Skip to content

माघ १९ ‘जयन्ती’को संघारमा


माघ १९ को रात
केही दाउ लिएर आयो
केही घाउ लिएर आयो
अफवाहको प्रवाह लिएर आयो ।

अनिश्चितता र अन्यौलको बिचमा
दृढ कदम त चालेकै हो
दमको कदम चालेकै हो
त्यो बातले हैन मातले चालेको कदम
प्रेममा हैन वासनामा चालेको कदम
स्पष्ट भविष्य नसोची चालेको कदम
आउन त आयो त्यो रात
केही रोमाञ्च लिएर आयो
केही ड्रामा र केही ट्रेजडी बोकेर आयो ।

तयारी केही पनि गरेकै हो
मनपेट पनि पटक-पटक लिएकै हो
जय-जयकार केही भएकै हो
तर त्यो लक्ष्यबिनाको कदम
केही दिनमै तहसनहस हुने कच्चा कदम
आउन त आयो त्यो रात
धेरथोर दाउ लिएर आयो
धेरथोर घाउ लिएर आयो ।

यस्ता मेल अन्त पनि नभएका हैनन्
खै माटो मिलेन कि संस्कृति मिलेन
दुई चार गालीमै गिर्ने तासको घरजस्तो मेल
केही घडीमै तहसनहस हुने सुरका साथ आयो,
बेसुरका साथ आयो ।

खेल उस्तो हो कि खेलाडी उस्ता ?
या दर्शक पो उस्ता हुन् कि ?
के के नमिलेको खेल
इतिहासमा कहिल्यै नमेटिने दाग लिएर आयो
सधैं बल्झिरहने घाउ लिएर आयो
केही तरंग र केही छटपटी लिएर आयो ।

वर्षौंपछि त्यो रातको जन्मजयन्ती मनाइँदै गर्दा
अनगिन्ती प्रश्नहरू जन्मिरहेछन् –
तिम्रो लागि त्यो के थियो खास ?
खेल नै थियो त ?
सामान्य खेल नै थियो त ?
अनगिन्ती प्रश्न उब्जिरहेछन् –
तिमी घाइते भयौ, जस्तो म भएँ ?
तिमी रोमाञ्चित भयौ, जस्तो म भएँ ?
तिमी विचलित भयौ, जस्तो म भएँ ?
र, अन्तत
तिमी बिद्रोही भयौ, जस्तो म भएँ ?

त्यो महासंग्राम खासमा के थियो ?
प्रेम थियो कि खेल थियो ?
कि थियो अनुचित सहवास
जसले एउटा दाउ लिएर त आयो
वर्षौंसम्म बल्झिरहने घाउ पनि लिएर आयो
अनि,
केही ड्रामा र केही ट्रेजडी लिएर आयो ।

इति विसं २०७० साल माघ १८ गते रोज ७ शुभम् ।

2 thoughts on “माघ १९ ‘जयन्ती’को संघारमा”

  1. sewaro sir
    त्यो महासंग्राम खासमा के थियो ?
    प्रेम थियो कि खेल थियो ?
    कि थियो अनुचित सहवास
    जसले एउटा दाउ लिएर त आयो
    वर्षौंसम्म बल्झिरहने घाउ पनि लिएर आयो
    अनि,
    केही ड्रामा र ट्रेजडी लिएर आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *