिरहेका नेपालीहरूको रुग्ण दीनहीन परिबेशमा गौरीप्रसादको हुक्कानली जस्तो भएन ! अर्को लोकनाथको उदय पर्खिरहेको छु म जस्ले भारत देखि नेपालसम्मका सुब्रतोहरूका संस्करणहरूलाई काव्यमार्फत प्रहार गर्न सकोस् । मेरो मनमा यस्तो भैरहेको बेला तपाईको मनमा कस्तो लागिरहेको होला ?

पुन्य कार्की
२०६१।०१।०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *