Skip to content

विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखाको गठन


बुखारेस्ट, रोमानिया; पुस १९ गते, २०७० : विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । “संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरूको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरू बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले आज जनाएको छ।

विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखाको समितिको सचिवमा श्रीकृष्ण पुरी र सदस्यहरूमा डा. अमित रिजाल, खुमलाल भुसाल, प्रिन्शु खड्का र आलोक साह रहनुभएको छ । शाखाका अध्यक्ष पोखरेलले समितिमा पदाधिकारीहरू आवश्यकता अनुसार पछि थप गरिने जनाउनु भएको छ ।

यस अवसरमा विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिका अध्यक्ष विश्वासदीप तिगेलाले नयाँ वर्ष २०१४ को शुभ कामना दिंदै यस समाचारले हामी अन्यन्तै खुसी बनेका छौ भन्नु हुँदै रोमानियाको अनुकुलता मिलाएर विश्व नेपाली साहित्य महासंघको शाखा निर्माण गर्न हामीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार मित्र श्रीनवराज पोखरेलज्यूलाई अधिकार प्रत्याजोजन गरेका थियौ । जस अनुरुप श्रीपोखरेलको अध्यक्षतामा शाखाको स्थापना भएको र यस सन्दर्भमा नवगठित समितिलाई हार्दिक बधाई छ भन्नुभयो ।

विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिका अध्यक्ष श्रीतिगेलाले नेपाली साहित्यको श्रीबृद्धि गर्नु प्रत्येक हामी नेपाली पहिचान बोकेकाहरूको कर्तब्य हो भन्नु हुँदै महासंघको हाल १४ मुलुकमा १८ वटा शाखाहरू निर्माण भई संचालनमा रहेका छन । उहाँले रोमानिया शाखा १५ औ मुलुकको १९ औ शाखा बनेको जानकारी नरापो न्यूज रोमानियालाई दिनु भएको छ । केन्द्रीय समितिका अध्यक्ष श्रीतिगेलाले रोमानिया शाखाका अध्यक्ष श्रीपोखरेलको नेपाली साहित्यको विकास प्रतिको योगदान जान्न पाउदा अत्यन्तै गर्व लागेको र उहाँको सद्विचार र योगदानले सधै निरन्तरता पाउन सकोस यही हाम्रो कामना छ भन्नुभयो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलले आफू रोमानियाली भाषासँग राम्रो परिचित भएको कारणले यहाँ पनि नेपालमा झैँ बिभिन्न समयमा नेपाल सम्बन्धी लेख रचना प्रकाशन गराउनका साथै चाँदनी शाहका नेपाली गीति रचनाको रोमानियाली भाषामा अनुवाद गर्ने प्रथम नेपाली अनुवाद्कर्ता भएको बताउनु भएको छ ।

विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखा अध्यक्ष श्रीपोखरेलले नेपालमा रहदा नेपाल टेलिभिजनमा समाचारदाता; अन्तरराष्ट्रिय युवा वर्ष, राष्ट्रिय समितिको केन्द्रीय कार्यालयको सचिव; युवा वर्ष १९८५ रेडियो कार्यक्रम र युवावर्ष नेपाली बुलेटिनको संचालक/सम्पादक; विज्ञान र प्रविधि रेडियो कार्यक्रमको सह संचालक; युवक पाक्षिकको सम्पादक; तत्कालीन विभिन्न उच्च ओहदामा रहनु भएका व्यक्तिहरूका सन १९८५मा मधुपर्कमा प्रकाशित भएका सबै अन्तर्वार्ताको संयोजक; गोरखा-पत्र, मधुपर्क र अन्य पत्र पत्रिकामा ‘नरापो’ (नवराज पोखरेल) को नामबाट प्रकाशित बिभिन्न लेख, रचनाको लेखक; ‘नव कविता’ त्रैमासिकको अतिथि संपादक; ‘नव प्रभात’ र ‘कहिरन’ साहित्यिक संकलनको सम्पादक; विज्ञान संचार परियोजना (रोनास्ट) को कार्यक्रम सहायक; रेडियो नेपालबाट प्रशारित हुने विभिन्न आधुनिक गीतहरूका रचनाकार हुनुका साथै अन्य क्षेत्रमा पनि संलग्न रहनु भएको थियो ।

नेपाली साहित्यको विकास, विस्तार र सम्वद्र्धनका लागि विसं २०६७ असार २९ गतेक दिन विश्व नेपाली साहित्य महासंघको स्थापना भएको थियो । विश्वभरका विभिन्न मुलुकहरूमा यस साहित्य महासंघ तीब्र गतिमा विस्तार हुदै गएअनुसार हालसम्म नेपाल, रोमानिया, बेल्जियम, क्यानाडा, ईजरायल, मलेशिया, सिंगापुर, स्पेन, रसिया, अमेरिका, वेलायत, मध्य पूर्वका केही मुलुकहरू सहित संसारका १५ मुलुकहरूमा १९ शाखाहरू छन ।

नवराज पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *