Skip to content


नेपाली समाजमा प्रचलित कुनै पनि किसिमको चाड पर्वका परम्परामा धर्म र संस्कृतिको विविध पक्ष अन्तर्निहित रहेको हुन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहीआएको छ । माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन मनाइने ‘माघे सङ्र्क्रान्ति’ पर्वलाई ‘मकर सङ्क्रान्ति’ को नामले चिनिन्छ ।

मकर सङ्क्रान्ति नेपालको किराँती संस्कृतिबाट प्रतिपादन गरिएको संस्कार हो । यसमा किराँती राजा शक्को हाङ्गको नाम जोडिएको पाइन्छ । राजा शक्को हाङ्गको नामबाटै शत्रमूल नदीको नामाकरण भएको प्राचीन कथन छ । यसदिन शत्रमूलमा समेत ठूलो मेला लाग्दछ ।

ज्योतिषीय दृष्टिकोणमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यसै दिनदेखि सूर्यको उदय दक्षिणतर्फबाट उत्तरतर्फ प्रवेश गर्ने क्रम आरम्भ हुने गर्दछन् । उत्तरायणको अवधिमा तुलनात्मक रुपमा दिन लामो हुने र तापक्रममा समेत वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।

नेपालको समस्त भूभाग हिमाल पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ्ग, तामाङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आ–आफ्नो परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

घिउ, चाकु, तरुल, तिलको लड्डु जस्को पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर माघे सङ्क्रान्ति पर्व मनाइन्छ भने नेवार समुदायमा भने ती खाद्यवस्तु साथै समय्बजी (चिउरा, पोलेको मासु, साधेंको भटमास, अदुवा र रक्सी वा जाँड)का साथै सिद्रा माछा खाने चलन छ । विशेषगरी घिउ र चाकु खाने भएकोले नेपाल भाषा (नेवारी)मा ‘घ्यो चाकु सँल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै ‘यलय् पलः’ (पाटने पालुङ्ग) खाने चलन रहिआएको छ । यस दिन जीउभरि तेल घसेर घाम ताप्ने पनि चलनका साथै यस पर्वमा परिवारमा मूली वा आमाले छोराछोरीलाई तालुमा तेल हालिदिने प्रचलन पनि छ । यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाई गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । त्यस्तै उपत्यका नजिकैको काभ्रे, पनौतीमा पनि माघ महिनाभरि मकर मेला लाग्छ भने बाह्र वर्षमा एकपल्ट महिनाभरि बाह्र वर्षे मेला समेत यहाँ लाग्ने गर्दछ ।

विभिन्न स्थानमा मनाइने माघे सङ्क्रान्ति

माघे सङ्क्रान्तिको दिन नेपालको पूर्वदेखि पश्चिमसम्मको विभिन्न नदी, घाटका किनार एवं दोभान र त्रिवेणीहरूमा स्नान गर्नेहरूको भीड हुने गर्दछ ।

यस दिन इलाम जिल्लाको माईबेनीमा ठूलो मेला लाग्छ । माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ भने सो मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारुनी नाच जस्ता परम्परागत नृत्य समेत हेर्न पाइन्छ ।

यसैगरी, यसदिन झापाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरुप धान नाच देखाइने प्रचलन छ । उता सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन हजारौं हिन्दू धर्मावलम्बीको भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यसदिन मकर नुहाई शरीर स्वच्छ बनाएर मोक्ष पाउने विश्वास गरिन्छ ।

तराई जिल्लाका मैथिली समूदायले यसलाई ‘तिला सङ्क्रान्ति’ को रुपमा मनाउँछन् । उनीहरू यस पर्वलाई बाचा वन्धनको रुपमा समेत मनाउने गरेको पाइन्छ, यसदिन परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्तानहरूलाई सख्खर र तिलको लड्डु खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन, बाचालिन लगाउने गर्दछन् ।

यस्तै हरेक बाह्र वर्षमा एकपटक स्वयम्भूको भुँइखेलमा दीपङ्कर बुद्धको जात्रा समेत हुने गर्दछ । यसलाई बौद्ध धर्मालम्बिहरूले सम्यक पूजा भनिन्छ ।

खासगरी मैथिली महिलाका लागि ‘तिला सङ्क्रान्ति’ पर्वको अँझ बढी महत्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल र चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाई दिने परम्परा पनि छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरु गर्छन्, अर्थात् माघ महिनाभर एका बिहानै नुहाएर घिउ, खिचडी खाने गर्दछन् ।

तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउँछन् र नयाँ वर्षको रुपमा मान्ने गर्छन् । माघी मौलिक संस्कृतिले भरिएको सबभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । यो पर्व बडो धुमधाम र उत्साहका साथ मनाइन्छ । यस दिन मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । उनीहरू माघे सङ्क्रान्तिका अघिल्लो दिन सुँगुर काट्ने चलन छ, यसलाई ‘जिता मरना दिन’ भनिन्छ भने सङ्क्रान्तिको रातभर गाउने गीतलाई ‘धमार’ भनिन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने गरिन्छ यसलाई उनीहरू ‘खिचरहवा’ भनिन्छ ।

पश्चिममा चर्चित माघे सङ्क्रान्ति मेला रिडीको रुरु क्षेत्रमा तीन दिनसम्म भव्य मेला लाग्ने गर्दछ । हजारौं संख्यामा भक्तजनहरूको भेला हुने उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिको रुपमा तीन दिन मनाइने गरेको छ । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण तानसेनदेखि ३६ किलोमीटर दक्षिण पश्चिम पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमा अवस्थित पुरानो हृषिकेशव मन्दिरमा मेला लाग्ने गर्दछ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋृषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने किवदन्तिरहिआएको छ । काली नदीमा स्नान गरेर ऋषिकेशवको मूर्तिलाई दर्शन गरियो भने मनले चिताएको पुग्ने धारण छ । सो दिन स्याङ्जा र गुल्मी जिल्लाको सेती खोला र कालीगण्डकी नदीको तिरमा (एशियाकै सबैभन्दा ठूलो मानिएको शालिग्राम) शिला रहेको मोदी वेणीघाटमा समेत बिहानैदेखि स्नान गर्नेहरूको ठूलो भीड हुने गर्दछ ।

यता चितवनको देवघाटमा हरेक वर्ष माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । भारतको हरिद्वार हृषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्व बोकेको देवघाटको माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवताहरू आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ भने मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन समेत गरिन्छ ।

माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हर–हिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाब किताब सुरु गर्ने प्रचलन छ । यसैबेला घरपरिवारभित्र होस् वा गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपाती लगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ । उता थारु समुदायमा भाइ भाइमा मन नमिले माघीमा नै अशंवण्डा गर्ने गरिन्छ । यसलाई घर फुटाई भनिन्छ । अंशवण्डामा कुनै भाइलाई मर्का नपरोस. भन्ने उद्देश्यले गाउँका पञ्च भलादमीको मध्यस्थकर्ताको रुपमा माघको पहिलो हप्ता भित्रै वैठक बसेर सामूहिक रुपमा गत वर्षको काम कारवाही बारे छलफल गरिन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । नियम उल्लघंन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको वैठकले जरिवाना तोक्दछ । बरघरको महत्वलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ । यसरी लोकतान्त्रिक ढङ्गले थारु समूदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ ।

मनोरञ्जन
माघे सङ्क्रान्तिको दिन नुवाकोट जिल्ला तारुका गाविसमा आयोजना गरिने गोरु जात्रा (गोरु जुधाई) परम्परागत जात्रा हो । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाई मेलाको सुरुवात गरिएको किम्बदन्ती छ । भनिन्छ जयपृंथ्वीबहादुर सिंह वि.सं. १९७८मा नुवाकोटको तारुका ५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएको थियो ।

विगतमा सोही गाविसको कोलडाँडा, चन्दनी, ठूलो पोखरीलगायतका ठाउँमा छरिएर रहेको गोरु जुधाईलाई विगत पाँच छ वर्षदेखि तारुका चन्दनीमा एकीकृत र व्यवस्थित रुपमा मनाउन थालिएको हो ।

समष्टिगत रुपमा भन्नुपर्दा नेपालमा मनाइने सङ्क्रान्तिमध्ये आध्यात्मिक र भौतिक दृष्टिले समेत सबभन्दा महत्वपूर्ण संस्कृति मकर सङ्क्रान्ति हुनुका साथै किराँतकालीन संस्कृति भएकाले यसको संस्कारमा भौगोलिक, भौतिक, आध्यात्मिकसँगै धार्मिक संस्कृति पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *