Skip to content

शिक्षा क्षेत्रमा नवीन चिन्तन


हाम्रा विद्यार्थीहरू स्कूल जान्छन् । कक्षाकार्य बनाउँछन् । गृहकार्य ल्याउँछन् । स्कूलमा गरेकै कार्य घरमा पनि दोहर्याउँछन् । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु उनीहरूको कर्तव्य हुन जान्छ । खाली दिमाखवाला त्यस्ता विद्यार्थी जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा बाहिरको परिस्थिति आइपरेमा अलमलमा पर्छन् । उनीहरूमा निर्णयविहीन भई अलमलाउनुको विकल्प पनि हुन्न । आजको शिक्षाले त्यही विकल्प प्रदान गर्न सक्नुपर्छ । शिक्षक ‘सबैलाई बचाऊ’ भनेर पढाउन पाउँदैनन्, ‘आफ्नो लागि आफैँ बच’ भनेर सिकाउन वाध्य छन् । त्यसै गर्न समाज शिक्षकलाई भन्छ, उनीहरू पनि अक्षरशः पालना गर्न वाध्य छन् । एकप्रकारले पुरानै परिपाटीको जगमा उभिएर शोषणको हतियार बनी उनीहरू नयाँ पुस्तालाई शोषक बन्ने पाठ सिकाइरहेछन् । अब भने उनीहरूले समाजको हतियार बन्नबाट मुक्त हुनपर्छ । स्वार्थको भकारी भर्ने कामदार हुनबाट पाखै बस्नुपर्छ । समाज जे भन्छ, त्यसका पछिपछि हिँड्ने अन्धो पथिक बन्नुहुन्न । पहिले आफ्ना आँखा खोल्नुपर्छ अनि मात्र आँखा खुल्ने कुरा बताउनुपर्छ । पहिले आफूले आफैँलाई चिन्नुपर्छ अनि अरूलाई चिनेको आभाष दिलाउनुपर्छ । उनीहरूले विद्यार्थीमाथि आफ्नो विवेक र विचार बाड्ने मात्र काम गर्नुपर्छ तर लाद्ने गल्ती बन्दै गर्नुहुन्न । विद्यार्थीले पनि शिक्षकले बाँडेका विचारमाथि विचार गर्नुपर्छ । त्यस विचारले समेत नपुगे पुनर्विचार गर्नुपर्छ । फेरि, आफ्नो विवेकले त्यसलाई मस्काउनुपर्छ । कुनै विचार काम लाग्ने देखिए ती विचार आफ्नै विचारका रूपमा स्वीकार गर्नुपर्छ । विवेकसम्मत कुराका पछि लागेर आफ्नो विवेकको मालिक आफैँ बन्नु जरुरी हुन्छ । कसैका विचारका पछि लाग्नुपरेको छैन । आफ्ना विचारलाई चट्टै त्याग्नु पनि परेको छैन । विचार जन्माउनमा पूरै स्वतन्त्र रहनुपर्छ । विचार प्रकट गर्नमा पूरै अधिकार सम्पन्न हुनुपर्छ । अनि मात्र उनीहरूको चौतर्फी विकास सम्भव छ ।

आजको पुस्ताले खोजेको शैक्षिक परिपाटी यस किसिमको फरक धारमा आधारित छ । आफूभित्र शैक्षिक जागरण ल्याउने सवालमा हिजोको पुस्ताले बाटो बिराएको छ । अतः नयाँ पिँढीका लागि नयाँ शैक्षिक मार्ग तयार गर्नु नितान्त आवश्यक भएको छ जसलाई निम्नानुसार सम्बोधन गर्न सकिन्छ ।

१. अतीतमुखी शिक्षा– हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । ‘हिजो’ पढ्न थाल्दा ‘आज’लाई नै भुलिन्छ र ‘भोलि’ अन्धकार हुन्छ । ‘आज’लाई पढ्न पाउनेले ‘भोलि’ आफैँ बनाउँछन् । ‘हिजो’मा भुल्दा त हाम्रो वर्तमान युग भताभुङ्ग र लथालिङ्ग भयो । वर्तमान पढाउन सके कसैलाई भविष्यको चिन्ता हुनेछैन । वर्तमान पढेका मान्छेले स्वतः अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । यस्तै शैक्षिक माहोललाई निरन्तरता दिइरहने हो भने अतीतका मानसिक दरिद्रताका पाठहरू घोकाएर वर्तमान नर्कतुल्य पार्नुको विकल्प नै छैन । अतीत स्मृतिमा आधारित हुन्छ, बुद्धि जगाउने शिक्षा वर्तमानमुखी हुन्छ, भविष्यप्रति लक्षित हुन्छ । त्यसैले त अतीतबाट मात्र पाठ सिक्नुपर्छ । हामीलाई अतीतले जन्मायो, अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ ।
२. निश्चित शिक्षा– शैक्षिक नीति भन्छ– ‘पाठ्यक्रम दिएको छु, पाठ्यपुस्तक थम्याएको छु, शिक्षकलाई तालिम दिएको छु, शिक्षक त्यसै अनुरूप पढाउँदै छन्, पढाउने पनि छन् ।’ के तोकिएको शिक्षाले, तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ ? उचालेको कुकुरले मृग मार्न सक्छ ? सीमित ज्ञानले जीवनको अथाह गहिराइ पत्ता लगाउन सक्छ ? असम्भव ! शिक्षालाई निश्चित गरिनु प्रमाणपत्र प्राप्त गर्न, गराउन सहज तुल्याउनु मात्र हो । वास्तवमा मानवका लागि शिक्षा अनिश्चित हुन्छ । अनिश्चित ज्ञान दिएर सम्भव छैन । विद्यार्थी स्वयम्ले ज्ञान लिने परिपाटीको विकास हुनु आवश्यक छ । शिक्षकशिक्षिकाले त त्यसको पूर्वाधारको जग बसाल्ने हो, बाटो निर्देशित गर्ने, गराउने हो । त्यसप्रति वर्तमान शैक्षिक व्यवस्था अनविज्ञझैँ छ ।

३. ‘टु पुस इन’मा आधारित शिक्षा– शिक्षाले सिकारुको प्रतिभा प्रस्फुटनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकी अतीतमा सार्वजनिक भइसकेका सूचना र जानकारीहरू सिकारुको मनमा भित्र्याउने काम मात्र गरिरहेको छ । ‘टु ड्राउ आउट’को सिद्धान्तले सिकारुभित्रका कुरा बाहिर ल्याऊ भन्छ भने ‘टु पुस इन’को सिद्धान्तले बाहिरका कुरा जबरजस्त भए पनि भित्र घुसाऊ भन्छ । शिक्षाको वास्तविक ध्येय ‘टु ड्राउ आउट’को सिद्धान्तमा आधारित हुनुपर्नेमा ‘टु पुस इन’को सिद्धान्तमा आधारित छ । यसरी शैक्षिक क्षेत्रको प्रतिफल विद्यार्थीको हितसम्म पुग्न सकेको देखिन्न । विद्यार्थीको प्रतिभा प्रफुटन भन्नु नै उनीहरू भित्र रहेको ज्ञान बाहिर ल्याउनु हो । यसका लागि जिज्ञासु बन्ने वातावरण दिलाउनुपर्छ । विद्यार्थीले आफूभित्रका प्रश्न राख्ने प्लेटफर्म पाउँदा यो सम्भव छ ।

४. प्रतिस्पर्धात्मक शिक्षा–शैक्षिक परिपाटीमा प्रतिस्पर्धाको खेल हुनु विडम्बनापूर्ण छ । ज्ञान हासिल गर्न कसैलाई उछिन्ने मानसिकता ठीक छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा विल्कुलै अशोभनीय छ । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मनमा वितृष्णा उब्जिए मात्र शैक्षिक क्षेत्रमा नवीन अध्यायको सुरूवात हुन्छ । प्रतिस्पर्धाबाट अरूलाई पछारेर आफू अघि बढ्नु लोकप्रियता कमाउनु होइन । बरू अलोकप्रियता आर्जन हुन्छ । के कक्षाका भएका जम्मा पैँतीस जनामध्ये प्रथम भई बाँकी चौँतीस जनाको मन कुल्चँदा उत्तम विद्यार्थी कहलिन सकिन्छ ? मनमा फाटो ल्याउने खालको चुनावी शिक्षा विडम्बनायुक्त छ । आजको पिँढीले कसैको स्तुतिगान गर्नु र कसैको प्रशंसाको भजन गाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालाले लाभ हैन जीवनलाई बोझिलो र निरस पार्छ । प्रेमलाई भगाएर, माया र सहानुभूतिको घाँटी दवाएर प्राप्त गर्ने प्रमाणपत्रको काम छैन । प्रतिस्पर्धा गर्न सिकाएर, अरूजस्तै बन्न लगाएर त आजको पिँढीले आफ्नो हैसियत र दायित्व भुलिरहेको छ । अनि ‘सबै हामी हौँ, हामी नै सबै हौँ’ भन्नुको सट्टा ‘सबै म नै हुँ । म नै हर कुरा हुँ’ भन्दै छ । त्यसैले आजका विद्यार्थीलार्ई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनुछैन । पछि पर्छन् कि भनेर ठेल्नु पनि परेको छैन । उनीहरूको लयवद्धतालाई स्खलन गर्नुपरेको छैन ।

५. भौतिक उपार्जनमुखी शिक्षा– आजको शिक्षा भौतिक उन्नति गर्ने सोचबाट प्रेरित छ । न त्यस सोचले पूर्णता पाएको छ, न बाटो नै बदलिएको छ । आफूले आर्जन गरेको ज्ञान र जानकारीका माध्यमबाट भौतिक उन्नति गर्न सक्ने अवस्था छैन । त्यही ज्ञानको जगमा उभिएर एकाध व्यक्ति आफ्नै खुट्टाले टेकेर जीवनरथ हाक्दै छन् तर ठूलो छाती बनाएर बाँच्न भने सकेका छैनन् । आफूमा भएको प्रतिभाले जीवन चलाउन सक्षम हुने शिक्षा आत्मक्रान्तिन्नोमुखी शिक्षा हो । समाजको सोच स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ तर बाटाहरू प्रशस्त गर्न असक्षम छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । केहीलाई जागिर दिएर अरू सबैलाई शैक्षिक बेरोजगार पारेर शिक्षाले नै गुलाम बन्न प्रेरित गरिरहेको छ । अध्ययनको एउटा चरण पार गरेपछि आत्मनिर्भर हुनुपर्नेमा त्यसो हुन सकेको छैन । आजसम्मको शिक्षाले बुद्धि त सिकाउँछ तर बुद्धिमान् बनाउन सकेको छैन । धन कमाऊ भन्छ तर धन कमाउने सीप दिँदैन, मार्गहरू खुलाउँदैन ।

६. अहङ्कारपूर्ण शिक्षा– आज लेखपढ गरेका व्यक्तिमै अहङ्कार छ । ठूल्ठूला तहका प्रमाणपत्र बटुल्ने मान्छे नै बढी अहङ्कारी छन् । शैक्षिक जानकारी नै अहङ्कापूर्ण छ । आजको शिक्षाले प्रेम सिकाउँदैन । केवल ईष्र्यालु विचार र भावनालाई प्रश्रय दिन्छ । अहङ्कार पतनको सङ्केत हो, प्रेमपूर्ण शिक्षा प्रगतिको सम्वाहक हो । अहङ्कारको नशा छुटाएर प्रेम र सहानुभूतिको विजारोपण गर्न शैक्षिक परिपाटीमा आमूल सुधार आवश्यक छ । वास्तवमा शिक्षाले सिकारुमा अहङ्कार जन्माउनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनु शिक्षकको दायित्व बन्नुपर्छ । शिक्षक एक प्रकारको प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । यसो भएमा गन्दे नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर गन्धे ठाउँ चहार्ने सुँगुर–सुगुर्नीहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ । आजका विद्यार्थीले अहङ्कार भित्र्याउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने अशिक्षा नै पाउनु वेस हुन्छ । आजसम्मको शिक्षा खरो अनुशासनमा आधारित छ । वस्तुनिष्ठ छ । मेसिनरी छ । त्यसै कारणले आज सबै जसोमा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ । हाम्रो अहङ्कारले भनिरहेको छ– ‘म यत्ति धेरै पढेको मान्छे, अब हलो जोत्न सक्दिनँ । अब घाँस काट्न सक्दिनँ । अब पशुसेवा गरेर दुई पैसा आर्जनमा चित्त बुझाउन सक्दिनँ । सानोतिनो नोकरीमा चित्त बुझाउन सक्दिनँ । अब मैले त ठूलो पदवाला नोकरी पाउनुपर्छ । पशुको नोकर हैन, जनताको पनि होइन अब म सरकारको नोकर हुनुपर्छ । सरकारी नूनको सोझो गर्ने बन्नुपर्छ ।’ यस खाले चिन्तन भित्त्याउने शिक्षा दुर्भाग्यपूर्ण छ ।

७. त्रासमा आधारित शिक्षा– अनुशासनले मान्छे भित्रको उत्सुकताको हत्या गरिरहेको छ । मानवीय भावनाको खुल्लमखुल्ला व्यापार गरिरहेको छ । अनुशासनको पुजारी बन्दा तीतो यथार्थ भोग्न वाध्य हुनुको वैकल्पिक मार्ग छैन । यसको यथार्थ यस्तो हुन्छ– मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरेँ भने, अनुशासन भङ्ग होला कि ! सजायको कठगरामा उभिएर स्पष्टीकरणको लामो वयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि !’ यस्तै त्रासमा बाँच्नुपर्छ । मन खोलेर जुनसुकै जिज्ञासा शिक्षकनजिक ओछ्याउन पाइन्न । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर राख्नुपर्छ । विद्यार्थीले नमीठो अनुभवको सिकार भइरहनुपर्छ । भय र त्रासले तर्सिरहनुपर्छ । अतः आजका विद्यार्थीले मन खोल्ने मौका पाउनुपर्छ । ठीक–बेठीक भन्न भेट्नुपर्छ । चेतना उघार्न पाउनुपर्छ । उज्यालो खोज्न र भोग्न भेट्नुपर्छ । अनुशासन नामको लगामले शिक्षक र विद्यार्थी बीच दूरी बढाउनु विल्कुलै अशोभनीय हुन्छ ।

८. शिक्षककेन्द्रीत शिक्षा– पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो, सिकाइयो । मानवीय अभीष्ट क्रोधको पकडमा फँस्यो । त्यसैले राजनीतिमा स्वार्थीहरूको, अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती बन्न पुग्यो । आज नयाँ पुस्ताको अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु उनीहरूको कर्तव्य भएको छ । विद्यार्थीले उनीहरूबाट नै विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ । आजको शिक्षाले सबैलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । विद्यार्थीलाईलाई केन्द्रमा राखेर श्क्षिक परीधिमा रहने प्रकारको शैक्षिक परिपाटीको विकास हुनु नितान्त आवश्यक छ ।

९. उत्तरमुखी शिक्षा– आजको शिक्षा उत्तरमा आधारित छ । पढाउने क्रममा नै शिक्षक पुस्तकमा समेटिएका सीमित प्रश्नको उत्तरमा केन्द्रीत रहन्छन् । विद्यार्थीले त्यतिमै सीमित रही चुप लाग्नुपर्छ । शिक्षकको दृष्टिमा विद्यार्थीको मनमा उब्जिएका हरेक कुराले उत्तर पाउनुपर्छ भन्ने छैन । विद्यार्थीलाई प्रश्नविहीन बनाउनु भनेको कि विद्यार्थी तिखारिएको विवेकवाला बन्नु हो कि जडबुद्धिवाला बनाउनु हो । हाम्रो परिपाटी भने जडबुद्धिउन्मुख छ । अतः हरेक कुरामा विद्यार्थी प्रश्नको खोजीमा हुने वातावरण दिलाउनु नितान्त आवश्यक छ । प्रश्न जन्माउने खुबीको विकासले मान्छेको चैतन्य ऊध्र्वगामी बन्न जान्छ । सीमित उत्तरमा नै पूर्ण सन्तुष्ट रहेर प्रश्नोविहीन मनोदशामा हुँदा त्यो चैतन्य मुठारिन पुग्छ । अर्कातिर हामी शिक्षक विद्यार्थीलाई श्रद्धा गर्न सिकाउँछौँ, सम्मान गर्न लगाउँछौँ । शिक्षक श्रद्धेय नबनी र सम्माननीय नभई विद्यार्थीले त्यो ग्रहण गर्ने कुरै आउँदैन । शिक्षक फगत समाजको इसारा र निर्देशनमा लुरूलुरू हिँड्ने र काम गर्ने रिमोर्टबाट सञ्चालित एक मेसिनतुल्य बनेका छन् । विवेकको बिक्रो खोल्दिनु पर्नेमा अझ बन्द गर्न उद्यत हुनुपर्ने अवस्था छ । अतः विद्यार्थीलाई विवेक प्रयोग गर्न दिनुपर्छ् । उनीहरूमा विचार पैदा हुन दिनुपर्छ । उनीहरू विद्रोह गर्छन् भने विद्रोह गर्न दिनुपर्छ । विद्रोह दवाउन दवाबको प्रयोग गर्ने हिम्मत गर्नुहुन्न । विद्रोहमा नवीन चिन्तन छ कि छैन ? विद्रोह उर्जाशील छ कि छैन ? मात्र त्यसको निरीक्षण गर्नुपर्छ । विद्रोहका कारक तत्व पत्ता लगाउनुपर्छ । रिठ्ठो नविराईकन दूधको दूध पानीको पानी पारी छुट्याउनुपर्छ । समाधानका लागि समस्या छ भने पारदर्शी ढङ्गले ओछ्याई दिनुपर्छ । उनीहरू आफैँ समाधान खोज्छन् ।

१०. वृतकारीय शिक्षा– आजको शैक्षिकपरिपाटी वृताकारीय छ । जति चरण पार गरे पनि घुमिफिरी एकै ठाउँमा हुने खालको शिक्षा लिइराखेका र दिइराखेका छौँ । शिक्षाले सिकारुमा नवीनभन्दा नवीन प्रज्ञाको ज्योति बाल्न सक्नुपर्छ । त्यो नभई जुन दियो बालिएको थियो, त्यसको प्रकाशमा तेज भर्ने काम मात्र अघिल्ला कक्षाले गर्दछ । एक थरी कुराको प्रभाव अनेक थरी कुरामा पर्दछ । शैक्षिक विषयवस्तुलाई निश्चित कोणबाट मात्र केलाउने प्रयत्न घातक हुन्छ । त्यही खेल अहिलेको शिक्षाले सिकाउँछ । फलस्वरूप हामी वृताकारीयरूपमै फनफनी घुमिरहेका हुन्छौँ । ऊध्र्वगामी सोच भित्र्याउन विवेकपूर्णढङ्गले कोणकोणबाट विश्लेषण गर्न सक्नुपर्छ । त्यसको अभाव खड्किएको छ ।

११. पदमुखी शिक्षा– हामीले त समय र परिस्थिती अनुसार हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने हुनुपर्छ । समयअनुसार कुलपति पनि बन्नुपर्छ र परिस्थितिले डोहोर्याएअनुसार ज्यामीमजदुर पनि हुन रुचाउनुपर्छ । हाम्रो आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ । हाम्रो भोक र सुर्ता औँलो ठड्याएर वा अरूलाई कज्याएर तलव भत्ता पचाउनेमा हैन, मामका लागि काम पाउँदिनँ कि भन्नेमा हुनुपर्छ । हाम्रो शिक्षाले पदको भोक जगाइदिएको छ । प्रथम होऊ, सुखदायी ठाउँमा पुग भनिरहेको छ । सैद्धान्तिक ज्ञानमा आधारित शिक्षा छ, प्रयोगात्मक छैन । सिद्धान्तको अन्धोभक्तताले ठूलाबडा हुन सिकाउँछ । श्रममा विश्वास छैन, पदमा भोक जगाउन प्रेरित गरिरहेको छ । त्यसैले पढेका मान्छे मानसिक श्रम गर्न रुचाए पनि शारीरिक श्रम भने पछि तीन हात टाढै रहन्छन् । प्रतिस्पर्धामा लड र पदको सुखभोग गर भनिरहेको छ । आफूभित्र प्रज्ञाको, चैतन्यको दीप बाल र मान्छे बनेर देखाऊ भन्न सकेको छैन ।

अग्रजको दायित्व

अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई अन्धो भएर खुरुखुरु अनुकरण गर्दा विडम्बनापूर्ण परिस्थिति भोग्नुपर्छ । हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्ने सिर्जनात्मक प्रतिभाको कदर हुनुपर्छ । बाहिरको सूचना र जानकारी लिएर र सिकेर मान्छे बुद्धिजीवि त कहिएला तर बुद्धिमान् भने हुँदैन । अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भनेर बच्चाको मौलिक क्षमतालाई मार्ने काम हामी बौद्धिकवर्गले नै गर्ने हो भने कस्तो समाजको कल्पना गर्न खोजिएको हो ? त्यो स्पष्ट हुनुपर्यो । तालिम प्राप्त सुगाले जे सिक्यो त्यही भट्याइरहन्छ । त्यसभन्दा बाहिर जाँदैन । हलो जोत्ने गोरुले हलो तान्न जान्दछ तर ठीकबेठीक के हो, छुट्याउन सक्दैन । के हामी मालिकको इसारामा नाच्ने बाँदर, भालुजस्ता जनशक्ति उत्पादन हुन् भन्ने चाहन्छौँ र ? हामी त विवेकले काम गर्ने जनशक्तिको चाहना र कामना गरिरहेका छौँ । यसका लागि हरेक कुरामा हरेक व्यक्तिको आ–आफ्नै दृष्टिकोण हुनुपर्छ । सैद्धान्तिक मार्गचित्र बमोजिम पढेको र घोकेको शिक्षाले मस्तिष्कको विकास त गर्छ तर हृदयको विकास ठप्प पार्छ । हृदयविनाको मान्छे गुलाम बाहेक अर्थोक बन्न सक्दैन । म जे भन्छु त्यो मान् भन्नुको सट्टा मैले भनेको कुरा मलाई चाहिँ ठीक लागेको छ, तिमीलाई कस्तो लाग्छ भन्दियो भने बच्चामा खोजपूर्ण मन पैदा हुनसक्छ । आफैँले जन्माएका प्रश्नै प्रश्नको घेरामा बच्चा रहने अवस्था आएमा उसमा सत्यको खोज गर्ने चाहना र सामथ्र्य विकसित हुँदै जान्छ । यस खाले वातावरण निर्माणमा हाम्रो भूमिका रहनुपर्छ ।
हरेक व्यक्तिका आ–आफ्नै खालका इच्छा–आकाङ्क्षा हुन्छन् । सचेत बच्चा पनि आफ्नो इच्छापूर्ति गर्न प्रतिबद्ध हुनसक्छ तर बाबुआमा वा कसैको अपूरो इच्छापूर्ति गर्ने ठेक्का उसलाई स्वीकार हुन्न । किनभने ऊ पनि अरूजस्तै संसारमा साध्य भएर आउँछ, साधन भएर आउँदैन । अहिलेसम्मको महत्वाकाङ्क्षी समाजमा जसले अरूलाई जति बढी मात्रामा साधन बनाउन सक्यो, त्यत्ति नै मात्रामा ठूलो मान्छे कहलिने काममा शिक्षित वर्ग नै सक्रिय छन् । । आफू साध्य भएर रहन अरूलाई साधन बनाउनु के मानवोचित कार्य हो त ? अहँ, यो त चलाखी हो, महत्वाकाङ्क्षी सोच हो । यस खाले सोचले गर्दा त साधन बन्न विवसहरूले आफ्नो मौलिक व्यक्तित्व देखाउन सकेका छैनन् । आफ्नो मनलाई दवाएर, अरूको मनअनुरूप हिँड्न विवस छन् । अतः बच्चालाई जेहन्दार, तीक्ष्ण बुद्धि भएको बनाउन मातापितादेखि लिएर सामाजिक वातावरणको ठूलो भूमिका हुन्छ । प्रकृतिले शरीर दिए पनि उसको दिमाख भने समाजले दिन्छ । हामी जस्तो वातावरण दिन्छौँ, बच्चा त्यस्तै बन्छ । हामी सबैले यस्ता कुरामा हेक्का राखी बच्चाको भविष्यनिर्माणमा भूमिका खेल्नु जरुरी छ ।

धर्तीमा अनुशासन सिकेर कोही आउँदैन । कसैले भनेको सरासर मान्नु बन्धन स्वीकार्नु हो । नमान्नु त्यस बारे आफ्नो धारणा बनाउनु हो । हरेक कुरा बुझेर मात्र स्वीकारेको र अपनाएको अनुशासनले बच्चालाई स्वतः मर्यादित बनाउँछ । उनीहरू सही मार्गमा त्यस बेलामा आउँछ, जब उनीहरूको मस्तिष्कमा बौद्धिकताको मूल फुट्छ । त्यो मूल फुट्न बच्चालाई पूर्ण स्वतन्त्रता दिनु र दिलाउनुपर्छ । गलत काम गर्न खोज्छन् भने पनि दिनुपर्छ । गलत काम र ठक्करले नै सिकाइ हुन्छ । जति बढी गल्ती हुन्छ र सिकारूमा बोध हुन्छ, त्यत्ति नै सिकाइ हुन्छ । बच्चा मर्यादित र अनुशासित हुँदा त सिकाइ गर्नै सक्दैनन् । मात्र अनुकरण गर्न सक्छन्, सिद्धान्त घोक्न सक्छन् । त्यस बखत हामीले बच्चालाई आफ्नो शरीरको सुरक्षा गर्ने सिद्धान्त दिनु भने अनिवार्य हुन्छ । बच्चालाई स्वतन्त्र छाडिदिनुपर्छ । नियन्त्रण गर्ने इरादाले निश्चित कुरा भन्नुहुन्न । बच्चा रिसाए, क्रोधित बने बन्न दिनुपर्छ । त्यसमा समेत शरीरभरि ऊर्जाको पुँञ्ज बग्दछ । प्रसन्न मुद्रामा हुँदा अझ उनीहरूको मुहारमा सौन्दर्यता झल्कन्छ । धेरै मान्छे सल्लाह दिन्छन् तर लिने भने विरलै हुन्छन् । अतः सल्लाह दिने भूल गर्नुहुन्न । समझदार बन्न सहयोग गर्नु नै पर्याप्त हुन्छ । बच्चाको रेखदेखमा भने पर्याप्त समय दिनुपर्छ । बच्चालाई एकान्तमा रहन, सोच्न र खेल्ने मौका पर्याप्त मात्रामा दिनुपर्छ । यसो गर्न सके उनीहरू स्वयम् आफ्नो विकास आफैँ गर्न सक्छन् । बच्चालाई एक्लै छाड्नु त हुन्न तर अभिभावक बाधक भने बन्नुहुन्न ।

गम्भीर नबन्नु र हँसिलो मुद्रामा हरबखत प्रस्तुत हुनु विद्यार्थीहरूको बानी हुन्छ । विद्यार्थीको यस्तो हाँसिरहने बानी खराब विल्कुलै होइन बरू उत्तम हो । कुरा बुझ्न र विश्लेषण गर्न कमी हुँदा यसले समाजमा गम्भीर बाधा पर्दछ भन्ने सोच हाम्रो रहन्छ जुन भ्रमपूर्ण छ । बालबालिकाका निम्ति हाँसोले बुद्धि बृद्धिका लागि अस्त्रको काम गर्दछ । सबै बच्चा हाँस्यवृत्तिका साथ जन्मन्छन् । उनीहरूको मौलिकपन हटाउन खोज्नु भनेको घाँटी निमोठ्नु हो । त्यसकारण हामी समाजका टाठाबाठाहरू बालबालिकाको जीवनमा गम्भीर चोट पार्न खोजिरहेका छौँ । के पशुपक्षीहरू हाँस्छन् त ? हामी ठूलाठालुहरू मेसिनझैँ गम्भीर भएर काम गछौँ । उमेर छिप्पिदै जाँदा स्वतः गम्भीरता बढ्दै जान्छ । बच्चाको निम्ति गम्भीरता त एक प्रकारको रोग हो । जोसँग प्रतिभा छ, त्यो सचेत बन्छ तर गम्भीरतालाई अङ्गालेर रहन सक्दैन ।

विद्यार्थी चञ्चल हुनुले अराजकता निम्त्याउँदैन । त्यसले त बौद्धिक विकासमा ठूलो भूमिका पो खेल्छ । चुलबुल नगर्ने बालबालिकाहरू जड बुद्धिका हुन्छन् । चञ्चलता प्रदर्शन गर्नेले कठिन कुरा पनि सरल तवरले बुझ्न र ग्रहण गर्न सक्छन् । बौद्धिक व्यक्तित्व निर्माणमा उनीहरूमा भएको चञ्चलता सहयोगी हुन्छ । यस कलिलो उमेरमा चञ्चलता दमनको नीति लिने हो भने अनीष्ट निम्तन सक्छ । होसियार बच्चाले मात्र हरेक कुरामा चासो राख्छन् । सबै कुरा जान्न र बुझ्न खोज्छन् । यी कुरा अनावश्यक नभई आवश्यक हुन् । यसखाले प्रवृत्तिले उनीहरूको पढाइमा बाधा पार्ने कुरा आउँदैन । बरू सहयोग मिल्दछ । हरेक कुराको खोज गरी सत्य कुरा ग्रहण गर्ने बानीको विकास हुन्छ । स्वयम् जान्न र बुझ्न उद्यत हुनु भनेको गर्वलायकको कुरा हो ।

पतिपत्नीको रतिक्रिडाको समयमा आधारित मानसिकता, गर्भावस्थामा आमाको चालचलन र सोचविचार, प्रसवास्थामा आमाको मानसिकता, जन्मेपछिको बच्चाले पाउने सामाजिक वातावरणसम्मको प्रभाव बच्चामा पर्छ । विशेष गरी अभिभावकको सोच र क्रियाकलाप अनुकूल भए बच्चामा पनि अनुकूल र प्रतिकूल भए प्रतिकूल प्रभाव पर्दछ । वातावरण क्रोधित, झगडालु वा हिनताबोधी भए बच्चा त्यस्तै हुन्छन् । हामी बच्चाबाट आदर र सम्मानको अभिलाषी हुनुहुन्न । उल्टै उनीहरूलाई सम्मान र आदर गर्नुपर्छ । यसबाट उनीहरूलाई समझदार बनाउन सकिन्छ । तँ ऊजस्तै बन् भनेर तुलना गर्ने गर्यो र उसको क्रियाकलापका विरुद्धमा पटकपटक जाने काम गरियो भने बच्चा कि हिनतावोधले ग्रसित बन्छ कि उग्र अहङ्कारी हुन्छ । उनीहरूले जान्नुपर्ने सत्यको लागि सिद्धान्त घोकाउनु जरूरी छैन तर सत्यको खोज कसरी गर्ने भन्ने शिक्षा दिनु भने जरुरी छ । जिज्ञासु बन्ने, प्रश्न राख्ने र खोजअनुसन्धान गर्ने शिक्षा दिनु आवश्यक हुन्छ । उपदेश दिएर हैन, नैतिकता, धर्म र संस्कृतिका कुरा भनेर समेत होइन, सहयोग गरेर, मानसिक ऊर्जा दिएर, सुरक्षित पारेर र रक्षा गरेर उनीहरूलाई जागरूक र बुद्धिमान बनाउनुपर्छ । टेलिभिजनहरूबाट हिंस्रक दृष्य देखाउने हैन, इतिहास, भूगोल, साहित्य, विज्ञान, सङ्गीत आदि विधाका रचनात्मक र सिर्जनात्मक कुरा देखाउने गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा के हो भने बच्चाको मागप्रति नकारात्मक सोच बन्दै राख्नुहुन्न । नकारात्मक कुराले बच्चाको सोचलाई नै नकारात्मक बनाइदिन्छ । जिज्ञासालाई दबाउने हैन उकास्ने र प्रोत्साहित गर्ने गर्नाले सकारात्मक प्रभाव पर्छ । आफूले जानेका कुरा रिठ्ठो नविराई भनिदिने गर्नुपर्छ तर नजानेको कुरा चाहिँ झूटो भनिदिने काम विल्कुलै गर्नुहुन्न । बरू जान्दिनँ भनेर भनिदिनु नै उत्तम हुन्छ ।
बच्चामा एकाधिकार जमाउनु सर्वथा अनुचित कुरा हो । म आमा हुँ, म बाबु हुँ वा म बच्चाको यो हुँ र त्यो हुँ भनेर एकाधिकार जमाउन खोज्दा व्यक्तिको व्यक्तित्व नष्ट हुुन पुग्छ । अरूलाई पनि आफ्नै सम्झन सक्ने अवस्था दिलाउन सकेमा मात्र त्यो फलदायी हुन्छ । वस्तुमा अधिकार जमाएजस्तो बच्चामा जमाउन खोज्नाले बच्चा सन्तुलित तवरले अघि बढ्न सक्दैनन् । त्यसैले त कतिपय बच्चाहरू अत्यधिक लाडप्यार र अति मोहयुक्त नियन्त्रणले मात्तिएका र पात्तिएका देखिन्छन् । त्यसो हुनुमा अभिभावक नै जिम्मेवार छन् । जीवनलाई मन्दिर हैन कारखानामा परिणत गरिदिने भए मात्र बच्चाको स्वतन्त्रता र चाहनामा अङ्कुस लगाउनुपर्छ । हैन बच्चालाई स्वावलम्बी, कर्मयोगी र बुद्धिमान् बनाउने हो भने हरेक अभिभावकले समेत नयाँ शिक्षा लिनुपर्छ । पुरानो शिक्षाको जगमा उभिएर बच्चामा रहेको जीवन्तपनलाई मेट्न खोज्ने हो भने बच्चाका लागि अभिभावक बरदान हैनन् अभिसाप ठहरिन्छन् । किनभने बच्चाको त्यो जीवन्तपन दवाउँदा गम्भीरपन निर्माण हुन्छ । त्यसले सिकाइलाई सीमित पार्छ, बौद्धिकताको मार्ग थुन्छ । धन र पदमा सन्तुष्ट रहन सिकाउँछ । मानव जीवनको सार त्यत्तिमा मात्रै सीमित छैन । बच्चाले त खोजयात्रामा पो निस्कनुपर्छ । जीवनभरि नयाँनयाँ कुरा खोजिरहनुपर्दछ । त्यो प्रतिभा दिलाउन बच्चासँगको दूरी घटाउनुपर्छ । इमान्दारी, सच्चाइ र निष्ठाका साथ बच्चा हामी सामु हृदय खोल्छ तर हामी भने कार्यको बोझले जवाफ फकाउँदैनौँ र फराकिलो खाडल तयार गरिरहेका हुन्छौँ । यस किसिमको विडम्बनालाई निर्मूल पार्न आफ्नो मन बच्चासँग साट्नुपर्छ, बदलामा बच्चा पनि आफ्नो मनपेट दिन्छ । अभिभावक एक मित्र, एक सहयोगीका रूपमा प्रस्तुत हुनुपर्छ । समग्रमा के बुझ्नुपर्छ भने बच्चालाई केकस्तो आकार र रूप दिने हो, त्यसको जीवनलाई कतातिर लग्ने हो, कहाँ पुर्याउने हो ? ती सबै हामी अग्रजकै हातमा छन्, हाम्रै क्रियाकलापमा आधारित छन् । उनीहरू त केवल गिलो माटो मात्र हुन् । दक्ष वा अदक्ष कुमाले त हामी अग्रजहरू नै हौँ ।

र, अन्त्यमा

यस युगले गहन जिम्मेवारी हाम्रो काँधमा सुम्पेको छ । कताकता कठिन काम खटाएको अनुभव हुन्छ । सहज सम्भव नहुने काम फत्ते गर्नु नै ठूलो सफलता हो । गर्दै जाँदा, भोग्दै जाँदा, उदार दिल र निस्वार्थ सोचले कर्म पथमा डोहोरिँदै जाँदा असम्भव भन्ने कुरा केही छैन । आजका विद्यार्थीले मेसिन हैन मान्छे बन्नुपर्छ । उनीहरूले दृष्टि र श्रवणयुक्त मनुष्य बन्न पाउनुपर्छ । उनीहरूले स्रष्टा र द्रष्टा दुबै हुन पाउनुपर्छ । घोकन्ते र अनुयायी हैन, विवेकी र चैतन्ययुक्त हुनुपर्छ । उनीहरूले जडबुद्धियुक्त हुनुछैन । आफ्नो जीवनप्रति सन्तुष्ट हुनुपर्छ । प्रेमले खारिएका हुनुपर्छ । उनीहरूले जीवनको अपार आनन्द भोग गर्न पाउनुपर्छ । उनीहरूले भय र त्रास, ईष्र्या र आडम्बर, अन्धविश्वास र पाखण्डको भेउ छिचोल्नुपर्छ । उनीहरू जे जान्दछन्, जे बुझ्दछन्, त्यो उनीहरूको विवेक र विचारअनुरूप हुनुपर्दछ । उनीहरू अरूले खनेको पथमार्गी बन्दै बन्नुहुन्न । आफू हिँड्ने बाटो आफैँले खन्ने सामथ्र्य हुनुपर्छ । अरूले खनेको बाटोमा लुरुलुरु हिँड्ने आज्ञाकारी अनुचर बन्नु गलत हुन जान्छ । विद्यार्थीहरू विद्यालयबाट खाली मन लिएर घर फर्कनहुन्न । खाली मन सैतानको घर हुन्छ । दिनदिनै उनीहरूको मन भरिँदै जानुपर्छ । सिकेका कुरामध्ये चाहिए जति स्मरणमा भण्डारण गर्छन् र नयाँ कुराका लागि ठाउँ खाली गर्न सक्छन् । त्यो खाली पूर्ति गर्ने जिम्मा शिक्षकको हो । झुटो आश्वासन र असम्भव कुराले भर्दिने भुल कदापि गर्नुहुन्न । आजका विद्यार्थीलाई नयाँ मान्छे बनाउनुपर्छ । उनीहरूको चाहनामा कुठाराघात हुनुहुन्न । उनीहरूले भुल्नुहुन्न, उनीहरूले चुक्नुहुन्न । उनीहरू हर्दम होससहितका जोसिला बन्नुपर्छ । उनीहरूले होसलाई नै धर्म र वेहोसीलाई नै पाप ठान्नुपर्छ । समय आउँदा हँसिमजाकले संसार हँसाउन र परिस्थितिले डाक्दा धीरता र शालिनताले खारिएको दुवै व्यक्तित्व देखाउन समेत सक्नुपर्छ । उनीहरू हाँसोमा रोदनको सतर्कता र रोदनमा आनन्दको उत्कट आभाष पहिल्याउने हुनुपर्छ । उनीहरूले महत्वाकाङ्क्षाको महल ठड्याउनुछैन । निस्सारताको पाठ घोक्नुछैन । जीवनवोधको अध्याय पढ्नुपर्छ । जीवनका अध्याय, अध्याय उल्टाउनुपर्छ ।

पुरातनवादी सोचले जरा गाडेको यस समाजले सजिलै घुँडा टेक्दैन । विनाविद्रोह परिवर्तन सम्भव छैन । यस समाजको सोचविरुद्ध वैचारिक विद्रोह गर्नु आवश्यक छ । राम्रो अङ्कयुक्त प्रमाणपत्र प्राप्त गर्ने अन्तिम अभीष्टलाई धरासायी पार्नु आवश्यक छ । आजका शिक्षकले विवेकी र विचारवान जनशक्ति जन्माउने अठोट लिएर सफल बन्नुछ । आजका शिक्षकले हरतरहले सफल हुनुछ । सफल मान्छेले नै सफलता दिलाउन सक्छन् । असफल मान्छेले त केवल अराजकताको माला पहिर्याउन सक्छन् । धेरै भए असफलताको पाठ घोकाएर, मन बोझिलो पार्दिन सक्छन् । सफल मान्छेलाई सबै थरीको मार्गवोध हुन्छ । शैक्षिक अराजकता हट्नु भनेको विद्यार्थीको समुन्नत भविष्यको आधारशिला खडा हुनु हो ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *