Skip to content


सुधारगृह शान्त छ।

मजस्तो मनमौजी (ड्रिमर-चेजर होइन नि !)का निम्ति घरपरिवार सुधारगृह नै त हो। फुच्चे गुरु रिम्पोचे जाडोबिदा मनाउन उसकी आमा सावित्री कार्कीसित रामेछाप गएको छ। आफ्नो मामाघर। मामाघरलाई ऊ आमाघर भन्छ। पापाघरमा चैं पापा एक्लो छ।

कोठाको वास्तुशास्त्र केही समययता देशको कन्फ्युज्ड राजनीतिझैं लथालिंग छ। ह्यांगरमा झुन्डिएका पोसाकहरूले झुन्डिएर आत्महत्या गरेका प्रियजनहरूको सुसाइडल विम्बानुभूति दिने गर्छन्।

कोठाको यो शाश्वत आर्य-मौनमा म अनुभूतिका ‘डेड-बडी’हरूसितै ध्यानस्त छु। पुस्तकहरू युद्धभूमिमा यत्रतत्र ढलेका लासझैं फिँजिएका छन्। चलाउँदिनँ। अहँ चलाउँदिनँ। सेलफोन पनि ‘क्लिन-डेड’ छ। जिन्दगीले मिस्ड-कल गर्दैन। मृत्युको एसएमएस-टेक्स्ट नआएको पनि धेरै भयो।

सावित्री कार्कीको ड्रेसिङ टेबल मौन छ। यताउति ढलेका लिपस्टिकहरू पनि त चलमलाउँदैनन्। विभिन्न पफ्र्युम-पटमा नारी-गन्ध छ। सुँघ्छु। सरकारी-गन्धभन्दा नारी-गन्ध नै पो उत्कृष्ट हुँदो रै’छ ! ड्रेसिङ टेबलको चतुर्भुज ऐनामा नजर पर्छ।

ऐनामा केही दृश्य देखा परे। केही दृश्य चलमलाउन थाले। चुपचाप हेर्छु।

ऐनाभित्र रिमझिम बरसात भइरहेछ। कस्तो मुसलधारे बरसात ! तपाईंलाई यो बरसातले अकिरा कुरुसावाको ‘रासोमन’ फिल्मको बरसातको झझल्को दिन सक्थ्यो। त्यो बरसातमा अघिदेखि एउटा गाडी जलमग्न सडकमा गुडिरहेथ्यो।

सडकछेवैमा अहिले गाडी टक्क रोकिएको छ। गाडिभित्रको मानिसमा मेरो आँखा पनि टक्क रोकिएको छ। ढोका खोली त्यसले सीधै मलाई सम्बोधन गर्छ :

– ‘हेलो मिस्टर नगरकोटी ! कस्तो मस्त बरसात हो यो? के म अहिले तिमिकाँ आउन सक्छु?’

चकित परेँ म। अन्योलमा सोध्छु :

– ‘मलाई बताऊ ! तिमी को हौ?’

– ‘वाफ्रे!’ चिनेनौ? म शंकर…’

– ‘को शंकर? भोलेबाबा शंकर भनेको हो?’ अझै सोध्छु, ‘महादेव/शिवजी भनेको हो? त्यसो हो भने भगवान्, ईश्वरलाई त मेरो कोठामा इजाजत छैन।’

– ‘धत्तेरिका ! टु हेल विथ भगवान्। म शंकर क्या ! शंकर लामिछाने। कस्तो नचिनेको? आऊँ तिम्रो कोठामा?’

अनुमति दिएको छैन। तर, ऊ त ऐनाबाट फुत्त हामफालेर कोठामा प्रवेश गर्छ। आफ्नो ओभरकोट टकटक्याउँछ। त्यसलाई ह्यांगरमा झुन्ड्याइदिन्छ। ओभरकोटबिनाको शंकर त सलाईको काँटीझैं देखिन्छ। दुब्लो/पातलो। जस्ट् लाइक अ म्याचस्टिक ! लाइक अ सिग्रेट-स्टिक !

– ‘के गरिराथ्यौ?’ सोध्छ।

– ‘तिम्रै गौंथलीको गुँड पढिरा’थेँ। कफी पिउँछौ?’

– ‘अफ्कोर्स यस !’

किचेनमा गई कफी बनाउँछु। उसलाई एक मग टक्र्याउँछु। शंकर ओछ्यान अनि भुइँमा ढलेका किताबहरूलाई उठाउँछ। हेर्छ गौंथलीको गुँडलाई नयाँ संस्करणमा, नयाँ गेटअपमा। मुस्कुराउँछ। प्रकाश सायमीद्वारा सम्पादित शंकर स्मृति किताबलाई सुमसुम्याउँछ।

– ‘यो प्रकाश सायमी को रहेछन्?’ अलमल्िएर सोध्छ।

– ‘तिम्रो कस्मिक-फ्यान हुन्। हेर शंकर, कस्मेटिक जमानामा कस्मिक फ्यान पाउनु दुर्लभ चीज हो।’

अरू थप्छु, ‘तिमीलाई पुन: जन्माउनमा यी कस्मिक फ्यानले अथक प्रयास गरेका हुन्। तिम्रा जम्मै कृति अब नयाँ संस्करणमा जन्मिएका छन्। कमल दीक्षितको भनाइमा तिमी ‘रि-क्रिस्चनाइज्ड्’ भएका छौ।’

– ‘कमल बाबु अझै छन् !’

– ‘हो त ! मदन पुरस्कार गजबले बाँडिरा’छन्।’

– ‘इन्ट्रेस्टिङ!’

ऊ खुसी भयो। खुकुरीको बट्टाबाट एउटा ‘खुक्स’ चुरोट निकाली सल्काउँदै भन्यो :

– ‘तिम्रो पाटनमा मैले आफ्नो जीवनको अन्तिम कालखण्ड बिताएको थिएँ। थाहा छ?’

– ‘अफकोर्स थाहा छ। त्यसैले त म पाटनमा छु। यहाँका टोल, गल्ली, दारुमहल, भुस्याहा कुकुर, पाटीपौवा, ढुंगेधारा सबसित मेरो आत्मीयता गाँसिएको छ किनभने कुनै दिन यी सब चीजसित तिम्रो पनि त आत्मीयता गाँसिएको थियो। पाटनको मौसम, रंग, गन्धसित तिम्रो र मेरो आत्मा गाँसिएको छ।’

– ‘अनि ताहाचल नि !’

– ‘ताहाचल त अहिले अलि कस्मेटिक भएको छ। त्यहाँ आजकल मेरो आत्मा रमाउन छाड्यो। कृष्णचन्द्रसिंह प्रधान पनि रहेनन्।’

– ‘कस्तो दु:खद कुरा, हगि कुमार ! खैर, भैगो, छाडौं यी कुरा तिमीसित जोन एलोन छैन?’

– ‘जोन एलोन? यु मिन बिटल्सको जोन लेनन?’

– ‘ऊ एलोन हो। एक्लो हो, तिमी र मझैं। ड्रिमरहरू एक्लो, एलोन हुन्छन्, कुमार। इम्याजिन, देअर इज, नो हेल, नो रिलिबन, नो हेभेन। जस्ट इम्याजिन, कुमार।’

शंकर आध्यात्मिक मुडमा देखा प:यो। मैले सीडी प्लेयरमा ‘इम्याजिन’ को चक्का घुसाएँ। ‘आई एम अ ड्रिमर’ भन्दै जोन ‘एलोन’ कोठाभरि अझै भनूँ नगरकोटीको स्वर्ग, नर्कमा गुञ्जिन थाल्यो। सोधेँ :

– ‘शंकर ! आज तिम्रो बर्थ-डे ! चियर्स नगर्ने?’

– ‘जरुर जरुर, क्यों नही दोस्त !’

भ्याट सिक्स्टी नाइन खाने कि ! ब्ल्याक लेबल ! कि नेवा: ऐला ! सिग्नेचर कि भोड्का ! के खाने, शंकरलाई सोध्छु।

– ‘तिमीलाई के मन पर्छ?’ ऊ मलाई सोध्छ। म भन्छु :

– ‘मलाई त ‘ह्विस्परिङ सोल’ मन पर्छ।’

– ‘ह्विस्परिङ सोल? नयाँ माल हो?’ शंकर सोध्छ।

– ‘हो, यो माल कमालको छ।’

दुई काँचको गिलासमा ह्विस्परिङ सोल खन्याउँछु। गिलास ठोक्काउँदै ‘चियर्स’ चिच्याउँछौं। म गुनगुनाउँछु :

ऽऽऽ ये ग्लुमी शाम

थिरकते हातमे लिए दो जाम

लामिछाने और नगरकोटीके नाम ऽऽऽ

शंकर ‘क्या बात/क्या बात’ भन्दै मस्तसित हाँस्छ। लाफिङ बुद्धझैं…

शंकर बुक-सेल्फमा घोरिएको छ। :याकबाट जम्मै पुस्तक निकाल्दै भुइँमा राख्छ। ओह्रान पामुकको अदर कलर्स, लोसाको स्टोरी टेलर, मुराकामीको नर्वेजियन वुड्सलाई छुट्याउँछ। सम्भवत: ती पुस्तकलाई उसले आफूसित लैजाने भयो।

मदन पुरस्कार-सेक्सनबाट उसले दमिनी भीर, सेतो धरती अनि पल्पसा क्याफे निकाल्यो। एक घुट घुटुक्क पारेपछि पल्पसा क्याफेको कभर आवरण देखाउँदै यसो भन्यो :

– ‘कस्तो सुन्दर नाम ! पल्पसा…’

तर त्यस्तो सुन्दर नामको छेवै प्रिन्टेड ‘मदन पुरस्कार विजेता’ भन्ने भद्दा लोगोले ऊ विकर्षित भयो। नाक खुम्च्यायो। लोगोलाई पुछेझैं गर्‍यो। जसरी तपाईं आफ्नी प्रेयसीको आँसु पुछ्नुहुन्छ। दमिनी भीर र सेतो धरतीको लोगोलाई पनि उसले त्यसैगरी पुछिदियो। उसले भन्यो :

– ‘किताबमा यस्तो दाग मलाई मन पर्दैन। कतिपय सुन्दर किताबहरूलाई यसैगरी दाग लगाइन्छ। कहिले मदन पुरस्कारले दाग लगाउँछ। कहिले नोबल प्राइजले। कहिले पुलित्जरले। म्यान बुकर प्राइजले पनि किताबमा दाग लगाइदिन्छ। यो दागलाई निरमा सर्फले धोए पनि जाँदैन। मलाई त असलमा बेदाग किताब पढ्न मन पर्छ।’

– ‘शंकर…’ म भन्छु, ‘असलमा यो असल कुरा पो ग:यौ त ! अर्को पेग थपूँ?’

– ‘जरुर जरुर ! खैर, मलाई पुराना दिनहरूको याद आयो। मैले भूमिका लेखेको शिरीषको फूलले पनि मदन पुरस्कार पाएको थियो। गज्जब छ यार कुमार ! मेरो भूमिकाबिना नै ‘पल्पसा क्याफे, सेतो धरती, दमिनी भीर’हरूले मदन पुरस्कार पाएछन् !’

– ‘शंकर ! तिम्रो भूमिका वास्वतमा सुन्दर अतीत भइसकेको छ। खै, त्यो गिलास यता बढाऊ। अलिकति ह्विस्परिङ सोल थपूँ है त !’

– ‘जरुर जरुर, क्यों नहीँ दोस्त। मै आगामी अतीत हुँ। मेरी जिन्दगी आगामी अतीत है। मेरी भूमिकाएँ-सब आगामी अतीत है। चियर्स अगेन।’

आगामी अतीत ! बडो सुन्दर लाग्यो। शंकर त्यसपछि केही बेर मौन रहन्छ। म सोध्छु, ‘शंकर तिमी गाडीमा कता जाँदै थियौ?’

– ‘म फ्रान्ज काफ्कालाई भेट्न गइरहेको थिएँ।’

– ‘फ्रान्ज काफ्का?’

– ‘हो ! फ्रान्ज काफ्का। भर्खरै उसले एउटा कथा लेखिसिध्याएको रै’छ। असलमा, ऊ त्यही कथा मलाई सुनाउन चाहन्थ्यो। अघि ऐनामा तिमीले जुन सहरको सुनसान गल्ली देख्यौ, त्यो प्राग् सहर हो।’

– ‘काफ्काको स्वास्थ्य कस्तो छ आजकल?’

– ‘त्यो ठिस त्यस्तै हो, जहिले पनि।’

त्यसपछि शंकरले सिग्रेट सल्कायो। अब त साँझ पर्दैछ। बाहिर हेर्‍यो अँध्यारो, अँध्यारो अनि केवल अँध्यारो छ। भित्र उज्यालो छ। भुइँमा ह्विस्परिङ सोलको प्याला छन्। शंकर त्यसपछि ‘नन स्टप’ बोल्न थाल्छ : ‘सबै अविस्मरणीय हुँदा रहेछन्। यस जगत्मा बिर्सनलायकका, विस्मरणीय घटनाहरूकेही छैनन्। आफ्नो साहित्यिक युगको सम्झना हुन्छ। कुमार, वो भी क्या जमाना था ! हम भी कभि कवि थेँ। तिमीले मेरो ‘नजन्मेको छोरालाई’ भन्ने कविता पढेका छौ? संसार सुन्दर बन्छ सुन्दर रचनाहरूबाट। लैनसिंह, अम्बर, भूपि, पारिजात, भाइ पिटरहरूलाई सम्झन्छु। मान्छे अहंकार लिएर बाँच्छ र अस्तित्वको सैन्दर्यबाट वञ्चित हुन्छ। हेर न कुमार, म यहाँ तिम्रो कोठामा पिइरहेछु। आज आकाशमा जून छैन तर हृदयमा भने नोस्टाल्जिक मनसुन छ। आज मेरो बर्थ डे ! माघ १० गते। के बार हो रे आज ! बाँच्नु जीवनको रोमाञ्चक अनुभूति हो। मलाई थाहा थियो, मेरो मृत्युपछि शंकर लामिछाने ज्यादै एक्लो हुनेछ। एक्लो को छैन? आई एम अ ड्रिमर लाइक यु। लाइक जोन एलोन। जन्म जीवनको सुरुआत होइन र मृत्यु जीवनको अन्त्य पनि होइन। तिम्रो कथित मृत्युपछि पनि सूर्यास्त हुन्छ। सूर्योदय हुन्छ। बरसात त्यसैगरी रिमझिम, सिमसिम गरिरहन्छ। फूल फुली नै रहन्छन्। झुसिलकीरा क्रमश: पुतली बनी नै रहन्छन्।’

इत्यादि।

शंकर अनायास किन यसरी पराया कोठामा भावुक बनिरहेछ? उसको भावुकता मेरो पनि भावुकता हो। सायद मौन रहन्छु। आज यस्तै भइदियो। दुइटा सिग्रेट सल्काउँछु। एउटा उसलाई दिन्छु। कोठाभरि धूवाँका पत्रहरू एकापसमा जोल्ठिएर बस्छन्। ती धूवाँ वाफ भई अनि त्यसपछि शीतका थोपा बनी हाम्रा मदिरा प्यालामा कहिले झर्लान्?

हामी थुप्रैपटक चियर्स चिच्याउँछौं। शंकर भन्छ : मोजार्ट छैन? कितारो छैन? अम्बर छैन? विथोवन छैन? सीडी प्लेयरमा सिम्फोनी बजाउँछु। विथोवनको सिम्फोनी नं. ३, ५, ७।

झ्यालमुनिको सडकबाट भर्खरै एक हूल मलामी हिँड्यो। बाटोभरि धान र सिक्का छर्दै। शंकर र म झ्यालैमा अडेस लागेर शवयात्रा हेर्छौं। घाट छेउछाउ बसोबास छ मेरो। दिनहुँ घाटतिर गएको हुन्छु। ज्यूँदै। सावित्री कार्की भन्छे : डेरा सरौं।

डेरा सर्न मनले मान्दैन।

विथोवनको फिप्थ सिम्फोनी गुन्जिरहेछ। सेल्फोन चिच्याउँछ। उठाउँछु। आमाघरबाट गुरु रिम्पोचेले हेलो पापा भन्दैछ। हाइहेलो भन्छु। पापा, मलाई ममीले कथा सुनाउनुहुन्न भन्ने गुनासो गर्छ। यसो सोची ल्याउँछु : यो समय गुरु रिम्पोचेको ‘बेड-स्टोरी-टाइम’ पो हो। हरेक दिन सुत्नुअघि उसलाई कथा सुनाउनुपर्छ। फोनमै कथा सुनाउनुस् पो भन्छ। म भन्छु :

– ‘मलाई डिस्टर्व नगर। तिमी आमाघरबाट आएपछि कथा सुनाउँछु। अहिले म शंकर अंकलसित छु।’

– ‘को शंकर? पापाको साथी हो?’ सोध्छ।

– ‘हो पापाको पुरानो साथी हो। आज उहाँको बर्थ डे हो।’

– ‘बर्थ-डे अंकलसित म पनि कुरा गर्छु।’ पो भन्छ त !

शंकरलाई फोन दिन्छु। उसले इसाराले ‘को हो’ भनी सोध्छ। म भन्छु : तिम्रो नजन्मेको छोरा हो।

गुरु रिम्पोचे र शंकरको वार्ता सुनी बस्छु :

गुरु रिम्पोचे : अंकल ! तपाईं मेरो तक्लु पापाको साथी हो?

शंकर : हो, हो । म तिम्रो पापाको साथी हो।

गुरु रिम्पोचे : आज तपाईंको बर्थ डे हो?

शंकर : हो नि त !

गुरु रिम्पोचे : ह्याप्पी बर्थ डे अंकल। तपाईं पापासित बसी रक्सी खाइरा’ हो?

शंकर : हो नि त !

गुरु रिम्पोचे : बर्थ डेमा त केके पो खानुपर्छ। रक्सी खानु हुन्न।

शंकर : अच्छा ! तिमीलाई कसले भन्यो यस्तो कुरा?

गुरु रिम्पोचे : मम्मीले भनेको, रक्सी खाएपछि मान्छे मोर्छ रे ! अंकल तपैं केक खानुस् न !

पापाले तपाईंलाई केक किनिदिनुहुन्छ। केके कस्तो मीठो हुन्छ। केकसित बरु कोक खानुस्। रक्सी खाएपछि मान्छे मोर्छ।

…त्यसपछि शंकर उठ्यो। उसले छुट्याइराखेका किताबहरू एउटा झोलामा राख्यो। ओभरकोट लगायो होइन कि ओभरकोटभित्र छिर्‍यो। कुमार जान्छु अब त, भन्यो। ‘फ्रान्ज काफ्काकहाँ अहिलेसम्म त निर्मल वर्मा, अल्वेयर कामुहरू पनि आइसके होलान्। काफ्काले हामीलाई डिनरका निम्ति बोलाएको छ। म तिमीकाँ यसरी अल्झिएँ। आज फ्रान्ज काफ्काको नयाँ कथा सुन्नु छ। जान्छु ! तिम्रो खुकस एउटा दिन्छौ कि !’

शंकरलाई एउटा सिग्रेट दिन्छु।

धूवाँ उडाउँदै शंकर ड्रेसिङ टेबलको ऐनाभित्र छि:यो। एक झोला किताब बोकी। त्यहाँ, मुसलधारे बरसात अझै जारी थियो।

म चुपचाप हेर्दैछु :

गाडी विस्तारै अगाडि बढ्छ। ड्राइभिङ सिटमा स्टेरिङ समाइरहेको शंकर मलाई हात हल्लाउँछ। ऐनाअघि उभिई म पनि हात हल्लाउँदै शंकरलाई बिदाइ गरिरहेछु।

कस्तो अद्भुत झरी आकाशबाट यसरी झरी !

ऐनामा म प्राग सहरको सुनसान झरीग्रस्त गल्ली देखिरहेको छु। शंकर फ्रान्ज काफ्काको नयाँ कथा सुन्न गइदिएको छ मेरो आर्य-मौन कोठालाई लथालिंग पार्दै।

गाडी क्रमश: अघि बढ्छ र एउटा गल्लीबाट बिलाउँछ।

ऐनामा रिमझिम बरसात भइरहेकै छ।

म ह्विस्परिङ सोलको बिर्को बन्द गर्दै छु। शंकर सिम्फोनी सुन्दै छु। अलिकति पिउँदै छु। अलिकति जिउँदै छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *