Skip to content


जन्म गाउँ घुरुङसेरा घेरिएका पाखा र पखेराहरू
प्यारो लाग्छ गाउँ बेसीकै न्याउली ढुकुरका भाकाहरू !

गाँस टुटोस् बास टुटोस् मेरो घुरुङसेरा मेरै हुन्छ
घमण्डी त कोही नहुन् न्याउली चरीसँगै रुन्छ !
चैत वैशाख हुरीसरह पखेराले खोज्दै होलान्
‘योद्धा’ले माया मार्‍यो साथीसँगी भन्दै होलान् !

छातीभरि शिशिर डाँडा र सेरा फाँट नाचेको छ
देउपुर बाजुङ्ग सम्झी मुटु मेरो बाँचेको छ !
बाध्यताले पार्‍यो यस्तै सम्झी आँसु झारेको छु
न्याउलीहरू रो’को सुन्दा सँगै आँसु झारेको छु !

आफ्नै माटो भुल्दिनँ म स्वाभिमानी कहिल्यै पनि
गाउँकै दृश्य प्रतिबिम्ब नाचेकै छ जहाँ गए पनि !
सुनौलो बिहान आई गाउँमा विकासको मूल फुटे हुन्थ्यो
गाउँ छाड्नुपर्ने बाध्यता सबै सधैँ पर-पर भागे हुन्थ्यो !

देउपुर बाजुङ्ग भिरपाखाले कुर्दै होला बाटो मेरो
आˆनो जन्म माटो सेरा फाँट रुँदै होला पाखा मेरो !
मेरै गाउँ मेरै ठाउँ देउरालीले खोज्दै होला
कहाँ गइस ‘योद्धा’ भनी घुरुङसेरा बाटो मेरो हेर्दै होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *