Skip to content


म यतिखेर आनी चोइङ डोल्माले गाएको कवि दुर्गालाल श्रेष्ठद्धारा रचित गीत सुनिरहेको छु । गीत सुमधुर स्वरमा बगिरहेछ मेरो कानमा –

फूलको आँखामा फुलै संसार
काढाको आँखामा काढै संसार
झुल्किन्छ है छाँया बस्तु अन्सार ।।

चित्त शुद्धहोस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार ।।

टहटह जून देखुँ कालो रातैमा
जीवन संगीत सुनूँ म सुख्खा पातैमा
सङ्लो मनमा खुल्छ है सङ्लै संसार ।।

सुन्दरता भन्ने चिज हेर्ने आँखामा हुन्छ,बस्तुमा होइन, यो भनाइ पुन: एकपटक गीतबाट प्रमाणित भएको छ । हेर्ने आँखामा फूलै फूल छ भने संसार फूलमय देखिन्छ, हेर्ने आँखामा काँढै काँढाको थुप्रो छ भने संसार काँढामय देखिन्छ । यतिखेर मेरो परिबेशका आँखाहरूमा काँढैकाढाको ब्याप्ति देख्छु । सोँचमा, चिन्तनमा र हेराइमा नकार भावको काँढै काँढाहरू थुप्रिएका छन् । हरेक बस्तु घटनाका दोहोरो आयाम हुन्छन् । हामी ती आयामको अँध्यारो र उज्यालो पाटालाई ठिक ठिक ढंगले नछामी केवल अँध्यारो पाटो छाम्नमात्र अभ्यस्त छौं । जून हेर्दा त्यस भित्रका काला दाग र धब्बा तुरुन्तै ठम्याउन सक्छौं तर त्यसको आभा र खिल्खिलाउदो रंगरोशनी हाम्रो आँखामा गोचर हुँदैन । गुलाफको तीखा काँडाको आलोचना र बिरोधमा जुटेको हाम्रा जिब्रोहरूले फूलको अतुल अनुपम सौन्दर्यलाई बर्णन गर्न किन किन अल्छी गर्छन् ।

सोँचको सुन्दर र सकार पाटोलाई निषेध गर्दै जाँदा हामी पूर्णत: नकारको नालीमा मुन्टो टेक्न पुग्छौं । आशा निराशामा टुंगिन्छ, उज्यालोका किरण अँध्यारोका काला प्वालमा बिसर्जन हुन्छन् । बिगत तीनसय बर्षको असफल राज्य संचालन र सदैव असत् शक्तिको सत्तारोहणले सिर्जना गरेको कुरुप मानसिकता व्यक्ति व्यक्तिमा आबिष्ट छ । हरेक चित्तमा रुग्ण मनोदशाका कुरुप शृंखलाहरू खोपिएका छन् । स्वस्थ्य मन विरलाकोटी जनहरूमा भेट्न सकिएला । आँखा छन् तर आँखाहरूमा सपनाहरूका जीवन्त दृश्यहरू छैन, बरु छन सपना जलेर भष्मिभूत भएका खरानीहरूको डंगुर । पाइलाहरू छन् तर छैन गन्तब्यको रहर लाग्दो उकाली; केवल छ त त्यहाँ आलस्य, सुस्ती र अकर्मण्यताको भिमकाय पहरो ।

यतिखेर हामीसँग अभाव देख्ने आँखामात्र छन् । भाव देख्ने आँखा गुमाइसकेका छौं । हामी समस्याको बादल मात्र देख्छौं, समाधानको झर्ना त्यही बादलमा छ भन्ने देख्तैनौं । पानीको मूल त्यही भित्र बिन्यस्त छ, त्यो हामीमा हेक्का रहन्न । अहिलेको मूल समस्या मनोदशामा नकारात्मकता, रुग्णता र बिक्षिप्तताको व्याप्ति नै हो ।

यहाँनेर कवि दुर्गालालका शब्द राम्रो आँखामा खुल्छ राम्रै संसारलाई पुन: उद्धृत गर्छु । आँखामा सकार भाव र सुन्दर चिन्तन भरिंदा नै संसार पनि सुन्दर हुँदै जाने हो । आँखामा नकारभाव बोकेर दृश्यावलोकनको यात्रामा सकारका पाइला टेक्न सकिन्न । बिगत पचासबर्ष देखि नै नकारात्मक चिन्तनको संस्कृति हाम्रो रौंकुपमा गाडिएर बसेको छ । नकारात्मक ढंगले सोच्नु एउटा संस्कृतिको अंग, एउटा चिन्तनको परिपाटी बनेर हाम्रो सामु उपस्थित छ भने बच्चाले तातेबोलीमै नकारात्मक कुरा सिक्न थाल्छ ।

समस्याको थुप्रोबाट सोच्न सुरु गर्दा हामी पूर्णत: नकारात्मताको दलदलमा भासिन्छौं । समाधानको सूत्र समातेर सोच्न सुरुगर्दा हामी सकारात्मकताको सम्मिलो बाटोमा पुग्छौं । एउटा नेपालीको बिजारोपण (गर्भाधान) समस्यामै हुन्छ, बिजांकुर(जन्म), समस्यामै हुन्छ । हुर्कने, बढ्ने पढ्ने काम पनि सकस्याकै थुप्रोबीच सम्पन्न हुन्छ । मर्ने बेलामा पनि आफ्नो सन्तानलाई समस्याको थुप्रो सुम्पेर मर्छ । त्यसैले कोही गाउँमा मर्यो भने बही बुझायो भनिन्छ । अर्थात फलानाले बहि बुझायो भनेपछि बुझ्नु पर्यो कि त्यो मान्छे मरेछ । बहि बुझाउनुको अर्थ लाक्षणिक छ, अँझ त्योभन्दा अघि बढेर यो ब्याञ्जनार्थ छ किनभने एउटा नेपाली सरदर ऋणैऋण र आर्थिक समस्याको बीच जन्मिन्छ, ऋणकै बीच हुर्किन्छ, ऋणकैबीच जीवित रहन्छ । मृत्युतक पनि ऋणै ऋणको आहालमा डुबुल्की मार्छ । मर्ने बेलामा पनि आफ्नो सन्तानलाई सुख, सम्पत्ति र समृद्धि छोड्न सक्दैन । दु:ख, ऋण र बिपत्ती छोडेर जान्छ । अरुको ऋण खाएको हुन्छ, त्यही ऋणको बही छोरालाई बुझाएर ऊ मृत्युलोकमा प्रबेश गर्छ । यसरी बही बुझाउनुको अर्थ साँच्चीकै बही बुझाउनुसँग सम्बन्धित छ ।

नेपालको पश्चिमाञ्चलका दुर्गम जिल्ला घुमेर आउने एक विकासे कार्यकर्ता साथीले भनेको सुनेको छु, त्यहाँका गाउँलेहरू अँझ पनि दिसापिसाब बाटोमा गर्छन् अरे । उनीहरूलाई कति प्रशिक्षण गर्दा पनि उनीहरूको बानीमा सुधार आएका छैन अरे । जब बाटोभरि दिसा देखिन्छ, तब गाउँ टोल आएछ भन्ने बुझ्नु पर्छ अरे, त्यहाँ जाने मान्छेले । बाटोमा हग्ने चलनको बारेमा त्यहाँका रैथाने मानिससँग बुझ्दा त्यो चलन पृथ्बीनारायण शाहको पालादेखि नै चलेको रहेछ । पृथ्बीनारायण शाहको एकिकरण अभियानले जब गण्डकी र कर्णाली पारिका बाइसी र चौबिसी राज्यलाई एउटै केन्द्रिकृत राज्यमा गाभ्यो । त्यसपछि पृथ्बीनारायण शाहका कर्मचारी नयाँ नयाँ कर, तिरो र महसुलका नियम बनाएर ती बिपन्न आदिम बस्तीहरूमा धन असुल्न गएपछि ती कर्मचारीलाई भगाउनको लागि, गाउँ टेक्दै नटेकून् भनेर बाटो बाटोमा दिसा गर्न थाले र अहिलेसम्म पनि बाटोमै हग्नु पर्छ भन्ने मान्यतामा उनीहरू अडिग छन् ।

नकारात्मक सोँचबृत्ति र नकारात्मक कृत्यका फेहरिस्तहरू यसरी सनातन कालदेखि समाजमा खिपिएर रहेको छ । कर्णाली प्रदेशका जिल्लाको कुरा के गर्नु बिदेशका ठूलठूला विश्वविद्यालयबाट डिग्री हासिल गरेर आएका बिद्धान टाउकाहरूले नकारात्मकताको खेती गरिरहेका छन् ।

यस सन्दर्भमा मेरा अग्रज निबन्धकार रुद्रखरेलले आफ्नो निबन्ध “माटोको माया ”मा एउटा कटुयथार्थलाई निबन्धको बिषयबस्तु बनाई एउटा बर्कले ब्वाइ (मिस्टर पौडेल)लाई कसिलो ब्यग्य झापड दिएका छन् । निबन्धमा लेखकका एक मित्र छन् उनी बर्कले युनिभर्सिटी अमेरिकाबाट पि.एच.डी. हासिल गरेका छन् । ऊ हर्दम राष्ट्र राष्ट्रियता प्रति सत्तो सराप गर्छ । बिदेशको गुनगान र देशलाई गाली गर्नुमा उसको दिन बित्छ । नेपालमा केही छैन भनेर हर्दम निन्दाभाव ओकल्छ, एक दिन एउटा जडँ्याहा युवाले त्यस बिद्धानलाई मुखभरिको जबाफ यसरी दिन्छ – “ लु भन त तैले अहिले के के लुडँ्याइस रु तैले माइनस आठ डिग्री सेल्सियसमा फलेको जुम्ली स्याउ चपाइस्, झापाली बासमति चमलको पुलाउ उडाइस्, लालबन्दीको टमाटर, जनकपुरको माछा, भक्तपुरको दही, धनकुटाको सुन्तला, रसुवाको खसी, चुरेतिरको बँदेलको भुटुवा घिचिस । भन्त एउटा देशमा यसभन्दा बढी के हुनपर्यो रु अँझ बिर्सेछु तैले काठमाण्डौमा चिङना कोरलेको, ब्वाइलरको रोस्ट र सिरहा तिरको ऊखुको रसबाट बनेको खाँटी खोयाबिर्के पनि सुईक्याइस, हिमाल पहाड चुरे घाँटी र तराईका फाँटहरूले योभन्दा बढी के दिउन् रु यत्तिका बिधि चिजबिज तेरो अमेरिकामा एकैचोटि एकैपटक खान पाइन्छ भन्त रु अँझै उल्टै देशलाई दोस्छस् तँ !”

खरेलको जडँ्याहा पात्रले बोलेको कुरामा म शत प्रतिशत सहमति जाहेर गर्छु । नेपाली माटोको बास्मति डकारेर हिमाली झर्नाको पानी पिएर यहीँको पवित्र एवं स्वच्छ आवहवाको अक्सिजन सुँघेर थरिथरिका जात जातका परिकार हसुरेर नेपालले केही दिएन भन्नु देशप्रति कति ठुलो अन्याय ? नेपालीमा एउटा उखान छ, जसको जौ खानु उसको जुँगा मोल्नु रुनेपाली माटोको जौ खाएर नेपालकै जुँगा उखल्ने बुद्धिजीविहरू कति छन कति रु परिवेश दुषित गर्ने पात्रहरू गलत छन् गलत हुन सक्छन्; निर्दोष, अमुक अकिञ्चन देशलाई दोष थुपारेर कलुषवृत्तिका काला शासकहरूको चाहिँ भित्र भित्र चाकरी गाएर आरती उतारेर पक्कु र कबाफमा डुब्नेहरूको कुरुप गाथा कथुर्दा मेरा शब्दहरू फितला बन्छन् । बिकृति र बिसंगतिका अभियन्ताहरूसँग नतमस्तक बनेर निरिह भूगोलको देशलाई गाली गर्ने नैतिकहराम देखि मलाई सदैव डर लाग्छ ।

भनिन्छ माकुराका बच्चाले हुर्किने क्रममा आफ्नो माउलाई खान्छ अरे । जसले आफूलाई जीवन दियो, उसलाई समाप्त गर्नु माकुराको बच्चाको बिषेशता हो । नेपालकै दानापानी खाएर नेपाल आमाको इज्जतआबरु लुट्ने अर्का खाले माकुरा हुन् । केही समय अगाडि राष्ट्रका उच्चपदमा आसिन केही ब्यक्तिहरू (मन्त्रालयका सचिब, सहसचिब, उपसचिब, प्रहरी अफिसरहरू) अमेरीकामा आवासीय भिसा लिएर यतापनि पदमा आशिन, उता पनि अमेरीकाको स्थायी बासिन्दा बन्ने धुनमा रहेको कुरा सार्बजानिक भयो । यी अनुहारहरू पनि आमाको मुटु खाएर बाँच्ने माकुरा हुन् । यिनीहरू प्रति श्रद्धाको सुवास उठ्तैन, नाम सुन्दामात्र दिङमिङ पैदा हुन्छ मनस्तलमा ।

गरिबी र बिपन्नताको अतिशय दलदलमा भसिएका नेपालीहरूले नेपालको निन्दा गरेका छैनन्, निन्दा, भत्सर्ना र आबरु लुट्ने काम तथा कथित बिद्धान, बुद्धिजीवि, नेता, प्रशासक र उच्च पदासिनहरूले गरिरहेका छन् । नेपालको राष्ट्रियतामा पनि यिनीहरूबाट खतरा पैदा भैरहेको छ ।

नकरात्मक सोच, नकारात्मक चिन्तन र नकरात्मक चिजहरूलाई सकारतिर अर्थात बिधायक बिन्दुतिर रुपान्तरणको निम्ति एउटा पुनित कल्पना साँचिरहेको छु, सोचिरहेको छु । गोठको गोबरदुर्गन्ध बगंैचामा गुलाफसुगन्ध बनेको तथ्य मेरो सामु उपस्थित छ । खाँचो यहाँ रुपान्तरणको छ, गुहुको दुर्गन्ध पनि सुगन्ध फेरिन्छ, यदि त्यो फूलका जरामा पुर्याउन सक्ता । पानीमा बिजुली लुके जस्तो ढुंगामा सुन्दर मूर्ति खिपे जस्तो अँध्यारो रातमा उज्याला किरण हुन्छन् ।

आनीले गाए जस्तो आँखामै फूल पनि हुन्छन्, आँखामै काँढापनि हुन्छ । दिनरातको अस्तित्व म आँखामा खोज्ने गर्छु । आँखा चिम्लिदा म रातमा हुन्छु, अँध्यारोमा हुन्छु, घोर निसास्सिँदो कालिमामा हुन्छु । आँखा खोल्दा म दिनमा हुन्छु, उज्यालोमा हुन्छु । किरणहरूको छताछुल्ल जुलुशमा घेरिएको हुन्छु । एउटा आँखाभित्रै लालीमा पनि छ कालिमा पनि छ । कुनचाहिँ भागलाई उपयोग गर्ने नकारात्मक भागलाई उपयोग गर्ने कि सकारात्मक भागलाई उपयोग गर्ने त्यो आफैंमा भर पर्छ ।

आँखामा रात बिच्छ्याएर दुनियाँभरि भ्रमण गर्ने ब्यक्तिसँग मेरो असहमति छ । म मृत्युमा जीवन खोज्छु, जीवनमा मृत्यु देख्छु । आनीको गीतले सुख्खा पत्तामा पनि जीवन संगीतको सर्सराहट सुन्न मलाई लालायित गरिरहन्छ, त्यसैले म त्यहाँ त्यहाँ जान्छु, जहाँ मृत्युबीच पनि जीवनको सरगम सुन्न पाउँछु । कालोरातमा टहटह जुनको कल्पना, मसानघाटमा अजरअमर जीवनको सपना साकार हुन सक्छन् । ती मेरा खोजका आकार हुन सक्छन् । अनि त पतझड शिशिरमा म बसन्तको पुलक भेट्टाउछु हेमन्तको तुसारे ठिहीमा गृष्मको प्रचण्ड ऊष्मा समाउँछु । जसले जीवन यात्रालाई सजिलो बनाइदिन्छ, सहज तुल्याइदिन्छ ।

फूलको आँखामा फुलै संसार
काँढाको आँखामा काढै संसार

टहटह जून देखुँ कालो रातैमा
जीवन संगीत सुनूँ म सुख्खा पातैमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *