Skip to content

कृष्ण, इदीअमिन र दुनेहरू


एक समयका ज्यादै महशुर इराकी राष्ट्रपति सद्दाम हुसेन एउटा माकुरे दुलाबाट पक्राउ खाए । पक्राउ परेका बेला उनी निकै थकित, क्लान्त र शिथिल थिए । विश्व राजनीतिको रङ्गमञ्चमा एकछत्र प्रभुत्व पिट्न सफल अमेरिकालाई हुंकारका साथ चुनौती दिने त्यो अभय पुरुषले लाचारीका साथ याङ्की सैन्यसामु आत्मासमर्पण गर्यो । केही समय अघिसम्म त्यत्रो रजगजले इराकी दरबारमा विलासको जिन्दगी बिताएका सद्दाम अहिले यति निरीह अवस्थामा फेला परे, यथार्थको यस कटुरुपलाई पत्याउन पनि मुस्किल पर्छ । मुस्किलले भित्र पस्न सकिने त्यस दुलामा निकै अफ्ठ्यारो, लाचार र बिवश जीवन बिताएका रहेछन् ।

आखिर जीवनको पूर्वाद्धमा शक्तिशाली कहलिएका अभय पुरुषहरूको उत्तराद्र्ध किन यति लाचार, निरीह र टिठ लाग्दो हुन्छ ? म सोच्ने गर्छु, सायद उत्थान र पतनको कथा जीवनको रित होला । एकचोटि उत्कर्षमा पुगेपछि अर्को चोटि अपकर्षमा ओर्लिनै पर्छ कि क्या हो ? सगरमाथाको चुचुरोमा पुगेपछि पुन: फेदी ओर्लिनै पर्छ आरोहीले, फेदी नओर्लिकन चुचुराको टुप्पोमै वसिरहन पक्कै सम्भब हुँदैन । सफलता असफलता, उतारचढाब, उत्थानपतन, उत्कर्षअपकर्ष, सुगति दुर्गति मानव नियतिका अकाट्य चक्रहरू हुन् । यी चक्रहरूको चेपमा सत्ता र शक्तिको मातले बौलिने शासकहरू बढी फनफनि घुम्नु परेको कथा हाम्रो सामु छ । सुनको सिंहासनमा बसेर शोखका निम्ति बाघका डमरु र चितुवाहरू कुकुर पाले भैm दरवार भित्र पाल्ने सद्दाम यति टिठ लाग्दो अवस्थामा भेटिए, जसको कल्पना कसैले गरेका थिएनन् । आफ्नो जीवनकालमै आफू अमर हुनको लागि चोक चोकमा ढलोटका आफ्ना मूर्तिहरू ठड्याउने सद्दाम कसरी आफ्ना मूर्तिसँगै विश्वमञ्चमा धुलिसात भए त्यसको सिरियल हाम्रो आँखाबाट गुज्रेर गयो ।

महाभारतको युद्ध समाप्त भएपछि कृष्णजीले द्वारकामा छत्तीस वर्ष राज्य गरे । शक्ति र सत्ता उन्मादले अन्धो हुँदै गएका यदुवंशीहरूको उत्कर्षको कथा जति लोकहर्षक छ, उनीहरूको पतन त्यति नै दारुण र करुणाजनक छ । स्वयं कृष्णले महाभातको युद्धमा खेलेको केन्द्रीय भूमिका कम्ती रोमाञ्चक थिएन । कृष्णजीको अभावमा त्यो युद्ध पाण्डबले किमार्थ जित्ने थिएनन् । सिंगो महाभारतको युद्धमा चमत्कारको चकचकी मच्चाउने पुरुष कृष्णजी हुन् । कंश देखी शिशुपाल सम्मलाई बध गर्ने कृष्णजीको शक्ति सामर्थ्य र मेधालाई त्यो जमानामा कसैसँग तुलना गर्न सकिन्नथ्यो । आखिरमा त्यस्तो बलवान पुरुष कृष्णजी एउटा सामान्य शिकारीको बाणबाट रुखको फेदमा निरीह मृत्यु मर्नु पर्यो । उनको मृत्यु नै यति कारुणिक थियो कि त्यतिखेर आँशु चुहाउने यादब कुलको कुनै सदस्य बाँकी थिएन । साम्बले जन्माएको मुसलबाटै कृतवर्मा र सात्यकी लगायतका यदुवंशीहरू विनाशको गर्तमा भष्मिभूत भएकाथिए ।

रामायण, महाभारत, पुराण, इतिहास, आदिलाई पल्टाउँदा जब जब शक्तिशाली वीरपुरुषहरू,, योद्धा र शासकहरू सत्ता, शक्ति, मान, मोह, मद, मात्सर्यको नशामा लठ भएर सर्वसाधारण जनका थाप्लामा अत्याचारको घन वजार्दै जान्छन् तव जनशक्ति या नियतिबश उनीहरूको बिनाशलीला शुरु हुन्छ । उत्थानका शृंखलाहरूमा जति करिष्मामयी घटना परिघटना देखा पर्दै जान्छन् । पतनको शुरुवातमा एकदमै सानो र सरल बिषयले केन्द्रीय भूमिका खेल्ने गर्छ । म सोच्छु सद्दामको अहिलेको पतनको वीजतत्व आजभन्दा बाह्र पन्द्र वर्ष अगाडि शस्त्रवलको माध्यमबाट कुवेतलाई उन्नाइसौं प्रान्त घोषित गर्नु नै हो । त्यो एउटा निहु थियो, त्यसबाटै अन्य तारतम्यहरू जोडिंदै गए र आखिरमा अमेरिकाले तेल बजारलाई कब्जा गर्नु थियो । आफ्ना हतियारकारखानामा भण्डारन रहेका पुराना वम, र हातहतियारहरू, युद्धतोप र अन्य सामाग्रीहरूको खपत तथा उपयोग गर्नुथियो । त्यो काम तमाम गर्दावर्दा सद्दामको समाप्ति पनि भयो ।

कृष्णजी र उनको समाप्तिको शुरुवात पनि सानो चिजबाट भएको छ । केही उत्ताउला यदबहरूले जब राजकुमार शाम्वलाई भुँडी बोकेकी स्त्रीवेशमा ऋषिहरू सामु प्रस्तुत गरेर यो स्त्रीले के पाँउछे, छोरा कि छोरी ? सोधेपछि ऋषिले यसले तिमीहरूको बंशविनाशक मुशल पाँउछे भनेपछि त्यही मुशलले यदुवंशीहरूको विनाश भएको कथा महाभारतमा उल्लेख छ । र त्यो मुसल विनास र दु:खान्तको प्रतिक थियो ।

यसरी शक्तिशालीहरूको पतन थोक घटनाको रुपमा होइन, ससना खुद्रा घटनाहरूबाट शुरु हुन्छ, त्यसैलेपछि पछि गएर भीमकाय रुप धारण गर्छ । परिणतिमा त्यो कारुणिक र निरीह घटनाको रुपमा बाहिर देखा पर्छ ।

पोहोर साल मेरो छिमेकीगाउँको एक ठकुरीको दु:खद मृत्यु भयो । भीरबाट लडेर मृत्यु भएकोले त्यो लाशलाई तीनदिनको बाटो सदरमुकामसम्म बोकेर ल्याइयो र त्यही अनुसारको केशफारम सर्जमिन मुचुल्का तयार गरेर लाशलाई सदगत गरियो । पछि घानेघुने भित्री हल्ला सुनियो, उसलाई त मान्छेहरूले पिटेर मारेका अरे । अनि तिनैले राति हुँदो भीरबाट लडाएर भोलिपल्ट उनीहरूबाटै लडीमरेको हल्ला चलाएर, उनीहरूले नै बोकेर भवितब्यमा लडेर मरेको पुष्टि गराएका अरे । किन त्यसो गरियो तभन्दा ऊ जीवित रहुन्जेल त्यो फेटकै नामुद दादा ऊ । हाट बजार मेलामा एकराते बजारमा उसले हजारौं मान्छेलाई रगत छादुन्जेल पिटेको थियो । बाटो हिँड्ने मान्छे कथंकदाचित बाटोमा उसलाई देखे भने थरथरि काम्थे । नाडीमा बल र जवानीरहुन्जेल उसको एकछत्र हुकुम चलेको कुरा त्यो भेगका साथीहरू अहिले पनि सुनाउनुहुन्छ । मादक पदार्थ सेवन गरेपछि उसको शरीरमा पैदाहुने वल र यौन उत्तेजनाका उत्पाती कथाहरू नजिकबाट देख्ने साथीहरूले अभैm सुनाई आएका छन् । आखिर त्यो ब्यक्तिको जीवनलीला यति अपत्यारिलो र टिठलाग्दो रुपमा समाप्त भयो । त्यस्तो महसुर मान्छेपनि यसरी मर्नुपर्छ भन्ने कुरा कसैले कल्पना गरेका थिएनन् ।

इदि अमिनपनि भर्खर भर्खरै मर्यो । मर्ने आखिरी घडीमा आफ्नो मातृभूमि युगाण्डा फर्केर मर्ने इच्छा प्रकट गर्यो । तर त्यो याचनालाई युगाण्डाका राष्ट्रपतिले ठाडै अस्वीकार गरिदिए । कारण इदि अमिन युगाण्डाको राष्ट्रपति हुदाँ उसले गरेका नरसंहारका क्रुर कथाहरू सुन्दा पढ्दासम्म हाम्रो आङ्गमा काँढा पलाउँछन् । एकचोटि न्यायालयको इजलाशमा बसेर मुद्दा सुनुवाई गरिरहेको न्यायधिशलाई ठाउँको ठाउँ गिरफ्तार गरेर क्रमश: नाक, कान, ओठ, काट्दै मुखमा कोच्याई खुवाउदै अन्त्यमा त उसको लिंग काटेर मुखमा कोच्याएर, शरीरका काटिएका भागहरूबाट रगत बग्दा बग्दै दुई घण्टा पछि ऊ मर्यो ।

कुनै मान्छेलाई हत्या गर्नु अघि उसको शरिरको मासु काट्दै त्यो मासु काँच्चै वा पोलेर उसैलाई खान लाउनु, आफ्नो मासु आफैले खाँदा खाँदै रगत बगेर मृत्युशैयामा सुत्नु त्यस मान्छेको नियति हुन्थ्यो । उसले गरेको बलात्कार र बलत्कारपछिको हत्याका बिभत्स दृश्यले त धर्तीसम्म डरले मुख लुकाउँछ । आफ्ना बिरोधीहरूको टाउको काटेर डाइनिङ टेबुलमा सजाँउथ्योभन्दा मैले बढी लेखिरहेको ठहर्छ । तर युगाण्डाको इतिहास पढ्दा यथार्थ त्यही थियो । ऊ स्वयं नै नरभक्षी तानाशाह थियो । आफ्ना बिरोधीको मासु चक्कुले काटेर खाएको तथ्यसम्म बाहिर आएका छन् । उसको सशरिर उपस्थिति होइन, नाम सुन्दासम्म रुखका पातहरू थरर काम्थे । तर त्यो शक्तिशाली तानाशाह एकदिन युगाण्डाबाट लखेटियो । आफ्नो शेष जीवन साउदीअरवमा बितायो । मृत्युशैयामा पुगेको बखत युगाण्डामा आफूले आफ्नो चिहानको लागि चार हात जमिन पाएन । कति निरीह कुकुर मृत्यु मर्यो । उसको मृत्यु साँच्चै टिठ् लाग्दो थियो ।

आफ्नो इहलिला यति टिठलाग्दो रुपमा अन्त्य हुन्छ भनेर जानेका भए सायद नरसंहारकारी तानाशाहहरूले मानव इतिहासमा एकदमै थोरै गल्ती गर्दा हुन् । धर्तीमा क्रुरताको कथा एकदमै कम घटित हुँदा हुन् । तर दुर्भाग्य, त्यस्तो भएन सिकन्दर देखि हिटलर, मुसोलिन सम्मका क्रुरतालाई केलाउँदा त्यसको घट्ने क्रम होइन, बढ्ने क्रम बलशाली रुपमा देखा पर्यो । त्यो बृद्धि अंकगणितीय अनुपातमा होइन, ज्यामितीय अनुपातमा फड्को हानेर गयो । उनीहरू आफ्नो जीवनकालमा जति क्रुर, कठोर, निर्भयशली ब्यक्तित्वको रुपमा प्रकट भए, आखिर अभ्यन्तरमा त्यतिनै कायर, निरीह र निरुपाय भएर धर्तीबाट बिदा भए । धर्ती बिजय गर्न निस्केका सिकन्दरको अन्त्य कति कारुणिक थियो आखिरमा आमा भेट्न केही मीनेट समय पनि उनले पाउन सकेनन् । अन्त्यमा लाचारीबस आत्मासर्मपणको भाषा बोले – म जाँदा रित्तोहात गएको छु केही लगिनँ है यो नै कति ठुलो शबक थियो यस भित्र कति शिक्षाहरू अनुगुंजित थिए तर त्यसको सार नेपोलियनले बुझ्ने कोशिस गरेनन् हिटलरले बुझ्ने कोशिस गरेन ।

पृथ्वीको निक्कै ठूलो भूभागमा कँजाई गरिसकेका वीर नेपोलियन बिचरा सेन्ट हेलेनाको एउटा गाउँमा निर्बासित भएर कति निरीह र लाचार मृत्यु ब्यहोर्नुपर्यो । स्वयं हिटलर नाम सुन्दा विश्व थर्किन्थ्यो । दशदशलाख यहुदीहरूलाई एउटै ग्याँसच्याम्बरमा हालेर पुरेतले यज्ञकुण्डमा चरु होमे झैं मान्छेको जीवन स्वाहा भर्ने सामर्थ्य राख्थ्यो । त्यो हिटलर रुसी लालसेनाले उसको शक्ति क्षीण गर्दै गए पछि आफ्नै अँध्यारो निर्जन वंकर भित्र आफैंले आफूलाई पेस्तोल पड्काएर मर्यो । मेरो मनस्तलमा यतिखेर दुने राई झुल्किएहको छ । हाम्रो गउँदेखि पारी पट्टिको त्यो राई ठिटो । हामी ससाना हुँदा औधी ठुलो त्रासको बस्तु थियो । राई नै राईले भरिएको उसको राईगाउँमा कुनै लिङ्पा (क्षेत्री) त्यहाँ पस्नु भनेको ज्यान खतरामा पार्नु थियो । एकचोटि मेरो हजुरवुवा पर्ने निसिनटारका कार्कीबूढा साउनको अनिकाल टार्न दुई माना घ्यु बोकेर बलम्ता पसेछन् । दुनेले त्यो घ्यु साटसुट पिइदिएछ । हर्पे फुटाई दिएर जनाइसम्म चुँडाई दिई बुढो मान्छेलाई गोदगाद पारेर फर्काइदिएछ । उसलाई मान्छे कुट्न कुनै निहु चाहिन्नथ्यो । कुनै बिषय चाहिन्नथ्यो । म गम्छु त्यो समयको सिंगो बलम्ता गाउँको सत्ता उसको हातमा थियो । शक्ति उसको हातमा थियो । उसका अगाडि सम्पूर्ण मान्छे निरीह रैतिहरू थिए, दासहरू थिए । उसको हातबाट को, कहाँ, कतिखेर, किन कुटिन्थ्यो थाहा हुन्नथ्यो । को, कहाँ, किन लुटिन्थ्यो त्यो पनि थाहा हुन्न थियो । पुलिस, प्रशासन र स्थानीय शासनले पनि उसलाई छुन सक्तैनथियो । कति बाख्रा ब्यापारीका बाख्रा लुटिए, कति खसी ब्यापारीका खसी काटिए । त्यसको लेखा अहिले पनि त्यसको आसपासमा जाने बित्तिकै सर्व साधारणका हिसाब खाताबाट एक एक निस्किन्छन् ।

समय क्रममा त्यो दुने यति निरीह र शक्तिहीन रुपमा देखा पर्यो । अत्याचारको सीमा नाघेपछि घाइते बाघ झैं व्युझेँ गाउँलेहरू । अनि सान दलेका सिरुपति खुकुरीले खुट्टाका ढन्नाँसा ढन्नाँसाको नशा चुलेसीले खसीका आन्द्र काटे झैं काटिदिए । त्यसपछि दुने पूर्ण रुपले अपांग भयो । यसरी उसको शक्ति, सामर्थ्य र सत्ताको बध गाउँलेहरूले गरिदिएपछि ऊ गाउँ छाडेर कुनै अनाम गाउँमा मृत्यु कुरिरहेको छ भन्ने सुन्छु । हिटलर सुन्ने वित्तिकै मेरो मस्तिष्कमा दुने झुल्किन्छ । अनि दुने सझिँदा स्मृतिमा हिटलर नाँच्छ ।

त्यतिखेर दुने मेरो इलाकाको ससानो हिटलर थियो । हिटलरको प्रेतले उसलाई अन्धो तुल्याएको थियो । विवेकहीन ढंगले पाखुरे बलमा लुटपिट गरी हिँडनु उसको दिनचर्या थियो । शरीर बलको अमत्याइँले आफ्नो जीवनकालमा उत्पात मच्चाउनेहरूले किन बुझ्न सक्तैनन्, म एक दिन बूढो हुनेछु, मेरो पाखुराको शक्ति र तुजुक शिथिल हुनेछ । मभन्दा शक्तिशाली अर्को पुस्ता आउने छ । त्यसपछि मेरो केही लाग्ने छैन । यति कुरा पहिले नै बुझिदिए देखि समाजमा उत्पात र विध्वंशहरू धेरै कटौति हुने थियो । तर शरिर वलको स्वभाव नै त्यस्तो हुन्छ कि क्या हो । प्रत्येक चरणमा दुनेदेखा परिरहेका छन् । प्रत्येक पिँढीमा नै पिँढी पिच्छे दुनेको अवतरण भइराखेको छ । वल र वैंशको उन्माद कति विषालु हुन्छ, सायद त्यही उन्मादको सिँढी चढेर एउटा दुने हिटलर भयो, अर्को दुने मुसोलिनी भयो, अर्केा दुने चँगेजखाँ र इदिअमिन बन्यो होला तर मेरो खोलाटोलाको दुनेले फड्को मार्न उपयुक्त सिँढीहरू नभेटेर असमय मै खुट्टाका नशाहरू कटाएर निरीह मृत्यु कुर्नु परेको होला ।

मृत्युको दयनीय रुप गुन्दा शरशैयामा लम्पसार भीष्म पितामह मेरो मनस्तलमा नाच्छन् । दृढब्रति भिष्मले आफू आजीवन विवाह नगर्ने कसम खाइसकेका थिए । एउटा भाइ चित्रागदको लागि शरिर र सैन्यबलको तुजुकमा काशिराजका तीन अपूर्व सुन्दरी कन्याहरूलाई अपहरण गर्छन । दुईटीलाई भाइसँग विवाह गराउँछन् । तर जेठी अम्बालाई बिजोग पारिदिन्छन् । तिनै अम्बाले आखिरमा शिखण्डीरुप धारण गरी महाभारतको युद्धमा भिष्मको बध गर्छिन् । शरशैयामा उनीएर लामोसम्म जीवन र मृत्युको दोसाँधमा अल्झेको भिष्मको आखिरी नियति साँच्चै हृदयविदारक थियो । अपहरणको बखत सौभदेशका नरेश शाल्व जो अम्वाका प्रेमी थिए । उनले अम्वाहरूलाई छुटाउन भिष्मलाई बाटैमा आक्रमण गरिदिए । त्यो आक्रमणको प्रतिरोधमा भिष्मले देखाएको पराक्रम जति लोमहर्षक र रोमाञ्चले भरिएको छ, उनको मृत्यु त्यति नै दारुण र विभत्सकारी देखिन्छ । जवानीका उर्बर कालमा शक्तिको दुरुपयोग गर्नेहरूको आखिरी नियति यस्तै हुन्छ भन्ने कुराकोसार यस घटनाले सम्प्रेषण गरिरहेको छ । तर हातमा शक्तिकेन्द्र बोकेका शक्तिपुरुषहरू यो शिक्षलाई बुझ्न किन बुझ पचाइरहेका छन् । यो कुरा आजसम्म मैले बुझ्न सकेको छुइनँ । सायद शक्तिको मात नै यस्तो हुँदोरहेछ, जसले पहिले बिवेकचक्षुलाई अन्धो तुल्याउँदो रहेछ । मान्छे अन्धो भएपछि उसले मारमुङ्ग्री र शक्तिको भाषामात्र बोल्दो रहेछ, शक्तिके भाषामात्र बुझ्दो रहेछ । तर उसलाई शक्तिको भाषा बुझाउने अन्तिम चिज काल हुँदो रहेछ । त्यतिखेरसम्म समय र आयु वितिसकेको हुने रहेछ ।

आज मेरो वरिपरिका बिभिन्न मंच र मोर्चाहरूमा शक्तिको भाषा बोल्ने थुप्रै ठूलादेखि साना, लामादेखि छोटा शक्तिपुरुष छन् । उनीहरूको मनितेज, मांसलतेज, मुसलतेज र मदिरातेजबाट शक्तिहीन कमजोरहरू ढुङ्गाले थिचेको दुबो झैं पहेलिरहेकाछन् । उनीहरूका तेजका बान्की देखेर मलाई मुसुमुसु हाँस्न मन लाग्छ । हिटलर र इदिअमानका कथा बास्न मन लाग्छ । तर पनि म चुपचाप ओठमा स्मित मुस्कान लुकाएर बसिरहन्छु । मलाई थाहा छ म बासेँ भने मेरो गालामा उनीहरूका बाघेपँजाहरू बज्रिनेछन् । त्यसैले म सतर्क छु । बलियाहरूको बीचमा बाँच्ने कला जानिएन भने एक बारको आयु त्यसै खेर जान्छ । सत्ता र शक्तिको अन्धो उन्मादमा बहकिरहेका आजका राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय हिटलर, मुसोलिनी, सिकन्दर, चंगेज खाँ, तैमुरलुन, इदिअमिन र दुनेहरूले जीवन र मृत्युका रुपहरूलाई बुझिदिए देखि कति राम्रो हुन्थ्यो । आ–आफ्नो ठाउँबाट मानिसको आखिरी नियति के होला ? यसैलाई छामिदिए देखि धर्तीमा कत्ति उत्पातहरू घट्दा हुन् ? म यही हिसाब गुनिरहन्छु । अन्तरमा बज्ने मृत्युको घण्टालाई हरदम सुनिरहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *